कमरेडको पनि त ज्यान हो, दुख्छ नि !

पुस्तकांश
सञ्जीब लिम्बू

एक दिन घाउ सफा गर्न पट्टी फुकाउँदा चस्स दुखेर ऊ चिच्यायो । खासमा पट्टी घाउमा टाँसिएको थियो । त्यसलाई उक्काउँदा उसलाई सही नसक्नु पीडा भयो । त्यतिखेर बेदनाले जिस्क्याउँदै भनेकी थिई, ‘के हो क्रान्तिकारी कामरेड भएर अलिकति दुखेको पनि सहन नसक्ने ?’

‘कामरेडको पनि त ज्यान हो, दुख्छ नि !’ उसको जवाफ सुनेर मुसुक्क हाँस्दै बेदनाले भनेकी थिई, ‘हरेक पीडालाई मनबाटै संकल्प गरेर शक्तिमा बदल्नुपर्छ । चाणक्य नीति पढनु भा’को छैन ?’


‘म त कामरेड आफूलाई धेरै नीति, वादहरुमा बेर्न चाहन्न ।’ वीरजङको कुरालाई वेदनालाई उदेक मानी । क्रान्तिकारीहरुले माक्र्सवाद, लेनिनवाद, माओवाद त अनिवार्य जस्तै बुझ्नु पर्छ । उसले सिकेको यही हो । भौतिकवादी दर्शनशास्त्र नछिचोली कसरी लाल र निपुण हुन सकिन्छ रु उसले सम्झाएकी थिई, ‘सबैभन्दा ठूलो समस्या वर्गीय अन्तरविरोध हो । असमानता हो । सर्वहारा वर्गको हातमा सत्ता आयो भने वर्गविहीन साम्यवादी समाजतिर अघि बढ्छ संसार ।’

‘मलाई त कमरेड, मान्छेको ठूलो दुश्मन मान्छे नै लाग्छ । आजसम्म कुनै एलियनहरुले पृथ्वीमा आक्रमण गरेको सुन्नुभएको छ ? कि पृथ्वीमै अर्को प्राणीको नाम सुन्नु भा’को छ ? जसले मान्छेसँग प्रतिस्पर्धा गर्न सकोस् । त्यसैले यो वाद, धर्म, राजनीति कवच मात्र हो ।’ उसलाई खासमा यस्तो कुरै गर्न पनि दिक्क लाग्थो, ‘मलाई त सारा मोह त्यागेर साधु भएर हिंडौं, लाग्छ ।’

(‘सन्निपात’बाट)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button