नयाँ स्वादका कथा ‘मर्फिन’

पुस्तक समीक्षा

श्रीरामसिंह बस्नेत

मानिसको जीवनमा स्वास्थ्यको कति महत्व हुन्छ भन्ने कुरा सामान्य परिभाषाभन्दा बाहिरको विषय हो । आफ्नो स्वास्थ्य मात्र होइन, परिवारकै स्वास्थ्य अवस्था हरेक व्यक्तिको चासो र चिन्ताको विषय हो । त्यसमा पनि हाम्रो जस्तो एउटै छानो मुनी एकै समयमा तीन पुस्ता जिन्दगानी गुजारा गरेर बस्ने परिपाटी भएको समाजमा त परिवारमा एउटाको स्वास्थ्य समस्या सिंगै परिवारको शारीरिक, मानसिक अवस्थाको कारक तत्व बन्न पुग्दछ । सुख,दुःख, सन्तुष्टि, आनन्द, समृद्धि, उपलब्धि आदि सबै पारिवारिक स्वास्थ्यमा निर्भर गर्ने विषय हुन् । तर यति हुँदाहुँदै पनि हामी स्वास्थ्यका विषयमा जति सचेत, सजग र संवेदनशील हुनुपर्ने हो त्यो भएको पाइदैन । फलतः हाम्रो समाजमा कुनै न कुनै स्वास्थ्य समस्यासँग नजुधिरहेको सही अर्थको निरोगी परिवार पाउन नै कठिन हुने गरेको छ ।

यस्तै परिवेशमा स्वास्थ्य क्षेत्रको सुपरिचित पत्रकारको पहिचान बनाइसकेका लक्ष्मण अधिकारी आफ्नो दुई दशकको सक्रिय स्वास्थ्य पत्रकारिता यात्राको दौरानमा भोगेका उकाली– ओरालीलाई कथाको साँचोमा ढाल्दै ‘मर्फिन’ कथा सङ्ग्रह लिएर पाठक समक्ष भरखरै आईपुगेका छन् । मर्फिन भन्ने बित्तिकै असह्य पीडामा रहेको बिरामीलाई उसको पीडाको अनुभव कम गराई आरामसँग सुत्न सक्ने अवस्थामा पु¥याउने एक विशेष औषधि भन्ने बुझिन्छ । मर्फिन लिन पर्ने अवस्थामा पुग्नु कुनै पनि विरामी र उनका शुभचिन्तकका लागि एक अप्रिय अवस्था हो, तर असैह्य पीडाले सिर्जना गर्ने बाध्यताप्रति कस्को के लाग्छ र ?

मर्फिन कथा सङ्ग्रहमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित २१ वटा कथा समावेश छन् । यसरी स्वास्थ्य विषयमा मात्र केन्द्रित रही रचित नेपाली कथाहरुको सङ्ग्रहमा मर्फिन नै पहिलो हो भन्ने कथाकारको विश्वासलाई काट्ने प्रमाण यस पँक्तिकारले भेटेको छैन । त्यसैले यसलाई नेपाली कथा साहित्यका क्षेत्रमा विषयगत दृष्टिले एउटा नौलो प्रयोग मान्न सकिन्छ । मानिसले भोग्दै आएका र भोग्नु पर्ने कथा, व्यथा जताततै छन् । मर्फिनले यसरी एउटा क्षेत्रको मात्र कथा, व्यथालाई पनि पुस्तकाकार रुपमा प्रस्तुत गर्न सकिने नयाँ सम्भावनालाई उजागर गरिदिएको छ । यद्यपि यस अघि विभिन्न कथाकारहरुले प्रेम, राजनीति, यौन आदि विषयमा मात्र समर्पित कथा सङ्ग्रह पाठक समक्ष पु¥याएका छन् । मानिसका सम्बन्धको कुनै एउटा पाटोलाई मात्र आधार बनाएर पनि सफल कथाकारिता प्रस्तुत गरिएका उदाहरण विश्व कथा साहित्यमा पाहिन्छ । यस दृष्टिले मर्फिन नेपाली कथा साहित्यिमा एक उत्साहजनक प्रयास हो ।

