
बिना मेकअपकी ऊ
कथा
शिल्पा लोचन
सहरको चहलपहलमा ऊ बेग्लै थिई । बाक्लो बस्तीमा बाक्लै मान्छेहरुकोे भिडमा पनि ऊ बेग्लै देखिएकी थिई । हुन त यो ठाउँमा पक्कै ऊ नौली होली । नौलो होला, उसको यो सहरसँग परिचय । सहरको भिडमा नौली भएर उभिएकी थिई ऊ ।
हातमा फूलहरुको किस्ती लिएर हाटबजारको छेउमा बसेकी छे । नजिकै छ शिवालय मन्दिर । मैले पहिलो पटक देखेको उसलाई । पातली भए पनि पोटिला गाला । भरिला छाती । लामो कपाललाई समेटेर एक गुच्छा पारेकी । मानौ ती एक सप्को कपालले उसका निधार र गालामा असर गरेको थियो । घरिघरि आफैलाई हेरेर अरुतिर आँखा घुमाउँथी । उसका लागि हरेक चिज नौला थिए । त्यहाँ बगेको नालीको गन्धले होला सायद उसलाई, मुख बिगार्ने बनाएको । मैले देखँे, उसलाई एक सप्को कपालको लहरालाई हावाले पनि डिस्टर्व गरेको छ । घरिघरि कपालको त्यो सप्कोलाई कानसम्म पु¥याउँथी । हरेक पटक आँखाहरुमा कुनै भारी चिजहरुको बिसाउनी जस्तै गरी ढपक्क पारेर परेलालाई ढप्काउँथी र मुस्किल मानेर परेला खोल्थी । मानौ, परेलाहरुको भारी उतार्न असमर्थ छे ऊ । परेला बन्द भएको बेला पनि उसका आँखाहरु सँगै उसको अनुहार नमिल्दो देखिन्थ्यो । सहरका केटीहरुले पार्लर गएर आँखी भौंहरु मिलाएर गाजल क्रिम र ओठभरि लालीले सिङ्गारेका हुन्थे । उनीहका अनुहार अगाडि उसको अनुहार … ?
उसकै छेउमा उभिएको थियो एउटा अग्लो कदको अर्ध बैसे पुरुष । मैले त्यो अर्ध बैसे पुरुषको उमेरको अन्दाज लगाएँ । सायद ३५÷३६ बर्ष भयो कि ? उसकै छेउमा उभिएर आँखाहरुलाई हाटबजारको हरेक ब्यापारीहरुको मुल्यांकनमा दौडाएको थियो, या नियाल्दै थियो यी मान्छेहरुको भिडमा आफ्नै कद र पहिचान । मैले उसले लगाएको सिलसिलाई निलो पाइन्ट र निलो हवाई चप्पल अनि कुर्कुचाभन्दा माथि खुम्चिएर सरेको पाइन्ट हेरेर सहरको रमझममा हराएको देखेँ । त्यसो त हाटबजारको त्यो भिडमा अनि एक्लै भएको मेरो मन केही खोजिरहेको त थिएन तर यी दुवै मान्छेहरुमा मैले केही भेटे जस्तै नियाल्दै थिएँ । मेरो उनीहरुप्रति खोई किन हो नजर अडिरह्यो । त्यसो त यो सहरमा यस्ता मान्छेका नमूनाहरु नहुने होइनन् । तर, पनि मेरो उनीहरुप्रति यति धेरै चासो किन छ ? के तिनीहरु मेरा आफन्त हुन् ? आफन्त हुन् भनुँ भने मेरा नजरमा पहिलो पटक परेका थिए । आफन्त होइनन् भनुँ भने मेरो ध्यान किन उतैतिर तानिएको छ त ? मलाई कुनै चुम्बिकीय आकर्षणले ताने जस्तै लागिरहेको थियो । किन मलाई उसका परेलाहरु ढप्किदाँ म उसकै आँखाहरुमा कैद भए जस्तो मान्थेँ । मैले उनीहरुलाई धेरैबेर एकटकले हरिरहेँ । त्यही बाटो भएर अगाडि बढेँ तर अहँ ! उनीहरुले एकपटक पनि मतिर नजर लाएनन् ।
