कतिपयले डिलको डोब कि दिलको डोब ? भनेर पनि सोध्नुभयो

नेपालनाम्चाको नियमित स्तम्भ किताबमा डिलको डोबबारे क्रान्ति पराजुलीलाई दश प्रश्न ।

नयाँ किताब ‘डिलको डोब’का लागि तपाईलाई बधाई । तर, के साँच्चै तपाईंको पुस्तक बधाई दिन लायक छ ?
बधाई तथा स्थानको लागि धन्यवाद दिन चाहन्छु नेपालनाम्चा परिवारलाई । अर्को कुरा, डिलको डोब बधाई दिन लायक छ कि छैन भन्ने कुरा पाठकको ठम्याइको मुख्य विषय हो, मेरो नजरमा आफ्नो सिर्जना लायक नहुने कुरै भएन । सिर्जना सन्तानको प्रारुप हो, कसरी आफ्नी आमालाई सन्तानप्रति अगाध प्रेम र सद्भाव नहोला र ।

किताबमा के छ र किन यो विशेष छ ? किन पढ्ने यो किताब ?
यो किताब संघर्षको मैदानबाट अविचलित भई गन्तव्यको पहिचानपछि अनवरतरुपमा पाइला चाल्नेहरु, सफलताको सगरमाथाबाट दूर हुन्छन् भन्न मिल्दैन भन्ने मूल विषयबस्तुमा आधारित पुस्तक हो । एक छोरी, नारी र महिला कति धेरै परिस्थितिहरुको सामना गरेपछि मात्र सफलताको बाछिटाहरुको सामिप्य हुदै सफलताको नौका तर्न सक्छन् भनेर आशावादी किरणहरु निरासाको अध्यारोमा छर्दै अगाडि बढ्नु पर्छ भन्ने प्रेरणाको किताब हो ।

यो किताबको जन्मनुको परिवेश, कारण र अर्थ के हो ?
राजनैतिक, सामाजिक र नैतिकताको पाठ परिवारको परिधिमै केही सिकेँ । मेरो शैशवकालबाटै सामाजिक न्यायको खातिर र अन्यायको विरुद्धमा आवाज उठाउनु पर्छ भन्ने चेतनाको डायरी मैले लेख्दै आएकी थिएँ । यही डायरीले नै मलाई कथा, निवन्ध, कविताहरु हुदै पुस्तकाकारको रुपमा पहिलो पुस्तक उपन्यास डिलको डोबको जन्मदाता बनायो ।

प्रारम्भिक प्रतिकृया कस्ता छन् ?
उपन्यास डिलको डोबको प्रारम्भिक प्रतिकृयाहरुले मलाई उत्साहित बनायो र मैले दोस्रो उपन्यासको पौने एक भाग सकाइसकेकी छु । नाम सुनेर वा हेरेर कतिपयले डिलको डोब कि दिलको डोब ? भनेर पनि सोध्नुभयो । तर, जसले पुस्तक पढ्नु भयो, उहाँहरुले उपन्यासको अन्तरवस्तु र पुस्तकको नाममा एकदमै तारतम्य रहेको बदाउँदा म उत्साहित छु । धेरै पाठकहरुले दोस्रो पुस्तकको नाम डिलको डोब–२ राख्नुहोस् पनि भन्नुभएको छ ।

किताबको नाम कसरी रहन गयो ? नाममा के छ ?
यो पुस्तक लेख्नेक्रममा मैले एकजना बहिनीको वास्तविक जीवनको यस्तै यस्तै घटनाबारे साक्षात्कार गर्ने अवसर पाएँ । उनको जीवनको भोगाइहरुलाई मैले सफलतासम्मको यात्रा आफैले तय गरेँ र यो उपन्यासले मूर्त रुप पायो । एक छोरीको जीवनमा उसका परिस्थितिहरुले तन, मन र मगजहरुका कुनकुन डिलहरुमा कहिल्यै नमेटिने गरी कैयन डोबहरु कसरी निर्माण, विनिर्माण र निर्वाण गर्छन् भन्ने कुरा यस पुस्तकले पस्कने प्रयास गरेको छ ।

