
सडक सुनसान भएर के भयो, मभित्र प्रेमको सहर छ
प्रेम कविता-२
लीला अनओल
… र, यो कैदी समय
म तिम्रो प्रेमको तुफानी हावा फेरेर बाँचेकी छु
पिउदैछु अलि अलि गर्दै
तिम्रो अपनत्वको अमृत
र, जिउँदै यो सुनसान समय
तिम्रै यादको शिरानी हालेर ।
मलाई बाँँधेर राख्न खोज्दैछ पल पल
परिस्थितिको बलियो डोरीले
तर महसुस गर प्रिय
म तिम्रै वरिपरि
यादको बतास बहेर दौडिरहेकी छु ।
बिर्सेका छैनन् फुलहरुले मुस्कुराउन
दौडिरहेकै छ बादल आकाशमा उसैगरी
सडक सुनसान भएर के भयो
मभित्र तिम्रो प्रेमको सहर छ
जहाँ ओहोरदोहोर गरिरहेकै छन्
अनुभुतिका अनगिन्ती यात्रुहरु ।
वनमा उसैगरी गाइरहेछ गीत कोइलीले
जसरी तिम्रो याद बोकेर धड्किन्छ मुटु
बाहिर लकडाउन छ
तर मभित्र झन खुल्ला भएको छ तिम्रो शहर हिजोआज ।
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)