प्रेमध्वजसँग ४० वर्षअघि अमेरिकन लाइब्रेरीमा लिएको त्यो अन्तर्वार्ता
स्मृति
श्रीरामसिंह बस्नेत
आज ठ्याक्कै ४० वर्ष भएछ मैले लोकप्रिय गायक प्रेमध्वजसँग प्रत्यक्ष अन्तर्वार्ता लिएको । २०३८ साल वैशाख २५ गते साँझ नयाँसडक अर्थात् न्यूरोडस्थित अमेरिकन लाइब्रेरी (अमेरिकी साँस्कृतिक केन्द्र)को दोस्रो तल्लामा रहेको उनको कार्यालयमा उनीसँग गीत र जीवनका उकाली ओरालीबारे अन्तरङ्ग साक्षात्कार गर्ने मौका पाएको थिएँ, जुन २०४४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘त्रिवेणीका लहरहरु’ पुस्तकमा समावेश छ ।
त्यतिखेर नयाँसडकको एउटा आकर्षण अमेरिकन लाइब्रेरी पनि थियो । केही समय अघिसम्म एभरेष्ट बैंक रहेकोमा अहिले सो बैंक हटी विशाल विजनेस कम्प्लेक्स बनेको त्यो मोडकै भवनको भूईं तलामा लाइब्रेरी थियो । काठमाडौंका शिक्षित, बौद्धिकहरुका लागि त्यो आकर्षणको थलो थियो । अपरान्हतिर केही समय लाइब्रेरीमा बिताई त्यसपछि नजिकको बंगलोर कफी हाउस वा इन्दिरा रेष्टुराँमा गफिनु नै त्यतिखेरको काठमाडौंका बुद्धिजीवीहरुको शान थियो । जसबाट अहिलेका युवा पुस्ता अनविज्ञ छन्, किनकि न त अहिले त्यहाँ अमेरिकन लाइब्रेरी छ, न कफीहाउस, न इन्दिरा । अरु त अरु पिपलको बोटमुनी बसेर पत्रिका पढदै साथीभाईसँग भेटघाट भलाकुसारी गर्ने अखडा पनि अहिले हराइसकेको छ ।
प्रेमध्वजलाई हेर्दा उनले ‘घुम्तीमा नआउ है…’, ‘नमान लाज यस्तरी…’ जस्ता अत्यन्त रोमान्टिक गीतहरु कसरी गाए होलान् जस्तो लाग्थ्यो मलाई । किनकि उनी लजालु स्वभावका, धेरै कम बोल्ने अन्तर्मुखी, अत्यन्तै सरल व्यक्ति थिए । अमेरिकी सरकारको जागीर र लोकप्रिय कलाकार भए पनि उनमा त्यसको कुनै दम्भ वा फुर्तिफार्ती थिएन । उनी अन्तरर्वार्ता दिन, प्रचारमा आउन त्यति रुचाउँदैन थिए । धेरै प्रयासपछि मात्र उनी त्यो साक्षात्कारको लागि तयार भएका थिए ।
कुशल गायिका आमा प्राणदेवीको प्रेरणा र प्रारम्भिक प्रशिक्षणबाट आठ वर्षको कलिलो उमेरदेखि नै उनले गीत गाउन थालेका थिए । सम्पति प्रसस्त भए पनि आफ्नै बाबुबाट अन्यायमा परेका प्रेमध्वजको पारिवारिक सँघर्षका कथा कहालीलाग्दो थियो । उनले जीवनको उर्जाशील धेरै लामो समय मुद्धामामिलाका तनावमा बिताउनु परेको थियो । त्यतिमात्र होइन, उनका विपक्षीहरुले उनीमाथि साँघातिक आक्रमणको समेत प्रयास गरेका थिए । त्यसै सन्दर्भमा उनले लाजिम्पाटमा आयोजना गरेको पत्रकार सम्मेलनको समाचार संकलन गर्न समेत म पुगेको थिएँ ।
