डा. संगीता स्वेच्छाको ‘विखण्डित सपना’

कथा

‘आज म बिकिनीमा फोटो राख्छु, हेरौं कतिले लाइक गर्दा रहेछन् ।’ दिलासा गत शनिबार गरेको फोटो सेसनका फोटोहरू फेसबुकमा राख्न छान्न थालिन् ।

‘कुन चाहिँ ठीक होला ? बढी रिभिलिङ त हुन्न हगि ?’ दिलासा अरूणिमातिर हेर्दै सोध्छिन् । अरूणिमासँग तुरून्तै दिने केही जवाफ भने हुँदैन ।

‘हँ, बिकिनीमा फोटो ? सायद नराखे हुन्थ्यो ।’ अरूणिमा सोचिरहिन् ।

अरूणिमालाई आफ्नी साथी दिलासाको बदलिँदो स्वभाव अनि प्रतिदिन बढिरहेको सामाजिक सञ्जालसँगको मोहले बेलाबेलामा दिक्दार बनाउँछ ।

‘भन् न अरूणिमा, यो पहेँलो बिकिनीको पोज ठीक छ कि गुलाबी रङको ?’ दिलासा कहिले कुन कहिले कुन फोटो छानिरहिन् तर निष्कर्षमा भने पुग्नै सकिनन् ।

‘हँ, मलाई के सोध्छौ रुन म कहिले बिकिनी लगाउँछु, न म बिकिनीमा फोटो खिच्छु अनि सामाजिक सञ्जालमा राख्छु । उसमाथि आफ्नो शरीर त देखाउन लायक नि छैन ।’ बच्चा पाएदेखि मोटाएर टुन्न फुलेको शरीरलाई तलदेखि माथिसम्म नियालेर अरूणिमा बोलिन् ।

अरूणिमाले भनेका कुरा दिलासालाई खासै चित्त बुझ्दैन सिवाय अन्तिम वाक्य । सायद अरूणिमा उनको चिटिक्क परेको शरीर देखेर जल्छिन् । यही सोच्दै ल्यापटपको स्क्रिन झ्यापझुप बन्द गरेर दिलासा बगैंचामा गइन् अनि टोलाइरहिन् । आफूले छोरी पाएपछि आफ्नो शरीर विवाहअघिको झैं बनाउन कति कसरत गरिन्, झलझल सम्झिरहिन् ।

दिलासाको शरीर पनि बच्चा पाएपछि नफुलेको होइन । त्यही फुलेको शरीरसँगै आकर्षण घटेपछि उनको श्रीमानले उनलाई कुर्न सकेन र अर्की कलकलाउँदी किशोरी केटी लिएर हिँड्न थाले । चार महिनाकी छोरी लिएर अरूणिमाको डेरामा सरेकी दिलासाले फर्केर आफ्नो श्रीमानलाई हेरिनन् । एक्लो संघर्षमै छोरीलाई एक वर्षको बनाइन् । अनि, आफ्नो शरीरलाई पनि पूर्णतः पहिलेको रूपमा ढालिन् । वजन घटाउने क्लब, फिटनेस सेन्टरदेखि डायट क्लब जताततै पैसा अनि समय खर्चनमा कन्जुस्याइँ भने गरिनन् । उनमा बढेको जोश र श्रीमानप्रतिको प्रतिशोधले उनको रूपमा भने पहिलेभन्दा निखार आएको थियो । सायद कसैले नै भन्दैनथे कि उनी सानी छोरीकी आमा हुन् । यदि थाहा पाइहाले पनि सोधिहाल्थे कि कसरी उनले शरीर यस्तो मोडलको जस्तो बनाइन् यति चाँडै ।

दिलासाको शरीर त पहिलेकै रूपमा फर्कियो तर आफ्नी छोरीलाई भने उनले पाउडरकै दूधमा सीमित राखिन् । उनी चाहन्नथिन् कि कुनै पनि कारणले उनको सुन्दरतामा कमी आओस् । दिलासा छोरीलाई माया नै नगर्ने निष्ठुरी आमा भने थिइनन् । उनको विचारमा उनी छोरीलाई सायद बढी नै माया गर्थिन् । बेलायतमा मोडलको रूपमा स्थापित भएपछि आफ्नो जीवनस्तर सुध्रिने अनि यसका लागि छोरीले गर्नुपरेको केही त्यागले उनकै भविष्य निर्माणमा सहयोग हुने कुरामा निकै आशावादी थिइन् ।

‘दिलासा, छोरी रोएको रोई छे । सायद भोक लाग्यो होला ।’ अरूणिमा बैठकबाटै कराउँछिन् ।

‘त्यो हिजोको दूध सक्यो र ?’

