
ओ ! क्याटम्यान्डु
कविता
रूपा थापा
विदुर, नुवाकोट ।
तिमी कसैको निम्ति अमरापुरी थियौ
कसैको निम्ति नेपाल थियौ
कसैको निम्ति काठमान्डौं
अनि मेरो निम्ति प्यारो क्याटम्यान्डु ।
एक अङ्गालो सपनीका भारीहरू बोकेर
बसाइ सर्नेहरू जसरी सरिरहे
आना आनाका किल्लाहरूलाई
तिम्रो मुटुमा ठोकेर ।
त्यसपछि हेर्दाहेर्दै हराए फाँटहरू
अनि हरायो मेरो प्यारो अमरापुरी
हेर्दाहेर्दै हराए खर्पनहरू
अनि हेर्दाहेर्दै हराए
चोक अनि गल्लीका ती सभ्यताहरू ।
तिमी आना आनामा बाँडिएपछि
फेरि त्यसै गरी झुलेनन् धानका बालाहरू
जात्रैजात्रालाई
काँधमा जुरूक्क बोकेर
हाकुपटासीमा मुसुक्क मुस्कुराउँदै हिँडेकी
एउटा कुमारीको सुन्दर मुस्कान ।
ऐलाको त्यो माधुर्यताले लठ्ठिएका
पुलुकिसिको नाच
धाः र भुस्याःको तालमा
नाचिरहेका लाखेहरू ।
क्याटम्यान्डु बनेर तिमीले
सबैलाइ आफ्नो मुटुभित्र अटायौ
तर बसाइ सरेर गुड लाउनेहरूले
लुछिरहे तिम्रा ती कलिला मुटुहरूलाई
ओ मेरो अमरापुरी कान्तिपुरी
आजकाल बस्दैनन् टौवामा
केही पल सुस्ताएर बटुवाका पाइलाहरू ।
तिमी क्याटम्यान्डु बनेदेखि
हतारमा छन् सबै सबै
फुर्सद पो कसलाई छ र यहाँ
देश्या मरू झ्याःबाट चिह्याएर
बाग्मती र विष्णुमतीसँगै निस्सासिएको
टौ दहका ती माछीहरूलाई नियाल्न ।
ओ ! क्याटम्यान्डु
अब त व्युँझ न निन्द्राबाट
भन न बिस्तारै बिस्तारै कसले निल्दैछ
तिम्रा सभ्यताका ती मुहानहरूलाई ।