विश्वकै विशाल सहारामा ‘मरूभूमि मिराज’

इल्या भट्टराई

भव्य सेडानमा बसेर हामीले लक्जरलाई बिदाको हात हल्लायौं । सिसा टम्म लागेको कारभित्रको हात शायद लक्जरले देखेन । त्यही भएर हामी त्यस शहरबाट बिदा भएकोमा उसले कुनै प्रतिक्रिया जनाएन ।

नाइल नदीले सिंचन गरेको क्षेत्र निकैै मलिलो र उर्बर हुन्छ भनेर हाम्रा गाइड मुसाले पहिल्यै भनिसकेका थिए । यहाँ पनि लक्जरलाई छोडेको केही किलोमिटरसम्म धरती निकै उर्बर रहिछन् । त्यहाँका आँखालाई शीतलता दिने हरितिमा र रहरलाग्दा सुन्दर खेतिपातीले मनै प्रफुल्ल पारिरह्यो । के भो त यो धरती मेरो होइन, यी खेत र यहाँका हरियाली हाम्रालागि पराई हुन् । तर पनि यी सबै ठाउँ मेरै पृथ्वीको एउटा अंश त हो नि । आखिर मेरो र तेरो भनेर त मानिसले नै छुट्ट्याएको हो ।

एक्कासि धरती परिवर्तित भइन् । यिनको सतह बदलियो । रसिलो कालो कालो माटोको सतह बिस्तारै रूखो र सुख्खा बलौटे जमिन बन्दैगयो । हामी ग्रेट इस्टर्न डेजर्टमा प्रवेश गरेछौं । हुर्गाधासम्म पुग्न हामीले मिश्रको उत्तरदेखि दक्षिणसम्म र नाइलको पूर्वी किनारदेखि लालसागरसम्म अनि दक्षिणमा इरिट्रिया र सुडानसम्म लमतन्न पैmलिएको यो विशाल मरूभूमि पार गर्नु पर्दोरहेछ । विश्वको एउटा विशाल मरूभूमिको छाती चिरेर हामी केही घन्टा गुडनेछौं भन्ने तथ्यले मलाई रोमान्चित पा¥यो । निर्जन र विरान मरूभूमिलाई हेर्ने, त्यससंग सम्बन्ध गाँस्ने मेरो सपना केही अर्थमा पूरा हुन लागेको रहेछ ।

बालखकालदेखि पढेका यिनै मरूभूमिका कथाहरू स्मृतिमा आउन थाल्यो । मन सुखद कल्पनामा लफ्रक्कै भिजिरहेछ । केही कालअघिसम्म कारवाँ लिएर महिनौं लगाएर हिँडने गरेका अरबहरूका यात्रा आज म पनि तय गर्न लागेकी छु । तर पहिला पहिला महिनौं लाग्ने जम्मा ३८७ किलोमिटरको कष्टप्रद यात्रा यतिखेर म एसी भएको विलासितापूर्ण गाडीमा बसेर लगभग चार घन्टामा पूरा गर्नेछु ।

८५,६९० वर्गमाइलमा पैmलिएको यो हलुका लालिमा लिएको यो मरूभूमि सहारा मरूभूमिकै एउटा अंश हो भन्ने थाहा पाउँदा मन हर्षले चुलिचुीि भएको छ । आखिर बाल्यकालदेखि सुनेको विश्वको सबैभन्दा ठूलो मरूभूमि साहारा मरूभूमि भनेर । अनि अहिले हामी त्यही मरूभूमिमा छौं भनेर हाम्रा मनहरू विभोर भइरहेका छन् ।

यो यात्रा मेरा लागि अविस्मरणीय रहने भयो । विश्वमै नाम कमाएका पिरामिड र विश्वको सबैभन्दा लामो नदीको पगरी गुतेको नाइल नदीलाई भेटने छु भन्ने त थाहा थियो । तर विश्वकै सबैभन्दा विशाल साहारा मरूभूमिलाई पनि मैले आफ्नो आँखाले सुम्सुम्याउने छु, हात र पैतालाले स्पर्श गर्नेछु भन्ने भावले मलाई उत्फुल्लित तुल्यायो । मैले फरिदलाई गाडी रोक्न अनुरोध पनि गरिहालेँ ।

‘फरिद कृपया ! ड्राइभरलाई गाडी रोक्न भन त, म केहीबेर यहाँको परिवेशको आनन्द लिन्छु । यहाँको बालुवालाई आफ्नो हातले स्पर्श गर्छु । यतिखेर म साहारा मरूभूमिमा छु भन्ने सत्य मेरो लागि कम्ति महत्वपूर्ण छैन ।’

तर मेरो कुरालाई फरिदले लजालु पाराले नै हुन्न भनिदियो ।

‘अहिले बाहिरको तापक्रम निकै धेरै छ । एसीबाट यसरी एक्कासि बाहिर निस्किँदा लु लाग्न सक्छ । फेरि यस्तो सुनसानमा हामी एक्लै पर्छौँ । यो खतरनाक हुनसक्छ । केही वेरपछि हामी रोकिने ठाउँ आइहाल्छ नि । त्यहीबेला यी बालुवा छुन सक्नुहुन्छ ।’

बल्ल याद गरेँ, यो राजमार्गमा हामी एक्लै गुडिरहेका छैनौं भनेर । यात्राको शुरूमै मलाई हामी कुनै कार रेसमा पो भाग लिँदै छौं कि भन्ने त लागेको थियो । तर राजमार्गमा तीब्र गतिमा आठ, नौवटा गाडी गुड्नु सामान्यै भन्ठानेकी थिएँ । गाडीहरू समूहमा मिलेर गुड्दा रहेछन् ।