‘सक्यो जस्तो छ । अब पाउडर दूध नै खुवाउनुपर्छ होला ।’

‘ए ! कस्तो भुसुक्कै बिर्सिछु अर्डर गर्न ।’ दिलासाले हिजो धेरै समय बिकिनीको फोटो छान्दाछान्दै बिताएको समयको स्मरण गरिन् ।

गत हप्तादेखि दिलासाले लोकल आमाहरूको दूध किन्न थालेकी थिइन् । हुनत कसैकसैले बच्चालाई इन्फेक्सन हुनसक्ने बताएका थिए तर उनले नै पहिले काम गर्दादेखि चिनेको एक रोमानियन महिलाले आफ्नो बच्चालाई खुवाउनलाई चाहिनेभन्दा बढी दूध भएर बिक्रीमा हाल्ने कुरा बताएकी थिइन् । दिलासालाई पनि चिनेकै महिलाबाट दूध किन्नु चाहिँ उचित लाग्यो पाउडर दूधभन्दा ।

‘आखिर आमाको दूध आमाकै दूध हो ।’ दिलासालाई आफ्नी छोरीको लागि यसरी आफ्नो कर्तव्य पूरा गर्न थालेकोमा
केही आत्मसन्तुष्टि भने बढेको छ ।

बिहानीपख शीतल हावासँगै दिलासाको आँखा खुल्छ । मोबाइल फोन पनि राति फेसबुक हेर्दाहेर्दै हातमै समातेर सुतेकी रहिछन् । आँखा खोल्नेबित्तिकै उनका आँखा मोबाइल फोन अनि त्यसमा ताँती लागेर बसेको नोटिफिकेसनतिर पर्छन् ।

‘२५ सय ८८ लाइक्स ? ओ माई गड !’ दिलासा बेडमा उफ्रिइन् । उनको आवाज यति तीखो र जोडदार थियो कि छेउमा सुतिरहेकी सानी छोरी तर्सिएर उठिन् अनि रून थालिन् ।

‘उफ ! यसलाई पनि अहिल्यै रूनुपर्ने ।’ दिलासाले छोरीलाई उठाइन् तर उनको मनमा छटपटी जोडले बढेको थियो जान्नलाई कि कसले के लेखेछन् कमेन्ट बक्समा ।

‘अरूणिमा, ए अरूणिमा ! एकक्षण छोरीलाई बाहिर घुमाएर ल्याऊ न प्लिज ।’ दिलासा फटाफट आफ्नो ल्यापटप खोल्न पुग्छिन् । ठूलो स्क्रिनमा कमेन्टहरू फैलाएर हेर्ने इच्छाले उनले ल्यापटपमा पनि फेसबुक खोलिन् ।

‘त्यो फेसबुकको कमेन्ट र लाइकहरू भागेर कहाँ जान्छन् र रुकति छटपटी हो ?’ अरूणिमा बच्चालाई उठाउँदै बाहिर गइन् । दिलासा चाहिँ अरूणिमालाई आँखा तर्दै एकक्षण हेरिरहिन् ।

‘उफ ! कति जल्छन् मान्छेहरू यहाँ । विचरी अरूणिमा ।’ दिलासा फेरि ल्यापटममा खोलिएको फेसबुकतिर नजर दौडाउँछिन् ।

‘बाफरे १२७ सय लाइक्स । यो त गजबै भयो ।’

‘२७ सय लाइक्स ? क-कसले मन पराएछन् ?’ दिलासामा छटपटी बढ्दो छ । दिलासाले कमेन्टतिर हेर्नुअघि हिजो भर्खर राखेको फोटो खोलेर हेरिन् । मन्द मुस्काइन् । उनलाई यही दिनको त आशा थियो । यही दिनको त प्रतीक्षा थियो ।
दिलासा अब कमेन्ट बक्सतिर हेर्छिन् ।

‘यु लुक लाइक ए मोडल ।’

‘सुपर मोडल ।’

‘सुपर मम सुपर मोडल लुक्स ।’

‘हामीलाई नि सिकाऊ न कसरी मोडल जस्तो शरीर बनाउने ।’ दिलासा कमेन्ट पढ्दै गर्दा उनको मन हर्षले गदगद भइरहेको थियो ।

‘बिग लस फर अस । नेपालको मोडलिङ दुनियाँले गुमायो तिमीलाई ।’

दिलासा आफ्नो मोडलिङ गर्दाताकाकी साथी अनिशाको कमेन्ट पढेर निकै भावुक भइन् । एकक्षण टक्क अडिइन् । त्यसभन्दा तलतिरको कमेन्ट पढिहाल्ने रहर उनमा भएन ।

