
गोल्डेन बैंकक गेस्टहाउस
बीएन जोशी
‘भाइ कति बज्यो ?’ निराश मुद्रामा के–के सोच्दै थिएँ, गुरुङ दाइले भंग पारिदिए ।
‘ओ हो ! एघार बजिसकेछ,’ हाई काट्दै नाडीमा हेरेँ । अनि झ्यालबाट बाहिर हेरेँ, घाम धपक्क बलिरहेछ, हरियो धानका मुनाहरूमा ।
सुनेको थिएँ, थाइल्यान्डमा धान खेती निकै हुन्छ रे ! प्रत्यक्ष देखेँ । अरू जेसुकै बेच्न ल्याए पनि हामी खादैनौं (पैसा नहुनाले) र भाषासमेत बुझ्दैनौँ । तर, नाम …नाम …(पानी …पानी) भन्नासाथ कान चनाखो बन्न पुग्छ र पानी किन्छौँ । अरू थोक किन्नलाई त पैसा पनि हुनुप-यो नि !
दायाँबायाँ अगाडि–पछाडि अरूले खाएको हेरी बस्नु हाम्रो समय–चर्या बनेको छ । यति लामो यात्रामा पानीको बोतल ठड्याउनुसिवाय मुखमा केही नगएको देख्दा वरिपरिकाले के भन्दा हुन् । मजबुरीका नाम महात्मा गान्धी… । देख्नेहरूलाई के थाहा ? हाम्रो पीडा र बाध्यताको भारी कति गह्रुँगो छ !
मानवनिर्मित कृत्रिम महलहरूको साथै चौडावाल सडकमा कमिलाका ताँतीजस्ता गुड्न थालेका मोटरहरू देख्दा यसै–यसै मन उर्लिन्छ । जीवनमा पहिलोपटकको एक्काईस घन्टाको निरन्तर रेलयात्रा, त्यो पनि भोकै । मेरा लागि जीवनकै सबैभन्दा तीतो भोगाइ बन्दै थियो ।
रेल टक्क अडिएपछि मात्रै हामी ओर्लियौँ । अरूले जे ठाने पनि बानी नपरेकाले हुन सक्छ, सतर्कता अपनायौँ । ओर्लनासाथै टुकटुकवालाहरूको तानातानले हाम्रै देशको झल्को दियो । लक्ष्यबिनाको हतारिँदो हाम्रो यात्राप्रति निर्विवाद रहन किन पो सकिन्थ्यो ? विदेशी पर्यटकहरूका लागि संसारकै आँखा बैंकक त्यसै बनेको रहेनछ । यहाँ पैताला राख्नासाथ चाल पाउन सकिन्थ्यो । तै जम्मा सत्तरी भाटमा हाम्रो गन्तव्य मेरी किङको यात्रा तय भएपछि सबैको अनुहारमा अप्रत्याशित खुसी देखाप-यो ।
उही मेरी किङस्थित गोल्डेन बैंकक गेस्टहाउसभित्र छिर्नासाथै मामाले चिनिहाल्नु भयो । आफ्ना ग्राहकलाई नचिन्ने कुरा पनि भएन । अनि उहाँलाई देखेपछि हामी नतमस्तक बन्नु स्वाभाविकै थियो ।
‘तिमीहरूलाई मैले पहिल्यै भनेको नि, दलाललार्ई दिने पैसा यहीँ छाड्नु भनेर । मानेनौ ? धन्न आएछौ बेलैमा । भिसाको मिति त बाँकी छ नि ?’
‘छ मामा !’ मुखबाट त्यति मात्र निस्कियो ।
‘जेल पनि हाले कि, यतैबाट फर्कियौ ?’
‘जेलनेल सबै खाएर बिजोग भयो । त्यति मात्र हो र खान नपाएर जड्डलमा अलपत्र परियो, ‘मेरो कुरा टुड्डिन नपाउँदै दीपक अघि सर्दैै बोलिहाल्छ, ‘हिजो चार बजे हत्याइदेखि रेलमा चढेको मामा अहिलेसम्म पानीभन्दा मुखमा केही परेको छैन !’
मामा यस्तो नमीठो कुरा सुन्नासाथ तुरुन्त खानका लागि सुझाउँछन् ।
‘ल, ल यी झोलाहरू कोठामा राखेर पहिले खाना खाइहाल अनि पछि गफ गर्दै गरौँला है !’
