
भोज मञ्जरीमा आहा ! प्रकृति
किताब
लक्ष्मीप्रसाद सिग्देल
ईश्वरका सृष्टिबाट उपस्थित सबै प्राणीको स्वभाव, रुचि, दृष्टिकोण, सृजना शक्ति भिन्नाभिन्नै हुन्छन् । कसैलाई भौतिक विकासले विशेष प्रभाव पार्छ भने कसैलाई अध्यात्म चिन्तनले आनन्दित बनाउँछ । कतिपय प्राणी विशेष गरेर मानव प्राप्तिमा पूर्ण सन्तुष्टि नहुने भएकाले ऊ प्राप्ति माथि अझ निरन्तर संघर्षमा संलग्न हुन्छ । फलस्वरूप मानव धन, भौतिक मान, आन्तरिक मान, सेवा, कीर्तिगत अमर धन, मान, आदिका बिकास र विस्तारमा अन्त्यसम्म समर्पित हुन्छ ।
यसै सन्दर्भमा दुर्गाप्रसाद सिग्देलले सामाजिक मान, सम्मान, आत्मिक् सन्तुष्टिका साथै जीवन भोगाईमा आफूले कसी लगाएर सक्कली ठहरिएका व्यवहारिक बिचारलाई विभिन्न छन्दका माध्यमले कवित्व प्रदान गरेका छन् । शिक्षा स्वास्थ्य, संस्कार, संस्कृति, पहाडी परिवेश, व्यवहार आदिलाई कविताले उद्घाटन गरेका छन् । सिग्देलका कविता यथार्थ धरातलमा रचिएका छन् भने केही कविताले कताकता आदिकवि भानुभक्त आचार्य, कवि शिरोमणि लेखनाथ पौड्याल, पण्डितराज सोमनाथ सिग्देल, राष्ट्र कवि माधव घिमिरेको झझल्को दिएको आभाष हुन्छ । साथै कवि सिग्देलले कवितालाई समस्यापुर्ति, तार्किक आदि शैलीमा समेत सजाएका छन् ।
सिग्देलले उमेरगतरूपमा सात दशकको यात्रा पूरा गरिसकेका छन् । तर, कवि चेतनामा अझै युवाकै उन्माद छचल्किएको दखिन्छ । कविको वास्तविक कवित्व परीक्षणको आधार सत्यको सुक्तीकरणलाई लिने गरिन्छ । यसकारण भर्खरै प्रकाशित भोज मञ्जरी कविता संग्रह सिग्देलको कवित्व परीक्षणको एउटा विशिष्ट आधार हो ।
यो राष्ट्र भाषा बन्यो शीर्षक कवितामा उनले लेखेका छन् –
गाइन्थ्यो सब झोपडी महलमा हुन्थे सबैका घर,
पढ्थ्यौं दौलत ठानि भानु कविको सौचित्र रामायण ।।
यस्तोभो अनुवाद सिद्ध जनको जिभ्रोमहाँ गुञ्जियो,
विक्रम् सम्वत तेह्र साल तकमा यो राष्ट्र भाषा बन्यो ।।
प्रस्तुत कविता लहरहरुमा ऊ बेलाको नेपाली भाषा कम्जोर थियो । नेपाली भाषालाई भाखा पनि भनिन्थ्यो । कवि भानुभक्तले संस्कृत भाषाको अध्यात्म रामायणलाई नेपाली श्लोकमा भावानुवाद गरेपछि मानिसहरुले वन पाखा, मेलापात, बिहे व्रतवन्द र पूजा आजा आदिमा गुञ्जाउन थाले । नेपाली भाषाप्रति जनमानसमा रुचि र उत्साह बढ्दै बोल चालको भाषा देखि घरायसी तमसुक सरकारी कामकाजको भाषा बन्न पुग्यो । २०१३ सालमा नेपाली भाषाले राष्ट्र भाषाको मान्यता पायो ।
संग्रहमा संग्रहित कविताहरू धर्म, संस्कृति, संस्कार, राष्ट्र भक्ति, भाषा प्राप्ति, माया, यात्रा र आफूले भोगेका अनुभूति आदिमा केन्द्रित छन् । देश विदेश भ्रमणको आलोकमा आफ्ना अनुभूति र प्राकृतिक सौन्दर्यको वर्णन गरी कवि सिग्देल स्तरिय छन्द कविता संग्रह निकाल्न सफल भएका छन् । आफ्ना मनबाट निस्किएको बैचारिक चिन्तन र परिश्रमले बिषय बस्तुलाई जसरी उठान गरेको भए पनि त्यसको केन्द्रीय तथ्य वा भावगत लक्ष चाहिँ सुन्दर समाज निर्माण गर्नु नै रहेछ ।



