‘म टिस्टाकी देवी हुँ, टिस्टादेवी होइन’

कथाः टिस्टाकी देवी

गुरुदत्त ज्ञवाली
कभर मोडलः रेखा लिम्बु ।

२०७१ कार्तिकको अन्तिम साता । इलामको पशुपतिनगरबाट गाडी दार्जिलिङ्गतिर पस्यो र सिमानामा पुगेर रोकियो । त्यहाँनेर नेपाल भारतको सिमाना जोडिएको रहेछ । बाटोवारि नेपालतिरका अस्थायी टहरे पसलमा बसेर चिया खायौँ । मौसम मनमोहक, आकाश सफा, कताकता मनमा जिज्ञासा र उमंग बीजारोपण भयो । साथीहरू सँगै भएर पनि म लुसुक्क निस्केँ, एक्लिएँ । मेरो मन एक्लियो । मन स्नेहयुक्त भयो । यताउति डुलेँ । मन फोक्ने ठाउँ देखिन कतै । बोल्ने वा कुरा गर्ने ठाउँ भेटिएन ।

अलि पर एउटी किशोरीले सानो ठेलामा खित्रीमित्री सामानको पसल थापेकी । म त्यतै लम्केँ र चुइँगम किन्दै गर्दा ती किशोरीको नाम सोधेँ ।

‘किशोरी ।’

नामै किशोरी रहेछ । कुराकानी भए । गफिएँ भनौँ । हाँसो मजाकमै एउटा फोटो खिचेँ किशोरीको । किशोरी मुस्कुराइन् र भनिन्, ‘फर्कँदा पस्नुहोला हइ अंकल !’

गन्तव्य सिक्किमको गान्तोकसम्मको थियो हाम्रो । प्रवेश स्नेहमय भयो । र यात्राको जीप अघि बढ्यो । बाटोमा चालकसँग गफ चले । उनको घर जोरपोखरी रहेछ । नाम उमेश प्रधान । मैले नेवारी भाषाका कुरा गर्न खोजेँ, जान्दा रहेनछन् । त्यो दिन दार्जिलिङ्गको बास भयो ।

भोलिपल्ट बिहानै टाइगरहिलमा पुग्यौँ । दार्जिलिङ्गको सूर्योदयको मनमोहक दृश्य हेर्न । ठुलो चउर, दर्शकको भिडभाड । म पनि भिडमा पसेँ । सूर्योदय भएको थिएन अझै । त्यस्तैमा भिड छिचोल्दै एउटी किशोरीले, ‘कफी खानुस् अंकल’ भन्दै मुस्कुराइन् । मैले, ‘खान्नँ’ भनेँ । धेरै बोलिनँ । उनको मुखमै हेरिनँ ।

‘म किशोरी क्या !’ उनको त्यस आवाजले तान्यो । ‘हिजोकी किशोरी नि !’ र कफी दिइन्, खाएँ ।

‘व्यापार हो अंकल, खाली बस्नु भएन क्यार !’ उनले मुस्कुराएरै भनिन् । मुस्कुराहट हेरेको पैसा लागेन । कफीको पैसा दिएँ । त्यसपछि उनी अलप भइन् कता । फर्कने बेलामा भेटिइन् तर कफी सकिएको रहेछ, बोलिनन् । मुसुक्क पनि गरिनन् । यस कुराले दार्जिलिङ्ग र सिक्किमको यात्रालाई सजग बनायो अलिकति । अड्कलेर बोलेस् भन्यो मनले । हस् भनेँ ।

भने नि ! थुप्रै साथीहरूको माझमा पनि म एक्लै थिएँ । मन एक्लिएको थियो । मन एक्लै नहुँदासम्म तरङ्गहरू बरालिए । कल्पनाहरू छिरलिए । अनि…! एकोहोरिनै कर लाग्यो । यात्राको रफ्तार बढेकै थियो । साथीहरू गल्याङ् मल्याङ गफ गर्दै थिए । नेपाली भाषा, शैली, बोलीको लवज, पहिरन आदिको विषयमा चर्चा हुँदै थियो । यस्तैमा डाँडाबाट टिस्टा नदी देखियो । अझ हामी दार्जिलिङ्गकै भूभागमा थियौँ । हामी झ-यौँ गाडीबाट र त्यो मनोरम दृश्य हे-यौँ । मैले पनि हेरेँ । मेरो मनले अझ बढी हे-यो । केलायो । मनमा धेरै कुरा खेलायो सायद ! टिस्टा एउटो खोलो मात्र थिएन । इतिहास थियो नेपालको । आस्था थियो । संस्कार बोकेको थियो । नेपाली संस्कृति र भाषाको प्रवाह थियो र छ पनि । त्यसैले पनि मेरो मन घोरियो एकैछिन् । एकोहोरियो । कताकता भावुक पनि भयो । अनि माथिबाटै फोटो खिचेँ । टिस्टाको स्नेहले तान्यो । चरप्प अँठ्यायो । अँगालो हाल्यो ।

टिस्टाकी देवी…! गला अवरुद्ध भयो मेरो । मन भरियो र आँखा चिम्म गरेँ । यस्तैमा कताकताबाट टिस्टादेवी आइन् मेरो मनमा र मुस्कुराउँदै भनिन्, ‘दाजु, मै हुँ टिस्टाकी देवी । मेरो घर त उता टिस्टापारि हो, दाजुले सम्झनु भयो र आएकी !’