मामा हामीलाई मुनिकै कोठा देखाएर किचेनको स्टाफलाई खाना तयार गर्न अह्राउँछन् । हामीलाई त ढुँगा खोज्दा देउता मिलेजस्तै भयो । विदेशी भूमिमा पनि कस्तो सहयोगी मामा भेटेका थियौँ । दुःखमा परेका कैयौँ नेपालीका लागि त उहाँ भगवान्कै रूपमा हुनुहुँदो रहेछ । कोठामा ढोकैदेखि झोला फ्यात्त भित्र मिल्काई किचेन अगाडिकै टेबलमा हात–मुखसमेत नधोई खान तयार भएर बस्यौँ ।
एकसरो कपडा लगाएको आज कति दिन भयो, हेक्का छैन । फेर्न पाएको पनि होइन । हिलोमैलोको त के कुरा गर्नु ? यस अवस्थामा सुकिलो लगाएर कसलाई पो के देखाउनु थियो र ! तै अब त सहरको परिवेशमा होम्मिएपछि परिस्थिति अनुकूल परिवर्तन हुनु पनि जरुरी थियो ।
संसारमा दयामाया आफ्नै ठाउँमा हुन्छ । त्यसमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वार्थ लुकेको अवश्य पाइन्छ । सबै मानिस एकनासको त कहाँ हुन्छन् र ! कसैको मन जितेर, कसैलाई खुसी बनाएर गरिने व्यापार–व्यवसाय पनि त एक प्रकारको धर्म नै हो । ‘सर्प पनि मरोस् र लठ्ठी पनि नभाँचियोस्’ । जतिबेला होटलवाला मामाले आफूसँग राख्नका लागि हाम्रो पासपोर्ट र टिकट मागे, त्यतिबेला हामीले यस्तै महसुस ग-यौँ । बल्ल मैले बुझेको थिएँ, हामीप्रतिको उनको माया । आखिर यस्तो आधुनिक सहरमा, यस जमानामा निःस्वार्थ सेवा कसले पो दिन सक्छ र ! त्यसै भएर होला, हामीसँग पैसा छैन भन्ने जानकार हुँदाहुँदै पनि सेवाप्रदायक बनेका थिए । किनभने उनका लागि त्यो टिकट र पासपोर्ट बन्धकी राख्नु पैसा असुल्ने सजिलो माध्यम पनि त थियो ।
हुन पनि सबै नेपालीहरू कहाँ उस्तै हुन्छन् र ? त्यसैले उनीप्रति मेरो मनमा दुःख मनाउ केही थिएन । बरु त्यो बिरानो मुलुकमा वास्तवमै हामीजस्ता पीडित नेपालीको उद्धारमा सहयोग पु¥याएका छन् । यदि उनीजस्ता मानिस हामीले भेट्दैनथ्यौँ त थप कति सास्ती खेप्नुपर्ने थियो होला ।
उनले नेपालीप्रति यति श्रद्धा गर्नुको पछाडि सिर्फ पैसा मात्र थिएन, एउटा पुख्र्यौली थलो नेपाल भएका कारण पनि नेपालीप्रति उनको विशेष सहानुभूति छ । म गर्व गर्छु उनीप्रति । जो आज बिरानो मुलुकमा अर्कै राष्ट्रको मानिस भएर बसे पनि उनको मन, मस्तिष्क र सेवा नेपालप्रति समर्पित छ । होटलको स्वागत कक्षका भित्ताहरूमा नेपालको झन्डा अनि नक्सालगायत ठूलाठूला सिसाका फ्रेमभित्र सजाइराखेका राजारानीका तस्बिर छन् । उनमा नेपाल अनि मातृभूमिप्रति कत्तिको आस्था छ भन्ने प्रस्टै बुझिन्छ ।
पहिले आउँदाजस्तो अहिले सुविधायुक्त कोठा थिएन । सायद आर्थिक अवस्थाको कारण होला, त्यस्तो फरक किसिमको कोठा दिएको । त्यसप्रति पनि हामीलाई कुनै दुःखेसो थिएन । कम्तीमा बाँच्ने आधार मिलेको छ, त्यही नै सबथोक मान्नुपर्छ । यस ठाउँमा आएपछि एक प्रकारले नेपालकै एउटा कुनै गाउँमा पुगेजस्तो लाग्थ्यो । जहाँ अधिक नेपालीहरूको बसोबास रहेकाले दैनिकजसो सयौँ नेपाली भेटघाट हुने हुँदा पनि विभिन्न विकल्प भेटाएर समाधान गर्न सकिन्थ्यो ।
