अब नरुनुस् हजुरबा ! कहिल्यै नरुनुस्

कथाः आराधना

गीताश्री शर्मा
गान्तोक, सिक्किम।

जब वर्षौदेखि बन्द रहेको घरको दैलो खोलेर गोविन्द घर भित्र पसे, दैलामा कुनै ताला चाँबी लगाएको थिएन । यसो हेरे, घर मक्किन लागेको थियो । घरभित्र र बाहिर फोहर उत्तिकै । मुसाले यत्रतत्र माटोको थुप्रो लगाएको, देख्दैमा सर्प लुक्ने जस्तो डरलाग्दो । माकुराको जालो उस्तै । ढुसी लागेर डुङ्ग गन्हाउने । आँगन स्याल जङ्गल जस्तो । के गरुँ के नगरुँ भयो उनलाई । कहाँबाट काम शुरु गरुँ भयो । पुर्पुरोमा हात लगाएर निकैबेर सोचे । अनि कुचो खोजे । घरभित्र कतै भेटाएनन् । यसो बाहिर निस्केर हेरे । तै दलानको कुनामा पुरानो जिर्ण परेको कुचो भेटियो । र, त्यही कुचो समाएर माकुराको जालो झार्न लागे ।

घर सफा गर्न मात्र के लागेका थिए, उनका आँखामा धुलो पस्यो । गम्छाको टुप्पाले आँखा पुछे । बस्, आँखा के पुछ्दै थिए, उनको आँखाबाट आँसुको बाँध फुट्यो । बाँध धुलोले मात्र होइन, उनको अतीतले जिस्क्यायो । सम्झना गरायो । हुन पनि लाउँला खाउँला भन्ने उमेरमा पत्नीको चट्याङ्ग परेर देहान्त भएको थियो । एउटै छोरो । जसोतसो गरेर छोरो हुर्काए । पढाए पनि । बिहे गरिदिए । छोराको चालामाला, बुहारीको सटरपटर, सबै कुराको नकारात्मक छनकको दुःख लाग्दो सम्झनाको रील फननन घुम्यो मनमा ।

साँझ झमक्क पर्न लागेको थियो । घर सफा गरेपछि उनले पुराना भाँडाकुँडा खोजे । सफा गरे । चिया खान मन लाग्यो उनलाई । दाउरा खोजेर ल्याए र आगो सल्काए । उनलाई आजको रात जसोतसो यतै बिताउने मन लाग्यो । झोलामा चियारङ्ग थियो । कालो चिया उमालेर हलुङ्गेको मगमा हाले । चिया हातमा लिएर कौसीमा गए । त्यहाँ बसेर तल देखिने फिक्कल बजारतिर आँखा घुमाए । जहाँ बिजुली बत्ती झलमल थियो । छोराले धेरै उन्नति गरेछ भन्ने कुरा त देखेरै थाहा पाएका हुन् ! त्यहाँ उनी दुईदिन बसेर पुरानो घरतिर उकालो लागेका हुन् । अरुको नजरमा छोराले उन्नति नै गरेको होला, यस्तै मनमा कुरोे खेलाए । सहरिया बनेर बस्नलाई छोराले घर बनाएर सरेको उनी छोराको घरमा आएर मात्रै चाल पाएका थिए । छोराको सिसैसिसाले बारिएको घरमा झललल बत्ती बलेको थियो । तर, उनी मूल घरमा पस्दा टुकीमा हाल्ने मट्टितेलसम्म थिएन । बिजुली त पुगेकै थिएन त्यो घरसम्म ।

त्यो रात उनले बेलैमा भात पकाएर खाए । खाने सर्जाम आफैले ल्याएका थिए । खानपिन सकेर सुुते । सुतेपछि पनि सम्झनाको रील फेरि घुम्यो । उही कुरो सम्झे । शुरुमै घरको वरीपरी घुमेर हेरेका, सबै उस्तै थियो । तर, उनकी पत्नीको साँझ बिहान घरधन्दा गर्दा बज्ने चुराको छुनछुन आवाज थिएन । पुराना भाँडाकुडा त थिए तर ती भाँडामा कुनै चमक देखेनन् । चुलो वा अगेनु थियो तर आगो थिएन । कोठेबारी अर्थात करेसाबारी घुमे । बाँझो बारी उस्तै थियो तर साग सब्जी थिएन । फूलबारीमा फूलका बोटको साटो इलामे कालीझार र बनमाराले ढाकेको थियो । गाईगोठ पनि भत्किन लागेको थियो । गाई बाच्छा थिएनन् । उनीसँग थियो त केवल छोरो र पत्नीसंग बिताएका तिता मीठा यादहरु ।