अहिले सूर्य हाम्रो शिरैमाथि चम्किरहेका छन् । यतिखेर हाम्रो आफ्नै छायाँले पनि हाम्रो साथ छोडने बेला हो । तीब्र गतिमा गुडिरहेको गाडीले हावालाई छेडेको आवाज गाडीमा टम्म सिसा लागेको हुनाले सुन्न सकिएन । तर कुनै पनि जीवन नदेखिने यो निर्जन, एकान्त वनस्पतिविहिन सुनसान प्रदेशमा जीवनले भरिपूर्ण हामी चकित भएर वरिपरि नियाल्दै गुडिरहेका छौं । पृथ्वीको एउटा कुनामा रहेको, आजसम्म नदेखेको र यसकाबारे थाह नपाएको यति शून्य र निर्जन जुन प्रदेशमा हामी छौं यस राजमार्गमा लुटेरा र डाँकाहरूको ठूलोे त्रास हुने रहेछ भन्ने थाहा पाउँदा मनमा अत्यास भरियो । यहाँको एक खालको सुन्दर तर एकलासे भूभाग देख्दा यसको सौन्दर्यबाट विमोहित भएता पनि यसको भयानकताले मनमा भयको तरङ्ग व्याप्त हुनपुग्यो ।

गुडिरहेको गाडीबाट सडकछेउमा फुत्त फुत्त घरहरू आउँदै आनि गाडीको तीव्र गतिले त्यसलाई पछाडि छोडदै गरेको देखिरहेकी छु । कुनै एक कोठे छन्, कुनै दुई कोठे, कुनै एक तले र कुनै दुई तले । यी घरहरूमा एउटै कुराको समानता छ । ती कुनै घरमा पनि झ्याल ढोकामा चौकोस र खापाहरू छैनन् । ती घरहरूका बारेमा फरिदसंग सोधेँ । उसलाई यसबारे केही थाहा रहेनछ । सके यही सडक बनाउँदा यी घरहरू बनेका हुन् कि सडक बनिसकेपछि यिनीहरूको उपायदेयता सकिएर यी लावारिस भएका हुन् कि ? तर अवशेषको रूपमा रहेका यी घरहरूका झ्यालढोकाहरू के भए ? जति नै उत्सुकता भए पनि फरिदले हामीलाई यसबारे केही बताउन सकेन ।

भ्रम पनि मोहक हुँदो रहेछ । कालो चिल्लो सडक केही पर जलमग्न देखिन्छ । निर्मल पानीको छाल छचल्किरहेको देखिन्छ । छक्क लाग्छ ! यहाँ पानी परेको थियो र ? फरिदसंग सोध्छु । लाज मानेर भुतुक्क हुँदै ऊ भन्छ ‘म्याडम यसलाई मिराज भन्छन् । मरूभूमिको भ्रम ।’

अगाडि पानी छैन, तर प्रकृतिले के चमत्कार गरेर हो कुन्नि मानिसलाई पानी छ भनेर झुक्याउँछिन् । हो त नि मिराज ! पहिले पनि भैरहवाको ‘भैरहवा लुम्बिनी सडक’ बनाउने बेलामा कतिपल्ट देखेको दृश्य !

तर, प्रकृतिले मानिसलाई मात्र झुक्याएको कहाँ हो र ? यिनै मरूभूमिमा हुने बिचरा ती अबोध मृगहरूलाई पनि झुक्याउने गरेकी छन् । त्यही पानीको झझल्कोमा दौडिँदा दौडिँदै बिचरा ती मृगहरू प्यासको अधिकताले प्राण त्याग्ने गर्छन् रे ! त्यही भएर नै त मरूभूमिमा देखिने आँखाको यो भ्रमलाई ‘मृगमरिचिका’ भन्ने गरिन्छ । यही ज्यान जाने तर अत्यन्त लोभलाग्दो भ्रमले नै ती बिचरा हरिणहरू तृष्णा कहिल्यै तृप्त नहुने मृगतृष्णा बनिदिन्छ ।

यस्तो मरूभूमिमा पनि चारलेनको उच्च स्तरको सडक बनेको छ । मरूभूमिका बारेमा सुनेका कुराहरू सम्झिन पुग्छु । मरूमूमिमा आइरहने ठूल्ठूला आँधिहरूले कतै आपूmसंगै उडाएर ल्याएका बालुवाले सिंगै पहाड खडा गरिदिन्छन् । अथवा कतै भइरहेका बालुवाका पहाड (ड्युन)लाई भएजत्ति बालुवा उडाएर आपूmसंगै लगेर अन्तै पहाड खडा गरिदिन्छन् ।

यो राजमार्गमा पनि त्यस्ता ड्युन (बालुवाका पहाड)हरू बनेर सडकलाई अवरूद्ध पार्ने गर्छन् कि ? तर यहाँ यसको संभावना देख्दिन । वरिपरि अग्ला होचा थुप्रै पठारहरू यो राजमार्गको सुरक्षामा तैनाथ देखिन्छन् । बालुवाका रास बोकेर हिँडेका ती आँधि तुफानलाई यिनीहरूले रोकिदिनेछन् ।

केही बेरपछि आइपुग्यो हामी केहीबेर रोकिने ठाउँ । मरूभूमिमा भएको मरूउद्यान ! तर मेरो कल्पनामा रहेकोजस्तो ओएसिस होइन रहेछ । यहाँ हरियालीको रूपमा केही काँडे वनस्पतिमात्र छन् । पेट्रोल पम्प रहेछ । यहाँ पसल पनि छ । पसलमा खाने कुराहरू छन् । पिउने कुराहरू छन् । इजिप्सेली लुगाहरू र हस्तकलाका सामानहरू छन् । अनि रहेछ शौचालय । लहरै भएका महिला शौचालय जाने ठाउँमा एउटी महिला बसेकी छन् । तिनले हामी दुवैलाई ट्याइलेट रोलबाट केही च्यातेर दिइन् निर्बिकार हेराईले ‘टेन इजिप्सियन पाउण्ड’ भनेर हत्केला फिँजारिन । निकै महँगो रहेछ । कायरो, लक्जर, आसवानतिर एकजनाको जम्मा एक इजिप्सियन पाउण्ड पथ्र्यो ।

ती महिलाको भावभंगिमा निकै उपेक्षाजनक लाग्यो । हामी यात्री नभएर कुनै कीराफट्याङ्ग्राजस्ता पो अनुभूत भयो । कस्तो भावनारहित हेराई ! अचम्म लाग्यो मलाई ती जीवनमा कहिल्यै खुलेर हाँसेकी नै छैनन् जस्तो लाग्यो ।

खानु त केही थिएन, तर चिसो कोकको बोतलले मनभित्र रहेको पानीको तीर्खालाई उकास्यो । दुई बोतल किन्यौं । आम्मामा कति महँगो ! भर्खर घुमेर आएका शहरको भन्दा दसौं गुना महँगो !