यस्तै क्रममा मैले आफूसँग भएको नेपाली तीन हजार रूपैयाँ साट्न पुगेँ, ऋषव लम्साल भन्ने स्याङ्जाका पण्डित दाजुसँग । उनलाई भेट््ने व्यवस्थाचाहिँ तनहुँ, फिरफिरेका किरण गुरुङमार्फत भएको थियो । जो लामो समयदेखि बैंककमा बस्दै आइरहेका थिए । नेपालका पूर्वी भेगका मानिसहरू बढी देखिने त्यस ठाउँमा ऋषव दाजुले मलाई भेट्दा भने, “धेरैपछि पश्चिमतिरको एक जना नेपाली तिमी भेटेको ।’ त्यस्तै लाग्यो मलाई पनि ।
उनीसँगै अर्का एक जना जीवन श्रेष्ठ भन्ने वालिङ, स्याङ्जाका एउटै कोठा भाडामा लिएर बसेका रहेछन् । दुवै जनाले मलाई पैसा साटिसकेपछि मामाको होटलमा तिर्नुपर्ने सबै तिरी पासपोर्ट र टिकट निकालेर हामीसँगै जाऊँ भने । म अलमलमा परेँ ।
‘मसँग भएको पैसा नै पन्ध्र सय भाट (नेपाली तीन हजार साट्दा भएको) यत्ति हो । फेरि कस्तो होटल कति लाग्ने हो ?’ मैले भनेँ ।
मेरो अनभिज्ञतालाई पार गर्दै ऋषव दाइले थप प्रस्ट्याए, ‘तिमीसँग पैसा छैन भनेर नै त हामीसँग बस्न जाऊँ भनेको । पहिल्यै पैसा दिनु पनि पर्दैन । जहाँ तिमीलाई सस्तो पनि पर्छ ।’
‘कसरी दाइ ?’ मैले पुनः सोधेँ ।
‘किनभने हामी दुई जनाले दिनको एक सय पचास भाटमा कोठा भाडामा लिएका छौँ । तिमी पनि गयौ भने जम्मा पचास, पचास पर्छ । खाना बाहिरै होटलमा खाने हो । अझ तिमी चिन्तै नगर, एक महिना बसेर नेपाल गए पनि म खर्च निकालिदिन्छु ।’
ऋषव दाइको कुराले उत्सुकका साथै शंकालु पनि बनायो मलाई । ‘अगुल्टोदेखि तर्सेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ’ भनेजस्तै कतै केही जाल त होइन ?
म अक्मकिएको देखेर सँगै रहेका किरणले टाउको हल्लाएर जान सुझाव दिए । मैले उसको आड पाएर यसै ‘हुन्छ’ भन्दिएँ ।
‘हो त ? तिमी जाने कहिले हो भन, म एउटा मनाङे खोजिदिन्छु ।’
यो त राम्रै प्रस्ताव आयो ।
‘उसको सामान यहाँको एयरपोर्टमा एकछिन तिमीले बोकेर पास गराइदिनुपर्छ । त्यसबापत दुई–तीन हजार दिन्छ । जुन पैसाले तिमीलाई अरू धेरै दिन बैंकक बस्न पुग्छ ।’
ऋषव दाइको कुराप्रति किरणले पनि समर्थन जनाएपछि मैले विश्वासका साथ उनीहरूसँग जाने निर्णय गरेँ । गेस्टहाउसका मामालाई खाएको र बसेको तिर्नुपर्ने सबै तिरेपछि उनले मेरो पासपोर्ट र टिकट फिर्ता दिए । त्यहाँबाट त मुक्ति मिल्ने भयो तर अगाडिका परिवेशहरूप्रति म बिल्कुलै अनभिज्ञ थिएँ । मनमा अलिकता खुसी अनि अलिकता नमज्जा पनि लाग्दै थियो ।
अगाडिका बाटाहरू सरल र सहज देखिँदा खुसी त यसै पनि लाग्ने नै भयो । तर, मगजमा जहिल्यै ठाउँ ओगटिरहने ती दुःखका क्षणहरूमा साथै रहेका तीन जना मित्रहरूसँग भने टाढिनुपर्दा असहज लाग्दै थियो । मेरो हिसाबमा परेको रकम गुरुङ दाइलाई दिँदै गर्दा उनले मुख बिगारेर गाह्रो मानी हात थापे । म आफैलाई पनि कताकता नमज्जा लागेर आयो ।
‘हाम्रो केही ठेगान छैन । पदम भाइले नि अहिलेसम्म सम्पर्क गरेको हैन । भरेभोलि यसो भेट्न आउँदै गर्नू ल !’
