बियरको आनन्द मेरो कविताको हरफ, निकोटिनको नशाचाहिँ प्लट
नेपालनाम्चाको खास स्तम्भ कविका कुरामा लीला अनमोलसँग १९ सवालजवाफ ।
किन र केका लागि कविता लेख्नु हुन्छ ?
कविता लेख्न कुनै कारण चाहिन्न । खास त मभित्र कवित्व रहेछ र नै लेखेकी हुँ । कविता नलेख्नु भनेको जीवनमा ठुलो आनन्दी गुमाउनु हो लाग्छ ।
कविता लेखेर के हुन्छ ?
देशमा विकास भएर के हुन्छ ? लोकतन्त आएर के भयो ? बगैंचामा फुल फुलेर के हुन्छ ? दिनमा घाम लागेर के हुन्छ ? सगरमाथा अग्लो भएर के भयो ? सायद यिनै हुनुका कारण जस्तै हुन्छ कविता लेखेर ।
कवि भएर चिनिनुमा कति मजा छ ?
मलाई मेरो अस्तित्व छ भन्नु नै कवि भएर चिनिनु हो । तसर्थ दुनियाँकै सबैभन्दा सुखद पक्ष नै कवि हुनुमा छ ।
कविहरु आम मानिसभन्दा फरक हुन्छन वा उनीहरु पनि आम मानिस जस्तै हुन् ?
कविहरु आम मानिस जस्तै नै हुन् । जो अरु गर्छन्, त्यो कवि पनि गर्छन् । तर, एक कुरामा चाहिँ आम मानिसभन्दा फरक छ, त्यो फरक भन्नस ऊ कविता लेख्छ ।
कविता यदि सत्ता हो भने यो कस्तो सत्ता हो ? र, कवि कस्तो शासक ?
न कविता सत्ता हो न शासक । सत्ता र शासकभन्दा माथि हो कविता जसले विचार, भावना र चेतानाको राँको बाल्दछ र हरेक युगलाई सकारात्मक सम्बोधन गर्दछ ।
प्रेम हुन्थेन भने पनि कविता हुन्थ्यो ? हुन्थ्यो भने त्यो कस्तो कविता हुन्थ्यो ?
कविता र प्रेम पर्याय हुन् । दुनियाँमा सबैभन्दा छिटो परिवर्तन गर्ने कुनै दुई साधना छन् भने कि त प्रेम छ कि त कविता । यदि कवितामा प्रेम हुँदैन भन्नेहरु कोहि भेट्नुभाछ भने मलाई भनिदिनुस् ।
कविताको संसार कस्तो हुन्छ ? के त्यहाँ खुशी मात्र छ ?
मेरो जीवनशैली तपाईं कस्तो देख्नु हुन्छ ? त्यो नै कविताको संसार हो, जहाँ दुख पनि छ र खुशी पनि छ । तर, कविताको संसार भोग्नेहरुले दुखलाई पनि कलात्मक ढंगले सामना गर्छन् ।
कविता एक वाहियत विलाश हो, यदि कसैले भन्छ भने त्यसमा तपाईं के भन्नु हुन्छ ?
आजसम्म त्यसो भन्नेहरु त मैले फेला पारेको छैन । तर, यदि कसैले भन्छ भने यो पृथ्वीको एउटा सुन्दर फुल जसको सुगन्ध उसले चिनेकै छैन । कविताको कलालाई वाहियत ठान्नेहरु, संगीतको लयलाई विध्वंसको उपमा दिनेहरु भनेका प्रकृति विपरित हुन् । उसलाई उचित उपचारको खाँचो पर्दछ ।
कविहरु जन्मन्छन् तर कहिलै मर्दैनन् । के यो सहि हो ?
भौतिकीसँग कलाको तुलना हुन्न । यसको मतलब भौतिकी (कवि) जलेर नस्ट भएर पनि उसले लेखेर गएको कलाचाहिँ मर्दैन। त्यो इतिहास बन्छ र पुस्ता हस्तान्तरण हुँदै आउँछ । जसरी देवकोटा, वीपी, पारिजात आदिलाई हामी पढिरहेछौं ।
तपाईंका कविता पाठक र समाजका लागि मात्र कविता हुन् कि त्यो भन्दा बढी ?
पहिला त मैले लेखेको कविता म स्वयंका लागि हो । अनि मात्र पाठक र समाजका लागि ।
कवि आयो । भाग् भाग् । के स्थिती यस्तै हो कविज्यु ?