जनवरी महिनाको सात तारिख २०१२ का दिन हुर्गाधा भनिने मिश्र देशको यो सानो सहरमा आइपुगेक छौं । राजधानी सहर कायरोभन्दा निकै बेग्लै । कायरोमात्र किन मिश्र देशको ऐतिहासिक र पुरातात्विक महत्व बोकेका आसवान र लक्जर सहरहरूभन्दा पनि धेरै मात्रामा फरक ।

हुन त पुरातात्विक दृष्टिले यसको महत्व बेग्लै होला । यो पुरानै सहर होला । तर सहर प्रवेश गर्ने क्रममा सर्सर्ती देखिएको सहरको निकै ठूलो भागले सहर निकै आधुनिक छ भनेर हामीलाई राम्ररी पत्तो दिएको थियो । एकसे एक नयाँ निर्माण, तर आफ्नै वास्तुकला ! यो सहर दुबई र आबुधाबीजस्तो अग्ला अग्ला भवनले भरिपूर्ण र झिलिमिलि छैन, तर पनि पुराना खालको घरहरू भने यहाँ देखिएनन् । समुद्र तटमा भएकोले होला, राम्रो हावापानी भएकोले होला यो लालसागरको पश्चिमी किनारमा रहेका सहरहरू मध्ये सौन्दर्यमयी सहरमा गनिंदो रहेछ । र इजिप्ट आउने अत्यधिक पर्यटकहरूको रोज्जाको सहर रहेछ ।

चिटिक्क परेका सहरका आफ्नै विशेषता हुन्छन् । एकदम सजिलो र आरामदायीजस्ता । त्यही भएर होला पर्यटकहरू प्रशस्तै छन् । गोरा छाला र सुनौलो कपाल भएका भएता पनि ती प्राय अंग्रेजी नबोल्ने जातिका हुन् । सके ब्रिटिश र अमेरिकनहरूको छनोटमा इजिप्ट पर्यटनको लागि जानुपर्ने देशको रूपमा छैन ।

सहरको सौन्दर्यमा विमोहित भइरहेको मनलाई गाडी अभैm गुडिरहोस् र हामीलाई यो सहरको कुनाकाप्चाको दिग्दर्शन गराउँदै जाओस भन्ने चाहना निकै जागेको थियो । र पनि आइहाल्यो हाम्रो उत्रिने ठाउँ ∕ मनमोहक इलाकामा रहेको उत्तिकै आकर्षक रिसोर्ट ‘सफिर रिसोर्ट‘ । समुद्रसंगै टाँसिएको, निजि बिच भएको राम्रो रिसोर्ट ।

निजि बार्दली । काई रंगको हरिया फर्निचरहरू भएको, हेर्दै कलात्मक र ऐतिहासिक देखिने कोठाभित्र पस्नेबित्तिकै छोरीको गदगदपूर्ण उद्गार निस्कियो ‘आहा’ !

लन्चपछि एक सेकेन्ड पनि नखर्ची हामी बिचतिरै लम्कियौं । कतै जानै नपर्ने, बसेकै रिसोर्टको समुद्री तट !

सफिर रिजोर्टको यो सामुद्रिक तटमा राखिएका विभिन्न खाटहरूमध्ये एउटा खाटमा पल्टिएर म टाढा टाढासम्म समुद्रको यो विस्तारलाई हेर्दै छु । रिसोर्टको आफ्नो नितान्त निजि तट हो यो । दुईतिर पर्खालजस्तो लाएर यसले समुद्रलाई भाग लाएको छ । विशाल समुद्रको एउटा सानो अंश आफ्नो भागमा पारेको छ । अलि पर पर्खालको अन्त्यको दाहिने सुरदेखि केही दुरीको अन्तरालमा डोरीमा बाँधिएका भकुन्डाहरू समुद्रमा छन् । यहाँबाट हेर्दा एघार जना तालुचिन्डेहरू एउटै लाइनमा टाउकोमात्रै देखाएर समुद्रमा उभिरहेकाजस्ता देखिन्छन् । यताबाट टाउकोको पछिल्लो भाग देखिएजस्तो लाग्दो रहेछ । कस्तो कस्तो अवास्तविक र भयप्रद देखिँदो रहेछ । हरर फिल्मका पात्रहरूजस्ता ।

तर वास्तवमा ती रिसोर्टले आफ्नोतर्फबाट हालेको बार हो । यसले एकातिर रिसोर्टको सीमा छुट्याउँदो रहेछ । अर्कोतिर समुद्रबाट आउने उत्ताल लहरका उद्याम वेगमाथि नियन्त्रण लाउँदै त्यसको गतिलाई सके केही मत्थर तुल्याउँदो हो ।

हुर्गाधा समुद्रमुनिका पानीका खेलहरूका लागि विश्वप्रशिद्ध रहेछ । हामी बिचमा गएर सनबेडमा पल्टिएर किताब पढनै लाग्दा ती समुद्री खेलहरू खेलेर फर्किएका एउटा ठूलो समूह हल्लाखल्ला गर्दै छेऊको बाटोबाट रिसोर्टमा आइपुगे । त्यसैगरी एउटा ठूलै हुल रिसोर्टभन्दा केही पर अडिएको फेरिमा जानका लागि तम्तयार भएको रहेछ । एकैछिनपछि ती समूहलाई लिएर फेरि आफ्नो बाटो लाग्यो ।

अघिसम्म शान्त रहेको वातावरणमा एक्कासि कल्याङमल्याङ भरियो । ती बिहान ब्रेकफास्टपछि हिँडेकाहरू भोकाएर खान आइपुगेका रहेछन् । कोही हलमा बफे लन्च खान गए भने कतिपय यही बिचसंगै भएको रेस्टोरेन्टभित्र र बाहिर बगैंचामा राखिएको टेबुलमा बसेर खाना अर्डर गर्दै ड्रिंकसहित गफिन लागेका छन् ।

