परास्त प्रेम, पहलमान र प्रेमध्वज
श्रद्धासुमन
मणि लोहनी
उनी कहिल्यै असन्तुष्ट देखिएनन् ।
सदैव शान्त र शिष्ट । आर्थिक र सामाजिक रुपमा पनि उनी अब्बल । गायनको त कुरै नगरौं, विशिष्ट गायकीका कारण उनी देशदेशावरमा प्रसिद्ध छन् । तर, पनि भिन्न किसिमको उदासी उनको अनुहारमा भेट्थेँ म । उनका गीतहरुमा झै उदासीका लहरहरु उनको अनुहारमा झल्किन्थ्यो । उनी सधैँ गंभीर देखिन्थे । मीठो मखमली आवाज र आकर्षक व्यक्तित्वमा गंभीरता गहनाजस्तो थियो – सुहाएको ।
तर पनि लाग्थ्यो कतै केही खाली छ । रित्तो छ । भरिन बाँकी केही छ उनीभित्र । शान्त तलाउजस्ता थिए प्रेमध्वज प्रधान तर पूर्ण थिएनन् सायद । उनका गीतहरु सुनिरहँदा र उनीसँग पटक पटक भेटिसकेपछि मैले निकालेको निक्यौल के हो भने- मेरा प्रिय गायक प्रेममा अझ अव्यक्त प्रेममा भक्कानिइरहे सायद ।
हरेक भेटमा उनले मलाई दुई कुराको जिकिर गरिहाल्थे- प्रेममाणिक र परास्त प्रेम ।
गायक संगीतकार माणिकरत्न र उनी मिलेर बनेको नाम ‘प्रेममाणिक’ । अनि मेरो कथासंग्रहको नाम ‘परास्त प्रेम’ । भारतीय संगीतकारद्वय शंकर–जयकिशनको जोडीबाट प्रभावित भएर गायक–संगीतकार माणिकरत्नसँग मिलेर उनले ‘प्रेममाणिक’ नाममा संगीतको क्षेत्रमा काम गरेका रहेछन् । मेरो नाम मणि र मैले दीपकसँग मिलेर ‘दीपकमणि दाजुभाइ’ नाममा साहित्य र लेखनको क्षेत्रमा गरेको कामका कारण उनले मलाई सधैँ प्रेममाणिकको प्रसंग झिकिहाल्थे । भन्थे, ‘दुई जना मिलेर काम गर्दा थप सृजनशील र बिहंगम दृष्टिकोण राख्न सकिन्छ ।’
मेरो कितावको नाम परास्त प्रेमले त उनी हुरुक्कै हुन्थे, ‘मणि भाइ, प्रेम त कहिल्यै नहार्नु पर्ने हो खासमा । तर प्रेम सधैँ परास्त नै हुन्छ । तपाईले बेजोड लेख्नुभयो परास्त प्रेम ।’ यो प्रेमको अभाव र कष्ट होइन प्रेमको त्याग र समर्पणबाट सिर्जित अवस्थाको त्यो खाली र रित्तो अनुभूतिको सम्वोधन हो भन्ने मैले बुझेँ । मेरा प्रिय गायक प्रेमध्वज प्रधान मलाई प्रेममा सदैव रित्तो लाग्यो, खाली । त्यसो त हरदम पछ्याइरहने भाउजु, अप्ठेरो नपरोस् भनेर सजग छोराहरु र उनका गीतले लठ्ठिएका लाखौँश्रोता र शुभचिन्तकहरु उनीसँगै थिए । तर पनि जव प्रेमको कुरा आउँथ्यो गंभीर उनी झन लल्याकलुरुक हुन्थे । कोमल र शालिन उनी प्रेमका प्रशंग आउँदैसाथ निकै संवेदनशील बन्थे, ‘जीवनमा परास्त प्रेमको अभिशप्तता मेरी आमाले भोगिन् । मैले भोगेँ । र आजसम्म भोगिरहेछु मणि भाइ ।’
‘अनि दाजु हजुरको आफ्नो प्रेम ?’
