तेमालकी भवानी पाण्डेको ‘सरकार’

कविता

आकाशले आगो बाल्दा
धर्ती फाटिरहेछ
हर मनबाट उमङ्ग भागिरहेछ
बढ्दैछ महामारी आतङ्क
वस्ती भोकले जलिरहेछ
जातो बनेर मूल्यवृद्धि
शिरमाथि घुमिरहेछ
दिन या रात अचेल
भयावह बनिरहेछ
पीडाको आशुले
सिङ्गै भूगोल सिँचिरहदा
मानवीयता क्षितिज पारी पुगिरहेछ
हर मनहरु उषाका लाली खोजिरहेछन्
अत्यासलाग्दा दुखका पहाड
पन्छाउन हतारिइरहेछन् ।

खै कुन्नि,
सम्भावना कमै देख्छन् आँखाहरु
कुचेस्टाको सङ्केत बनेर
काली कौवा टौवामाथि बस्दै
एकोहोरो कराइरहिछे
घामका पाइला कहिल्यै नपुग्ने
सिमसारमा पनि
जूनले कहिल्यै कर्के नजर
नलाउने ठाउँमा पनि
आमाको न्यानो अङ्गालोजस्तो
बाबाको विशाल छहारीजस्तो
खै, कहिले बन्छ
जहाजको पालजस्तो
मेरो देशको सरकार ।

तेमाल, हाल बनेपा, काभ्रे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button