अनुहार नदेखेता पनि उनीहरूको बोलीको चिरबिरले ती निकै आनन्दित छन् भन्ने बुझिन्थ्यो । अर्थात् उनीहरूले चरम रोमान्च र खुसी अनुभूत गरेर आएका थिए भन्ने उनीहरूको बोलिको चहकले नै बताइरहेको छ । मेरो मन चसक्क भयो । सुटुक्क छोरीको अनुहार हेरेँ । ऊ सनबेडमा पल्टिएर किताब पढन मै मग्न छ । उसको अनुहारबाट मैले कुनै प्रतिक्रिया पाउन सकिनँ । तर मेरो मन भने पश्चातापले खिन्न भयो ।

अघि रिसोर्टमा पुगेर आफ्नो कोठामा सामानहरू पुगाइन्जेल हामी लबीमै थियौं । त्यही बेला हाम्रो सोफामा हामी नजिकै बसेर रिसोर्टको व्यवस्थापन पक्षको मान्छेले यो रिसोर्टले कुन कुन सामुद्रिक खेलहरू खेलाउँछ भनेर विस्तृत नालिबेली लगाएको थियो ।

प्रतिव्यक्ति दुई सय पचास यु.एस.डलर पर्ने सो प्याकेज महँगै भएता पनि दीपकज्यूले यस्तो मौका पाएको बेला पैसाको मुख नहेर्नु । जे जे रमाइलो गर्ने हो त्यो गर्नु भनि नै सक्नु भएको थियो । तर मूल कुरो अर्कै थियो ।

एक त मेरो कानको जालीमा प्वाल भएर रोगी कानको समस्या , म पानीमा जानै मिल्दैन । मैले ती कुनै पनि क्रियाकलाप गर्न नपाएपछि त्यत्रो पैसा खेर फाल्ने कुरै भएन । दोस्रो आपूm नगएर छोरीलाई मात्रै एक्लै पठाउँ भने आफ्नो ठाउँबाट कता हो कता टाढाको यो देशमा समुद्रमुनि गरिने त्यस्ता रोमान्चकै भएता पनि उत्तिकै खतरनाक खेलहरूका लागि छोरीलाई एक्लै पठाउने मेरो आँटै भएन । छोरी त निकै उत्साहित थिई त्यो रमाइलो र रोमान्चका लागि । तर मैले सो कुरो नकारिदिएँ । बिचरी निकै दंग परेकी थिई तर मैले गर्दा ती रमाइलाहरू अनुभव गर्न पाइन ।

रिसोर्टका कतिपय पाहुनाहरू यतिखेर समुद्रसंग चलिरहेका छन् । छोरी पनि पटक पटक समुद्रमा पौडी खेल्न जान्छे । ऊ अलिपर पुग्नेबित्तिकै म अत्यासमा कराइहाल्छु । बिचरी उसलाई पनि झ्याउ लाग्दो हो । हुनत यहीँ छेऊमै बिच रूङने गार्ड बसिरहेको छ । आफ्नो सीपमा सिपालु यो गार्ड पौडिरहेका पाहुनाहरूलाई केही गाह्रो-साँघुरो प-यो भने समुद्रमा गएर उद्धार गर्न तयार भएर सतर्कताका साथ ती पाहुनाहरूलाई नै हेर्दै आफ्नो सिटमा बसेको छ ।

यतिखेर समुद्र शान्त छ । केही चंचले हुनु त यसको स्वभावै हो । त्यही भएर दुगुर्दै यो किनारमा आइपुग्छ । हलुका प्रेमले किनारालाई म्वाई खान्छ । आफ्नु मायाले भिजाउँछ अनि तुरून्तै फर्कि पनि हाल्छ । किन होला यसलाई यति छिटो फर्किने हतार ! निमेष भर बढी पनि यसले किनारालाई सुम्सुम्याउँदैन । भलाकुसारी गर्दैन ।

रिसोर्टको आफ्नो निजि तट । सफासुग्घर छ । तर यहाँ अन्तको जस्तो समुद्रको किनारामा हुने खजुरका वोटहरूको प्राकृतिक सौन्दर्य छैन ।

माथि सफा आकाश छ । एक टुक्रा बादल पनि कतै छैन । आँखाअगाडि कंचन नीलो पानी क्षितीजसम्म हलुका हलुका चल्मलाइरहेको छ । लाग्दछ यो निलमको खानी हो । अनि त्यही निलमखानी पग्लिएर अहिले समुद्र बनिदिएको छ । नीलो समुद्र तर नामचाहिँ रातो रे ‘रेड सी’ अरब भूभागकै ठूलो टुक्रा अफ्रिकाबाट चिरिँदै बेग्लिएपछि बनेको खाल्टोमा पानी भरिएर बनेको लाल सागर !

किन लाल नाम दिइएको होला !

बालखकालदेखि नै भूगोल विषय पढदा लाग्दैनथ्यो म कुनै दिन यो सागरलाई आÇनै आँखाले देख्नेछु भनेर । र कुनै दिन यसलाई स्पर्श पनि गर्नेछु भन्ने पनि मेरो कल्पना थिएन । तर यसको नामबारे निकै जिज्ञासा लाग्थ्यो । कस्तो होला रातो समुद्र ! रातो रंगको पानी !

