थबाङ, रोल्पाबाट ‘झण्डाको यात्रा’
कविता: झण्डाको यात्रा
प्रेमप्रकाश
थबाङ, रोल्पा ।
हिजो दुर्गम गाउँबाट भोकभोकै
उठाइएका थिए झन्डाहरू– जो लाल थिए
जो फहराइएका थिए युद्धमा, आन्दोलनमा र विजयमा ।
हिजो खोक्दाखोक्दै बुढा बाउहरू
आँगन पोत्दापोत्दै आमाहरू
पँधेरोबाट बुहारीहरू
र जोत्दाजोत्दै जवानहरू
गोलबन्द भएका थिए झण्डामुनि ।
त्यही झण्डामुनि
गिँडिएका थिए केही बुद्धका शिरहरू
टुक्रिएका थिए प्रमिथसका हातहरू
रेटिएका थिए गीत गाउने गलाहरू
र इतिहासको बगैंचाबाट चुँडिएका थिए
केही सुन्दर फूलहरू ।
झन्डा त– इतिहासको दस्ताबेज हो
वीरहरूले जोगाएको वीरताको निशानी हो
त्यो झण्डा खोइ कमरेड ?
कमरेड !
एउटा घाइते योद्धाले कसरी भुल्न सक्छ
युद्धमा गुमाएको हात
जुन हातमा
उसको प्रियसीले प्रेमले औंठी लगाइदिएकी थिई ।
तर त्यो झण्डा तपाईंबाट पनि छुटिसकेछ ।
खुट्टा गुमाउनेहरू गाउँमै छुटे
आँखा गुमाउनेहरू अन्धकारमा डुबे
ज्यान नै गुमाउनेहरू त्यो झण्डाबाटै छुटे,
कमरेड
त्यो झण्डा तपाईंबाट पनि छुटिसकेछ ।
लाग्छ,
तपाईंले चलाएको युगीन अभियान
जो बिरामी परेको छ अब क्यान्सरले
र थलिएको छ प्यारालाइसिसले गलेर ।
समयको कालखण्डमा
इतिहासका पदचापहरू पछ्याउँदै
पुरानै अस्तित्वका लागि म फेरि आइपुगेको छु
खोजेर त्यो लालझण्डा ।
जुन झण्डा
युद्धमा मारिएका शहीदले ओढेर सुतेका थिए
म चिहानबाट त्यही झण्डा झिकेर आइपुगेको छु ।
(तपाईं पनि आफ्ना कविता, रचना, लेख, दैनिकी, संस्मरण आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)