‘नेपालको मोडल होइन, म अन्तर्राष्ट्रिय मोडल भएर एकदिन चिनिनेछु । सबलाई देखाउनेछु । खासगरी त्यो नेपालको झारे मोडलिङ एजेन्सीहरू जसले मेरो पोर्टफोलियो अस्वीकार गरेका थिए ।’ दिलासाले लामो स्वास फेरिन् । उनका आँखा अतीतका यादहरूले रसाएर आए । दुई थोपा आँसु टप्प झरे । उनी यतिबेला निकै भावुक भइन् ।

‘दिलासा हेरन छोरी मान्दै मानिरहेकी छैन । दूध पनि खाइनन् । ज्वरो पनि छ ।’ अरूणिमा दिलासाको अगाडितिर आउँदै भनिन ।

‘ल ल म खुवाउँछु नि । तिमीलाई ढिला भयो होला काममा जान ।’

दिलासाले छोरीलाई उठाइन् अनि बगैंचामा टहलिरहिन् । छोरी रोएको रोई नै छे । पाउडरको दूध खान मान्दिनन् । रोमानियन महिलाको दूध पनि अर्डर गर्न बिर्सेर आज दूध आएन । आफ्नो दूध खुवाऊँ, नखुवाऊँ दिलासा अलमल्लमा पर्छिन् ।

‘मैले मेरो मन कमजोर पार्नुहुन्न । मैले आफ्नो शरीर मेन्टेन गर्न यो गर्नैपर्छ । एकल आमा भएको कारण पनि ममा मेरो छोरीप्रतिको दायित्व बढी छ । मलाई यो त्याग गर्नैपर्छ । एकैदिनको कुरा त हो नि । भोलिको लागि त म नबिर्सीकन दूध अर्डर गरिहाल्छु ।’ दिलासाले आफ्नो दूध नखुवाउने निर्णयलाई अझ निश्चित बनाइन् ।

दिलासाले छोरीलाई रोमानियन महिलाको अघिल्लो दिनको बचेको दूध तताएर खुवाइन् अनि बेडरूममा लगेर सुताइन् । छोरीलाई एकटक लगाएर केही क्षण हेरिरहिन् । निधारमा म्वाई खाएर कपालमा सुम्सुमाइन् । छोरीलाई हल्का ज्वरो आएको भान हुन्छ अनि पाँच एमएल काल्पोल खुवाएर सुताइन् ।

छोरीलाई माया नै नगर्ने आमा पनि थिइनन् उनी तर उनको र छोरीको बीचमा केही धेरै थोरै त्यागका कुराहरू आए जसलाई उनले छोरीकै भविष्यको लागि आमाले गर्नुपरेको त्याग मान्दै आफूलाई बलियो बनाइन् ।

दिलासाकी छोरी अलि गहिरै निद्रामा सुतिन् । सायद औषधिले अलि आराम भएर पनि होला । तर, छोरी सुतेको मौकाको दिलासालाई बढीभन्दा बढी फाइदा लिनुपर्ने थियो । त्यसैले पनि हतारिंदै आफ्नो ल्यापटपतिर कुदिन् । यही दिनको त उनलाई प्रतीक्षा थियो । हुनत फेसबुकको लाइक्स र कमेन्टहरू नै उनको लक्ष्य थिएन । यो त एउटा सिँढी थियो उनको आफ्नै कन्फिडेन्सको लागि । उनले यही फोटो सेसनको फोटोहरू नै त पोर्टफोलियो बनाएर मोडलिङ एजेन्सीहरूमा पठाउन लागेकी थिइन् । यो फोटोमा आएको लाइक्स र कमेन्टहरू आफ्नै लागि एउटा मापदण्ड थियो ।

दिलासाको मोबाइल र ल्यापटप दुवैमा फेसबुक खोलिएका छन् । नोटिफिकेसन आउँदा बज्ने आवाजहरूले उनको ध्यानाकर्षण त्यतिकै गरिरहेको हुन्छ । छोरीलाई समय दिनुपरेकोले उनले आरामले कमेन्टहरू पढ्नसमेत फुर्सद पाएकी हुन्नन् । बल्ल छोरी सुतेको मौकामा लामो श्वास फेर्दै ल्यापटप अगाडि बसिन् ।

‘तीन हजार लाइक्स । अनि १८ सय कमेन्टस् ?’ दिलासाले ऐनामा आफूलाई हेरिन् । एकक्षण आफ्नो फर्केर आएको सुन्दरतालाई आफैले नियालिरहिन् ।

दिलासा एकरएक कमेन्टहरू स्वाद लिँदै पढ्थिन् अनि आफ्नो रंगीन दुनियाँमा हराउँथिन् । उनको यो मोडल बन्ने सपना उनकै सपनामा पनि सीमित थिएन । आफ्नो श्रीमानले बच्चा पाइसकेपछिको उनको शरीरबाट टाढा हुँदै गएको समय पनि सम्झिइन् ।