उनी फेरि रोए । उनको झझल्कोमा घरि ‘खाना तयार भयो, खान आउनुहोस्’ भन्ने पत्नीको आवाज गुञ्जिन्थ्यो । घरि ‘बाबा ! बजारबाट मलाई के ल्याईदिनु भयो ?’ भनेर छोराले ऊ सानै छँदा गरेको प्रश्न कानमा भरिन्थ्यो । आँखाको बाँधले आँसु रोकिने नामै लिएन ।

‘बजारमा धेरै मिठाई हुन्छ अरे, हो बाबा ? भोलि पर्सी हामी पनि उ त्यो बजारमै घर बनाउँ हइ बाबा ।’ भन्थिस्, आखिर तेरो इच्छा पूरा गरिछस् छोरा ! मैले तँलाई पढाएँ, हुर्काएँ । मैले दिएको संस्कारलाई कहाँ पु-याइस् तैँले ? यसरी छोरालाई सम्झँदै गोविन्द डाँको छोडेर रोए । उनले भर्खरै बिदा मागेर आएको, दसवर्ष बसेको भाइ शिवको घर सम्झिन पुगे । आधारात बितेपछि कतिबेला निदाए पत्तै भएन ।

इलामको फिक्कल बजार, सानो तर सुन्दर छ । त्यस बजारभन्दा एककिलोमिटर उत्तरतिर अलिमाथि डाँडामा गोविन्दको एक्लो घर छ । घर पूर्वतिर फर्केको छ । घरको दक्षिणतिर सानो गोठ छ । घरको पछाडि करेसाबारी छ । घरको पूर्वतिर ठूला ठूला बारीका पाटा छन् । बारीका डिलमा बिभिन्न जातका फलफूलका बोट छन् । बिचबिचमा डालेघाँसका रुख छन् । स्थान रमणीय छ । उत्तरतिर हेर्दा हिमाल मुस्कुराइरहेको देखिन्छ । तर. मान्छे छैनन् । बस्दैनन् । छोराले फिक्कल बजारमा घर बनाएर बसेको छ । एक किलोमिटर माथि यो घर, यो जग्गा रोएर बसेको छ । ‘धिक्कार छ छोरा तँलाई’, उनले मनमनै छोरालाई गाली गरे । अनि, आफैलाई पनि धिक्कारे ।

एक दसक पहिलेको कुरो हो । घर व्यवहार धान्न नसकेर वा घरको चाँजोपाँजो मिलाउन नसकेर उनलाई भाउन्न भयो । उनी भौँतारिए । लाउन खान नपुगेर होइन, ऋण लागेर पनि होइन । परिवारलाई तह लाउन नसकेर, छोरा बुहारीले नटेरेर अथवा आफू हेपिएको महसुस भएर उनले घर छोडे । उनको स्वाभिमानले संगै बस्न मानेन । सकेनन् । एकरात सुटुक्क घर छोडेर हिँडे । कहाँ गए, के गरे, अहँ उनलाई सोधीखोजी गर्ने कोही भएनन् । छोरा बुहारीले पनि कुनै चासो राखेनन् ।

गोविन्द उसैदिन झापाको चारआली गएर कुनै आफन्तकहाँ बसे । उनीसँग गाडीभाडाबाहेक खासै पैसा पनि थिएन । भोलिपल्टदेखि अलिदिन काँकरभिट्टाको सेरोफेरोमा दिन काटे । कहिले मजदुरी गरे । होटलमा भाँडा माझे । उनले आफ्नो परिचय खुलाएनन् । घर ठेगाना पनि कसैलाई बताएनन् । हुनसक्छ उनले आफ्नो परिचय बताएको भए त्यसरी भौँतारिनु पर्ने थिएन । या त उनी घर फर्कने वातावरण बन्थ्यो अथवा राम्रो रोजगारी पाउँथे । त्यो अनुभव थियो सायद । मनको डाहले पोलेको हुनाले गुमनाम भएर डुले ।

काँकरभिट्टाले गोविन्दलाई पाल्न सक्ने छाँट आएन । रोजगारी अलिदिन पनि टिक्ने खालको पाएनन् । उता स्वास्थ्यले साथ दिएन । खानपिनमा र सुताइमा सन्तुलन भएन । मनमा बाँझिएका पीडाले त्यसै पनि मनको आगो निभेको थिएन । त्यसैले उनी त्यहाँबाट पनि हिँडे । हिँड्न त हिँडे तर कहाँ जाने ? उनी सिलिगुढीतिर हानिए । एकमनले आसामतिर जाउँ कि भन्ने पनि लागेको थियो । गोजी छामे तर आसाम पुग्ने भाडा रहेनछ । अनि बिनामेसै सिक्किमतिर हानिए । हुन त सिक्किममा टाढाको नाता पर्ने कुनै आफन्त पनि थिए । उनी कुनै आफन्तसँग मुख देखाउन चाहेनन् ।

