लघुकथा: घाइतेको सम्मान

हरिप्रसाद गौतम

‘चिरु दास’ आन्दोलनमा नराम्ररी घाइते भयो । उसको अति मिल्ने साथी सहिद भयो । हेर्दाहेर्दै आन्दोलनले उचाइ छोयो । सफलताका साथ रोकियो । सहिद परिवारले देशको उन्नति हुने कामना गरे । घाइतेहरूले अस्पतालबाटै अब देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको ठहर गरे । अस्पतालमा पहिलेजस्तो सडकबाट अश्रुग्यास आउन छाड्यो । नेताले सुन्दर महलको सपना देखे भने गरिब जनताहरूले चाहिँ भोको पेटमै भए पनि राष्ट्रिय गान गाउन थाले । चिरु खुसीले गदगद भयो ।

सामन्तले छोडेको दरबार सबैका लागि खुला गरियो । चिरुको खुसी फेरि छचल्कियो । ऊ बैसाकी टेकेरै भए पनि दरबारको गेटमा पुग्यो । नेता, पत्रकार र विदेशी कुटनीतिज्ञ पहिले छिरे । विभिन्न निकायका दहीचिउरे ठालुहरु पनि स-सम्मान भित्र छिरे । गणतन्त्र ल्याउन सङ्घर्ष गर्ने जनताको पनि दरबारभित्र छिर्ने पालो आयो । जनता छिर्ने द्वारमा कडा सुरक्षा जाँच गरियो । गेटमा भिड लाग्यो । भिड अनियन्त्रित थियो । भित्र छिर्न नपाएपछि नाराबाजी भयो । भागाभागको स्थिति आयो । विचरा ! चिरु भाग्न सकेन । ऊ घोप्टो परेर लड्यो । एकमात्र सहारा बनेको उसको बैसाकीसमेत हरायो । भिडलाई नियन्त्रणमा लिन र नाराबाजींको स्थिति साम्य पार्न भनी माथिबाट आदेश आयो । माथिको आदेशबमोजिम नियन्त्रणका नाममा जनतामाथि लाठीचार्ज भयो । सुरक्षाकर्मीले दिनभरिको रिस त्यही घोप्टो परेर लडिरहेको चिरुमाथि पोखे । मानिसहरू ज्यान जोगाउन भाग्ने क्रममा पाइतालामुनिको कमिलासरी भयो चिरूको शरीर ।

बाहिरको यो भिड, भागाभाग अनि लाठीचार्ज एकैछिनमा सम्हालियो । आज जनताले दरबारभित्र प्रवेश पाउने र सहिदप्रति श्रद्धाञ्जलीस्वरुप मौनधारण तथा घाइतेहरूको सम्मान गर्नै कार्यक्रम तय गरिएको थियो । तर, बाहिरचाहिँ जनआन्दोलनको घाइते चिरु सदाका लागि यस संसारबाट बिदा भइसकेको थियो ।


(हरिप्रसादजीले जस्तै तपाईं पनि नेपालनाम्चामा आफ्ना अघुकथन पठाउनुस् । nepalnamcha@gmail.com लघुकथा पठाउने इमेल हो ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button