रातो रंगको समुद्रसंग साक्षात्कार हुने परिकल्पना । तर रातो समुद्र निलो नीलो निर भएर फैलिएको छ । पर क्षितीजसम्म अनन्तको विस्तार लिएर ।

यो सिजन इजिप्ट घुम्ने सिजन हो कि ? पर्यटकहरूले भरिभराउ छ हाम्रो यो चार तारे रिसोर्ट । बीचमा पनि यिनीहरू प्रशस्त छन् । अघि भर्खरै एउटा फेरि भरिका पर्यटक पानीमुनिको साहसिक खेलहरू खेल्नका लागि यसै तटबाट पर कतै समुद्रमा गए । लालसागरको संसर्गमा अनायासै पुगेको छौं । रिसोर्टको सफा, शान्त र सुकसुकाउदो बीचको आरामकटमा पल्टेर टाढा क्षितीजमा देखिरहेका कैयौं जहाजहरूलाई हेरिरहेकी छु ।

वातावरण प्रदुषणको कहर पटक्कै नभोगेको यो ठाउँको पारदर्शी हावाले आफुसँग धूलो धूवाँ केही बोकेको छैन । पर क्षितीजसम्मैका दृश्यहरू स्पष्ट देखिइरहेका छन् । टाढै पर पनि समुद्रमा साना खाले फेरिहरू ओहोरदोहोर गरिरहेको प्रष्टै देखिन्छ । यसको पारिपट्टि अरबभूमि चेप्टो पेनेन्सुला भएर लमतन्न सुतेको छ । यो समुद्रको साँघुरो भाग हो रे ! यहाँबाट नजिकै छ रे अरब । पारि अरबको कुनै एउटा सहरमा लगेर ल्याउने पनि एउटा प्याकेज रहेछ रिसोर्टको । तर त्यसको लागि भिसा चाहियो । हामीले सोच्ने कुरै भएन ।

शीरमाथि सेतो बादलको एक टुक्रो को पनि अतिक्रमणमा नपरेको चहकीलो, विशाल नीलो आकाशले आँखालाई शान्तिको नपाइसक्नु आनन्द दिएको छ । जाडै महिना भएता पनि यस मुलुकको घमाइलो दिनमा बगेको सिरसिर शीतल हावा मेरोलागि उत्तिकै मोहक भइदिएको छ । रंग नफेरिएको आँखाअगाडिको समुद्रको पानी पर क्षितीजसम्म पनि एकनासको नीलो छ । यसका नरम छालहरू मलाई सुम्सुम्याई पो हाल्छु कि भनेर ब्याले नर्तकीका नृत्यमय हलुका पाराले जसरी पाउ संंचालन गर्दै किनारतिर आउने, बिस्तारै किनारलाई म्वाई खाने र हलुको पाइलाले फर्किने गरिरहेका छन् । घरिघरि छालहरूले किनारलाई अँगालिरहेको दृश्यले मलाई पनि ती छालहरूलाई आÇनो अँगालोमा बाँध्न उत्प्रेरित गरिरहेका छन् । म पनि सनबेडमा पल्टिएर घरि किताब पढदै, घरि वरिपरि सबैतिर नियालीरहेकी छु । जीवनको पहिलो अनुभव ∕ आनन्द यतिखेर मेरो सम्पूर्ण अस्तित्वबाट छताछुल्ल पोखिइरहेको छ ।

मेरै अगाडिको बालुवामा भर्खरै एउटा जोडीले बालुवाको पिरामिड बनाएका थिए । श्रीमानले लगनशील भई तल खाल्टोबाट बालुवा झिक्दै सीप र समय लाएर बालुवालाई पिरामिडको आकार दिए । पत्नीचाहिँले पानीमा गई गई पिरामिडमा भएकाजस्ता ढुंगा ल्याएर पिरामिडको तल्लो सतहलाई बलियो तुल्याइन् ।

पिरामिड बन्यो । आफ्नो हातले विश्वको अलौकिक वस्तु बनाएकोमा दुवैजना दंग परे र फर्केर कोठातिर गए । पिरामिड किनारमा एक्लो प-यो ।

एउटा शक्तिशाली लहर आयो । त्यसको पानीको वेगले पिरामिडको एउटा पाखो भत्काइदियो । तटमा भर्खरै आइपुगेका एकजना पुरुषलाई सके माया लाग्यो कसैको परिश्रमको । उनले त्यो पिरामिडको पुनर्निमाण गर्ने अठोट गरे । उनी निर्माण कार्यमा लागे । उनका तीनजना सन्तानहरू दंग पर्दै उनलाई सघाउन थाले ।

बाबु र उनका तीनजना सन्तान, बाबुचाहिँ ४५,४६ वर्षका छन् । जेठी छोरी छ, सात वर्षकी होली । माहिलो छोरो चार, पाँच वर्षको छ । कान्छी छोरी तीन, चार वर्षकी होली । आमासंगसंगै छैनन्, तर पनि अघि लन्च खाँदाखेरी देखि नै देखिरहेकी छु सबै सन्तान हँसिला र सफा र राम्रो लुगा लगाएर चिटिक्क परेका छन् । पेट भरिएको छ त्यसैले अनुहार पनि हँसिलो छ ।

मानिसहरू मात्र आमाको वात्सल्यको कुरा गर्छन् । तर संसारमा बाबुको बाबुत्व वा पितृत्व पनि त महत्वपूर्ण होला नि ¤ किन होला पिताको पितृत्वको कुरा कोही गर्दैनन् । बाबु नभएको संसार कति अपूर्ण र बिरसिलो होला, पिताको हृदयमा पनि त आफ्ना सन्तानमोह प्रबलैै होला ।

पत्नी साथमा छैन यिनकी । अथवा आफ्ना यी तीन सन्तान बाबुलाई सुम्पिएर उनी कोही अरू संगै गृहस्थी बसाउन पो गइन् कि ! उनीहरूको समाजमा यो अनौठो कुरो होइन ।

तर बाबुचाहिँले आमाको कमि केही गरी पनि हुन दिएका छैनन् । तीनैजना सन्तानहरू उनको काख काखमै हुन्छन् । उनी जेठो छोरोलाई जबर्जस्ति पौडी खेल्न सिकाइरहेका छन् । कान्छो छोरो पनि लाडिँदै बाबुकै छेउछाउमा हुन्छ । तर छोरी सानी छ, त्यही भएर डराएर किनारमै बसेर बालुवासंग खेलिरहेकी छ ।

साँझ शहर दर्शनलाई निस्कियौं । लालसागरको किनारैबाट शुरु भएको महत्वपूर्ण शहर ! किनारको सम्पूर्ण भागहरू एकसे एक सौन्दर्यमयी रिसोर्टहरूले भरिएका छन् । रिसोर्टहरू निकै ठूला र फराकिला ! यी अनगिन्ति रिसोर्टहरू सबै भरिभराउ हुन्छ भन्थे गाइडले । को बस्ने होलान यहाँ ?