‘अब त म विराज फर्केर आए पनि स्विकार्ने छैन । मन नमिल्ने र शरीरसँग मात्र प्रेम गर्ने जीवनसाथीभन्दा बरू एक्लै जिउनु बेश ।’ दिलासा एउटा कमेन्ट पढ्थिन् अनि आफ्नो अतीतमा हराउँथिन् । यहीबीच उनले कति समय सपनाको दुनियाँमै हराएर बिताइन् । उनलाई आज त्यसैले लन्च खानेसमेत फुर्सद भइरहेको थिएन ।

‘दिलासा, ए दिलासा ।’ अर्को कोठाबाट अरूणिमाको तीखो आवाज आउँछ । दिलासा अरूनिमाको स्वर सुनेर छक्क पर्छिन् ।

‘किन रुकिन कामबाट चाँडो फर्केकी ? कि जाँदै गइनौँ ?’

‘दिलासा …।’ अरूणिमाको चिच्याहटले उनको मनमा निकै चिसो पुग्छ । उनी कुद्दै छोरीको कोठातिर पुग्छिन् ।

‘हँ, के भयो ?’ यत्तिकैमा उनको आँखा झ्यालबाहिर पुग्छ । बाहिर झपक्क अँधेरो भइसकेको थियो । दिउँसो छोरीलाई सुताएर उनी फेसबुक खोलेर बसेकी थिइन् । छोरीको चाइँक्क चुइँक्क आवाज थिएन । मस्त निद्रामा छोरी सुतिन् भन्ने सोचेर पनि उनलाई कति आराम भएको थियो । हुन पनि उनले छोरी यस्तो मस्त निदाउने कमै पाउँथिन् ।

‘दिलासा, छोरीमा स्वास नै छैन । उनी अब यस दुनियाँमा रहिनन् । तिमीले आज डाक्टरकहाँ लग्नुपर्ने थियो… ।’

पेसाले नर्स अरूणिमाले भनेको उनी पत्याउने कि नपत्याउने अनि ठीकै त थिइन् छोरी दिउँसोसम्म ।

‘यो कसरी हुनसक्छ ।’ दिलासा निकै अत्तालिइन् ।

‘सायद दूधको इन्फेक्सन भयो कि रुगर्मीमा दूध ल्याउँदा ल्याउँदै पनि बिग्रियो कि । मैले भनेकी पनि थिएँ यस्तो दूध स्टरिलाइज्ड हुँदैन । अनि, सायद टाइममै हस्पिटल लगेको भए बच्थिन् कि । म जसरी गएकी थिएँ तिमी त्यही कोठामा, त्यही कुनामा, त्यही आसनमा । तिम्रो काल्पनिक जीवनको परिकल्पना अनि फेसबुकमा रमाउने बानी सायद छोरीको काल बनेर आयो ।’ आज अरूणिमा निकै रिसाएकी थिइन् । पटक-पटक सम्झाउँदा पनि दिलासा नसुन्ने हुँदा आजित भएर भन्न छोडेकी थिइन् । तर, आज अरूणिमाको बोल्ने पालो थियो । आफ्नी नभए पनि उनले दिलासाकी छोरीलाई आफ्नै छोरीभन्दा कम ठान्दिनथिइन् ।

छोरी गुमेको पीडा, आत्मग्लानी अनि अरूणिमाको तीखो वचनले दिलासालाई मर्नु न बाँच्नु भइसकेको थियो । उनी डाँको छोडेर रोइन्, कराइन्, चिच्याइन् । उनको आवाज सुनेर छिमेकीहरू पनि आश्वासन दिन आइपुगे । जीवनले यो मोड लिएर आउला भन्ने उनले कहिल्यै सपनामा पनि सोचेकी थिइनन् ।

हिजोआज दिलासाको फेसबुक एकाउन्ट बन्द छ । उनका हजारौं फेसबुके साथीहरूलाई थाहा छैन दिलासा कहाँ छिन् भनेर । धेरै कमैलाई मात्र जानकारी छ कि दिलासा आफ्नो लापरबाहीका कारण बच्चाको ज्यान गएको मुद्दामा १० वर्षको सजाय बेलायतकोकारावासमा भोगिरहेकी छिन् । उनको अन्तर्राष्ट्रिय मोडल बन्ने सपना पनि जोडिनै नसक्ने गरी विखण्डित भएको छ । उनको फेसबुकको बन्द एकाउन्ट पनि अब सायदै खोलिनेछ ।

(‘गुलाफसँगको प्रेम’ कथासंग्रहबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button