‘अँ, कतै अघिकी किशोरी जस्तै व्यापारी त होइनौ ?’ मेरो मनले शंका ग-यो र सोध्यो । उनले इन्कार गरिन् मेरो कुरो । कबुल गरिन् र भनिन्, ‘म त सिक्किमकी हुँ दाजु । सिक्किममा अझै सत्य डग्मगाएको छैन । तपाईँ आउँदै हुनुहुन्छ भन्ने पनि थाहा पाएकी थिएँ । उतै भेट गरौँला, अहिले गएँ ।’ अनि उनी एकाएक अलप भइन् । मैले आँखा खोलेँ । चारैतिर नजर डुलाएँ । अहँ, देवीलाई देखिनँ कतै ।

गाडीमा चढेपछि मेरो मनमा कुरा खेल्न थाल्यो । टिस्टादेवीको परिकल्पना नाच्यो । अनि टाउको चसक्क भयो । अलि बढी दुख्यो । अलि तल, मल्लीबजारमा ब्रुफिन औषधि किनेँ । बजार र त्यहाँका बासिन्दा हेर्दा म नेपालमै झैँ छु भन्ने भान भयो । पसलवाला बङ्गाली मूलका मान्छे, उनले शुद्ध नेपाली भाषामा कुरा गरे । त्यहीँ औषधि खाएँ । मन रमाएर पनि होला । टाउको हलुिङ्गयो । र, सिक्किमको गान्तोक पुग्दासम्म पनि टिस्टादेवीको फिल्म सकिएन । बन्द गर्छु, आफै खुल्छ । अटो प्ले भएछ । बाटोमा मनोरम दृश्यहरू धेरै देखिए । मणिपाल मेडिकल कलेजलगायत जेजति देखेँ । उहीँ टिस्टादेवी फुरुक फुरुक नाच्छिन् बा !

गान्तोकको देउराली बजार पुगेपछि म टिस्टादेवीको मन्दिर खोज्दै हिडेँ । कतै मेसो पाइएन । ट्याक्सी स्टेशन नजिकै अलि पाकाजस्ता देखिने मान्छे भेट भए । सोधेँ, ‘टिस्टादेवीको मन्दिर कता होला ?’

‘कुन टिस्टादेवी हुन् ? सीता भनेको हो ?’ उनले मुस्कुराउँदै जवाफ दिए ।

‘होइन’, मेरो छोँटो जवाफ सुनेर उनले पुर्लुक्क आँखा नचाए । म हिडेँ ।

झमक्क साँझ पर्न लागेको थियो । मदिरा पसलमा मदिरा पारखीहरूको भिड लागेको रहेछ । पुस्तक पसलमा अखबार हेर्नेहरूको जमघट जस्तो लागेर म त्यतै गएँ । स्थानीय उत्पादनको सस्तो मदिरा । नेपालमा गाडी चलाउँदा चालकलाई मदिरा सेवन निषेध हुन्छ । त्यहाँ रहेनछ । त्यो कुरा बाटोमा हाम्रो चालकले भनेका थिए । मैले उनीहरूसँग पनि टिस्टादेवीको कुरा गरेँ । सबै गललल हाँसे ।

‘तपाईं कवि हुनुहुन्छ ?’ एकजनाले मलाई सोधे ।

‘अलिअलि’, मेरो जवाफपछि उनीहरू फेरि हाँसे ।

‘कविहरूले यस्तै यस्तै प्रश्न गर्छन्’, सबैले मलाई उडाए । म चुपचाप होटलतिर लागेँ ।

दिनभरिको यात्रा, समान्य हिँडाइ पनि । थाकेको महसुस भयो । ऋतुको कारणले गर्मी र जाडो जिरो माइलमा उभिएको थियो तराईतिर । हामी तराईबाट गएका थियौँ । गान्तोक सहर, धनकुटा र तानसेन उस्तै उस्तै लाग्यो । मनचिसो जाडो । बेलैमा खानपिन गरेर सुतेँ । सुतेपछि पनि एकछिन यात्राको समीक्षा गरेँ मनमनै । अर्कोछिन टिस्टाकी देवीले अल्मल्याइन् । जब उनी गइन्, निद्रादेवीले झपारिन् । सुतेको झ्याप्पै निदाएछु ।

गुरुदत्त ज्ञवाली

मध्यराततिर कानमा शिखरिणी छन्दमा जस्तै एउटा आवाज गुन्जियो । जागेँ । अर्को खाटमा सुतेका साथी घुरेका रहेछन् । एकछिनपछि छन्द बदलेर अनुष्टुप् जस्तो लाग्ने छन्दमा घुरे । जब उनले कोखो फेरेर सुते, बाघ गर्जेझैँ गरेर घुरे । छन्द फेर्दै गए । फिटिटिटि फुस् गर्छन् कतिबेला । मोटरसाइकलको आवाजले घुर्छन् । उधुम गरे । सानो टेपरेकर्डर थियो साथमा । उनको घुराइ रेकर्ड गरेँ र भोलिपल्ट सुनाएँ । हाँसियो मज्जाले । अनि नघुर्ने तरिका सिकाएँ । अर्को रात घुरेनन् ।

अँ, साथीको लयात्मक घुरनभन्दा पहिले नै अर्थात् पहिलो निद्राको झप्कोमै टिस्टादेवी दुछुम्म आइन् । निलो पहिरन, अनुहार पनि नीरवर्णकै, नीलपरी । अनुहार हेरेर उमेर अड्कल गर्न नसकिने । यसो हेर्दा २५ नकाटेकी जस्ती, गढेर हेर्दा ४० कै सेरोफेरोकी लाग्ने र निदाएर हेर्दा किशोरी जस्ती पनि । उनैले नमस्ते गरिन् र भनिन्, ‘सन्चै हुनुहुन्छ ?’

