
नानीको स्कूल छैन, नानीको बाबुको काम छैन
… जसलाई म प्रेम गर्थें
कविता
धनञ्जय दवाडी
प्रिय नेताजी
तिमीलाई मनोरञ्जन मनपर्छ हगि !
यो मनोभाव मान्छेपिच्छे फरक रै छ !
प्रकृति नियाल्नु र गाउनु
संगीत सुन्नु र खेल्नु
छुट्टै कुरा हुन् ।
तिमी त
मानवीय संवेदनामा खेल्दा रहेछौ ।
रमाउँदा रै छौ– परपीडामा
तिमी त स्याडिस्ट– रै छौ ।
ओ ! प्रिय नेता !!
जातीयता, क्षेत्रीयता र रंगभेद
संकीर्णता र विभेद
बोकेर कसरी गर्छौ मलाई– प्रेम
हुन त
मेरो सबै चीज तिमीलाई चल्ने
रुप
यौवन
कौमार्य
कोमल कोमल अङ्ग सबै
तर, मेरो हातको पानी नचल्ने !
ओ ! प्रिय नेताजी !!
जसरी चढ्यौ तिमी
प्रेमका नाममा म– माथि
त्यसरी नै हाम्रा
सपना
आशा
उत्साहका भर्याङ्वाट चढ्यौ –सत्तामा
जसरी कुल्च्यौ– तिमीले
मेरा हातका राता गुलाफ
त्यसरी नै कुल्च्यौ
सानीकान्छीका –सपना
जसरी चुस्यौ मेरो –यौवन
त्यसरी नै चुस्यौ– फुलमायालाई
हुन त
नेताजी चाहिने दुखैमा त हो !
यतिबेला दुख कोरोनाको मात्र छैन
भोकको छ
श्रमको छ
नानीको स्कूल छैन
नानीको बाबुको काम छैन
सबैभन्दा दुख त- तिमीप्रति विश्वास छैन ।
यसैले दुख छ नेताजी– दुख
यतिबेला
मेरा कहरहरुमा
तिम्रा उन्मादका– पेट्रोल छरेर
बालिरहेछौ –दनदन
खोलामा
पाखामा
मसानघाटमा
मेरा सपना जलाइरहेछौ– तिमी
तर
याद गर नेताजी
भोलि तिम्रा सपना जल्दा
मसँग
निभाउने पानी हुने छैन– आँसु पनि रित्तिएको मसँग
तिमी डढिरहनेछौ
र, म सम्झिरहनेछु एउटा कुरुप अनुहार
… जसलाई म प्रेम गर्थें ।
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी,संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