गान्तोक पुगेपछि कुनै कामको खोजीमा लागे । अहँ, त्यहाँ कुनै काम पाइएन । देउराली बजारतिर डुल्दै गर्दा एकजना सज्जन भेटिए । उनीसँगको सामान्य परिचय पछि गोविन्दले कामको खोजीमा रहेको कुरा गरे । ती सज्जन शिक्षा विभागका कर्मचारी रहेछन्, उनैले उत्तर सिक्किम जाने सल्लाह दिए । गोविन्दसँग सबै कुरा त गरेनन् तर शिवको घरमा पुग्ने ठेगाना दिए । शिव र ती सज्जन साथी साथी रहेछन् । कुनै प्रसंगमा भेट हुँदा शिवले ती सज्जनसँग घरमा काम गर्ने पाको मान्छे चाहिएको कुरा गरेका थिए । गोविन्दले काम पाइने झिनो आशा बोकेर उत्तर सिक्किमको गाडी चढे ।

उत्तर सिक्किममा एउटा सानु गाउँ छ ‘जङ्गु’ । त्यहाँ लेप्चा जातिको बाहुल्य छ । अलैँची खेतीको निम्ति उपयुक्त ठाउँ पनि हो त्यो । गाउँ सुन्दर छ । वातावरण रमणीय छ । ठेगाना अनुसार गोविन्द त्यहाँ पुगे । एउटा चिटिक्कको घर, सफासुग्घर उस्तै । फराकिलो आँगन, आँगनको डिलमा सजिएका गमला । घरदेखि तल अलैँचीको बगान ।

‘घरमा को हुनुहुन्छ ?’, गोविन्दले सोधे ।

‘आमा बाहिर आउनु त, एकजना अङ्कलले सोध्नु भएको छ’, छोरी संस्कृतिका कुरा सुनेपछि आमा बाहिर आइन् ।

‘कसलाई खोज्नु भएको हो दाइ ?’, आमाले जिज्ञासु नजरले हेर्दै ती आगन्तुकलाई सोधिन् । उनले अनुरोधको भावमा भने, ‘एक रातको लागी बास पाउँछु कि भनेर बहिनी ।’

‘घरमा म मात्रै छु, अहिले संस्कृतिको बाबा आएर मात्रै भन्न सक्छु । बस्दै गर्नुहोस् न’, यति भनेर आमा भित्र पसिन् ।

संस्कृतिकी आमा, उनको नाम गोमा हो । गोमाले चिया बनाएर ती अगन्तुकलाई दिइन् । दिनभरिको हिँडाइले थाकेका उनी, बाक्लो दुधको चियाले सबै थकान मेटाइदियो सायद, आनन्दले बसे ।

साँझपख गोमाका पति शिव जागिरबाट घर आए । नयाँ चेहरा भएको, हेर्दा साठी पैंसठ्ठीजस्तो लाग्ने उमेरको मान्छे, सिकुवाको डिलमा बसिरहेको छ । त्यो देखेर सरासर घरभित्र पसेर शिवले गोमालाई सोधे, ‘बाहिर सिकुवामा बस्ने को मान्छे हुन् गोमा ? किन बास दियौ ? चिन्नु न जान्नुको मान्छे, जमाना ठीक छैन भन्ने थाहा छैन ? मैले बारम्बार सम्झाउँछु तिमीलाई । नचिनेको मान्छेलाई बास दिनु त हुँदैन नै । कुराकानी पनि नगर्नु ?’

‘त्यसो होइन संस्कृतिको बाबा, भर्खरै आउनु भऐको हो, चिया मात्रै दिएँ । अनुहार हेर्दा थकित लाग्यो । भोकले स्वर दबेको, अनुहार गलेको देखेँ । अनि यसो खुट्टा हेरेको, सुनिएका । भित्रैबाट मानवता जाग्यो । र, चियासम्म दिएँ । ठीक छ, अझ केही बिग्रेको त छैन नि ! आखिर उज्यालै छ अझ । यहाँ बास हुन्न भन्नुस् गै हाल्छन् नि ! भै गयो त, हजुर किन रिसाउनु भएको ?’, नम्र स्वरमा गोमाले भनिन् ।