मलाई बूढाको शब्दले कस्तो नरमाइलो बनायो । धेरै केही बोल्न मन भएन अनि गुरुङ दाइ लिम्बू र दीपकसँग हात मिलाएर बिदा भई नयाँ कोठातर्फ लागेँ ।
मामाको होटल नयाँ कोठाभन्दा पाँच मिनटको हिँडाइमा रहेछ । नेपालीकै घर भएकाले अझ ढुक्क भएँ म ।
ऋषव दाइका सामानहरू छरपस्ट छरिएकाले मैले कोठा भद्रगोल देखेँ । अझ त्योभन्दा पनि भिन्न त बिस्तारै उनीसँगको सामीप्य पछि खुल्दै गयो । वास्तवमा सँगै पढेको साथी भएर पनि सिड्डापुर जाने क्रममा जीवनसँग वर्षौंपछि बैंककमै उनको भेट भएको रहेछ । तर, ऋषव दाइको व्यवहार भने अनौठो खालको थियो । आफ्नै हिसाबले आफ्नो पासपोर्टमा भिसा लगाउँदै कैयौँ मुलुक घुम्ने व्यक्ति भएको रहस्य खुलासा भयो । कता–कता मेरो मनमा भयले डेरा जमायो ।
नेपालबाट पण्डित बाजे आएको छ भन्ने सुनेपछि बर्मेली नेपालीहरूको कोठामा बिहानैदेखि लाम नै लाग्दोरहेछ । त्यतिमात्र नभई ज्योतिष विद्यामा स्नातकोत्तर गरेकाले पनि बैंककमा रहेका नेपालीमाझ उनी विश्वासिला र लोकप्रिय पण्डित रहेछन् । एउटा सुटकेसभरि त लगभग पात्रो अनि चिना बनाउने कागजहरू नै थियो । कसैलाई चिना बनाइदिनुपर्ने, कसैको हात हेर्नुपर्ने त कसैको पूजापाठ आदि, इत्यादि । र, त्यसको पारिश्रमिकबापत उनले पैसा र गरगहना बटुलेको देख्दा म चकित परेँ ।
उनको अधिक समय त्यसरी नै मानिसहरूको सेवामा बित्ने हुँदा बिहानभरि कोठामा घुइँचो लाग्ने गर्दथ्यो । समय अभावले गर्दा एउटै कोठामा बस्दा पनि उनीसँग मेरो आफ्नै हात हेराउने धोको कहिल्यै पूरा हुन सकेन । उनको व्यस्तताले गर्दा किरणसँगको सामीप्य प्रगाढ बन्दै गइरहेको थियो ।
मलाई पनि त्यस अपरिचित स्थानमा घुम्ने र घुमाइदिने विज्ञ मानिसको आवश्यकता भएकाले हमेसा किरण मेरो साथैमा हुन्थे । उसलाई थाई भाषासमेत प्रस्ट आउने हुँदा मलाई यताउता जान झनै सजिलो भएको थियो । उसका पनि आफ्नै प्रकारका हृदयविदारक पीडाहरू थिए । जसले गर्दा आज थाइल्यान्डमा रुमल्लिएर बाँच्नुपरेको छ । रहर थिएन त्यो उसको, मात्र बाध्यता थियो ।
दुई वर्ष अगाडिको कुरा रहेछ । किरण मलेसिया हामीजस्तै जड्डल र समुद्री बाटो भएर जाँदा समातिन पुगेपछि सहज वातावरण नहुनाले र पासपोर्ट दलालले बेची खाइदिनाले तीन महिना लामो काराबास सजाय पाएर बल्लतल्ल बैंकक आइपुगेछ । भिसाको मिति सकिएको र पासपोर्ट पनि साथमा नभएपछि नेपाल फर्कने उसको योजनामा बाधक बनेछ । त्यसपछि अन्योलको घेराबन्दीमा परेको धेरै समय भएछ । मानिसको जातलाई भूगोलले रोके तापनि मनले त रोक्न सक्ने कुरै भएन । बैंकक आएर फाटफुट काम गर्न थालेपछि जिउन त केही सजिलो भयो नै, तर एक्लो शरीरले विभिन्न खालका आवश्यकताको महसुस गर्दछ ।