‘भाइ मेरो बालमनस्थितिमाप्रेम विवाह अपराध हो भन्ने परेको थियो । प्रेम मेरो चाहना हो, रहर हो तर अवस्थाअनुकुल थिएन । अनि सदैव हिडिरहेँ हरकोहीको अघि गुनगुनाउँदै – घुम्तीमा नआउ है ।’
‘भोलि जब हुन्छौ हामी एक अर्कासँग टाढा टाढा
फूलजस्तो माया पनि बिझाउने बन्छ काँडा काँडा
सुस्केरामा रात बित्छ, सक्नेछैनौ निदाउन निदाउन’
कस्तो गीत हो यो ? शुरु हुनु अघि नै विछोडको डरले आँत्तिने ? के प्रेम सुरु हुन नपाउँदै अन्त हुन्छ? ‘त्यो प्रेम थियो की आकर्षण ? म अहिलेसम्म पनि अन्यौलमा छु । तर पछि हामी त दिदीभाइजस्तो सँगै मुम्बइ बजार घुम्यौँ ।’ उनले नायिका माला सिन्हाको प्रसंग निकाले ।
‘प्रेम थिएन र ?’ मैले सोधेँ ।
‘उनले मन पराउँथिन् । तर मैले मन पराउन सकिन । मन पराउनुपर्छ भन्ने नै भएन । मन पराउनु नै अपराध जस्तो । सजायँजस्तो लाग्थ्यो । त्यही मनस्थितिमा मैले परास्तप्रेम महशुश गरिहन्थे ।’ उनले बिस्तारी बोले ।
‘यो कुन किसिमको अपराधबोध हो दाजु ?’
‘यो परास्त प्रेम हो भाइ ।’ मज्जाले हाँसे उनी, ‘यो प्रेममय हुन नसकेको मेरो बाल्यकालको प्रभाव हो ।’
शास्त्रीय संगीतकी गायिका उनकी आमाले रत्नध्वज प्रधानसँग प्रेम विवाह गरेकी थिइन् । जातीय छुवाछुतको कट्टर समयमा भएको त्यो विवाह समाज र राज्यलाई मान्य भएन । लुकीछिपी ६–७ वर्ष वित्यो । जुद्ध शमशेरले रत्नध्वजलाई मार्ने धम्की दिएपछि प्रेमध्वजका बा आमाको विछोड भयो । सामाजिक रुपमा उनीहरु अलग अलग भए । त्यसबेला प्रेमध्वज ६ वर्षको थिए । तवलावादनमा निपूण उनकी आमाको गीतसंगीतले दरवारसम्म चर्चा पाएको थियो । उनी राजा त्रिभुवनको प्रिय गायिका थिइन् । पतिसँग छुट्टिएर अलग्गै बसेपछि आमाको एक्लोपनामा साथ दिए उनले अन्तिम समयसम्म । ६ वर्षको हुँदा नहँुदै बाबु र आमाकोबीच दाम्पत्य जीवन छुट्न पुगेको पीडा प्रेमध्वजमा गढेको थियो । आमाको अदृश्य पीडा, जीवन डोयाउन सानैदेखि गरेको संघर्ष अनि संगीतप्रतिको आशक्तता, यी तीन कुराले प्रेमध्वजलाई झनै शालिन, शान्त र भावपूर्ण बनाइदियो । प्रेममा उनी सधैँ पर पर सरिरहेँ –
‘पर लैजाउ फूलहरु, छोपिदेउ ताराजून
बन्द गर गीतहरु, तिम्रो याद आउने सबै चिजहरु ।’
०००