‘अँ, म सन्चै छु’, भनेँ मैले ।

त्यसपछि उनी धाराप्रवाहले बोलिन्, ‘म टिस्टाकी देवी हुँ, टिस्टादेवी होइन । तपाईंले टिस्टादेवी भन्दै खोज्नु भयो, जो मैले थाहा पाएँ । टिस्टादेवी भन्ने यहाँ न कुनै देवी छन् न कुनै मन्दिर । मेरो खास नाम त के हो के हो तर सबैले परी भन्छन् ।’

‘ए त्यसो भए तपाईं नीलपरी हो ?’, मैले सोधेँ ।

‘हो, म नेपालीकी छोरी हुँ । नेपाल मेरा माइती देश हो । तपाईं मेरो दाजु हुनुहुन्छ । दाजुले बहिनीलाई तिमी भनेको मन पर्छ । तिमी भन्नुस् र मात्र अरु कुरा गर्छु’, म उनको कुरामा सहमत भएँ ।

‘दाजु, तपाईंले अहिले मलाई नीलपरी देख्नु भएको छ, यही हुँ । अरु कुरा भोलि मात्र भन्छु । भोलि रातमा होइन, सपनीमा पनि होइन, दिनमै भेट्नु हुनेछ । म आफै आउँछु तपाईंसँग र मेरा मनका बह तथा पीडा पनि बताउने छु । मेरो मनमा खुसीहरू पनि छन् । खुसी पनि बाँड्ने छु’, यति भनेर उनी अलप भइन् ।

बिहान उठेर हामी गान्तोकका मठ मन्दिर तथा गुम्बातिर लाग्यौँ । सिक्किमका अन्तिम राजा छोग्यालको दरबार, अन्य फूलबारी, पार्क आदि हे-यौँ । भारतका सबै प्रान्तको प्रतिनिधित्व हुने गरी महोत्सव चलेको रहेछ । त्यहाँ पनि पुग्यौँ । त्यतिञ्जेल टिस्टाकी देवीको बारेमा मेरो मनमा कुनै कुरा खेलेनन् । फुर्सद पनि भएन ।

झाँक्री छहरा जसलाई झाँक्री फल्स भन्छन्, त्यहाँ पनि पुग्यौँ हामी । यात्राको रमाइलो एकातिर थियो, निजी जीवनको पीडाले मेरो मनमा आगो दन्केको थियो । आगाको ज्वाला घुटुक्क निल्नुसिवाय अरु उपाय थिएन । कतै कसैमाथि मन बिसाउने ठाउँ थिएन । त्यस्तो साथी बनाएको पनि थिइन मैले । एकाएक मनमा कुरा खेले । त्यहाँको मनोरम दृश्यले पनि खासै मन तानेन । यस्तैमा एउटी किशोरी जस्तो लाग्ने युवती मेरो सामुन्नेमा देखिइन् । झ्याप्पै अनुहार हेर्न सकिनँ । पहेँलै पहेँलो पहिरन थियो उनको । यस्सो कर्के आँखाले हेरेको, मुखाकृति पनि पहेँलो वर्णकै । पीतपरी । म अगाडि बढ्दै गर्दा उनले, ‘नमस्ते दाजु, मलाई चिन्नु भएन ?’ भनिन् । म झसङ्ग भएँ, उनै टिस्टाकी देवी !

‘दाजुको अनुहार मलीन देख्छु नि ?’, उनले मुसुक्क मुस्कुराउँदै भनिन् ।

कुरा गर्दै हामी अलि माथितिर रहेको चौपारीमा पुग्यौँ । उनले भन्दै गइन्, ‘स्वाभिमानी मान्छे, हरेश नखाने, हिम्मत नहार्ने, आज किन धमिलो अनुहार छ दाजुको ?’