समयक्रम चल्दै जाँदा उसको एक थाई युवतीसँग सम्बन्ध गाँसिएर लोग्ने–स्वास्नीजतिकै सम्बन्ध भएको प्रत्यक्ष अनुभव गरेँ मैले । हामी कहिलेकाहीँ तीनै जना सँगसँगै घुम्न जान्थ्यौँ । मैले त्यतिबेला युगल प्रेमको झाँगिएको स्वरूप देख्थेँ । किरण उसलाई धेरैजसो बूढी नै भनेर बोलाउने गथ्र्यो । एकअर्काप्रतिको व्यवहारमा देखिएको सामीप्यले गहिरो प्रेममा रहेको आभास मिल्थ्यो । किरणले कहिलेकाहीँ नेपाल फर्कने प्रसंग उठायो भने युवती खूब रिसाउँथी ।
घुम्दै गर्दा हामी तीन जना एउटा होटलमा गर्मी भएर चिसो पिउँदै थियौँ । किरणले उसलाई बच्चाको विषयमा नाम लिएर जिस्क्याएको मात्र के थियो, कोकको बोतल टेबुलमा थेचारेर टुक्राटुक्रा पारी फुटाइदिई । त्यसै त ठूला उसको आँखा, झनै ठूलो पारी बाहिर निस्किई ।
म नराम्ररी तर्सिएँ । मैले पूरै कुरा बुझेको थिइनँ । त्यसैले टोलाई बसेको किरणलाई सोधेँ : ‘किरण के भयो ? किन रिसाएकी ऊ ?’
‘उसलाई बच्चा भन्ने शब्ददेखि जलन हुन्छ के । नाम लिएपछि पड्किहाल्छे,’ किरणका कुराले मलाई थप उत्सुक बनायो ।
‘बच्चाको नामै लिन नहुने ? किन ?’
किरण मतिर फर्की भन्दै थियो, ‘यसले मेरो बच्चा बोकेकी थिई । घरमा अहिले नै त्यस्तो रूप देखाउन नमिल्ने र मसँग पनि विवाह गर्न तुरुन्तै सम्भव भएन । हामी दुई जनाको सल्लाहअनुसार नै बच्चा फाल्यौँ । त्यसैको रिसले कुनै पनि बेला कुरा निकाल्नासाथ बमजत्तिकै पड्किन्छे यार !’
‘किन कुरा निकाल्नु त त्यस्तो हुन्छ भने ?’
‘हैन मैले जिस्केको मात्रै । कहिलेकाहीँ यस्तै हो ।’
‘बिचरीलाई दुःख लाग्दो हो, अनि ?’ मैले सहानुभूति प्रकट गरेँ ।
‘होला सायद !’ त्यति नै भन्यो किरणले ।
मैले पनि यस विषयमा थप कुरा गर्न चाहिनँ ।
मैले ठानेको थिएँ, त्यस्तो रिस र आवेगले उनीहरूको आन्तरिक सम्बन्धमा असर पर्छ होला भन्ने । तर, भोलिपल्ट पुनः उनीहरूलाई उही इमानदार प्रेमी–प्रेमिकाको रूपमा भावहरू साटासाट गरेको क्षण देख्दा मेरो मगजमा उही लोग्ने–स्वास्नीको झगडा परालको आगो भनेझैँ घुमिरह्यो ।
ऊ अलिक खुसी देखिन्थी भने किरणचाहिँ चिन्तित ! ऊ किन खुसी थिई ? मलाई थाहा हुने कुरा पनि भएन । तर, किरणचाहिँ खाएको ठाउँमा तिर्नुपर्ने पैसाको चिन्ताले निकै सताइरहेको सुनाउँथ्यो । उसकी प्रेमिकाले हिजो नै पाँच सय भाट ल्याइदिने वचन दिएकी रहेछ । तर, उनी त्यसरी आवेशमा आएर गएपछि किरणले सहाराविहीन भएको महसुस गरेको थियो । किरणले पोखेका वेदनाहरू देख्दा र सुन्दा, विदेशमा बसेर गरिने विदेशी युवतीसँगको प्रेम कस्तो हुँदोरहेछ भन्ने मैले राम्ररी केलाउने मौका पाएँ ।
