कान खोलेर सुन !

कविता

जिवेन्द्र सिम्खडा
दार्खा,धादिङ ।

म नबोलेको
बोल्न नसकेर हैन ।

तिमी हामी एक भएर
एउटा मौसुफलाई
शहीदको रगतको भेलमा
बगाई दिएका थियौँ
अनि तिमीलाई राख्यौ
विश्वासको कर्मासनमा ।
तिमीसँग हाम्रो
सुन्दर शान्त समुन्नत
नेपालको नासो थियो
त्यही भएर हो म नबोलेको ।
तर तिमीले
हाम्रो आस्थामा खेलबाड गरेर
हाम्रो मान्यतामा खेलाँची गरेर
हाम्रो विश्वासमा हाँसीमजाक गरेर
मलाई बोल्न बाध्य बनायौ ।

ए कथित मौसूफहरु,
अब सुन
कन्कर्नोले कोट्याएर मात्र हैन
झीरले नै कान खोलेर सुन
तिमी हामी मध्येकै
र हामीजस्तै मात्र हौ
तिमी भ्रममा नपर,
म अग्लो हुँ भनेर
हो, अहिले अग्लो देखिएका छौ
नयाँ बिहानका लागि
बलिदान भएका
नेपाल आमाका
सर्वोत्तम सन्तानको
चिहानमाथि उभिएर
त्यसैले तिम्रो उचाई
कम्तिमा पनि
‘नीलो रगत’वाला मौसूफ बन्नलाई हैन
हुँदै होइन ।

तिमी पनि हामीजस्तै भुइँमान्छे थियौ
ठालु पल्टनेलाई ठुला नठान्ने
तर, अहिले कसरी तिम्रो मतिभ्रष्ट भयो !
र, आफुलाई ठूलो ठान्दै ठालू पल्टिन थाल्यौ ?
तिमी हामी मध्येकै र हामीजस्तै मात्र हौ
तिमी भ्रममा नपर,
म हट्टाकट्टा छु भनेर
हो, तिमी अहिले मोटाएका छौ
किर्ना जसरी
जुका जसरी
जसमा आश्रित छौ
उसैको रगत चुसेर ।
अघाएको किर्ना र जुकाको
के हाल हुन्छ, थाहा छैन तिमीलाई !
त्यसैले तिम्रो मोटाई
कम्तिमा पनि
जनता चुस्ने नव मौसुफ बन्नलाई हैन
हुँदै होइन ।

तिमी फगत थाक्रो हौ
काक्रोको सहाराको
नठान म धनी हुँ काक्राको
तिमीसँग हाम्रो
सुन्दर शान्त समुन्नत
नेपालको नासो थियो
त्यही भएर मात्र हो
म नबोलेको
बोल्न नसकेर हैन ।
तर, तिमीले बोल्न बाध्य बनायौ

ए कथित मौसूफहरु,
अब सुन
कन्कर्नोले कोट्याएर मात्र हैन
झीरले नै कान खोलेर सुन
तिमी मौसुफ होइन,
हाम्रो आश भरोसाको
थाक्रो हौ, केवल थाक्रो
त्यसैले भुलेर पनि नभुल
नलहरिए काक्राका लहरा
थाक्रो बन्नेछन् मात्र दाउरा ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button