कन्जुस भर्सेस् कन्जुस

कथा

निर्जल दवाडी

एउटा गाउँमा एउटा कन्जुस बस्दो रहेछ, जो पैसा बचाउन भनेपछि अनेकौ जुक्तीहरु निकाल्थ्यो । उसको ‘कन्जुसी नेक्स्ट लेभल’को थियो । सुरुसुरुमा गाउँलेहरू उसको हर्कत देखेर रिसाउने, जिस्काउने, मजाक उडाउने गर्थे । गाउँलेहरुले बिस्तारै बुझ्न थाले कि यसो गरेर पैसा जोगाएर नै उसले सम्पत्ति जोडेको रहेछ । अनि गाउँलेहरु पनि कन्जुससँग कसरी कन्जुस बन्ने भनेर सल्लाह लिन आउन थाले । कन्जुस मख्ख पर्यो । हिजोसम्म मजाक उडाउने गाउँलेहरू आज उसलाई भेट्न मरिहत्ते गर्न थाले ।

दुई दिनपछि गाउँमा एउटा हल्ला फैलियो । गाउँमा अर्को ठूलो कन्जुस आको छ रे । सब गाउँलेहरू त्यो कन्जुसलाई छोडेर अर्को ठूलो कन्जुसलाई भेट्न जान थाले । ‘मभन्दा ठूलो कन्जुस को रहेछ ? कहाँ बाट आएछ ? के चाहिँ गर्दो रहेछ ?’, यस्ता यस्ता प्रश्नहरु उसको मनमा खेल्न थाल्यो । रातभरि छट्पटिएर सुत्न सकेन । अब केही न केही गरेर गाउँलेहरुको अगाडि आफूलाई त्यो भन्दा ठूलो कन्जुस साबित हुनु छ । कन्जुसले अर्को कन्जुसलाई भेट्न जाने भयो ।

‘अरूको घर जाँदा त खाली हात कसरी जानु ?’, कन्जुस के लगुँ भनेर सोचिरहेको थियो । त्यतिकैमा उसको आँखा टेबलमा छिमेकीले खान दिएको दुइटा आँपमा जान्छ । श्रीमतीसँग कागज माग्छ । अनि त्यो कन्जुसलाई भेट्न जान्छ । कन्जुसको घर पुग्दा कन्जुस घरमा हुँदैन । कन्जुसको छोराले बुवा बजार गएको र बेलुकासम्म आउने कुरा सुनाउँछ । निकै बेर कुर्दा पनि नआएपछि अर्को दिन आउँछु भनेर फर्किन्छ । फर्किने बेला उसलाई याद आउँछ, उसले ल्याएको आँप । खाली हात के आउनु भनेर अलिकति आँप ल्याएको थिएँ, झन्डै दिन बिर्सेको । खल्तीमा हात हालेर कागज झिकेर कन्जुसको छोरालाई दिँदै भन्छ, ‘थोरै छ, बाँडेर खानु है ।’

कन्जुसको छोराले कागज खोलेर हेर्दा छक्क पर्छ । कागजमा चार वटा आँप थियो, पेनले कोरेर बनाएको ।

कन्जुस मनमनै, कत्ति न आफूले आफूलाई ठूलो कन्जुस भन्ठान्थे भनेर मुस्कुराउँछ ।

‘अंकल ! तपाईं पनि त खाली हात जानु भएन नि’ भनेर कन्जुसको छोराले भन्छ । कन्जुस मख्ख पर्छ । केही न केही त पाइने भइयो ।

कन्जुसको छोराले हावामा चार वटा स्याउ बनाउँछ । अनि दिए जस्तो गरेर भन्छ, ‘अंकल ! झोला भएन हातैमा, नझारी लानु है ।’

उनीहरू त साँच्चै ठूलो कन्जुस रहेछन् । मेरो कागज खेरै गयो भन्ठानेर फर्किन्छ ।

बेलुका कन्जुस बजारबाट फर्किएपछि छोराले दिनभरिको कहानी सुनाउँछ, ‘त्यो कन्जुस घरमा आ’को थियो । यसरी कागजमा आँप कोरेर ल्याएको थियो । मैले पनि हावामा यसरी स्याउ बनाएर हातमा हालेर पठाइ दिएँ ।’

बुवाले आफूले गरेको कामको प्रशंसा गर्नुहुन्छ भन्ठानेको थियो छोराले । तर, कन्जुसले छोराको टाउकोमा प्याट्ट हान्दै भन्यो, ‘साले, त्यत्रो ठूल्ठूलो स्याउ दिएर पठाइस्, सानो दिन सकिनस् ?’

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button