ती सब तिक्तताहरूलाई पाखा लगाउँदै आज उसकी प्रेमिकाले हातमा थमाइदिएको पाँच सय दरका दुईवटा नोटले किरणको अनुहारमा एकाएक परिवर्तन ल्याइदिन्छ । म प्रेम र पैसालाई तराजुमा दुईतिर राखेर तौलन्छु । अनि म पो निराश बन्छु । त्यति मात्र कहाँ हो र ? पैसा दिनासाथ किरणको गालामा म्वाइँ खाइसकेपछि मात्र उसलाई म पनि साथमा भएको हेक्का भएछ । निहुरिएको अनुहारले लाजको सीमा अलिकति भए पनि राख्न पुगी ।
‘उसको तलब बढेछ र यति खुसी भएकी नि !’ किरण म भएतिर फर्केर गहकिलो मुस्कानका साथ प्रस्तुत हुँदै भन्छ । एकअर्कामा बोल्दा थाई भाषाको प्रयोग भए पनि किरण मलाई सकभर झर्को नलागोस् भनेर नेपालीमा अनुवाद गरिहाल्थ्यो ।
‘खास ऊ केमा काम गर्छे ?’ मैले जान्न चाहेँ ।
‘गार्मेन्टमा एकाउन्टेन्ट हो । म पनि पहिले त्यहीँ काम गर्थें । पछि पुलिसले छापा मार्न थालेपछि जान छाडेको ।’
‘ए हो र ! किन नि ?’
‘मसँग पासपोर्ट पनि छैन, त्यसमाथि ओभर–स्टे । अनि समायो भने त लामो समय जेल परिन्छ । त्यसमाथि ओभर–स्टे बसेको जरिवाना तिर्न सक्ने हामी जस्तोसँग क्षमता नै हुँदैन । तर, पनि धेरै नेपालीहरू पार्ट टाइम काम गर्न बाध्य छन् । के गर्नु रहर त होइन नि, बाध्यता पो त ! प्रायः अन्तै जान आउँदा यहाँ अलपत्र परेपछि बाँच्नका लागि भए पनि काम त गर्नैप-यो । अझ कति नेपालीहरू जेलतिर जीवनको महत्वपूर्ण समय बिताउन बाध्य छन् । यस्ता हजारौँ विदेशका जेलमा रहेका नेपालीहरू प्रति हाम्रो सरकार अनभिज्ञ छ ।’
ऋषव दाइले भनेको कुराहरू पनि मैले झट्ट सम्झिएँ । ‘कति नेपालीहरू विदेशका जेलहरूमा बन्दी छन्, पुरानो पासपोर्टमा उनीहरूको फोटो बदलेर पिसी गरी म उद्धार गर्छु ।’ सरकारले गर्नुपर्ने काम उनले पो गरिरा’छन् ।
मैले ऋषव दाइको एउटा सुटकेसमा पुराना पासपोर्टहरूको पोका देखेको हुँदा जान्न खोजेको थिएँ ।
‘जाऊँ, जाऊँ ?’
‘ओहो ! उसलाई नेपाली पनि आउँछ ?’ म छक्क पर्दै सोधेँ किरणलाई । उसको प्रेमिका (कोव) ले नेपाली बोलेको सुन्दा ।
‘अलिअलि आउँछ, मैले नै सिकाएको ।’
उसले किरणसँग आफ्नै भाषामा मेराबारे निकै सोध्ने गर्थी । अनि मतिर घरिघरि हेरेर संकेत मात्र जनाउँथी । किरण, मेरो र कोवका लागि दोभाषेजस्तै पनि बनेको थियो । ऊ अलिअलि अंग्रेजी नबोल्ने त हैन, तै किरण राम्रो थाई बोल्ने हुनाले त्यतापट्टि नै बढी ढल्कन पुग्थ्यो ।
(जोशीको नयाँ पुस्तक ‘श्रमाटन’बाट)