शिव हातमा चिया लिएर बाहिर निस्के । अनि चिया पिउँदै आगन्तुकसँग चिनजान र सोधपुछ गरे । नाम ठेगाना सोधे । परिचय पत्र मागेर हेरे । ‘गोविन्द गौतम’ अनि परिचयपत्रको फोटो र अनुहार मिलाएर मनमनै विचार गरे, ‘ठीक छ, साँझको पाहुना बसोस् आजलाई ।’ गोमालाई पाहुनाको निम्ति पनि खाना पकाउन अह्राए । त्यो साँझ परिवारका अरु सदस्यसँगै राखेर गोमाले खाना दिइन् ।

खाना खाँदैगर्दा गोविन्दले भने, ‘मलाई केवल बास र गाँस भयो भने ठूलो काम चाहिँदैन सर, पेट पाल्ने मेलो भयो भने हुन्छ ।’ गफिँदै खाना खाएपछि उनलाई शिवले एउटा विछौना देखाइदिए ।

गोमाले घरधन्दा सकेर विछ्यौनामा आउँदा शिव अझै निदाएका थिएनन् । उनले गोमालाई कुरिरहेका थिए । संस्कृति भने बुबाको अँगालोमा निदाइछन् । छोरीलाई सजिलो पारेर सुताउँदै शिवले भने, ‘गोमा, यो मान्छेको नाम र परिचयपत्रको अनुहार मिल्छ । हेर्दा सिधा पनि छ । उसलाई काम चाहिएको रहेछ । हामीलाई पनि मान्छे चाहिएको, कति खोज्यौँ पाएनौँ । संस्कार १२ कक्षा पुग्यो । डक्टर पढछु भन्दैछ । सरकारी कोटा मिलेमा पढ्न बाहिर पठाउनै पर्छ । एउटा माउ गाई छैन भने न भान्सा उज्यालो हुन्छ, न कोठेबारीमा मलजल नै हुन्छ । म बिहानै निस्कनुपर्छ । कति दिन तिमी मात्रै घोटिन्छ्यौ र ? बस्छन् भने राखौँ होइन ?’

‘खोइ म के भनौँ हजुरलाई ? कहिले तपाइँ घरबाहिर त कहिले तपाइँकै लामो भ्रमण पर्छ । संस्कार पनि कहिलेकाहीँ साथीभाइका घरतिर जान्छ । पढ्ने केटाकेटीले कहिले के भन्छन् कहिले के ? भरै हुन्न । अनि आँतभेउ नै नबुझेको मान्छे राख्दा कसरी बस्ने ? सोचेर मात्रै निर्णय गर्नु पर्छ’, गोमाले तर्क राखिन् ।

दिनभरको घरधन्दा वस्तुभाउ र करेसोबारीको कामले गलेकी गोमा बत्ती निभाएर सुतिन् । थाकेकीले भुसुक्क निदाइन् ।

बिहानमा सबेरै उठेर स्नानादि गर्छन् र पूजापाठ गरेपछि मात्रै चिया पिउँछन् शिवले । उनी पूजा सकेर निस्कँदा गोविन्द हिँड्नलाई झोला पेटीमा राखेर चिया पिउँदै थिए । चियाको अन्तिम घुट्कीपछि शिवसँग बिदा मागे ।

‘आज थकाइ मार्नुहोस् दाजु । यसै पनि परदेशी तपाइँ, भरे कहाँ पुग्नु हुन्छ ठेगान पनि त छैन ! दुःखसुख गफ गरौँला । मेरो पनि छुट्टी छ’, शिवले मुस्कुराउँदै भने । उनको मुस्कुराहटमा गोविन्दले आफ्नोपन महशुस गरे अनि उनी पनि मुसुक्क हाँसे । गोविन्दलाई लाग्यो, उनी धेरै वर्षपछि मात्र आज मुस्कुराएका छन् । यो मान्छेको आँतभेउ बुझ्छु भनेर शिवले पनि गोविन्दको मुहारमा हेरेर पुनः खिसिक्क हाँसे । फरक यति थियो, गोविन्दको हाँसोमा अपनत्व
लुकेको थियो । एउटा भित्री भरोशा र सहारा छल्किएको थियो । शिवको हाँसोमा अलिकति स्वार्थ लुकेको थियो ।

थाङग्रा नपाएर रछ्यानमा अलपत्र परेका थिए काँक्राका झालहरु । कोठेवारीमा सिमी र बोडीलाई पनि थाङग्रा चाहिने । लहरे तरकारीका लहरा यत्रतत्र बटारिएका थिए । बिहानको खाना खाएर छोरो संस्कारलाई साथी लिएर अंलैचीबारीतिर थाङग्रा लिन जान लाग्दा गोविन्दलाई हेरेर शिवले भने, ‘दाइ, हिँड्नुस् खुट्टा तन्काउन । यसो घुमेर आउँ ।’