‘कसरी जान्यौ मेरो बारेमा ?’, मैले एकसरो जवाफ दिएँ ।

उनले भनिन्, ‘म टुहुरी मान्छे, आफन्त कोही नभएकी, घरद्वार नभएकी, आयस्रोत पनि नभएकी, मागेर, झुकेर नखाने, चरित्रमा नडग्मगाएकी नारी हुँ । प्रकृति मेरो सहारा हो, स्वाभिमान मेरो दौलत हो, कहिल्यै कसैसँग पीडाका आँसु चुहाइनँ, उमङ्गमा कहिल्यै उम्लिनँ । तपाईंमा पनि त्यस्तो गुण देखेर सम्पर्कमा आएकी हुँ ।’

उनको कुुराले म पुनः झसङ्ग भएँ । ‘यी वनदेवीले छल्ने त होइनन् ? फसाउने त होइनन् ?’, यस्तो लाग्यो, कुनै जवाफ निस्केन मेरो मुखबाट । मेरो बारेमा कसरी थाहा पाइन्, त्यो भनिनन् ।

एकछिन न उनी बोलिन् न त म बोल्न सकेँ ।

धेरैबेर पछि उनले भनिन्, ‘मैले दाजुलाई राम्ररी जान्दछु । के के आनीबानीका कमजोरी छन्, स्वास्थ्यका कमजोरी छन् हजुरका । त्यो पनि थाहा छ । मेरो अनुरोध छ, ती कमजोरी आजबाट हटाउनु हुनेछ ।’

मैले मनमनै गमेँ, ‘कुनै अम्मल सम्मल सेवन गर्दिनँ । स्वास्थ्यमा त छ थोरै कमजोरी । प्रयास गरेको छु स्वस्थ रहन ।’

मैले मनमनै गरेका कुरा उनले बुझिछन् र भनिन्, ‘एउटा अम्मल हुनुपर्छ दाजुको जो सेवन गर्दिन भन्नु भएको छ । सबैलाई ढाँट्नु भएको छ । त्यसै अम्मलले स्वास्थ्यको सुधारमा बाधा पारेको छ ।’

म अलमलमा परेँ । मेसो पाइनँ ।

‘दाजुले अझै आफूलाई ठग्दै हुनुहुन्छ । सुर्तीजन्य पदार्थ ! खैनी, सुर्ती, गुट्का, पानपराग, चुरोट वा कुनै कुरा सेवन गर्नुहुन्छ, हो ?’, उनले मुखाकृति बिगारेर मलाई झपार्ने शैलीमा भनिन् ।

‘होइन’, उनको मुखमा नहेरिकन छोँटो जवाफ दिएँ । ती पदार्थ मैले खान्नथेँ । सेवन गर्दिनथेँ । हो, यदाकदा मुखमा हाल्ने बानी थियो, छ ।

‘मुखमा हाल्नु र खानुमा के फरक छ र दाजु ?’, फेरि अक्करमा पारिन् ।

‘जबसम्म यो बानी छोड्नु हुन्न, तपाईंमा रहेको गम्भीर रोग निर्मुल हुँदैन । मानसिकता नियन्त्रणमा रहँदैन’, उनले अलि कड्केरै भनिन् ।

मैले उनको कुरालाई स्वीकृतिको टाउको हल्लाएँ ।

म कताकता अलि भावुक भएँछु । चौपारीको ठुलो च्याप्टो ढुङ्गामा माटोले धर्का कोर्दै गम्भीर मुद्रामा रहेँ । आँखा रसाउँदै थिए । रसाए । मूल फुट्यो । भल बग्यो र ती भर्खरै कोरिएका धर्कामै प-यो । अमूर्त चित्र बनेका ती धर्काहरू मेटिए । पखालिए । र, ढुङ्गो सफा भयो । मैले नाम राखेकी परी, त्यसबेलाकी पीतपरीले मेरो तमाशा हेरेझै लाग्थ्यो । म जीवनको दोस्रो मोडमा पुगेँछु । लामो सास तानेर उनको मुखमा हेरेँ । आश्चर्य ! उनी पनि रोएकी देखेँ । पछि त भक्कानिएरै रोइन् । ‘आज मैले सच्चा दाजु फेला पारेँ ।’ दाजु र बहिनी बिचको सम्बन्ध अझै प्रगाढ बन्यो ।

अकस्मात्, मैले झिमिक्क पलक के पारेको थिएँ, अचानक उनी हातको इसाराले जान्छु भन्दै मुस्कुराउँदै गइन् । कहाँ गइन् थाहा भएन । यता मेरो मनमा बहिनी नाताकी ती देवीको बारेमा नानाथरिका कल्पनाका तरङ्गहरू खेल्न थाले । को हुन् यी देवी ? सपनामा पनि आउने, बिपनामा पनि आउने र कल्पनामा पनि आउने । कुराका शृङ्घला उस्तै छन्, सबै कुरा क्रमशः जोडिएका हुन्छन् । यो जमानामा न साक्षात् देवी हुन् भनेर मान्ने आधार छ, न भौतिक रूपकी नारी हुुन् जस्तो लाग्छ । उनको अनुहारमा काम बासनाको छनक देखिन्न, न त बोलीमै, नजरमै, स्पर्शमै छ । संयम, सभ्य, सुमधुर, स्नेहयुक्त शैली ।

कुरैकुरामा मैले मजाक गरेर ‘साह्रै राम्री छौ, मनमोहक पनि छौ, यसो लभ सभ वा कुनै विधिले कतै बिहे त गर्नुपर्ला नि !’, भनेर सोधेँ ।

त्यसो भन्दा उनी झस्किन् । रिसाइन् नै ।

‘यस्तो कुरा गरेको मन पर्दैन, यो कुरो पचेन मलाई’, भनिन् । यसो भन्दा म अलि डराएँ पनि । आवरणमा त खिसिक्क हाँसेँ तर परदेशको ठाउँ, मनमा निकै डर लाग्यो ।