२००९ सालमा रेडियो नेपालको स्वर परीक्षामा पहिलो श्रेणीमा पास भएपछि उनी विधिवत् गायक भए, मात्र १५ वर्षको उमेरमा । पैत्रृक सम्पति प्रसस्त भए पनि त्यसबाट बञ्चित उनलाई आमा र आफ्नो जीवन निर्वाहका लागि जागिर खानै पर्ने वाध्यता थियो । उनको ठूलो इच्छा थियो रेडियो नेपालमा जागिर खाने, पाए कलाकारमा नपाए सामान्य कर्मचारीमा । किनकि रेडियो नेपालमा जागिर खान पाए कलाकारहरुको सङ्गत र सङ्गीतको माहोल पाइन्छ भन्ने उनको लोभ थियो । तर त्यो सम्भव भएन । जागिर नपाएकोले गुजारा गर्न उनले ट्युसन पढाउने गरे । पछि भाग्यवश अमेरिकन लाइबे्ररीमा जागिर पाएपछि उनको जीविकोपार्जनको सँघर्ष अन्त्य भयो । यद्यपि गीत सङ्गीतको क्षेत्रमा उनको सँघर्ष जारी नै थियो । उनी खुब रियाज गर्न चाहन्थे तर बिहानदेखि साँझसम्म अत्यन्त व्यस्त रहनु पर्ने अमेरिकी सरकारको जागिरले त्यो समय पाउँदैन थिए । त्यसैले विदाको दिनमा मात्र एकै पटक छ सात घण्टा रियाज गर्दा उनको स्वास्थ्यमा प्रतिकूल असर पर्न गयो । फलस्वरुप उनको घाँटीमा समस्या भई गाउन नसक्ने समेत भए । त्यो पीडादायी समयमा पनि उनले सङ्गीतको मोह छोड्न सकेनन् र गाउन रोकी गितारवादनतर्फ लागे र आफ्नो समयका एक कुशल गीतारवादक बन्न सफल भए । पछि उनको घाँटी ठिक भएपछि फेरि गाउन थाले ।
नेपाली सिनेमा ‘माइतीघर’लाई सफल बनाउनमा उनको पनि ठूलो योगदान छ । बलिउडकी गायिका उषा मंगेशकरसँग उनले गाएको ‘नमान लाज यस्तरी….’ ‘माइतीघर’ सिनेमाको एक प्रमुख आकर्षण हो भने नेपाली युगल प्रेमिल गीतको एक अब्बल नमूना । उनले गायिका आशा भोसले र उषा मंगेशकरलाई ‘माइतीघर’का नेपाली गीतको शब्द उच्चारण पनि सिकाएका थिए । बम्बईमा ‘माइतीघर’को गीत रेकर्ड गर्न गएका प्रेमध्वजलाई उनको स्वरको माधुर्य सुनेर संगीतकार जयदेवलगायतले बम्बईमै बसेर हिन्दी फिल्मको गायक बन्ने अवसर दिएका थिए, तर उनले त्यसलाई स्वीकार नगरी स्वदेश नै फर्किए । यो २०२२ सालतिरको कुरा हो । भनिन्छ, त्यो कुरा थाहा पाएर राजा महेन्द्रले उनलाई ‘गीत जति मनलाग्छ गाउनु, तर देश छोडेर कतै नजानु ’ भनेका थिए रे ।
त्यतिखेर नेपालमा गीत सङ्गीत पूरै रेडियो नेपालमै निर्भर थियो । तर रेडियो नेपाल पनि अत्यन्तै सिमित स्रोत साधनबाट चलिरहेको थियो । उनी वर्षको २५– ३० वटा गीत रेकर्ड गर्न चाहन्थे तर चार वटा भन्दा बढी गराउने मौका पाउँदैन थिए ।
आफूले गाएका सयौं गीतहरुमध्ये विशेष मन पर्ने कुन कुन हुन् भनी प्रश्न गर्दा उनी अकमकिएका थिए । तर, पनि आफूलाई लोकप्रियताको शिखरमा पु¥याएको ‘गोरेटो त्यो गाउँको…., ‘घुम्तीमा नआउ है…, ‘ हाँस्ने रहरहरु…,’ ‘तिम्रो नाम अझै छ ओठमा…’ अलि बढी मन पर्ने बताएका थिए ।
साक्षात्कारपछि पनि उनीसँग जम्काभेट भइरहन्थ्यो, अमेरिकन लाइब्रेरीमा म प्रायः गइरहन्थे, त्यहाँ पनि भेट हुन्थ्यो, उनको घर रहेको बागबजारलगायत काठमाडौंका अन्य सडक पेटीहरुमा पनि । ‘त्रिवेणीका लहरहरु’ पुस्तक प्रकाशित भएपछि उनलाई एक प्रति उपहार दिन उनको घर बागबजारमै पुगेको थिएँ । पुस्तक देखेर खुशी हुँदै उनले भनेका थिए, ‘राम्रो काम गर्नुभयो, मैले झण्डै अन्तरर्वार्ता नदिएको हैन त ?’ अनि हामी एकछिन मज्जाले हाँसेका थियौं ।
उनको भौतिक शरीर भरखरै खरानी भयो । तर, उनी आफ्ना सुमधुर गीतहरुमार्फत नेपाली जनमानसबीच बाँचिरहने छन् युगयुगसम्म ।