
पाषाण, मानव र सोचाइहरु
कविता
पारस घिमिरे
म रौनकतामामा रङिएर
भावनामा भौतरिएर एक पृथक परिवेश सोच्छु
के हुन्थ्यो होला ?
मानव पाषाण भए
पाषाण मानव भए !
फुत्लुङग, फुत्लुङग फ्याँकिन्छन्
विचारहरु सोचाइहरुको शान्त तलाउमा
विस्मयित तरंगहरु संकेत गर्छन्, मूर्ख !
पाषाण मानव बन्छ ?
मानव पाषाण हुन्छ ?
म हेर्छु युद्धरत मानवहरु
पाषाणी उन्माद देखाइरहेछन्
दानवी हर्कत गरिरहेछन्
मानवताहरु हराएका छन्
भातृत्वहरु सेलाएका छन् !
म हेर्छु
शान्ति र सहिष्णुता अङ्गालेर बस्नेहरु
बज्रहरु सहिरहेछन्
विघ्नहरु खपिरहेछन्
मानवताको लागि लागिरहेछन्
भातृत्वको लगि खटिरहेछन्
निरन्तर, निरन्तर उहि गतिमा
कति पनि विचलित हुँदैनन् विचारहरु !
म फेरि सोचमग्न हुन्छु
के हुन्थ्यो होला ?
पाषाण मानव भए
मानव पाषाण भए !
(तपाईं पनि आफ्ना कविता, रचना, लेख, दैनिकी, संस्मरण आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)




अति शुन्दर कबिता नया सर्जकलाई सादुबाद।