हो त ! म अलि बिरामी मान्छे, जो कडा निगरानीका साथ नियन्त्रणप्रायः छ । अधिकतम सुधारोन्मुख छ । मन जबर्जस्त नियन्त्रणमा छ । केही आनीबानीमा मैले अरुका सुझाव मानिनँ, टेरिनँ । देखाइनँ मेरो कमजोरी र भनेँ, म ठीक छु । र, आज यी देवीका कुराले थप प्रभाव पा-यो, प्रेरणा मिल्यो, मन छोयो । मनमा धेरै कुरा खेलाएँ । उनले सङ्कटमा कहिल्यै नरुनू भनिन् । आफ्नो जिम्मेवारीमा नपन्छिनू भनिन् । नकारात्मक सोच नराख्नू भनिन् । उनले यो पनि भनिन् कि उनी सधैँभरि मेरो साथमा हुन्छिन्, सहयोग गर्छिन् ।

यात्रामा संलग्न साथीहरूले मलाई खोजेका रहेछन्, भेटाएनन् । नेपाली सिम चल्दैनथ्यो त्यता । स्थानीय सिम थिएन । फोन सम्पर्क पनि हुन सकेन र म एक्लै लुरुलुरु देउराली बजारतिर उकालो लागेँ । झमक्क साँझ परेको थियो । मदिरा पसलमा सौखिन पुरुषहरूका झुण्ड गुजुप्प देखिन्थे । ट्याक्सीहरू बास बस्न लागेका कुखुरा झैँ स्टेसन भवनमा छिर्दै थिए । होटलमा पुग्दा साथीहरू रङ्गीन रसमा मस्त देखिन्थे । म सुटुक्क कोठामा पसेँ र फ्रेस भएँ । अनि क्यान्टिनमा गएर भात खाएँ । साथीहरू बाह्र बजे यता रङ्गीन बैठकबाट निस्कन्नन् भन्ने लाग्यो । कोठामा गएर सुतेँ । सुत्नु के थियो, देवीको लिलाको रिल घुम्न थाल्यो मनमा । रिल नसकिँदै निदाएछु ।

एकछिनको निद्रापछि तन्द्रा सुरु भयो । निद्रामा सपना देखिन्न । तन्द्रामा अघिको बाँकी रिल सकिएछ । आँखा बन्द, तन्द्रा भङ्गको अवस्था भयो । कोठाको बत्ती निभे पनि नाइट बल्बले मधुरो हरियो प्रकाश दिएको थियो । यस्तैमा कोठामा मान्छे हिँडेको जस्तो पदचाप सुनेँ । कान टाठा भए । आँखाका कुना घुमाएर यसो हेरेँ । एउटा छायाँ सुस्तरी मतिरै आयो । डर पनि लाग्यो । भूत प्रेतदेखि डराउन्न भनेर धाक लगाउथेँ । अब डराऊँ कि नडराऊँ भन्ने कुरामा दोमन भएँ । चोर होइन, किनकि ढोका खुलेको छैन । छायाँ बिस्तारै भित्तामा टाँगिएको मेरो सर्टमा पुग्यो र गोजी छाम्यो । पाइन्टको गोजी पनि छाम्यो । पैसा त मेरो साथमै थियो । पाइन्टको गोजीमा पानपरागको पोको थियो, मुख बिगार्दै खोलेर हे-यो त्यस छायाँले । त्यस खोलभित्र ज्वानो राखेको थिएँ बेला बेलामा चपाउन हुन्छ भनेर । छायाँ मुस्कुराएको आकारमा चल्मलायो । मैले लामो सास तानेँ । अब यो छायाँ चोर वा भूत आदि होइन भन्ने लाग्यो । को हो त त्यसो भए ? अहँ, भेउ पाउन सकिनँ ।

छायाँले बत्ती बाल्यो र भन्यो, ‘दाजु, म बहिनी हुँ नि ! डराउनु भएको ?’

उनी दिउसो भेट भएकी देवी अर्थात् परी थिइन् । अहिले भने पुरै सेतो लुगा लगाएकी, त्यसै अनुसारको चम्किलो अनुहार थियो । स्वेतपरी ? मेरै नजिक आएर टुसुक्क बसिन् । मेरो मन एकाएक प्रफुल्ल भयो । मैले डराइनँ त भनेँ तर मन डराएकै थियो अघिसम्म । धेरै बेरसम्म गफ चले । मेरो घरको हालखबर उनैका मुखबाट सुनेँ ।

‘भाउजूलाई सञ्चो नहुँदो रहेछ, तपाईंको भूमिका महत्त्वपूर्ण रहन्छ यसमा, ध्यान दिनुहोला । तपाईं यता आउँदा आत्तिनु भएको थियो । मैले सम्झाएर आएकी छु । अहिले स्वस्थ हुनुहुन्छ, नआत्तिनुस् ।’

यस कुराले मेरो मनमा अझ कौतुहलता बढ्यो ।

‘मैलेमात्र जानेको कुरा, जान्नु पर्ने कुरा तिमीलाई कसरी थाहा भयो ? कसरी तिमी मेरो घरमा पुगेर सम्झायौ ?’, कड्केरै भनेँ मैले । यसपटक भने यी स्वेतपरी, कुनै परी वा देवी सेवी नभएर हावा हुन् भन्ने लाग्यो ।