हुर्गाधा यो शहर, सानो शहर । राजधानी शहर कायरोभन्दा बेग्लै चरित्र बोकेको शहर । कायरोमात्र किन मिश्रको इतिहासिक र पुरातात्विक महत्व बोकेका आसवान र लक्जरभन्दा पनि धेरै मात्रामा फरक शहर ¤ पुरातात्विक दृष्टिले पनि यो शहरको महत्व धेरै होला कि ! यो पुरानै शहर होला ! शहरमा प्रवेश गर्दा सर्सति देखेका आधारमा शहर अति नै आधुनिक देखिन्छ । आफ्नै रैथाने वास्तुकलाले सिंगारिएका एक से एक चित्ताकर्षक संरचनाहरू ! तर दुबई र अबुधावीजस्ता अत्यधिक उन्नत र चकाचौंध छैन यहाँ । पुराना घरहरू छैनन यहाँ ।

शहर इजिप्टको हो, तर यहाँ सबै साइनबोर्डहरूमा अरबी अक्षरका साथै रसियन अक्षर लेखिएका छन् । अझ कतिमा त मात्र रसियन अक्षर छन् ।

तठस्त आन्दोलनका बेला मिश्रको राष्ट्रपति नासर र रसियाका राष्ट्रपति खु्रस्चेभका बीच निकै मित्रता थियो भन्ने सुनेकी हुँ तर पूरै शहर मै यस्तो रसियन प्रभाव भएको थाहा पाएकी थिइन । सके अचेलको चलनअनुसार रसियाको कुनै शहर र मिश्रको यो शहरले मित पो लाएका हुन कि !

पछि गाइडलाई सोध्यौं । उसले यो शहरका प्रायजसो केटीले रसियन केटालाई बिहे गर्ने र उनीहरूलाई यतै घरज्वाईँ राख्ने चलन गरेका रहेछन् । रसियन केटाहरूलाई पनि आÇनो देशको कम्युनिस्टको बन्द समाज र उकुसमुकुस लाग्ने वातावरणको तुलनामा यहाँको खुल्ला वातावरणमा जीवन बाँच्न सजिलो लाग्यो होला । त्यसैले इजिप्टको निर्माणमा सहयोग गर्न आएका कैयौं युवकहरूले यहीँका केटीहरू रोजेर यहाँको सजिलो बचाँईलाई आत्मसात गरेका रहेछन् ।
केटाहरू यहाँ बस्न थालेपछि कैयौ्र रसियन केटीहरूले पनि यहाँका धनी मिश्रेली केटाहरूसंग बिहेबारी गरी यतै घरजम गरेका रहेछन् । यसैकारण प्रायजसो यहाँका वासिन्दाहरूको दोश्रो भाषा रसियन भएको रहेछ ।

हिँडदा हिँडदै स्टारबकको सुगन्धले तानियौं । पेटीमा राखिएका अनेकौं टेबलहरूमध्ये एउटामा गएर बस्यौं । हामी संगैको टेबलमा मुखभरि टम्म चाउरीले भरिएको लगभग पचहत्तर वर्षको एकजना बुढो वरिपरि दुईजना लगभग बीस, बाइस वर्षका ठिटीहरूलाई अँगालो मारेर, म्वाई खाएर बसिरहेको छ । ‘… भन्दा देख्नेलाई लाज’जस्तो भो हामीलाई । छोरीले यसलाई सामान्य रूपमा लिई । तर मलाई भने ननिको लाग्यो । ‘यो बुढोको घरमा बुढी छन् होला कि छैनन् ? बुढी पनि यसरी नै कसैसंग लठारिरहेकी त पक्कै नहोलिन् । हुन त यस्तो चरित्रको बुढोको पहिलो बिहेको पत्नी अहिलेसम्म के साथै होलिन् र ! यो मान्छेले जीवनमा कतिवटा श्रीमती फेरिसक्यो होला ? यो उमेरमा पनि यसलाई एउटा होइन दुई, दुईवटा तरूनी केटी किन चाहिएको होला ! के यसलाई पारिवारिक जीवनको महत्व छैन ? यसका नातिनातिनाहरू पनि यी ठिटीहरू कै उमेरका होलान् । के यसका लागि जीवनमा महत्वपूर्ण कुरो भनेकै तरूनी ठिटीहरूसंगको संसर्ग र यौन मात्रै हो ?’

मलाई किन किन त्यो बुढोको अनुहार र उसको क्रियाकलाप सहनै गाह्रो लाग्यो । छोरीलाई इसारा गरेँ र जुरुक्क उठेर रेस्टुरेन्टको भित्र गएर बस्यौं ।

फर्केर आएपछि आफ्नै रिसोर्ट मै किन्यौं अरबी अत्तरहरू ! कायरोमा भन्दा तीनचारै गुणा सस्तोमा । कायरोमा फादियाको कमिशनको चक्र थियो । यहाँ भने बीचमा कोही भएन कमिशन खाने ।

लक्जर आएदेखि नै बेलुकीको खानामा हाम्रो बकुला (सिमी जातको तरकारी) राखेको देखेकी छु । पकाएको तरिका बेग्लै छ । तर मिठो छ । अरबी भाषामा बकला भनिने र अंग्रेजीमा ब्रड बिन भनिने यो तरकारी मूलत अरब कै हो भनेर मैले उहिल्यै बेलायत हुँदै थाहा पाएकी थिएँ ।

एकाबिहानै निद्रा खुल्यो । पल्लो ओछ्यानमा छोरी मस्त निधाएकी छ । अहिलेसम्म यिनीहरूको जीवन कर्तव्यको भारबाट मुक्त छ । यिनै समय त हुन नि यिनीहरूका लागि निस्फिक्रिसंग बिताउने । मन लागुन्जेलसम्म सुत्न पाउने । भोलि गएर जीवनको अनेक जन्जालले घेरेपछि यिनीहरूले यो निस्फिक्रि र यो आनन्द कहाँ पाउनु ! कर्तव्यको चक्रव्यूहमा पसेपछि यी फुर्सदीला र अलमस्त बिहानी पनि आकाश कै फल हुन पुग्दछ ।