चल्ती बजारमा रहेको चल्दो पसलबाट मेरो आम्दानीले म सन्तुष्ट नै छु । काम गर्ने मान्छेहरु छन् । सात-आठ जनाको भान्सा मेरै कारणले चलेको छ । मेरो शोख भनेको केही छैन त्यस्तो । तर, किन किन आजकल मन एकोहोरिन्छ ? सबै भएर पनि अपुरो किन लाग्छ ? आखिर के कमि छ मेरो जीवनमा ? मलाई पैसाको अभाव छैन । मान्छेको पनि छैन तर मेरो अभाव के हो त ? कि मेरो अभाव म नै हुँ । आफैलाई हराउनु र आफैलाई नभेट्नु जत्तिको अभाव यो दुनियाँमा के होला ? म आफैलाई खोजीरहेको छु । त्यसो भए मैले कहाँ भेट्छु म आफैलाई । धेरै जसो मान्छेहरु आफैदेखि भाग्छन् । कतै म आफैदेखि आफै त भागिरहेको छैन ? यस्तै सोचाईहरुले म टोलाइरहन्छु ।
आज यो हाटबजारमा दुई हप्ता पछि निस्किरहेको छु । मान्छेहरु तरकारीको मोलभाउमा व्यस्त छन् । कोही कपडाको सस्तो मुल्यहरु भट्याउदै छन् । मधेसी मुलको केही मान्छेहरु ‘ये लेलो, ओ लेलो, सस्ता लेलो, हरेक माल १० रुपैया …’ र हल्लाहकै बिचबाट म गुज्रिरहेको छु । होइन, यिनीहरु यति चर्को स्वरमा किन ग्राहक बोलाउँछन् । मन परे त किनिहाल्छन् नि, होइन र ?
निकै अबेरसम्म बजार घुमेपछि म मन्दिरकै पेटीमै थचक्क बसेँ । मन्दिरमा आएर बस्दा कमसेकम मन शान्त त हुन्छ । यही मन्दिरको धुनीमा बसेर शिवजीका प्रसादमा लठ्ठ भएका एक हुल केटाहरु छन् । म एक्लै । मलाई यी सबमा पर्नु छैन तर मेरो यहाँ आउनुको एउटै कारण हो शान्ति ।
एक्कासी मेरो नजर मन्दिरको देब्रेतिर प¥यो । एक जना महिला सुँक्कसँुक्क रोएको आवाजले मेरो शान्ति भङ्ग भयो । केही बेर त त्यो रुने मान्छे जो सुकै होस् भन्ने लाग्यो तर मान्छेको मन न हो, कहाँ मान्छ र ? मान्छेको रोदनमा पिठ फर्काएर हिँड्ने साहस कहाँ हुन्छ र ? त्यो रुवाईले मनै बिथोलियो । मेरा पाइला नचाहँदा नचाहँदै पनि उतैतिर मोडिए । मान्छेहरुको माझमा ऊ रमिते बनिसकेकी थिई । अनि एउटा रमिते म थपिदै थिएँ । मैले एक जना महिलासँग घटना के रहेछ भनेर बुझ्न खोजेँ । उनले ओठ फर्काएर केही थाहा नभएको जनाइन् । म भिड चिर्दै अगाडि बढेँ ।
उसको अनुहार देखेपछि कतै देखे जस्तै लाग्यो । अझ नजिक गएर नियालेँ । अहो ! मैले दुई हप्ता अगाडि यही मन्दिरको नजिकै देखेको अनुहार रहेछ, जसलाई मैले निकैबेर आफन्तलाई जसरी हेरिरहेको थिएँ । आज उसलाई के भयो होला ? मनमा अनेकौ प्रश्नहरु उब्जिए । मैले भिडहरुलाई पन्छाएर उसलाई भिडबाट अलग्याएँ । सबै आफ्ना आफ्ना बाटो लागे । मलाई उसको बारेमा धेरै कुरा जान्न मन लाग्यो । त्यहाँ ती सबै कुरा सोध्ने वातावरण नै थिएन । मैले असहज हुँदै उसलाई नरुन भनेँ । मलाई रोइरहेको मान्छेलाई सम्झाउन पनि आउँदैन्थ्यो । न त मैले रोएको मान्छेलाई सम्झाउन नै सक्थेँ ।
‘के भयो तिमीलाई ? किन रमिता गरेकी ?’