‘म हावा होइन, मन हुँ, तपाईंको मन । तपाईंको मनमा खेलेको कुरा टपक्क टिपेर सहयोग गरेकी हुँ ।’

‘अरे बाबा ! मेरै मनको कुरो ? मैले कल्पना गरेको कुरो कसरी थाहा भयो हँ ?’, म दङ्ग परेँ ।

अब भने मैले अलि दह्रो मन गराएँ । उनको बारेमा अलि जान्ने उत्सुकता जाग्यो । सोधेँ, ‘हेर बहिनी, तिमीले आफूलाई मै हुँ त भन्यौ, साँच्चै भन आज, तिमी खास को हौ ? रङ्गी बिरङ्गी लुगा फेरेकी छौ । कडा कडा कुरा गछ्र्यौ । नैतिकताका कुरा गछ्र्यौ तर रातबिरात मसँग गफिन्छ्यौ पनि । मेरो आन्द्राभुँडी तान्छ्यौ, आफ्नो बारेमा केही बताउन्न्यौ । आज छिनोफानो गरौँ ।’ म नाटकीय रूपमा अलि कड्केँ ।

‘दाजु, म कुनै देवी होइन । परी पनि होइन । मेरो रूप र रङ्ग तपाईंको कल्पनाको खेल हो । तपाईंमा जुन बेला जस्तो मानसिकता छ त्यतिबेला मप्रतिको परिकल्पना हो । तपाईंको मानसिकता रङ्गीन हुँदा मलाई रङ्गीन देख्नु भयो । अहिले सामान्य अवस्थामा हुनुहुन्छ र स्वेतपरी देख्नुभयो । र्हेर्नुस् दाजु, तपाईंको मनको रङ्ग कस्तो छ ? रातो ? नीलो ? पहेँलो ? कालो ? वा रातो ? म त्यही हुँ । म कुनै मान्छे नै होइन । म भावना हुँ । दृष्टिकोण हुँ । चरित्र हुँ । मैले बढी मजाक गरेर, बढी इत्तरिएर, बढी उत्तेजित भएर तपाईंलाई रमाइलो गराउन सक्थेँ । क्षणिक आनन्द दिन पनि सक्थेँ । तर, तर त्यसबेला यो दाजुप्रतिको सम्मान मैले कहाँ राखुँ ? यो बहिनीप्रतिको स्नेह तपाईंले कहाँ राख्नुहुन्छ ?’, उनले थपिन् अझै, ‘ल, मान्नुस् म एकछिन तपाईंको खेलौना बनेँ । खेल सकिएपछि कि त हामी गलत मोडमा जान्छौँ वा बिछोड हुन्छ । हामी मिछिन्छौँ ।’

स्वेतपरीको कुराले मेरो मनमा बेग्लै तरङ्ग पैदा ग-यो । उनीसँग बहस गर्ने वा योभन्दा बढी जान्न खोज्ने उत्सुकता बन्द भयो । तर पनि, मैले थपेँ, ‘आनन्द के हो त ? रहर के हो ? उमङ्ग के हो ? ठट्टा के हो ? मनोरञ्जन के हो ? बासना, तृप्ति यी सबै कुरा के हुन् त ?’

उनले भनिन्, ‘मन हो सबै कुरा । मनले कल्पना गर्नुस् र आनन्द लिनुस् दाजु । मेरै विषयमा पनि त्यस्तै हो । मन स्वतन्त्र हुन्छ । तपाईंले मलाई छुँदा के पाउनुहुन्छ ? त्यही आनन्द लिनुस् । मेरो आवाजबाट, रूपबाट, गन्धबाट, स्पर्शबाट, भावबाट, मुस्कानबाट के पाउनु हुन्छ त्यही आनन्द लिनुस् । हो, आनन्दबाट नकारात्मक विकिरण पनि, नकारात्मक उर्जा पनि उत्पन्न हुन्छ । त्यसबेला मात्र सजग हुने हो । होइन र दाजु ?’

‘हो’, मैले छोटो जवाफ दिएँ यद्यपि ती कुराको बोध मलाई पनि थियो, उनीसँग बहस नगरेको मात्र ।

ढोकामा ढकढक आवाज आयो । साथीहरूको रङ्गरस कार्यक्रम सायद सकिएछ । घुर्ने साहित्यका कवि पनि आए । स्वेतपरीसँगको संसर्ग गोप्य राख्नु पर्ने, ‘छिटो लुक’ मैले आत्तिँदै परीलाई भनेँ । अनि ढोका खोल्न जाने सुरले यस्सो उठ्न खोजेको, साँँच्चै नै तन्द्रामा रहेँछु । भङ्ग भयो । साथी कोठाभित्र पसे । बोलेनन् आज । उनी सुतेको एकैछिनमा अलिअलि मात्र घुरे । आजको घुराइ भने लोकलयमा थियो । ‘पाकुम गुम, गुम्की पाकुम…..।’ यस्तै यस्तै । त्यसै तालमा । अनि म पनि निदाएँ ।