बिस्तारै कोठाबाट निस्किएँ । एकैछिन बिचमा हिँडछु भन्ने विचारले गोडा पनि त्यतैतिर लागे । कोरिडोर सुनसान छ । यतिखेर कोही उठने बेला भएको छैन । म अगाडि लबि जाने बाटोतिर नलागि बिच जाने बाटोतिर लाग्छु । लिÇटतिर पनि कोही छैन । तल उत्रिएर बगैंचामा पुग्दा केही सफाईका कर्मचारीहरू आÇनो काममा लागेको पाउँछु । बाहिर उज्यालो हुन थालेता पनि चरोमुसो कोही नदेख्दा मन अलि हच्केको थियो । तर यी कामदारहरूको उपस्थितिमा बल्ल मन ढुक्क हुन्छ ।

भित्रको न्यानोबाट एक्कासि बगैंचामा पुग्दा सिरेटोले हान्यो । पस्मिना राम्ररी ओढछु र चिसोलाई पर सार्छु ।

म एक्लै बिचमा हिडुँला भन्ने सोचले, बिचमा एक्लै हुनेछु भन्ने सोचले तल झरेकी थिएँ । तर थुप्रै मानिसहरू मभन्दा पहिला यहाँ पुगिसकेका रहेछन् । त्यहाँ भएका सनबेडहरू सबै भरिएका छन् । सबै प्रतीक्षामा छन् सूर्य आगमनको ।

मेरो दीमागमा आँउदै नआएकोे सूर्योदय दर्शनको कुरो ! हो त मूम्बई को जुहुबिचको समुद्र तटबाट र ओरिसाको पुरीको समुद्र तटबाट मैले सूर्यास्तको मोहक दृश्य त देखेकै हो नि ! यहाँको समुदमा पनि सूर्योदय र सूर्यास्त मनमोहकै देखिएला । हिजो सूर्यास्तको बेला यादै नगरी सहर घुम्न निस्कियौं ।

मानिसहरूको ओहोर दोहोर कल्याङमल्याङ, म किनारकै बालुवामा बसेर टाढा क्षितीजमा आँखा गडाएर हेरिरहेकी छु । छोरीलाई पनि बोलाउनु पर्ने भन्ने लागिरह्यो । तर यो सूर्योदय कस्तो हुनेछ के थाहा र ! खासै केही नहुने रहेछ भन्ने बित्थामा उसको त्यति मिठो निद्रा बिथोलिन पुगेको पनि नमज्जै हुन्थ्यो । हिजोको नीलो समुद्र यतिखेर खरानी रंगमा परिवर्तित भएर सुस्तरी चलमल गरिरहेको छ । अँध्यारो आकाश पनि बिस्तारै उज्यालोको लुगा फेर्दैछ ।

अचानकै अगाडि क्षितीजमा भएका एक लहर फिका काला र अँध्यारा बादलहरू मा लालिमा मिसियो । त्यसर्सगै माथि आकासका केही काला काला बादलहरूमा पनि रातो रंग मिसिँदै आयो । बिस्तारै त्यो क्षेत्रको क्षितीज गाढा रातोले रंगिदै छ । माथिको आकास पनि त्यही रातो रंग दलेर राताम्य भएको छ । तर किन होला समुद्रले अझै रातो रंगमा रंगाउन सकेको छैन ।

हेर्दाहेर्दै एउटा सानो सुनौलो धर्सो देखियो । क्रमश त्यो धर्सो गोलो रूपमा देखिन थाल्यो । परिवेशमा सुनौलो रंग पनि थपियो । पल पल हुँदै गोलो चक्का बढदै गयो । आकासले अहिले आएर सुनौलो गोलो चक्काअगाडिको समुद्रमा पनि अलिकति रातो रंग छ्यापिदियो । सूर्यको आकार बढदै गएसंगै आकासलाई पनि आÇनो आवरणको रंग फेर्न हतार लागेको छ । ऊ शनै शनै आफुलाई सुनौलो परिधानमा सजाउँदै छ ।

जादुगरले जादु गरेजसरी सबैतिर सुनौलो रंग फिँजादैं सतहबाट सूर्य आÇनो पूर्ण रूपमा भुक्लुक्क निस्कियो । तटमा उभिएर यो दृश्य हेरिरहेका सबै उत्तेजनामा चिच्याए । हामी अगाडिको समुद्र अझै अँध्यारै छ । त्यही अगाडिको अँध्यारो छालले सुस्तरी आएर मलाई सूर्य आगमनको मोहनीबाट बाहिर निकाल्न बिस्तारै खुट्टा सुम्सुम्यायो । मैले पनि उसको पानी अँजुलीमा थापेर अनुहारमा छ्यापेँ र उसलाई मनमै धन्यवाद दिएँ ।

मिश्र देशको लालसागरको यो बिहानी मातलाग्दो भएर उदाएको छ । हावामा नुन भरिएको ताजापनले मनमा अनौठो स्फुर्ति उमारिदियो । मनमा बेग्लै आनन्द भरिदियो । थाहा छैन कस्तो आनन्द हो यो ! म केहीबेर चिसो समुद्री हावाको आनन्द लिएर कोठामा आएकी छु ।

ब्रेकफास्टपछि समुद्रको किनारतिरै लागेकी छोरी निकैबेर भइसक्ता पनि कोठामा आइन । म फेरि किनारतिरै लागेँ । त्यहाँ छोरी कुर्सीमा एकचित्त भएर बसेकी रहिछ अनि किनारको गार्ड छोरीसित उसका दुखका बखान गरिरहेको रहेछ । कहिल्यै कुनै पीडाका घटना नसुनेकी छोरी स्तब्ध र अवाक भएर उसका पीडाका गाथाहरू सुनिरहेकी रहिछ । मलाई देखेर गार्ड हच्कियो र आफु उभिनुपर्ने ठाउँमा गएर उभियो । खासमा रिसोर्टको कुनै गेस्टलाई समुद्रमा केही आपद पर्छ कि भनी ध्यान दिने उसको काम हो । किनारमा भएका गेस्टसंग गफ गरेर बसेको देखेमा उसको जागिरै पनि जान्छ ।

कथा उही हो । घरको गरिबी । अपांग बाबु । बिरामी आमा । भाइहरू घरमा । पढाउनु पर्ने । कमाउने व्यक्ति घरमा आपूm एक्लै उमेर चालिसको दशकमा हिँडिरहेको तर अहिलेसम्म बिहे भएको छैन । बिहे गर्न पैसा छैन । बिहे साह्रो खर्चालु हुन्छ । छोरीको बाबुलाई टन्न पैसा बुझाउनुपर्छ । फेरि बिहेमा हुने सबै खर्च आफ्नै, केटीपट्टिले केही खर्च गर्दैनन् । त्यत्रो पैसा कहाँबाट पाउनु !