तिनैजना जङ्गलतिर गए । अनि आउँदा सबैले थाङग्रा लिएर आए । थाङग्रा गाडी सकेपछि पुनः चिया पिए । हुन त अझै पाहुना मान्छे हुन् गोविन्द । शिव र संस्कारसँग सँगै काम गरेको देख्दा गोमाले धेरै विचार गरिन् । शिव पनि प्रभावित भए उनको लगनशीलता देखेर । त्यो दिन रमाइलै लाग्यो गोविन्दलाई । बेलुकी गफिँदै खाना खाए ।

अर्को दिन बिहान गोविन्दलाई शिवले भने, ‘हेर्नुहोस् दाइ ! तपाइँंलाई काम चाहिएको छ । हामीलाई काम गर्ने मान्छे । यस्तै घरको गाईको दानापानी र खोले भकारो अनि यसो कोठेबारीमा गोमालाई सघाउने एउटा साथ चाहिएको छ । यदि तपाइँलाई मन परे बस्नुस् । खान लाउन र दवाई हाम्रो जिम्मा नै भयो । अँ, महिना मरेपछि तपाइँलाई बस्न मन परें पनि नपरे पनि हिसाब गरौँला ।’

शिवको कुरा सुनेपछि गोविन्द एकछिन चुप बसे । सोचे, ‘गाँसबासको बन्दोबस्त जुट्यो, अरु पनि बिस्तारै मिल्ला नि ? गाउँ ठाउँ र मान्छे पनि त चिन्छु । यहाँबाट कतै गएर कस्तो घर पाउँला ?’

‘भाइ, घर छोडेको यतिका दिनपछि मैले पारिवारिक वातावरण पाएको छु । मैले पढेको भए पो ठुलो काम पाउँथे ! तर पनि, तपाइँ र बहिनीको यो सद्भावको मान गरेर मैले तपाइँको कुरालाई सहमति जनाएँ । काम भनेको सानु होस् वा ठूलो । कामै हुन्छ । म यो काममा रमाउने छु ।’

त्यस दिनदेखि गोविन्द शिवको परिवारको सदस्य सरह बने । गोमाले छोरो संस्कार र छोरी संस्कृतिलाई बडा भनेर मर्यादापूर्वक सम्बोधन गर्न सिकाइन् । शिव र गोमाले दाजुको साइनो लाए । नभन्दै गोविन्दले आफ्नो काम सम्हालेको महिना दिन पुग्यो । कुनै पनि काम कुरामा बोल्ने ठाउँ राखेनन् उनले । शिवको घर उज्यालो भयो । गोमालाई धैरै आरम पनि भयो ।

गोमा नम्र स्वभावकी गृहिणी हुन् । छोरा छोरीलाई आदर र सत्कार सिकाएर राम्रै संस्कार दिएकी छन् । छोरोछोरीको जस्तो नाम राखेका छन्, त्यस घरको सभ्यता पनि उस्तै छ । उनले गोविन्दलाई कहिल्यै पराय सदस्य ठानिनन् । दाजुको सम्मान दिएकी हुँदा गोविन्दले पनि आफ्नै घर सम्झेर बसे । शिव जागिरका निम्ति बिहानै निस्कन्थे । संस्कार र संस्कृति विद्यालय जाँदा गोमालाई कतिपय कुराको भित्री डर थियो नै । अलिअलि गरेर गोविन्दको मन बुझिन् । दाजु बनाएर मन जितेपछि दाजु बहिनीकै सम्बन्ध अझ पवित्र बन्दै गयो ।

दशैँ आउँदा दाजु बनाएर शिव र गोमाले गोविन्दको हातबाट टिका, जमरा र आशीर्वाद थापे । तिहारमा गोमाले सयपत्री फूलको मालासँग भाइटीका लगाइदिइन् गोविन्दलाई । उनले दोहोरो साइनोले बाँधेर ठुलो सत्कार दिइन् । यस्तो अवस्थामा घरको सम्झनामा डुब्ने मौका नै नपाउँदा पनि गोविन्दको मन दुख्थ्यो । संस्कार र संस्कृतिको आचरण, व्यवहार र आनीबानी तथा पढाइ देखेर लोभिन्थे । उनलाई गरेको आदर र सत्कार देखेर छोराको सम्झनाले पिरोलिन्थे । उनका आँखा सम्झनाले रसाउँथे । तर, उनले त्यो पीडा कहिले पनि अरुका अगाडि देखाएनन् । रोएनन् ।

