
कस्ता कस्ता कुरा थिए पुस्तकका पानाभित्र, सबै कथा उदाँगियो पुस्तक नै पढेपछि
गजल
गोविन्द श्रृङ्खला
आफैलाई बिर्सिएछु मीठो नशा चढेपछि
उही विम्बमाथि घरि घरि आँखा गढेपछि ।
कस्ता कस्ता कुरा थिए पुस्तकका पानाभित्र
सबै कथा उदाङ्गियो पुस्तक नै पढेपछि ।
साउनको हराभरा कल्पनामा बसे पनि
चैत मास जस्तो बन्यो दूरीहरु बढेपछि ।
उज्यालोको खोजी गर्दा निशा भित्र हराउँदा
भावशून्य जिन्दगी नै ठोक्किएर लडेपछि ।
नसोचेको सबै भयो आशक्तिको भुँवरीमा
मनहरु डढेलोमा भित्रभित्रै डढेपछि ।
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