२००७-०८ सालतिर प्रेमध्वजले नारायणगोपाललाई मच्छिन्द्रबहालको केलटोलमा गुच्चा खेल्ने क्रममा भेटेका थिए । दुई विराट गायकको भेट बाल्यकालमा गुच्चाको माध्यमबाट भएको थियो । व्यापारी लक्ष्मण श्रेष्ठको कपास र धागो पसल अघि उनीहरु गुच्चा खेल्थे । त्यसताका नारायणगोपल ‘सानोबाबु’ का नाममा परिचित थिए । उनी नारायणगोपाल भइसकेका थिएनन् । हातमा धुलो पुछेर काठको फलेकमा तवला बजाउँदै सानोबाबुले मन्नाडेको गीत गाएर आफ्नो संभावनायुक्त गायकीको परिचय दिएका थिए । प्रेमध्वज मग्न भए । त्यसको दुई वर्षपछि नारायणगोपाल राममान तृषितको शब्द र प्रेममाणिकको संगीतमा रेडियो नेपालमा स्वरपरीक्षा दिन गए । त्यतिखेरसम्म प्रेमध्वजले अमेरिकन लाइब्रेरी जागिर पाइसकेका थिए भने ‘सानोबाबु’ पहलमान भइसकेका थिए । प्रेमध्वजको नयाँ साइकल चढेर नारायणगोपाल रेडियो नेपाल पुगेका थिए । उनले गीत गाए–‘पक्षीको पंखमा’ र स्वरपरीक्षा पास गरे ।
त्यसो त प्रेमध्वज र नारायणगोपालको मित्रता सधैँ नै रह्यो ।
‘उसले दार्जिलिगेहरुसँग हिमचिम बढाएपछि उ हामीबाट टाढा भयो’, प्रेमध्वजले भने । त्यसो त पेमलासँग विहे गरेपछि पनि उनीहरुको भेटघाट र गफगाफ चलिरह्यो । ‘पेमला बच्चा पाउनेवाला थिइन् तर खेर गयो ।’
वीर अस्पतालमा बच्चा ‘खेर’ गएपछि डाक्टरले नारायणगोपाललाई पेमला अब आमा बन्न नसक्ने बताएका थिए । यो कुरा प्रेमध्वजको आमालाई सुनाउँदै नारायणगोपाल रोएका थिए । ‘पहलमान रोएको देखेको त्यो नै पहिलो र अन्तिम थियो, मेरा लागि । बरु पछि उसैले हामीलाई रुवाएर गयो’, प्रेमध्वज गंभीर बने ।
उनकी आमा तुलाधर र बुबा प्रधान । आमाबुबाको प्रेम विवाहमा जात बाधक बन्यो । त्यसताकाको सानो काठमाडौंको दुई स्थानमा बा आमा बस्थे । उनको बाल्यकालको धेरै समय यी दुई ठाउँमै बाँडियो । जिजुबाजेकै पालादेखि उनको घरमा शास्त्रीय संगीतको प्रभाव परेको थियो । त्यो बेला दरबारमा उस्तादहरूद्वारा शास्त्रीय संगीतको तालिम दिइन्थ्यो । उनकी आमाले पनि दरबारमा तालिम लिने अवसर पाएकी थिइन् । हार्मोनियम र तबला घरमै थियो ।
‘मैले पहिलो स्पर्श गरेका बाजा यिनै हुन्’, उनले पुराने हार्मोनियम देखाए । ‘आमा तबला बजाइराख्नु हुन्थ्यो । स्वर, मात्रा, त्रिताल, गठ आदि जानकारी आमाबाटै पाएँ’, उनी विगततिर बहकिए ।
त्यसो त सबै आमाहरू जीवन बाँच्न सिकाउने पहिलो गुरू हुन् । उनले भने आमासँग संगीत पनि सिक्न पाएँ । कति रमाइलो संयोग भने उनले आमाको संगीतमा केही भजनहरू गाउने मौका समेत पाए ।
‘आमासँगै गाउने अवसर पाउनु मेरो जीवनकै सुखद अनुभव हो । जे जति काम गर्न सकेको छु,, त्यो आमाकै प्रेरणा हो । जे जति असल गुण लिएर बाँचेको छु, त्यो आमाकै शिक्षाको परिणाम हो ।’