तेस्रो दिनको बिहान, हाम्रो सिक्किम यात्राको भिसा सकिने दिन थियो । साथीहरू नेपालतिर फर्कने सुरले गल्याङ्मल्याङ् गर्दै थिए । सबैले झिटीझोला कसेका । सिक्किमको चिनो स्थानीय सस्तो मदिरा र महङ्गा लुगाले निकै चर्चा पाएको थियो । एमजी मार्गको सुपरमार्केट, त्यसै पनि चारगुणाले महङ्गो रहेछ । एकजना साथीले त्यसै मार्केटबाट एउटा कोट किनेका थिए । चार हजार मूल्यको त्यो कोट, अझ फिक्सप्राइज ! निश्चित मूल्य । साथीले अघिल्लो दिन, पूरा दिन लगाएर बार्गेनिङ्ग गरे । साँझपख व्यापारीले हार खाएछन् । बाइस सयमा दिए । फिक्सप्राइजले तमाशा देखायो भन्ने सवालमा निकै हाँसो भयो । त्योभन्दा पनि बार्गेनिङ्ग गर्ने कलामा खप्पिस् हाम्रा साथीको विषयले अझ बढी चर्चा पायो ।

होटलबाट बिदा भयौँ सबै जना । रिजर्ब गाडी थियो, तयार भयो । हामी साविक सदरमार्गबाटै फर्कनु पर्ने नियम । हामी फर्केको कुरा अध्यागमनमा दर्ता हुनुपर्ने थियो । दार्जिलिङ्गका चालक, चालक मात्र होइन चलाक पनि थिए । हामी नाम्चीको चारधाम हेर्ने रहरमा थियौँ । हामी त्यहाँ सिक्किमेली बन्ने सल्लाह भयो । गान्तोकका बासिन्दा नाम्चीको यात्रा । यसरी योजना बन्यो । गाडी स्टार्ट भयो चल्यो, गुड्यो ।

मेरो मनमा टिस्टाकी देवीको बारेमा कुरा खेलेकै थियो । मन तरङ्गित थियो, रोमाञ्चित पनि थियो । कौतुहलता र अति विश्वासले मन थोरै चञ्चल पनि थियो । घरतिर फर्कनुअघि देवीसँग भेट हुनुपर्ने । बिदाइ हुनुपर्ने । यो इच्छा मरेरै जाने भयो त ? कुरा जेलिएका थिए मनमा । अलि घोरिएँछु । अँ, देवी टुप्लुक्क आइन् र भनिन्, ‘दाजु सन्चै हुनुन्छ ?’

म बोलिनँ ।

‘भन्नुस् न दाजु, आज घरतिर फर्कने तरखर हो ?’

‘हो केरे हुन त !’, दोधारे कुरा गरेँ मैले ‘दुःख नमान्नुस्, म तपाईंलाई केही उपहार र केही सन्देश दिँदै बिदाइ गर्न आएकी छु । सार्थक जीवन कसरी गराउने, कसरी रमाउने भन्ने बारेमा कुरा गरौँ एकछिन ।’

देवी आज रातो पहिरनमा थिइन् । पुरै रातो । अनुहार पनि रातो पिरो नै थियो । यसो आँखा गाढेर हेर्दा उन्मत्त बैँसकी जस्ती तर संयम । अनुहारविज्ञान अर्थात् फेसरिडिङ्ग साइक्लोजी बारेमा मैले सामान्य अध्ययन गरेको थिएँ कुनै बेला । छल्केको यौवनमा संयम साथमा रह्यो भने मान्छे, खास गरेर महिला बिछट्टै राम्रा देखिन्छन् । त्यसमा अनियन्त्रित कामुकता मिसियो भने त्यो भन्दा घृणित अरु कोही हुँदैनन् । उनमा त्यस्तो दुर्गुण थिएन, देखिएन ।

‘आज त लालपरी ?’, मैले ठट्यौली पारामा भनेँ । उनी मुस्कुराइन् मात्र, बोलिनन् ।

‘जाऊँ’, हात इसाराले भनिन् ।

हामी एमजी मार्ग हुँदै हामी उकालो चढ्यौँ । धेरै माथि एकान्त र रमणीय स्थल रहेछ । ह्वाइट पार्क नामको शीतल छहारी रहेछ त्यहाँ । बस्यौँ दुवै जना । सुरुमा उनले केही उपहार दिइन् । एउटा रङ्गीचङ्गी गुलाबको बिरुवा, दोस्रो निलो गुलाबको बिरुवा, तेस्रो पहेँलो गुलाबको बिरुवा, चौथो सेतो गुलाबको बिरुवा र पाचौँ बिरुवा रातो गुलाबको । अनि भनिन्, ‘यी फूलका बिरुवा तपाईंको जीवनका रङ्गहरू हुन् । रङ्गीचङ्गी फूल समग्र आनन्द वा सौन्दर्यको सङ्केत हो । निलो फूल शान्तिको सङ्केत, पहेँलो फूल एकाग्रताको सङ्केत, सेतो फूल स्पष्टताको सङ्केत र रातो फूल सफलता वा उन्नतिको सङ्केत हो । मेरो एउटै रूपलाई दाजुले जसरी विभिन्न रङ्गमा देख्नुभयो, तपाईंको मानसिकता पनि त्यसै अनुरूप थियो ।’

