
के छाती फुलाउँछौ ? के अहम् गर्छौ ?
कविता
दुर्गाकिरण तिवारी
कास्की, पोखरा, हालः काठमाडौं ।
हिमालमा हिउँ चुलिएको छ
तर पग्लिन्छ ग्रीष्ममा
फेरि अर्को हिउँदमा बाक्लिन सक्छ
झन् चुलिन सक्छ
ऊ हिउँ हो, यथार्थ हो र प्रकृति हो
उसको पहिचान कसैले मेटेर मेटिँदैन
अनवरत चुलिइरहन्छ समयसँगै ।
तिमी आफ्नो पहिचान बनाउन
चुलिन अर्कालाई काँध थाप्न लगाउँछौ
थामेको काँधले, चुलिएको मानले
के छाती फुलाउँछौ ? के अहम् गर्छौ ?
म अर्थ खोज्छु चुलिनुको, फुलिनुको
अर्काको काँध चढेर
जब आफैँले आफैँलाई छाम्दा भेटिँदैन
महसुस हुँदैन गरिमाको कठै !
हो, मात्र अर्थहीन देख्छु
आफैँलाई ढाँटेर कमाएको प्रतिष्ठाले
कति सन्तुष्टि मिल्ला ?
कति आनन्द मिल्ला ?
लाग्छ, जब काँध थाक्छ
अनि काँध छोडिदिन सक्छन् थाप्नेहरूले
तिमी ड्याम्म गिर्न सक्छौ शिखरबाट
औचित्यहीन हुन पुग्छौ त्यतिबेला
अनि सम्झनेछौ-चुलिनु र गिर्नुको अर्थ ।
तिमीले टेकेको धर्ती धर्मराउनेछ
किनकि, तिमीलाई थमाउँने काँध
र, तिमीले टेक्न, उभिन पहिरिएको जुत्ता
अर्कैको थियो ।
त्यति बेला प्रश्न गर्नेछन्
तिमीलाई खै तिम्रो पहिचान ?
खै ! तिम्रो अस्तित्व ?
(तपाईं पनि आफ्ना कविता नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)