
… जस्तो कि प्रेमध्वज प्रधान
श्रद्धाञ्जली कविता
ठाकुर बेलवासे
सबै नामले अर्थ बोक्न
र, सबै अर्थले नाम बोक्न
सक्ने भए
सबै मानिस
आकाश बन्थे
सबै मानिस देउता हुन्थे ।
कोही व्यक्तिसँग जोडिएका शब्दहरु
जो नामको परिचयमा स्थापित बनेर
संसारलाई मुग्ध बनाउन सक्छन्
जस्तो कि प्रेमध्वज प्रधान ।
कसैको निधारमा प्रेमशब्दको
टीका लगाइदिँदैमा
शब्द या त्यही व्यक्ति प्रेमिल हुन्छ भन्ने छैन
कोही व्यक्तिसँगको सम्बन्धले
शब्दले पनि प्रधानता प्राप्त गर्दारहेछन्
जस्तो कि प्रेमध्वज प्रधान ।
कुनै व्यक्तिसँग
जोडिएको प्रेम
गाँसिएको ध्वज
पहिचान खोज्दै उभिएको प्रधान शब्दले
अक्षरका माझमा
महाअक्षर
शब्दहरुका बीचमा
सिंगो ग्रन्थ बन्ने अवसर पाउँदा रहेछन्
जस्तो कि प्रेमध्वज प्रधान ।
सबै नाम सुनाम
र, सबै सुनाम नाम पनि त हुँदैनन्
संघर्षका डोजरले खनेका जीवनका
राजमार्गहरुमा
शालीनताले निर्माण गरेका जिन्दगीका
आकाशहरुमा
विश्वमानवलाई स्वागत गर्न सकेपछि
नाम सुनाम बन्दो रहेछ
जस्तो कि प्रेमध्वज प्रधान ।
हो,
जीवनका
ताल
सुर
र, लयहरुलाई
स्वरमा उनेर
जिन्दगीहरु गाउने
नाम अर्थात व्यक्ति
आकाशलाई पनि मनपर्छ
जस्तो कि प्रेमध्वज प्रधान ।
तारा
जून
अनि घामलाई दर्शक बनाएर
संगीतमा मग्न हुन
देवताहरुलाई पनि मनपर्छ
यसैले त
मनलाई शान्त राख्न
तनलाई सौम्य बनाउन
यस पटक
आकाश र देवता सल्लाह गरेरै
धर्तीमा आए
अनि
संगीतको ताल
गीतको सुरु
बोकेर गए ।
कहिलेकाँही देवताप्रति पनि दया लाग्छ
आकाशको चौडाई पनि साँघुरो देखिन्छ
सायद
प्रेमध्वजले
अब आकाशलाई थप चौडा बनाउनुहुन्छ
देउतालाई संगीत र जीवन पढाएर
जीवनको महत्व सिकाउनु हुन्छ
आफै अकाश बनेर
आफै देउता बनेर
जस्तो कि प्रेमध्वज प्रधान ।
सबै नामले अर्थ बोक्न
र, सबै अर्थले नाम बोक्न
सक्ने भए
सबै मानिस
आकाश बन्थे
सबै मानिस देउता हुन्थे
जस्तो कि प्रेमध्वज प्रधान ।