आमा त सबैका हुन्छन् । तर आमाप्रतिको यो संवेदीत र आदरभावले भरिएको अभिव्यक्ति मैले कि प्रिय कवि मञ्जुलबाट सुनेँ की गायक प्रेमध्वजबाट । हुन त राष्ट्रकवि माधव घिमिरेले मेरी आमासँगको वार्तालाभमा भनेका वाक्यहरु पनि कम सुन्दर थिएनन् । २०६८ को मोती पुरस्कार मैले प्राप्त गरेको थिएँ । त्यो समारोहमा राष्ट्रकवि घिमिरेले मेरी आमासँग– ‘सन्तानको असी प्रतिशतभन्दा बढी गुण आमाबाट प्राप्त गरेका हुन्छन् । असल श्रष्टाका आमा साच्चीकै सर्जक हुन्छन् । उनीहरुले कविता नलेखेर के भो । कविताभन्दा सुन्दर सृजना गरिरहेका हुन्छन् ।’
प्रेमध्वजका गीतहरूमा मिठास, माधुर्यता र शालिनता भेटिन्छ । गीत सुन्दै गर्दा आँखा अगाडि शब्दहरू चित्रमा प्रतिबिम्बित भइरहेजस्तो लाग्नु, खुशी र पीडा अन्तरमनमा महसुस हुन थाल्नु– उनको गायकीको अर्को विशेषता हो ।
उनले २००९ सालमै रेडियो नेपालमा गीत गाउन थाले । जसले नेपाली सांगीतिक क्षेत्रका लागि सयौँ कालजयी गीत दिए ।उनको नसा नसामा संगीत बग्थ्यो । जो सबैका लागि मनपर्ने गायक बने । उनी गाउनकै लागि जन्मेका थिए ।
तर, उनले आफ्नो परिवार र जीवनयापनका लागि जीवनका ३३ स्वर्णीम वर्ष गैरसांगीतिक क्षेत्रमा बिताए । ३३ वर्ष अमेरिकन लाइब्रेरीमा जागिर खाएर रिटायर्ड जीवन बिताइरहेका बेला आफ्नै काकासँगको जग्गा मुद्दाका कारण फेरि २० वर्ष खेर गयो । यो २० वर्ष उनले तनाबमा बिताए । संगीत साधनामा आफुलाई उभ्याउन पाएनन् । त्यसो त नायिका माला सिन्हाको निमन्त्रणामा भारतको तत्कालीन बम्बइ पुगेका उनले त्यहाँ निकै राम्रा अवसरहरु पाएका थिए । हिन्दी फिल्ममा गीत गाउने प्रस्तावहरु आयो । तर यता आमा विरामीको खवर आएपछि ती सब प्रस्ताव लत्याएर उनी स्वदेश फर्किए ।
बम्बईमा छँदा सत्यकामना फिल्म फेयर अवार्डमा उनले मोहम्मद रफी, मुकेश, खय्याम, लक्ष्मीकान्त–प्यारेलाल, मन्ना डे, कल्याणजी–आनन्दजीसँग स्टेज सेयर गरे । त्यहाँ उनले ‘तुमबिन जाऊँ कहाँ’ लगायतका गीत ५ हजार दर्शकको अघिल्ल्तिर गाएका थिए । हँसिलो अनुहार, शान्त स्वभाव र मसिनो सुमधुर बोली उनको विशेषता भनांै या आकर्षण । ढाँट, छलविनाको कुरा गराई, ऐनाजस्तो छर्लङ्ग र पानीजस्तो निर्मल उनको व्यवहार, शान्त र शालिन उनको स्वभाव सधैँ उस्तै ।
जीवनका उतारचढावका बीच पनि शान्त तलाउजस्तै उनको जीवन मेरा लागि सधैँ आदर्श बनिरह्यो ।
आँत्तिएर मन उड्न खोज्छ तर मुक्ति पाउँदिन
सपनामा पनि शान्ति छैन
तिम्रो याद नआउने कुनै ठाउँ छैन ।