उसले मुखै खोलिन । हिक्क हिक्क रोई मात्रै । मलाई मान्छे रोएको मन पर्दैन । उसको लामो परेलाबाट खसेको हरेक थोपा आँसुले मुटु भारी भैसकेको थियो । मलाई उसको एकोहोरो रुवाइले पिडा भैसकेको थियो । घरिघरि त मलाई गालामा थप्पड लाइदिउँ जस्तो लाग्यो । फेरि त्यसो गर्न पनि सक्दैनथेँ । मैले उसको हात च्याप्प समातें । अनि कसैको परवाह नगरी आफैतिर तानेँ । सरासर घरतिर लागेँ । बाटोभरि मान्छेहरुले मलाई अचम्म मानेर हरिरेका थिए । यतिबेला ऊ होइन, म रमिते भएको थिएँ ।
सरासर मेरो कोठामा छिरें । काम गर्नेहरुले थाहा नपाउन भनेर सुस्तरी ढोका लगाएँ । अझै पनि ऊ रुँदै थिई । मैले उसलाई एकैछिन रुन छाडिदिएर भान्सामा गएर एक गिलास पानी लिएर आए । त्यति बेलासम्म उसको रुवाई अलिकति कम भएको रहेछ । तर, आखाँहरु भने ओसिला नै थिए । बाटोबाट त लिएर आएँ । कोठामा ल्याएपछि बल्ल होस् भयो, यो त केटी मान्छे पो । अरुले के भने होलान् ? गिलासको पानी हातमा थमाउँदै भनेँ, पानी पिऊ । मन हल्का हुन्छ । धन्न उसले गिलास समातेर पानी पिई । एक छिन हामी दुवै मौन भयौ । न ऊ बोली न म । कसरी बोल्नु, कहाँबाट कुरा सुरु गर्ने । म अलमल भएँ । म अलमलमा थिएँ तर उसले मलाई किन त्यसरी लिएर आएको भनी प्रश्न गरी । म अवाक् भएँ ।
‘हो त, मैले किन ल्याएँ ? के मेरो उससँग सम्बन्ध थियो र ।’
‘तिमी कहाँबाट आएको ? के भयो तिमीलाई ? मैले फेरि प्रश्न गरेँ । म अरु जस्तो मान्छे होइन । तिमीले आफ्नो कुरा खुलेर भन्न सक्छौ ।’
उसले निकै काँपेको आवाजमा भनी, ‘म बर्वाद भएँ ।’
उसले आफ्नो कुरा भन्नलाई निकै आनाकानी गर्दै थिई ।
मैले उसलाई आफ्नो कुरा भन्न कर गरिरहें । किन भन्थी र सजिलै । मेरो जिद्ध्अगाडि उसको केही लागेन ।
कहाँबाट सुरु गरुँ, मेरो जीवनको कथा ? मेरो लथालिङ्ग कथा सुनाएर हजुरलाई किन पीडा दिउँ ? यो अभागीको कथा पनि अविश्वासलाग्दो छ । यो सहरमा म एक्ली भएँ ? मेरो साहारा कोही छैन ।
उसका आँखाबाट फेरि मोटा मोटा आँशुका थोपाहरु बगे ।
म अलमल्ल परेँ । मैले त्यो आँशुका थोपा मेरै हातले कसरी पुछ्न सक्थेँ र ? रोइरहेको हेर्न पनि त सक्दिन । म निकै धर्मसंकटमा परे । मान्छेहरु रोएको मलाई मनै पर्दैन । उसले निकै बेरपछि आँशु पुछी । अनि भन्न थाली आफ्ना कुराहरु ।
