त्यो बजारले भन्ने कुरा हो
नेपालनाम्चाको स्तम्भ किताबमा विश्वराज अधिकारीलाई अचम्मबारे दश प्रश्न ।
नयाँ किताब ‘अचम्म’का लागि तपाईलाई बधाई । तर, के साँच्चै तपाईंको पुस्तक बधाई दिन लायक छ ?
मैले लेखेको ‘अचम्म’ नामक पुस्तकका लागि सर्वप्रथम त तपाइँले नै बधाइ दिइ सक्नु भयो जसले गर्दा यो पुस्तक बधाइ दिन लायक रहेछ भन्ने कुराको पुष्टि हुन्छ । कुन स्तर र कति बधाइ पाउने हो त्यो भने पाठक वर्गले भन्ने कुरा हो। मैले केही भन्न सक्तिन । एउटा कुरा म के अनुरोध गर्न चाहन्छु भने पाठक वर्गले हौसला बढाइ दिए भने म यस किसिमका पुस्तक अझै लेख्न प्रोत्साहित हुने थिएँ ।
यो किताबमा के छ र यो विशेष छ ? अर्थात किन पढ्ने यो किताब ?
यो किताब नेपालमा भएका मूलधारका पुस्तकभन्दा नितान्त फरक किसिमको छ । यो किताबमा विश्वमा भएका अनौठो घटना, चलन, परम्परा, विश्वास, संस्कृति आदिको वयान गरिएको छ । यो पुस्तक पढ्दा अनेक किसिमका जानकारीहरू मात्र प्राप्त हुँदैन साथै सफल र वहादुरीपूर्ण जीवन जिउने होसला पनि प्राप्त हुन्छ । मेरो विचारमा नेपालमा यस किसिमको पुस्तक अहिलेसम्म लेखिएको छैन । तर मेरो यो भनाइको पुष्टि हुन भने बाँकि छ ।
यो किताबको जन्मनुको कुनै परिवेश, कारण र अर्थ के हो ?
नेपाली पाठकहरूलाई रोचक, ज्ञानवर्धक, हितकारी जानकारी उपलब्ध गराउनु नै यो पुस्तक जन्मिनुको प्रमुख कारण हो ।
प्रारम्भिक प्रतिकृयाहरु के कस्ता आइरहेका छन् ?
म विदेशमा भएकोले के कस्त प्रतिक्रियाहरू कुन रुप र संख्यामा आइ रहेका छन मैले थाहा पाउन सकेको छैन । तर मलाई इमेल पठाएर, फोन गरेर, मसँग भेट हुँदा पनि, विभिन्न पाठकहरूले यो पुस्तक ज्ञानवर्धक रहेको जानकारी दिनु भएको छ ।
किताबको नाम कसरी रहन गयो ? नाममा के छ ?
यो किताब भित्र रहेका सामाग्रीहरू प्राय: जसो अचम्म लाग्दा भएकोले नै यो पुस्तकको नाम अचम्म राखिएको हो । तर यस पुस्तकभित्र साहसी कार्यहरू, अन्धविश्वास, ऐतिहासिक घटनाहरू आदिबारे पनि चर्चा गरिएको छ ।
यो किताबममर्फत तपाईं खासमा के भन्दै हुनुहुन्छ ?
पाठकहरूलाई अनेक किसिमका जानकारीद्वारा सुसूचित गरेर सफल भएर बाँच्न प्रेरित गर्नु यो पुस्तकको मुल उद्देश्य हो । विषम परिस्थितिमा पनि धैर्यतापूर्वक बाँच्ने कला सिकाउनु यो पुस्तकको अर्को महत्वपूर्ण उद्देश्य हो ।
प्रकाशित भइसकेपछि यो किताबमा के के छुटेछन् जस्तो लाग्यो ?
केही छुटको छ जस्तो लागेको छैन । बरू यस्तै घटनाहरू समेटेको अर्को केही पुस्तकहरू लेख्ने विचार छ ।
अब अर्को के कस्तो किताब लेख्दै हुनुहुन्छ ?
‘सफलताका सुत्रहरू’, मैले लेखेको यो पुस्तक प्रेसमा छ । अन्य विधाका केही पुस्तकहरू पनि प्रेसमा छन, प्रकाशित हुन बाँकि छन् । ‘शक्ति’ नामक एक पुस्तक लेख्ने बिचारमा छु । यो पुस्तकले बाँच्नका लागि कुनै न कुनै किसिमको शक्ति चाहिन्छ भन्ने सन्देश पाठक वर्गलाई दिनेछ ।
पछिल्लो समय प्रकाशित तपाईंलाई मन परेका पाँच किताब सम्झनुस्न् ।
मैले पढेका र मन परेका पाँच पुस्तकहरू:
क) योगमाया: उपन्यास- निलम कार्की निहारिका
ख) पगगा: कथा सङ्ग्रह- खेमराज पोखरेल
ग) स्वप्नलोकका गुरमितहरू: कविता सङ्ग्रह- कृष्णराज खनाल
घ) बिरिमफुल: मुक्तक सङ्ग्रह- तीर्थराज अधिकारी
ङ) अनुराधा भवन: उपन्यास- गणेश लाठ
ती पाँचमध्ये आफ्नो किताबलाई कहाँनेर पाउनु हुन्छ? नढाँटी भन्नुस्न् ।
माथि उल्लेख गरिएका पुस्तकहरू मध्ये मेरो पुस्तक नितान्त फरक विधाको भएकोले तुलना गर्न मिल्दैन । बिक्रीको तुलनामा मेरो पुस्तकको स्थिति कस्तो रह्यो त्यो बजारले भन्ने कुरा हो ।