म डोल्पामै किन जन्मिएँ ?
नेपालनाम्चाको नियमित स्तम्भ किताबमा कोग्लेबारे प्रेमबहादुर बोहोरालाई दश प्रश्न ।
नयाँ किताब ‘कोग्ले’का लागि तपाईलाई बधाई । तर, के साँच्चै तपाईंको पुस्तक बधाई दिन लायक छ ?
धन्यवाद । बधाई दिन लायक छ कि छैन त्यो पाठकको जिम्मामा छोडिदिएको छु ।
यो किताबमा के छ र यो विशेष छ ? अर्थात किन पढ्ने यो किताब ?
यो पुस्तकमा डोल्पाको गाउँमा जन्मेको, हुर्केको र पछि शहरमा पढ्न पाएको युवाले देखेको डोल्पा र डोल्पाबाहिर चिहाएको संसारको बारेमा छ । तर पढ्नैपर्ने कुरा म जिकिर गर्दिन् । आफुले लेखेकोले धेरैले पढिदिउन त लाग्छ नै तर विशेष छ वा छैन त्यो पाठकले नै भनिदिनुहुनेछ भन्ने आशा छ ।
यो किताब जन्मनुको कुनै परिवेश, कारण र अर्थ के हो ?
म संसारको जुन कुनामा पनि जन्मिन सक्थेँ । तर, म डोल्पामै किन जन्मिएँ ? जानी नजानी आफु जन्मिनुको उद्देश्यको खोजका उत्तरचढावहरु लिखतमा ल्याउने एक कोशिसमात्र हो । अरु विशेष केही होइन ।
प्रारम्भिक प्रतिकृयाहरु के कस्ता आइरहेका छन् ?
जति प्रतिक्रियाहरु आइरहेछन् तीनले मलाई उत्साहित बनाइरहेछन् । कहिल्यै नचिनेका व्यक्तिहरुले समेत पढेर प्रेरित भएको प्रतिक्रिया दिँदा उत्साहका साथ जिम्मेवारी पनि महसुस गरेको छु ।
यो किताबको नाम कसरी रहन गयो ? नाममा के छ ?
किताब लेखन प्रक्रियाको सुरुवातमा पुस्तकको नाम अर्कै थियो । तर, पछि किताबको भावलाई केलाउँदा पुस्तकको भाव र अर्थसँग नजिक लागेर कोग्ले राखियो । नामले मकैबाट बनेको एक परिकार बुझाउँदछ तर पुस्तक त्यसको शाब्दिक अर्थभन्दा पनि त्योसँग जोडिएको मेरो बाल्यकाल र गाउँसँगको कथा हो ।
किताबमार्फत तपाईं खासमा के भन्दै हुनुहुन्छ ?
यस पुस्तक कर्णालीको एउटा गाउँ माझफालको परिवेशबाट सुरु भएको एक युवाको जीवनयात्राको उत्तरचढावको केही अंश हो । यसले डोल्पामै जन्मेको व्यक्तिले यो परिवेश, ठाउँ र यहाँ भइरहेको परिवेशलाई कसरी हेर्छ र के बन्नुपर्छ भन्ने सोच राख्छ भन्ने कुरा देखाउँछ, केही हदसम्म ।
प्रकाशित भइसकेपछि के के छुटेछन् जस्तो लाग्यो ?
मैले भने नि, यो त जीवनका उतारचढावहरुको केही अंशमात्र हो । आफुले देखेको, भोगेको र चिहाउन चाहेको संसारको आँखीझ्यालमात्र हो । यसर्थ, भन्न खोजेका धेरै कुराहरु छुटेका छन्, तर यो पुस्तकमार्फत भन्न खोजिएको कुरा मेरो तर्फवाट आफैमा पुर्ण हो ।
अर्को के कस्तो किताब लेख्दै हुनुहुन्छ ?
अर्को पुस्तकको लेखनको लागि मानसिकरुपमा तयार हुँदैछुँ । मेरोे लागि पुस्तक लेखन आफैमा एक खोज हो । अबको मेरो खोज आफैले देखेको, भोगेको र यस्तो होस् भनी देख्न चाहेको सपनाको संसारको एक कथा हुनेछ । हेरुम्, लेख्न थालेपछि कलम कता डोरिइन्छ ।
पछिल्लो समय प्रकाशित तपाईंलाई मन परेका पाँच किताब सम्झनुस्न् ।
नेपाली पुस्तक जगतमा पछिल्लो समय पुस्तकहरु धेरै नै प्रकाशित छन् तर सबै पढ्न पाइएको छैन । मैले पढेकामध्येबाट मलाई मन परेका पाँच पुस्तकहरुः याम्बुनेर, डुमेरो, मैदारो, यार र गुमनाम आमाहरुको कथा ।
ती पाँचमध्ये आफ्नो किताबलाई कहाँनेर पाउनु हुन्छ ? नढाँटी भन्नुस्न् ।
पुस्तकको संसारमा आफैले लेखेको पुस्तक कोग्ले पुस्तकको स्वरुपमा आउँदामात्र पनि दंग परिँदोरहेछ । आफुले लेखेको पुस्तक पढ्दा मनपरेका पुस्तकहरुसँग तुलना गर्न सकिइदैन ।