रङ्गको बारेमा अर्थात् यसले मान्छेमा पार्ने मनोविज्ञानको बारेमा मलाई पनि अलिअलि अनुभव थियो । अध्ययन गरेको थिएँ । लगभग मिल्यो । अचेल खास गरेर सामान्य अस्वस्थतापछि ममा अलि भावुकता बढेको अवस्था छ । फलस्वरूप आज पनि लालपरीका कुराले अलि भावुक भएँ । रुन त रोइन तर आँखाबाट आँसु आए । भल बगे । मेरो भावुकता, दाजु बहिनीको यो प्राकृतिक स्नेह एवं आत्मीयताले लालपरी पनि मेरो काख्खैमा आएर रोइन् । एकछिन सन्नाटा छायो । बोली आएन दुवै जनाबाट । एउटी वयस्क महिला, एकान्त थलमा थियौँ । मैले उनका कोमल हात स्पर्श गरेँ । सुम्सुम्याएँ । कुरा गरेँ । सुनेँ । हेरेँ । कामसूत्रको नियमले तथा विज्ञानको नियमले पनि जे पनि हुन सक्ने अवस्था हो दुवै जनाबाट । त्यस अवस्थामा मेरो पुरुष मसँगै थियो । म त संयमति नै थिएँ । लालपरी, उनी यसै पनि संयमित । उनको अर्को नाम संयमकी देवी भन्दा हुन्छ । मेरो स्पर्शले उनी कत्ति पनि विचलित भइनन् ।

हाम्रो बिदाइ हुने बेला भयो । उता हाम्रो यात्राको गाडीले नाम्चीको चारधाम दर्शन ग-यो । चारधाम साँच्चैको चारधाम थियो । भारतमा मानिएका चारधाम । बद्रीनाथ धाम, रामेश्वरम् धाम, द्वारका धाम तथा जगन्नाथपुरी धाम । त्यसका प्रतीकात्मक मन्दिरहरू थिए । टोली सबै धाममा घुम्यो, हे-यो । सबैभन्दा आकर्षक पशुपतिनाथ धाम थियो जो भारतीय चारधाममा उल्लेख छैन । नेपालका धाममा प्रसिद्ध छ । निकै रमणीय स्थल रहेछ । टोली दार्जिलिङ्गमा पुगेर हरियो चिया किन्यो । गाडी सिमानामा पुग्यो । आउँदा भेटिएकी किशोरी भेट भइन् । उनले त्यो दिनको व्यापार सकेर बसेकी थिइन् । बोलिनन्, नमस्ते पनि गरिनन् । उनी व्यापारी किशोरी । व्यापार छँदासम्म तरुनी बनिन्, मुस्कुरान्, बैँस देखाइन् । व्यापार सकेपछि हराइन् ।

यता लालपरी भनुँ, टिस्टाकी देवी भनुँ, अझ बढी बहिनी, मार्गदर्शक । उनले मेरो बिदाइको रातो रुमाल हल्लाइन् । बाइबाइ गरिन् । ठिक त्यसैबेला हाम्रो यात्राको गाडी पशुपतिनगर पुगेर घचक्क रोकियो । झट्का नै दियो गाडीले । म पनि झस्केँ । र, तन्द्रा भङ्ग भयो । मेरो काखमा रहेको रातो झोला जो यात्राभरि लालपरीको भूमिका निभाएको रहेछ, खस्यो । म भने यात्राका ती यादहरू र ती टिस्टाकी देवीका अविस्मरणीय क्षणहरू सम्हाल्नैमा व्यस्त भएँ ।

गुडबाइ टिस्टा ! गुडबाइ टिस्टाकी देवी !! गुडबाइ !!!

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

3 Comments

  1. आहा ! अति मिठो यात्रा संस्मरण ।लेखकको घटना ब्यान गर्ने शैली निकै उत्कृष्ट लाग्यो ।टिस्टाकी देवी यात्रा संस्मरण पढ्दै गर्दा म २०६९ साल तिर टिस्टा किनार पुग्दाको क्षण सम्झेर निकै भावुक हुन पुगें। दिनभरीको यात्रा पछि जब होटेलमा राती सुत्ने बेलामा घुर्ने साहित्यकारहरुका छन्दिए घुराइ रेकर्डिङ गर्दाको क्षण, टिस्टाकी देवीसंग भिन्न -भिन्न रुपमा
    पटकपटक गरेका भावनात्मक घटनाक्रम लाई रोचक ढंगबाट गरिएको प्रस्तुतीकरणले संस्मरणलाई निकै पठनिय बनाएको छ ।अन्तिम बिदाईको बेला टिस्टाकी देवि भनुँ, अझ बढी बहिनीले गरेका मार्गदर्शन अति मननिय छन् ।

    1. धन्यवाद गीतारानी बलाल
      मन फुकाएर कमेण्ट गर्नुभएकोमा खुसी लागेको छ ।

  2. नेपाल नाम्चा, यहाँले मेरा बिभिन्न रचनानाहरू प्रकाशित गर्दै अाउनु भएको छ । ती सबै र यो कथा समेत प्रकाशित गरिदिनु भएकोमा विशेष धन्यवाद छ ।
    अागामी दिनमा समेत यहाँको सहयोग तथा सद्भावमा निरन्तरता रहने कुरामा विश्वस्त छु ।
    गुरूदत्त ज्ञवाली
    तिलोत्तमा १, रूपन्देही

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button