
लेख्नु छ माटाको मसीले माटोको कविता
माटाको कविता
ऋषभदेव घिमिरे
गोदावरी, ललितपुर ।
पृथ्वीको अलि तल्लो सतहबाट
झिकेर एक पसरी माटो
क्षारहरू हटाएर
शुद्ध मृत्तिकाको रस निचोर्दै
स्नान गराएर
चोख्याउन मन छ
विषाक्त शासकको शरीर ।
कुम्भकर्णको कोठासम्म
उज्यालो पुर्याउन
देखाउनु छ माटोको चमक
बनाएर माटोकै तिलक
सजाउने सदिच्छा छ
पापीको निधार
पोतेर माटाले दृढताको दैलो
भगाउनु छ यत्रतत्र सलबलाई रहेका
रोगका विषाणुहरू ।
माटोलाई नै बनाएर
सुरक्षा कवच
जोगाउनु छ माटोको अस्तित्व
खेलेर माटोकै रङ
गाउनु छ माटोको महिमा
माटोबाट नै झिकेर आत्मा
सजाउनु छ पुर्खाको सपना
सबैलाई पढाउन
लेख्नु छ
माटाको मसीले
सधैं प्रथम हुने
ऐतिहासिक माटोको कविता ।
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)