घरमा दाजु भाउजुहरु छन् । आमाबुवा नभएको टुहुरी म । गाउँकै स्कुलमै पढेँ । मेलापात दाउरा घाँसबाहेक मेरो जिन्दगीमा अरु के नै थियो र ? साथीहरु पनि खासै थिएनन् । मेरो कुरा बुझ्ने कोही थिएनन् । एक जना मभन्दा दोब्बर उमेरको दिलिप भन्ने मान्छेले आफ्नो श्रीमती नभएको भनेर मलाई फकायो । मलाई पढाउने र मैले जे भने पनि गरिदिन्छु मसँग बिहे गर भनेर फकायो । म के गर्थे र । जाबो एक छाक खान त नपाउने म । मीठो खाने राम्रो लाउने, पढ्न पाउने भनेपछि म फुरुङ्ग भएँ । तपाई आफै भन्नु न एउटा गाउँकी टुहुरीलाई यति भए पछि के चाहिन्छ र ? दिनहुँजसो उसले मलाई सपना देखायो । पैसा दिने, मिठो मिठो खाने कुरा दिने मेरै पछाडि लाग्ने भएपछि मेरो मन पनि पग्लियो । आखिर मान्छे न हो, माया गर्ने मान्छे कसलाई मन पर्दैनथ्यो र ? तपाई पनि त माया गर्ने मान्छेको विश्वास गर्नुहुन्छ होला नि होइन ?
घरिघरी उसले मलाई प्रश्न गर्थी । म झसङ्ग हुन्थें । हो त, माया गर्ने मान्छे चाहिन्छ त । ऊ नरोकि आफ्ना कु्रा भन्दै थिई ।
एक दिन मैले मलाई दाजुभाउजुसँग मागेर बिहे गर्न भने । दिलिपले तिम्रो दाजुले थाहा पाए कहाँ दिन्छन र ? तिम्रो र मेरो उमेर मिल्दैन भन्यो । त्यसपछि उसले भगाएर यहाँ ल्याएको हो । धेरै भएको छैन, हामी यहाँ आएको । आज २० दिन भयो होला ? १५ दिनसम्म त ठिकै थियो । पछि मलाई उसको छोराछोरी बुढी भएको कुरा थाहा भयो । अर्को दिन त हाम्रो कोठामा उसको बुढीसहित ५-६ जना मान्छेहरु आएर लिएर गए । म रोएँ, कराए । तर, मेरो आवाज कसैले पनि सुनेन । न मलाई साथमै लगे । दाजुहरुलाई भनुँ भने पनि कसरी भन्नु । घरमा जाउँ कुन मुख लिएर जाउँ । आमबुवा भए पो । दाजु भएर पनि नभए जस्ता छन् । २ दिनसम्म त म कोठामा बसेर रोइरहेँ । आज त भगवानको सामु रुन मन लाग्यो । त्यसैले मन्दिरमा आएर रोएँ । रुने बेला मान्छेले अरु कसैलाई हेर्दो रहेनछ । उसको अगाडि जो सुकै होस्, दुख्दा आँसु रोकिने रहेनछ । म घण्टौसम्म त्यहा रोएँ । मान्छेहरुले अनेकौं प्रश्न गर्दै थिए । त्यही भिडबाट तपाईंले मलाई यहाँसम्म ल्याउनु भयो । अरुले के भने होलान् । मेरो गन्तव्य कहाँ हो ? के तपाई भन्न सक्नुहुन्छ ?