शिवको घरमा रहँदै बस्दै गर्दा वर्षौँ बितेछ । गोविन्द कहिले घरको यादले एकान्तमा रुन थाले । संस्कारको मुहारमा छोराको मुहार देख्न थाले । गोमाको छोराछोरीप्रतिको माया, त्याग र तपस्या देख्दा उनले आफ्नी स्वर्गीय पत्नी सम्झेर भन्थे, ‘सानु, तिमीले मेरो साथ नछोडेको भए आज हाम्रो छोरालाई यस्तै संस्कार दिने थियौ होला हगि? आमा बाबाको माया र शिक्षा त मैले पनि दिएको थिएँ । तर, संस्कार दिन नसक्दा आज म यो हालतमा पुगेँ । तिमीहरुको सातदेखि छुट्टै अपरिचित परिवारसँग म छु । यदि हाम्रो छोराले संस्कार पाएको भए बाबा आमाको मुल्य अवश्यै बुझ्ने थियो । तर, उसले संगत पाउँदा तास जुवा र रक्सीको मातमा फस्यो । शिक्षाले भन्दा पनि संस्कारले मान्छेलाई ठूलो बनाउँदो रहेछ है सानु ?’

गोविन्द एक दशक शिवको घरमा बसे । अरुको नजरमा घरेलु कामदार गोठालोको रुपमा देखिन्थे । तर, गोमा र शिवले उनलाई घरको ठूलो दाजुको दर्जा दिएका थिए । शिवले कामको राम्रो मुल्यांकन गरेर महिनाको पारिश्रमिक अलग्गै छुट्याइ बैङ्कमा जम्मा गरिदिएका थिए । मोटै रकम जम्मा भएको थियो । गोविन्द त्यहाँ पुग्दा बाह्र कक्षा पढ्दै गरेको संस्कार आज एमबिबिएस सकेर डक्टर बने । एमडी परीक्षाको तयारी घरै बसेर गर्दैछन् । उता छोरी संस्कृति अब कलेज पुगेकी छन् । बेला मौकामा गोविन्दले बहिनीसँग उनको घरको दुःखको पोख्न थाले । विरक्तिएर घर छोड्नुको रहस्य गोमालाई खोल्न थाले । भाइ शिव र अरु मान्छेको कानमा नपरोस् बहिनी, नत्र म बेघरबार हुन्छु भनेर गोमालाई कबुल गराएका थिए । दाजुको वचनको पालन गरेर गोमाले त्यो कुरा शिवलाई पनि सुनाएकी थिइनन् ।

एकदिन, परिवारमा सबै संगै बसेको बेला गोविन्दले सबै कुरा खोले । उनको कुरा सुनेर शिव अलि भावुक पनि भए । गोविन्दले अचानक उनी अब घर फर्कने विषयमा कुरा पनि गरे । त्यस कुराले एकछिन सन्नाटा छायो । कोही बोलेनन् । त्यसपछि गोमाले संस्कारलाई भनिन्, ‘बडालाई घरसम्म पुर्याएर आउ बाबु । लामो बाटो छ, चोरी डकैती पनि हुन सक्छ । रुपियाँ पैसा पनि लुटिन सक्छ ।’

आमाको बचनको सधैँ पालन गर्ने संस्कार, बडासँग जान तयार त भयो, गोविन्द भने उनको घर र व्यक्तिगत जीवनका बिषय अरुले थाहा पाउँछन् कि भनेर पहिले मानेका थिएनन् । पछि शिव समेत लागेर सम्झाउँदा माने । यत्रो वर्ष बसेको घरबाट निस्कन राम्रो दिन र साइत चाहिन्छ भनेर शिवले सल्लाह दिए । शिवले उनको नाममा बैंकमा राखिदिएको मोटो रकम पनि ल्याइदिए । झिटी झोला मिलाएर दुवैले बोक्न मिल्ने बनाइदिए । अनि ठाउँमा पुगेर पैसा बैङ्कमा जम्मा गरिदिन पनि सिकाए संस्कारलाई ।

दिन बित्न बेरै लागेन । गोविन्दको फर्किने दिन नजिकिँदै आयो । दुईदिन अघिदेखि गोमाको अनुहार मलिन थियो । अरुको आँखाले हेर्दा कामको चाप पर्छ र अब घरमा राख्न यस्तो विश्वासी मान्छे पाइँदैन भनि सुर्ताएझैँ लाग्थ्यो होला । त्यो भन्दा पनि उनलाई माइतीलाई बिदा गर्नुको पीडाले मुटु चस्केको थियो । उनले हरेस नखाइ आफ्नै सहोदर दाजु मानेकी थिइन् । माइतीलाई चेलीको कर्तव्य पुरा गर्दै रातो टिका र खादा माला सँगसँगै सम्मानका साथ बिदा गरिन् । अरुको नजरमा र मनमा के के कुरा घुम्यो कुन्नि ? तर, गोमाले गोविन्दको बिदाइमा अश्रुधारा बगाएर गरिन् । अनि भक्कानिदै भनिन्, ‘यो बहिनी पनि छ भनेर कहिले काहीँ सम्झनु हइ दाजु !’

