नक्कली नोट चिन्न सिकाउने पुस्तक

पुस्तक चर्चा

श्रीरामसिंह बस्नेत

कागजको होस् या धातुको, मुद्रा (पैसा) प्रत्येक देशको सार्वभौमिकता र गौरवको प्रतीक हो । नेपालमा धातुको मुद्राको प्रचलन धेरै अघि (लिच्छवीकाल) देखि नै चलेको हो । कागजी मुद्रा अर्थात् नोटको प्रचलन भने २००२ सालमा राजा त्रिभुवनको पालादेखि प्रारम्भ भएको हो । विश्व बजारमा नेपाली मुद्राको क्रय शक्ति तुलनात्मक रुपमा कम भए पनि यसको ऐतिहासिकता र यसले बोकेको नेपालको पहिचान र गौरवका दृष्टिले नेपाली मुद्रालाई कम आँक्न सकिदैन ।

नेपालमा धातुका मौलिक मुद्राको यथेष्ट चलन हुँदा आज विश्वमा रहेका कैयौं देशहरुको जन्मसमेत भएको थिएन । भएका देशहरु पनि स्वाधीनता गुमाएर परतन्त्रको पिंजडामा जकडिएका थिए । तर, नेपाल भूखण्डको अवस्था बेग्लै र गर्विलो थियो । त्यसैले भौगोलिक आकार र अर्थतन्त्रमा सानो भएपनि नेपाली मुद्राको महत्व भने धेरै छ । त्यसैले स्वदेशमा मात्र हैन विदेशमा समेत नेपाली मुद्राप्रति निरन्तर चासो राख्ने मुद्रा प्रेमीहरुको जमात् ठूलो छ ।

नेपाली मुद्राको यही गरिमाबारे स्पष्ट, सरल र आधिकारिक रुपमा जनसाधारणदेखि विशेषज्ञहरुलाई समेत यथेष्ट जानकारी गराउने उद्देश्यले नेपालका मुद्रा प्रेमीहरुले आफ्ना संकलन र अध्ययन अनुसन्धानका आधारमा बेलाबेलामा पुस्तक लेख्ने गरेका छन् । यसमा पहिलो नाम शताब्दी पुरुष सत्यमोहन जोशीको आउँछ भने पछिल्लो नाम श्याम खतिवडाको । यसबीचमा २०५६ मा कमल ज्ञवाली, २०५८ मा जयहरि झा, २०५८ मा सोम खतिवडा, २०६० मा सुरेशज्योति शाक्य (नेपाल भाषामा), २०६९ मा श्याम खतिवडा, २०७७ मा शङ्कर श्रेष्ठद्धारा लिखित तथा प्रकाशित नेपाली मुद्रा विषयक पुस्तकहरुले महत्वपूर्ण काम गरेका छन् । यसका अतिरिक्त परमेश्वरलाल गुप्ता, वेल्सलगायतका केही विदेशीहरुले पनि नेपाली मुद्रा सम्बन्धी त्यस्तो जाँगर चलाएका पाइन्छन् । नेपाल राष्ट्र बैंकले पनि नेपाली मुद्राबारे जानकारी दिन संस्थागत रुपमा प्रकाशन गरेको छ ।

मुद्रा संकलक तथा अध्यार्थी श्याम खतिवडाद्धारा लिखित ‘नेपालका आधुनिक मुद्राहरुः एक समीक्षा’ पुस्तक केही दिन अघिमात्र सार्वजनिक भएको छ । विमोचन गरिएको दुई दिनपछि नै सुरु भएको लकडाउनका कारण उक्त पुस्तकले पुस्तक पसलको शोभा बढाउन र पाठकको हातमा पुग्ने अवसर पाइसकेको छैन । मुद्रा प्रेमी खतिवडाको यो दोस्रो कृति हो । यसअघि २०६९ सालमा पनि उनको ‘ग्लिम्पस् अफ नेपालिज पेपर करेन्सी’ पुस्तक जनसमक्ष आईसकेको थियो ।

राजा महेन्द्रको शासनकालमा नेपालमा देशको केन्द्रिय बैंकको रुपमा २०१३ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंकको स्थापना हुनुभन्दा अगाडिसम्म गभर्नर भन्ने पदको चलन थिएन । त्यसैले २००२ देखि २०१२ सालसम्म जारी नेपाली नोटमा ‘खजाञ्ची’ को दस्तखत् रहेको पाइन्छ । नेपाली नोटमा दस्तखत् गर्ने तीन भाग्यशाली खजाञ्ची हुन्– क्रमशः जनकराज, भरतराज र नरेन्द्रराज । त्यसपछि खजाञ्चीको सट्टा नेपाल राष्ट्र बैंकको पहिलो गभर्नरको हैसियतले नोटमा दस्तखत् गर्ने ऐतिहासिक अवसर हिमालय शम्शेरलाई प्राप्त भयो ।

प्रस्तुत पुस्तकमा नेपालको पहिलोदेखि अहिलेसम्मका सबै नोटहरुको सुक्ष्म विश्लेषण गरिएको छ, जहाँ नेपाली नोटसम्बन्धी धेरै रोचक र महत्वपूर्ण जानकारी प्राप्त हुन्छ । पुस्तकमा समेटिएका सबै विषयवस्तुहरु जानकारीमूलक छन् ।

संसारभर नै नक्कली नोटको बिगविगी एक जघन्य अपराधको रुपमा बढिरहेको छ । नेपालमा पनि यो अपराधको अवस्था गम्भीर छ । लेखकले यो समस्यालाई दृष्टिगत गरी सक्कली र नक्कली नेपाली नोट पहिचान गर्ने केही महत्वपूर्ण तरिकाहरु समेत सरल ढङ्गले प्रस्तुत गरेका छन् । यसले गर्दा नोट संकलकमात्र होइन, नोटको कारोबार गर्ने सबैका लागि पुस्तक उपयोगी हुने निश्चित छ । लेखक आफैं लामो समय देखि नेपाल राष्ट्र बैंकमा कार्यरत अनुभवी कर्मचारी भएकाले नेपाली नोटसम्बन्धी उनले संकलन गरेका जानकारी र विवरणहरु बढी भरपर्दो भएको विश्वास गर्न सकिन्छ । नेपालमा प्रचलनमा आएका धातुका संस्मरणात्मक सिक्काहरुबारे पनि पुस्तकमा यथोचित चर्चा गरिएकोले यो अझ उपयोगी भएको छ ।

नेपाली मुद्राप्रति समर्पित लेखक, संकलक तथा अध्यार्थी खतिवडाको एकाग्रता र सिर्जनशीलता सह्राहनीय रहेको प्रस्तुत पुस्तकले प्रमाणित गर्दछ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button