अरबमा पनि केही शताब्दीअघिसम्म छोरीहरू कै जन्मदर बढी रहेछ । तर छोराको कदर हुने हाम्रो पितृसत्तात्मक पृथ्वीमा छोरीको जन्म सबैका लागि अप्रिय ! आखिर एशिया नै त हो अरब पनि ! यो अपवाद किन हुन्थ्यो र ! यहाँ पनि शताब्दीयौं शताब्दीसम्म छोरी अवान्छित भइरही । बिस्तारै त्यहाँको प्रकृतिले मनुष्यको मन बुझ्दै गयो । छोरीको महत्व नभएको ठाउँमा छोरीको जन्मदर घटाउँदै गयो । अहिलेको समयमा सिंगै अरबजगतमा पाँच, छ छोरा बराबर एक छोरी जन्मिने गरेका छन् रे । त्यही भएर अरबमा सामान्य मानवले बिहे गर्नका लागि केटी पाउन साह्रो गाह्रो हुन थालेको रे । धनीहरूले समाजले नै दिएको छुटअनुरूप चार चारवट बिहे गर्छन रे । तर निम्नमध्यम वर्गिय र गरिबहरूका लागि बिहे भनेको आकाशको फल नै हुने रहेछ । हातमा टन्न पैसा नभइकन केटी किन्न सकिँदो रहेनछ ।

छोरीको मनको खिन्नता मेरो मनमा बसाईँ स-यो । आखिर विश्वकै शास्वत सत्य आर्थिक अभाव ! तर आजको यो उपभोगिताको युगले मनुष्यमा अनेक सपना र चाहना उमारिदिएको छ । आफ्नो हैसियतभन्दा पनि माथिको सपना देख्ने लालसा जगाइदिएको छ । तर त्यहाँसम्म पुग्ने बाटो देखाउनमा भने यो समाज उदासिन भइदिएको छ । सपना देख्यो, कल्पना ग-यो तर आफ्नो लागि भने त्यो जीवन कल्पनातित ! अनि त युवाहरूमा नैराश्य चरम रहेछ । हुँदा हुँदा उमेरमा बिहे गरी घरजम गरेर बस्न पनि आकाशको फलजस्तो भइदिएपछि कुनचाहिँ युवाहरूको जीवन स्वभाविक होला र !

देशले काँचुुली फेर्दै गरे पनि मिश्रेली युवाहरू भने निकै छटपटिमा रहेछन् । विचलित रहेछन । एउटा सानो कटेरा, केही वस्तुभाउ, अलिकति जमिन, श्रीमती र सन्तानले भरिपूर्ण जीवनको तिनीहरू कल्पनामात्र गर्न सक्छन् । यथार्थ कठोर छ । यी सबै चिज मात्र कल्पनामा सँगाल्न विवश छन् यिनीहरू । प्रकृतिले अनिवार्यजस्तो बनाएको जीवनचर्या यिनीहरूको भाग्यमा लेखेको हुँदैन । त्यही भएर पनि यी आफ्नो अपूरो र अधूरो जीवनदेखि अवसादित छन् । देश छोडेर बाहिर जान खोज्छन्, तर सरकारले देशबाहिर जानका लागि कठोर नियम बनाइदिएको छ । त्यसलाई उल्लंघन गर्न यी सक्दैनन् । यसरी जीवनभरि कुण्ठित भएर बिताउन ती बाध्य रहेछन् ।

जीवनका आ–आफ्नै कथा र कहानी छ । अस्तिमात्र लक्जरमा राफायलको कथा सुनेर हामी द्रवित भएका थियौं । अहिले फेरि यहाँको यो तटिय व्यवस्थापक मेरी छोरीसंग आफ्नो जीवनको गाथा सुनाउँदै छ । आफ्नो पीडाको वखान गर्दैछ । सबैको जीवन आखिर पीडैले बुनिएको छ । पीडाको तानामा केही खुसी, केही कर्तव्य, केही सपना, केही उत्साहको बाना भई मिसिंदै जीवन बुनिएको छ । सम्पूर्ण सुखी को नै छ र यहाँ ? आफुले भोगिरहेको परिस्थितिसंग हारेर, भागेर कोही कहीँ जान नै कहाँ सक्छ र ?

पीडाले मान्छेलाई सधैं नै पछ्याइरहेको हुन्छ । अनगिन्ती छन् उसका पीडाहरू ! आर्थिक अभाव, सामाजिक विभेद, मानसिक विचलन आदि विभिन्न पीडाहरूको रापमा पिल्सिरहेको छ मानिस । पीडाबाट उम्किने कुनै उपाय छैन ।

तर पनि पीडाको पनि आफ्नै महत्व छ । पीडा नहुँदो हो जीवनमा त मानिसले सुखको महत्व नै कहाँ बुझ्न सक्छ र ¤ पीडा छ र त खुसी पनि छ ।

पृथ्वीको जुनसुकै ठाउँमा किन नपुगौं, मानिस एउटै हुँदा रहेछन् ! मानिसका भाषा, धर्म बेग्ला बेग्लै किन नहोस तर उसको मन र उसका सपना र कल्पना एउटै हुँदा रहेछन् । उसको चित्त एउटै हुँदो रहेछ । चित्तभित्रको खुसी र पे्रम पनि उस्तै हुँदा रहेछन् । चित्त दुखेको पीडा पनि उही हुँदो रहेछ । मात्र चेतना र बोधले त्यसको मात्रा धेरथोर हुँदो हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button