काठमाडौं कविताः कंक्रिटका फूलहरू
सुमन वर्षा
इन्द्रेणी फुल्ने पाखाहरूमा
रंङ्गीबिरङ्गी कंक्रिट
फुल्न थालेको दिनदेखि शुरु भयो
कथित आधुनिकीकरण !
हो त्यही दिनदेखि !
बग्न थालेको हो बागमतीमा कालो-पानी
पानीसँगै
मैले पनि बदलेको हो आफ्नो रंग
तर
प्रकृतिले
सकेन बदल्न आफ्नो लय
अन्ततः
आधुनिकीकरणको रापले पिल्सिएर
कृतिम लाभाहरुमा निस्सासिंदै
मेरो स्मार्ट-शहर
आजभोलि
बिरामी घाममा झुल्किन्छ
संक्रमित दिनहरुमा थलिएर कुद्छन्
र
त्रासद रातहरु निराशा ओढेर सुत्छन् ।
रुग्ण-घामको किरणले
संक्रमित बनाएको शहर
त्राहीत्राही शहरबासीहरु
सुनसान छन् चोकहरू
त्रसित छन् पार्कहरु
कलेटी परेका छन् गल्लीहरू ।
असम्पादित न्यायालयले
तोकिदिएको सजाय
सम्पादित बन्दीगृहमा भोगिरहेछौं
लाग्छ संक्रमित घामले
शहरको अस्तित्वलाई
विकसित आत्मकथा सम्झाइरहेछ
मुस्कुराएर एउटा दुर्वोध्य प्रश्नको ज्वारभाटा ।
आश्चर्यमा छ
मेरो सिकन्दरको दम्भ-विज्ञानको घमण्ड ।
बिलखबन्दमा परेको छ
विश्व-विजेताको दौड ।
अवाक् छ शक्तिशाली तरवार
निस्कृय शस्त्र-अस्त्र
असमंजस्यमा छ समाजशास्त्र
गतिहिन् छ कुबेरको द्रब्य
फिका छन् सौन्दर्य प्रसाधन
के त्यो क्रान्तिको शंखघोष हो ?
पृथ्वीको निधारमाथि घोप्टिएको द्विविधा
आविष्कार र अनुसन्धानलाई
दिशाहिन् बनाइदिएको छ
र
विवश प्रविधि
संजयले झैँ
सम्पादन गरिरहेको छ समयको दृश्य ।
संक्रमित विकिरणले
न छुट्यायो शासक, न योद्धा
न चिन्यो कृषि क्रान्ति न अभियन्ता
न त औधोगिक क्रान्तिका अगुवा
न जान्यो शास्त्री र अज्ञानी नै
न भन्यो धनी न त गरिब नै
प्रकृतिको
असम्पादित न्यायलयको कठघरामा उभिएर
हामी सबै
जीजीविसाको निरन्तरतामा
मृत्युवरण गर्न बाध्य
लामबद्ध भई पालो कुर्दैछौं ।
शहर निर्जन र एक्लो भएको छ
घामको किरणले कहिल्यै नछोएको
त्यो परको भयङ्कर एक गुफाबाट
प्राचीन दबेका स्वरहरुले
निरन्तर खवरदारी गरिरहेछन्
खबरदार ! खबरदार !!
त्यही गुफाभित्रबाट नवीन-धुनमा
सामुहिक मन्त्रोच्चारण हुँदैछ
र
सुनिँदैछ स्पष्ट शान्ति-गीत
ॐ शान्ति ! ॐ शान्ति !!