यो दुनियाँमा सबै मानिस पुर्ण जन्मिदैनन् । कोहि औधी गुणवान् हुन्छन् त कोहि सामान्य । हरेक मानिस बेग्लाबेग्लै प्रकृतिका हुन्छन् । त्यस्तै कविका पनि आ-आफ्नै प्रकृति छन् । कोहि कवि आफुले लेखेको सुनाउन पाए उ आफ्नो लेखनी सार्थक ठान्दछ । कोहि लेखेर राख्न पाए पनि आनन्दित हुन्छ । त्यस्तै कोहि श्रोता वा पाठक त्यही कविको कविता बुझ्ने कला नभएर सुन्ने वा पढ्ने क्षमता राख्न सक्दैन र भाग्दछ । यहाँ सुनाउने कवि मात्र होइन, भाग्ने श्रोता वा पाठकको स्थिति पनि बुझ्नु पर्दछ । अझ धेरै त यो बझ्न पर्छ, जो कविसँग भाग्छ नि, त्यो कविभन्दा पनि अझ फरक हो । मलाई चाहिँ ती श्रोता वा पाठकसँग भाग्न मन लाग्छ जस्ले कविताको शक्तिलाई बुझ्न सक्दैन । यहाँ समस्या बुझ्ने र बुझाउनेमा छ । तर, समग्रमा कविता भनेको जीवनको लय हो ।
पैसा दिन्छु । कविता सुनिदिनु न, यस्तो पनि भन्छन् रे कतिपय कविहरु । के यस्तो स्थिती हो कविको ?
कविता पैसा दिएर होइन, पैसा तिरेर सुन्ने कला हो । तर, मैले त सुन्या देख्या छैन कि पैसा तिरेर कविता सुनाएको । एउटा गम्भिर कुरा चाहिँ के हो भने कविले आफ्नो प्रतिष्ठा र लेखकिय धर्मलाई चाहिँ बचाउन सक्नु पर्छ । आफ्नो ओजलाइ मनन गर्न सक्नु पर्छ । ठाउँ, काल, परिस्थितिलाई बुझ्न पर्छ कविले ।
हजारौ बर्षदेखि हजारौंले कविता लेखे । तर, भयो के ? संसार त उस्तै छ । घाम लागिरहेकै छ । जुन लागिरहेकै छ । के फरक भयो र कविता लेखेर ?
तपाईंको परिवारमा पुर्ब पुस्ताले विहेवारी गरेर तपाईंसम्म आइपुग्यो । अनि तपाईंले पनि गर्नु भयो विहे । आगामी दिनमा तपाईंका सन्तानले पनि वैवाहिक निरन्तरता देलान् । पञ्चायतको अन्त्य भएर प्रजातन्त्र आयो । त्यो पनि अन्त्य भएर अहिले हामी लोकतन्त्र भोगिरहेका छौँ । नारायणगोपालले गाएको ‘आज र राती के देखे सपना मै मरी गएको’ भन्ने गीत गाएकै थिए, फेरि किन शिव परियारले ‘पिउँदिन भन्दाभन्दै’ गाए ? तारादेवीले गाएको ‘उकाली ओरालीहरुमा’ गीत छँदैथ्यो । किन गाइन् फेरि अन्जु पन्तले ‘जिन्दगी यो फूलैफूलको थुङ्गो हुदैन’ ? किन जन्मिए नयाँ पुस्ता र फेरि गीत नै गाइरहे ? यति भएर पनि घाम लागिरहेकै छ । जून लागिरहेकै छ । उसो भए किन गाउनु गीत ? किन बन्नु बाटोहरु कालोपत्रे ? यी ठुला ठुला महल किन बन्नु ? किन ठड्याउनु धरहरा फेरि ब्यस्त शहरबीच भागमा उसैगरी ? किन फेरिनु सत्ता ? यी सबै किसिमका परिवर्तनले के प्राप्ती भयो, कविता लेखेर त्यही भयो ।
कविहरु आकाश पाताल एक बनाउने कुरा गर्छन् र जून टिपेर उपहार दिने कुरा गर्छन् । वाहियत होइन ?