घरको कोही सदस्य घरबाट टाढा जाँदा कुचो न लगाउने र मूल ढोका बन्द नगर्ने परम्पराको जोगाएकी गोमाले त्यो दिन पनि पालन गरिन् । बेलुका ओछ्यानमा पसेपछि गोमाले गोविन्दको घर छोड्नुको रहस्य र त्यहाँ आएर बस्नुको सबै कारण शिवलाई सुनाइन् । गोमाका अनुसार पत्नीको देहान्तपछि छोराको बिहे गरेर घर भित्रिएकी बुहारीलाई गोविन्दले घरकी लक्ष्मी मानेका थिए । पुलिसको नोकरी गरेर असइ पदमा पुगेर अवकाश पाएका थिए गोविन्दले । अवकाशपछि हात परेको मोटो रकमले ‘तल बजारमा घडेरी किनौँ बुबा’ भनेर बुहारीले फकाएर हात पारेकी रहिछन् । पछि त किनेको जमीन बुहारीको नाममा पास गरिएछ । पुरानो घर र जग्गा पनि छोरा या बुहारीको नाममा नामसारी गर्न दवाव दिएछन् । गोविन्द दाजुले त्यो प्रस्ताव नमान्दा बुहारीलाई हातपात गर्न खोजेको आरोप समेत लगाएका रहेछन् छोरा-बुहारी मिलेर । जमीनभन्दा इज्जत ठूलो हो भनेर दाजुले घर घडेरीबाहेक सबै जमीन छोराको नाममा नामसारी गरिदिएर घर छोडेर आएको रे ।

‘दाजुको पेन्सन पनि त आउँछ नि ? त्यसैले पनि खान पुग्थ्यो होला उनलाई ?’, शिवले गोमासँग जिज्ञासा राखे ।

‘पेन्सन बैङ्क खातामा जान्छ रे । दाजुले, ‘जबसम्म म मरेको प्रमाणपत्र लिएर कोही खोज्न आउँदैन, तबसम्म मेरो खाताको रकम अरुलाई निकाल्न नदिनु’ भनी लिखित पत्र बैङ्कमा बुझाएर आउनु भएको रे’, गोमाले यति कुरा सुनाउँदा शिव झस्के । सम्झे, बेलाबेला दाजु दुई दिनको छुट्टी लिएर हराउँथे । सिमानापारी पुगेर बैङ्क खाता चेक पो गरेर आउँथे कि ? उनले पकेट खर्च पनि कहिले मागेनन् । लामो सुस्केरा तानेर शिवले भने, ‘समय र परिस्थितिले मान्छेलाई कहाँबाट कहाँ पुर्याउँदो रहेछ, होइन त गोमा ? पुलिसको असइ भएर के गर्नु ? घरभित्र काम लाग्दो रहेनछ त !’

फिक्कलस्थिति छोराको आधुनिक घरमा जब गोविन्द संस्कारसँग पुगे, उनका छोरा बुहारी बोलेनन् । न त उनीहरुले बाबालाई ढोगे न हालखबर सोधे । गोविन्द घर छोडेर हिँड्दा दुइ वर्षकी नातिनी बाह्र वर्षकी भएकी रहिछन् । र, नाति पनि पाँच वर्षको भइसकेको त्यहाँ पुग्दा थाहा पाए । नाति नातिनीलाई पनि हजुरबासँग परिचय गराएनन् । नजिकै पर्न दिएनन् । यसको पीडाबोध गोविन्दलाई असाध्यै तीतो लाग्यो तर बोलेनन् । सँगै गएका संस्कारबाट अलिअलि कुरा भए सायद । गोविन्दले त्यो पनि थाहा पाएनन् ।

दुई रात बसेर संस्कार जब सिक्किम फर्के, फर्कनुअघि गोविन्दको बैंकखाता अपडेट गराइदिएका थिए । दश वर्षको पेन्सन, त्यसको ब्याज तथा त्यसबाहेकको बचत समेत जोड्दा रहरलाग्दो अंक बनेको थियो । सिक्किम, शिवको घरमा काम गरेको पारिश्रमिक कति थियो भन्ने कुरा गोविन्दलाई पनि थाहा थिएन । उनले हिसाब किताबै गरेनन् । संस्कारले त्यो रकम पनि बैंकमा जम्मा गरिदिए । त्यस बेलाको बजार मूल्य अनुसार उनको छोराको नयाँ घरको मूल्य बराबर बैंक ब्यालेन्स भएछ गोविन्दको ।