उसको प्रश्नले निकै बेर घोत्लिएँ । उसको गन्तव्य कहाँ हो त ? ऊ को हो ? जसलाई मैले यहाँसम्म तानेर ल्याएँ । जीवन जतिसुकै सरल भए पनि जीवन के हो भनेर सोध्न निकै मुस्किल पर्छ । अरुकै श्रीमतीको हात समाएर मैले यहाँसम्म ल्याएको छु । के भन्छन् होला अरुले ? दुनियाको सुनुँ । म के उत्तर दिउँ उसलाई । उसको के गल्ती तिम्रो हो भनेर भनुँ । के त्यसो भए ऊ सही छ त ? कुन मानेमा सही छे ऊ । के कुराले उसलाई यति ठूलो निणर्य लिने बनायो । एक छाक भात ? कि कुनै बलिष्ठ पुरुषको काधको छाँयाले । के कुराले ऊ पछि लागी त ? आमाबुवा नहुनाले हो ? के त्यसो भए अब समाजको नजरमा कहिल्यै नउठ्ने गरी गिरी त ऊ ? किन पुरुषहरु एउटा केटीको भावनामा यसरी खेल्छन् ? मैले निकै बेर आफैलाई प्रश्न गरिरहेँ ।
निकै बेरको मौनतापछि मैले उसलाई सोधेँ, ‘तिम्रो नाम के हो ?’
‘विनिता थापा मगर ।’
एक पटक फेरि म आफैलाई उसको ठाउँमा राखेर हेरें । म सामान्य जुत्ता पसल चलाउने मान्छे । समाजमा मेरो स्थान पनि सानै छ । जातले सार्की । जातीयताको डर फैलिएर बसेको छ मभित्र पनि । योबाट बाहिर निस्कन कहाँ सक्थे र ?
विनितालाई कोठामा जान भन्न नै सकिन । यहाँ राख्न पनि मुस्किल थियो । यहाँ मेरो काम गर्ने स्टाफहरु पनि बस्छन् । फेरि उसलाई के भनेर राख्ने ? के नै सम्बन्ध थियो उसको र मेरो ?
बिस्तारै मैले उसको आँखामा हेर्दै भनेँ, ‘अब तिमी के गर्छौ त ?’
के गर्थी र विचरा ? निरिह भएर मतिर हेरी । मानौं उसले मसंग नै साहारा मागेकी छे । उसको दयालाग्दो अनुहारको निकै माया लागेर आयो ।
हेर, म यहाँ एक्लो छु । मेरो घर यहाँ पनि छैन । एउटा जुत्ता पसल छ । जातले म सार्की हुँ ? व्यापार राम्रै छ । जिन्दगी चलेकै छ ? अझैसम्म बिहे गरेको पनि छैन । केटी नहेरेको होइन । तर किन किन बिहे गर्न मनै लागेन । अहिलेसम्म तिमीजस्ती राम्री पनि भेटिन ।
मेरो कुरा सुनेर सुन्निएका आँखाहरुले पुलुक्क मतिर हेरी र मुस्क्क हाँसी । उसको हासो साँच्चिकै पानी परेको पछिको आकाश जस्तै निर्मल थियो । मलाई खुशी लाग्यो, यति धेरै दुखहरु भुलेर एक पलको लागि भए पनि हाँसी । विना मेकअपको उसको अनुहार कुनै परीकै जस्तै देख्न थालेँ । कति सुहाएको उसको ओठमा त्यो हाँसो । तिमी यसरी नै हाँस न है भन्न मल लागे पनि भन्न सकिन । कतिपय कुराहरु हामीले कहाँ खुलेर भन्न सक्छौ र होइन ? मैले उसलाई सोधे, के तिमी मेरो जीवन साथी बनेर यहाँ बस्न सक्छौँ ।
उसले निकै मुस्किल मानेर मलाई हेरिरही । धेरैबेरको हेराहेरमा खोइ के सोची उसले । अनि बिस्तारै भनी, मेरो जाने ठाँउ नै कहाँ पो छ र ? फेरि उसले नजानिँदो तरिकाले मेरो प्रश्नको उत्तर दिई ।
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)