हे हे … त्यो क्षमता केवल कविमा मात्र हुन्छ । आज तिनै कविले लेखिदिएका शब्दहरु टिपेर एउटा प्रेमीले आफ्नी प्रेमिकालार्इ प्रेम अभिव्यक्त गर्छ । आज तिनै कविले आकाश पाताल एक बनएको गीत गाएर एउटी प्रेमिकाले आफ्नो प्रेमिको यादमा मुस्कुराउँछिन् । प्रतीक र विम्वमा खेल्ने कला केवल कविमा हुन्छ । कवि भावनाको उडान भर्छ, कल्पनाको बगैंचामा मुस्कुराउँछ । अनि उसले यस्तो कुरा गरेर कसको के बिगार्यो पत्रकारज्यु ? यहाँ त देशको माटो बेचेर देशप्रेमी हुँ भन्नेहरुको बिगबिगी छ । तपाईं त कालापानी, लिपुलेक र मेचीको सिमाना मिचिएको कुरामा चिन्तित हुन पर्ने । तपाईंले त राजनीतिक अस्थिरताले जनताको मनस्थिति थिलथिलो भएको छ, ती नेताहरुको खराब चरित्रको विरोध लेख्नु पर्ने । आज कोरोनाले मानिसको जीवनशैली अस्तव्यस्त भएको छ, व्यापार व्यवसाय ठप्प छ । यस्तै हुने हो भने भोकमरीले मर्ने दिन नआउला भन्न सकिन्न । तपाईंले त त्यसबारे लेख्नु पर्ने । अनि एउटा कविले आकाश पाताल एक हुने कुरा गर्दा के बिग्रियो हँ ? कविले विध्वंस गर्दैन । त्यसैले बरु कविको चिन्ता छोडेर अन्य बिषयको समचार लेख्नुस् न । कविले त बनाउँछ । भत्काउँदैन ।
भो’ लेख्न छाड्नुस्, बरु मीठो तरकारी बनाउनुस्, कफि बनाउनुस्, बियर अफर गर्नुस्, मीठा मीठा बात गरौँ । हुन्न कविजी ?
यदि कविता लेख्न छाडेर यसो गरौ भन्नु भएको हो भने पहिला तपाईं मेरो अन्तर्वार्ता लिन छोडेर सडकमा गिटि कुट्नुस् । यो शब्दको खेती गर्नु साटो गाउँमा गएर बाँझो खेतबारी जोत्नुस् । म त बर्षौदेखि भातधन्दा र चुलोचौका गरेरै पनि कविता लेखिरहेकै छु । यी मीठा कुराकानी पनि त कविताकै अंश हुन् नि । बियरको चुस्कीमा पाएको आनन्दी पनि मेरो कविताको एक हरफ हो, कफिको निकोटिनको नशा पनि मेरो कविताको प्लट हो ।
कवि भनेका ठुला कुरा गर्ने मानिस हुन् । सहमत ?
पहिलो कुरा त ठुला कुरा केलाई भनिन्छ त्यो भनिदिनुस् । दोश्रो, कवि भनेको त्यो हो, जसले समाजका यावत बिषयहरुलाई कलात्मक ढंगले प्रस्तुत गर्दछ । खराब प्रवृतिको विरोध पनि गर्दछ र राम्राको समर्थन पनि लेख्दछ । विकृति र विसंगतिप्रति चर्को विरोध जनाउँछ । उन्नति र प्रगतिको व्याख्या गर्दछ । अब यसरी लेख्ने मान्छे ठुलो कुरा गर्ने हो कि सानो हो वा के हो त्यो तपाईं नै छुट्याउनुस् ।
कालोलाई सेतो र सेतोलाई कालो भन्ने झुट मानिस हुन् कवि । हो कि होइन सिधा भन्नुस् ।
विल्कुल होइन । त्यो भन्ने कवि हुँदैन अरु नै कुनै पेशाका होलान् ।
तपाईंलाई मन नपर्ने पाँच कविका नाम भन्नुस् ।
कोहि छैन । सबै राम्रा लाग्छन् ।
मन नपरेका पाँच कविता पनि भन्नुस् ।
कविता लेख्ने कर्म जो कोहिले गर्न सक्दैन । त्यसैले लेखिएका कुराहरुमा केही न केही भाव छरिएकै हुन्छ । तपाईं हरेक चीजबाट नराम्रो छोड्नुस्, राम्रो लिनुस् न । सक्किगो नि ।
दमदार अभिव्यक्ति कविज्यू ! कस्तो खरो र यथार्थपरक प्रस्तुति !!
Very inspiring interview. Incredible
???