उसैदिन, गोविन्द उनको मूलघरमा जाँदै थिए, त्यसैले संस्कारबाट उनी बिदा भए । गोविन्द उकालो लागेपछि गोविन्दका छोराबुहारीका सामु संस्कारले सिक्किम हुँदा जानकारी भएका सबै कुरा भने । ती कुरा गर्दा नातिनी र नाति पनि सँगै थिए । नातिले कति कुरा बुझ्यो बुझेन, तर नातिनीले भने सबै कुरा बुझिन् । उनको बाल मस्तिष्कमा हजुरबाप्रति श्रद्धा जाग्यो र भनिन्, ‘ओहो, हाम्रो हजुरबा..!’ उनी एकाएक रोइन्, ‘किन हामीलाई नचिनाएको हो बाबा ?’ अनि त नातिनीको जिद्दि शुरु भयो । नातिले पनि दिदीको पक्षमा साथ दियो ।

संस्कार घरतिर फर्केपछि त स्थिति झन् भावुक बन्यो । संस्कारको बोलीमा भएको भावुकता तथा मिठासले गोविन्दका छोराबुहारीको जब्बर मन पनि फताफुतुुक्क गल्यो । पग्लियो । एकछिन त सन्नाटा छायो । रोए सबै ।

नातिनी, उनको नाम आराधना हो । उनले त कबुल नै गरिन् कि, ‘जबसम्म बाबाआमाले हजुरबाको खुट्टा समातेर ढोग्नु हुन्न, माफी माग्नु हुन्न, मैले अन्न पानी नै खान्न ।’ दुई दिनसम्म आराधनाले भात खाइनन् । उनी स्कुल पनि गइनन् । उनका आमाबाबाले कान समाएर छोरीसँग माफी मागे । अहँ, पत्याइनन् ।

त्यसको भोलिपल्ट बिहानै छोरा–बुहारी तथा नाति–नातिनीहरु सबै मूलघरतिर लागे । गोविन्दको मूलघर । गोविन्द, एक्लै आँगनमा बसेर घाम तापिरहेका थिए । छोराका परिवार आएको देखेर उनी उठे । मुसुक्क मुस्कुराए । बोल्न भने सकेनन् । अलिकति शङ्का थियो उनको मनमा, मरेको थिएन । डर पनि थियो । तर पनि बाउको मन हो, मुस्कुराए । नाति–नातिनी पनि साथमा देखेपछि भावुक भए । मन थामिएन सायद ! आँखा रसाए ।

‘नमस्ते हजुरबा !’, आराधना झ्याप्पै हजुरबाको हात समाएर रोइन् । नाति पनि पछिपछि गयो । छोराले खुट्टामा ढोग गरे भने बुहारीले पनि संस्कार अनुसारको ढोग गरिन् । एकाएक सबैजनाको आँखामा आँशुका भल बगे ।

छोरा–बुहारीले क्षमायाचना गर्दै भने, ‘बाबा, अब हामीले हजुरको कहिल्यै मन दुखाउने छैनौँ । जे भयो, माफ गरिदिनुस् । यो सबै हैसियत हजुरकै हो । यो पौरख हजुरकै हो । अब हामी यही घरमा सँगै बस्छौँ । बजारको घर भाडामा दिने विचार गर्यौँ । ब्यवसाय गर्न यहीबाट पनि संभव छ । नानीबाबुहरुको स्कुल पनि नजिकै छ । नरुनुस् बाबा, नरुनुस् ।’

गोविन्दको मनमा भने अर्को शंका थपियो, ‘कतै मेरो बैङ्क खाता त बुहारीले हेरिनन् ?’ मनमनै सोचे अनि मनमनै पचाए ।

उत्तरतिरबाट सररर हिमाली हावा आयो र गोविन्दको घरको फेरो मार्यो । अनि सुगन्धित हावा सररर आयो । नातिनी आराधना जुरुक्क उठिन् र हजुरबाको गाला मुसार्दै भनिन्, ‘अब नरुनुस् हजुरबा ! कहिल्यै नरुनुस् हइ… !!’

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

One Comment

  1. कथाका घुम्तीहरूले फन्को मार्दा अश्रुधारा बग्दै गएर घाँटीसम्म पुगेछन् साथै गलासमेत अबरुद्ध !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button