मदनमणिबारे ज्ञानुवाकर
ज्ञानुवाकर पौडेल
यो जीवनमा धेरै साहित्यकारको आत्मसंस्मरण पढियो । तर, किन किन विश्वसनीय लाग्दैनथ्यो मलाई अधिकांशका ती आत्मसंस्मरण । एक हातका औंलामा गन्न भ्याइने संख्याका साहित्यिक हस्तीहरूका आत्मसंस्मरणहरूबाट मात्र म प्रभावित हुनेगरेको छु । यिनैमध्ये एक हुनुहुन्छ पत्रकारिता र साहित्यिक क्षेत्रका मूर्द्धन्य हस्ती एवं अक्षर शिरोमणि मदनमणि दिक्षित ।
उहाँको आत्मसंस्मरण पढेर म यति प्रभावित भएको छु कि उहाँको ‘जीवनः महाभियान’लाई मैले फेरि तेहर्याएर पढिसिध्याएँ । र, पनि अझै धीत मरेको छैन मेरो फेरि यो पढ़ने । बीपी कोइरालाको ‘आफ्नो कथा’ र ‘आत्मवृत्तान्त’पछि यही नै सशक्त र जीवन्त आत्मसंस्मरण लाग्यो मलाई । यस आत्मसंस्मरणमा शैक्षिक, राजनीतिक, पत्रकारिता, इतिहास र साहित्यिक क्षेत्रसित सम्वध्द उहाँका अनुभवहरू पढ्दा यस्तो लाग्यो, मानौं म विचार, ज्ञान, विविधखाले अनुभवहरूका सुस्वादु र पौष्टिक मिक्सफ्रुटको स्वाद लिइरहेछु ।
जतिबार पढ्यो, उतिबार आफ्नो मनोवृत्तिले पोषण प्राप्त पनि गरिरहेको अनुभूति भैरहन्थ्यो मलाई । धेरैजनालाई जिज्ञासा पनि लाग्दो हो, के छ अक्षर शिरोमणि दीक्षितजीको यो ‘जीवनः महाभियान’मा ? पठनीय त्यस्तो । आफ्नो त्यो जिज्ञासा समाधानको लागि त यो किताब नै पढ़नु पर्ने हुन्छ । चार सय छव्बीस पेजमा समेटिएका ती सब रोचक र पठनीय प्रसंग यो संक्षिप्त लेखमा उल्लेख गर्न सहज नहोला ।
अधिकांश नेपाली साहित्यकारहरू कम लेख्छन् तर बढी बोल्छन् । तर हाम्रा अक्षर शिरोमणि दीक्षित अत्यन्त कम बोल्नुहुन्थ्यो र धेरै लेख्नुहुन्थ्यो । लेखाई पनि सारै गहन र जेनुइन लाग्थ्यो प्रवुध्द व्यक्तिहरूलाई उहाँको लेखन । यो राष्ट्र र हाम्रो विद्वत समाजले उहाँको यथोचित क़दर र सम्मान गर्न चै चुकेकै हो ।
यस्ता साहित्यिक विभूति मदनमणि दीक्षितसँगको मेरो सानिध्य पनि त्यतिबेलैदेखिको हो जतिखेर उहाँको कालजयी कथा जेण्डा म आफू अतिथी सम्पादक रहेको ‘समष्टि पत्रिकामा छाप्ने सुअवसर पाएथें । त्यसपछि भने हामी दुई बीच निकटता मात्र बढेन, देशका विभिन्न जिल्लाहरूमा आयोजित साहित्यिक कार्यक्रमहरूमा सहभागी हुने अवसर पनि मिल्दैगयो ।