किताबममर्फत खासमा के भन्दै हुनुहुन्छ ?
यस किताबबाट मैले हिलोमा लडेको मान्छे थोरै हिलोमा टेकेर उठ्नुपर्दछ र आफ्नो परिधिको हिलोहरु सफा गर्दै सोकलाई शक्तिमा रुपान्तरण गरेर रुपान्तरित सोच, खोज र विचारका साथ आफ्ना पाइलाहरु अगाडि बढाउनु पर्दछ भन्ने विचारको विजारोपण नै मेरो मुख्य सन्देश हो ।

प्रकाशनपछि किताबमा के के छुटेछन् जस्तो लाग्यो ?
पुस्तकको प्रकाशनको दौरानमा समयको केही अभाव भएजस्तो लाग्छ घरायसी व्यवहार सानासाना दुई बाबुहरुकी आमाको जिम्मेवारीसँगै तेस्रो सिर्जनात्मक सन्तानको जिम्मेवारी वहन असहज नभए पनि त्यति सहज थिएन तर मलाई कारणहरुले यसो गर्न पाइन भन्नेभन्दा कारणहरु धेरै भएतापनि व्यवस्थापन गरेँ भन्नेहरु मन पर्छ र मैले धेरै कारणहरुको बाबजुद पहिलो कृति उपन्यासलाई जन्माउन सकेँ । सामान्य त्रुटिहरु हुनु असामान्य कुरा होइनन्,थोरै त्रुटिहरु त छन् नै तर त्यस्ता गंभीर त्रुटिहरु मैले पाएको छैन ।

अर्को के कस्तो किताब लेख्दै हुनुहुन्छ ?
म कानूनको विद्यार्थी भएको नाताले गर्दा सामाजिक न्याय मर्नु हुन्न भन्ने लाग्छ तर न्याय प्रचलनको शिलशिलामा प्रमाणहरु नष्ट भएका कारण वा पैसा, पद र शक्तिको दुरुपयोगको कारण कतिपय अकारण मै दोषी भएको विषयले मलाई छोएको हुनाले सोही विषयलाई शिरोपर गरी अगाडि बढेकी छु ।

पछिल्लो समय प्रकाशित तपाईंलाई मन परेका पाँच किताब सम्झनुस्न् ।
पछिल्लो समयमा प्रकाशित भएका र मलाई मन परेका पाँच किताबहरु महारानी, लालस, द्रौपदी अवशेष, काँचो काजग, करिया हुन् तर यी बाहेकका धेरै पुस्तकहरु मलाई मन पर्छ र हरेक पुस्तकले एउटा फरक आवाज बुलन्दित गरेको पाउँछु ।

ती पाँचमध्ये आफ्नो किताबलाई कहाँनेर पाउनु हुन्छ ? नढाँटी भन्नुस्न् ।
मेरो यो पहिलो कृति हो यसको स्थान कहाँनेर छ भनेर मैले होइन पाठकहरुले भन्ने हो । हरेक पुस्तकको आफ्नो आफ्नो आवाज हुन्छ, प्रेम, संघर्ष, समय, धर्म, संस्कृति, रीतिरिवाज आदिको आवाज प्रस्फुटित भएको पाइन्छ पुस्तकहरुमाः त्यसैले चर्चा हुनु नहुनु दोस्रो कुरा हो तर मलाई हरेक पुस्तकभित्रको सन्सारमा हराउँदा छुट्टै आनान्दानुभूति हुन्छ र हरेक पुस्तकहरु मलाई मनपर्छ साथै थोरोको ‘थोत्रो कोट लगाउ तर नयाँ पुस्तक पढ’ भन्ने भनाई सार्थक लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button