
गज्याङगुजुङ गुजुल्टिएको जगल्टो
कविता
उदय मैनाली ‘अविरल’
बिर्तामोड -२ झापा ।
अनिर्णयको कालो कोठरीमा
प्रकाशको किरण नछिर्ने
पर्खालभित्र
मेरो एउटा साथी छ ।
शताब्दियौँदेखि ठगिएको
इतिहासले नभेट्टाएको
साहित्यले नछोएको
संगीतका धुनले नसुनेको
शासन र शासकबाट थुनिएको
हो, मेरो एउटा साथी छ ।
भेट्दा भन्छ-
मेरो नि रापुन्जेलको जस्तो
लामो, सिल्की र कोरिएको
केश थियो
मैले पानी नदेखेको
शताब्दी भयो
काँइयो नभेटेको
बर्षौ भयो ।
केश तेलको त कुरै छोडौँ
जुम्रा र लिखाले रक्त चुसेर
देह सुकेर गइसक्यो ।
कपाल गुजुल्टिएर
कहिल्यै नफुकिने जालो लागेको
मेरो एउटा साथी छ ।
उसको केशले न्याय पाएको दिन
मल्ल राजाका पत्नीहरुले
दिएको सति श्राप
मेटिने छ ।
शहिदले बगाएको रगतले
जीवन पाउने छ
टुहुराले साथ
विधुवाले सिन्दुर
असाहयले सहारा
पाउने छन् ।
गज्याङगुजुङ गुजुल्टिएको जगल्टोले
न्याय पाउने छ ।
मेरो साथीले न्याय पाउने छ
हो, मेरो साथीले न्याय पाउने छ ।
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)