मर्फिनका प्रत्येक कथाले स्वास्थ्यको कुनै न कुनै पक्षमा आफ्नो स्पष्ट छाप छोडेको पाइन्छ । कतिपय कथाले जनस्वास्थ्यमाथि माफियाहरुद्वारा भईरहेको अत्यधिक शोषणलाई उजागर गरेका छन् भने कुनै कथाले पैसाको लागि आफ्नै धर्मपत्नीको मिर्गौला बेच्न समेत बाँकी नराख्ने सुन्दैमा कहाली लाग्दो यथार्थसँग पाठकलाई साक्षात्कार गराउँछ । केही कथालाई पाठकहरुले अति काल्पनिक ठान्न सक्छन् भने कुनै कथा व्यँङ्ग्य (मुख्यमन्त्रीको मगज) पो हो कि भन्न सक्छन् । तर हिजोसम्म असम्भव मानिएको विषयलाई चिकित्सा विज्ञानले आज सम्भव मात्र होइन, सहज र स्वभाविक पनि बनाइदिएको छ । त्यस्तै मर्फिनका पाठकले आज असम्भव र कथाकारको कोरा कल्पनामात्र ठानेका कतिपय कथाका विषयबस्तुलाई भोलि चिकित्सा विज्ञानले नयाँ आविष्कारको रुपमा संसारसमक्ष सगर्व प्रस्तुत गर्न सक्दछ । चिकित्सा विज्ञानको त्यो अथाह सम्भावनालाई कथाकार अधिकारीको सुक्ष्म विश्लेषणले पछ्याउने र घच्घच्याउने दुस्साहस गरेको छ । कुनै बेला कुनै मानिसले मानिस पनि चरा झैं उडेको सपना नदेखेको वा कल्पना नगरेको भए सायद आजसम्म विमान बन्ने थिएन । साहित्य सधैं धरातलीय यथार्थमा मात्र आधारित हुनुपर्छ वा वर्तमानमा मात्र उभिनु पर्छ भन्ने छैन । साहित्यभन्दा गहिरो र व्यापक भविष्यद्रष्टाको क्षमता भएको विषय अरु कुनै छैन । यस दृष्टिले अधिकारीका कथाहरुलाई अति काल्पनिक भन्नु भन्दा चिकित्सा विज्ञानका लागि नयाँ आशाका किरण भन्नु उपयुक्त हुनेछ ।

स्वास्थ्य क्षेत्र यति व्यापक छ, ती सबैलाई २१ वटा कथामा समेट्न सम्भव नहुनु स्वभाविकै हो । त्यसैले मर्फिनले कथाकार अधिकारीलाई अर्को चुनौति थपिदिएको स्पष्ट अनुभव गर्छन्, यसका पाठकहरु । त्यो के भने मर्फिनमा नपरेका स्वास्थ्य क्षेत्रका अरु कैयौं विषयहरुलाई कथामा उनेर अरु कथा सङग्रहहरु पनि क्रमशः पाठकहरुसमक्ष पस्कनु । हिमाली, पहाडी वा तराई भेगका दूरदराज समुदायका निरिह बासिन्दाहरुले भोग्नु परेका व्यथा, यौनिक अल्पसङ्ख्यकका शारीरिक, मानसिक चुनौति, स्वास्थ्यकै कारणले जेलजीवन बिताउन पुगेका अनि जेलका कैदी, बन्दीका शारीरिक, मानसिक अवस्था, उनीहरुको कुष्ठित यौन आकाँक्षा र त्यस्को दुष्परिणाम, एकल जीवन बिताउन बाध्य पुरुष तथा महिलाहरुका स्वास्थ्य सम्बन्धी अथाह पीडा आदि अनगिन्ति विषयहरुले कथाकार अधिकारीका कथामा रुपान्तरित हुन प्रतीक्षा गरिबसेका छन् । मर्पिmन पढने चिकित्साकर्मीहरुले आफ्नै अनुभव लिपीवद्ध भएको पो हो कि भन्ने अनुभूत गर्नेछन् भने भुक्तभोगीहरुले आफुले भोगेको पीडा कसैले सुटुक्क कोट्याई दिएको पाउने छन् । पत्रकारिताको सबल पृष्ठभूमि भएका कथाकार अधिकारीको भाषा शैली र सम्प्रेषणीयताबारे कुनै टिप्पणी गर्नुपर्ने ठाउँ छैन ।

समग्रमा हेर्दा कथा साहित्यका पारखीहरुका लागि एउटा नितान्त नौलो र स्वस्थ्यकर परिकारको रुपमा मर्फिन प्रस्तुत भएको छ । मर्फिनको आगामी संस्करणका लागि केही कथाका शिर्षक र कथाक्रममा भने पुनर्विचार गर्न सकिने ठाऊँ देखिन्छ । अन्त्यमा, दुई दशक स्वास्थ्य पत्रकारितालाई समर्पित गरिसकेका अधिकारीलाई अब आगामी दिन स्वास्थ्य कथाकारिताप्रति समर्पित रहन हार्दिक शुभकामना व्यक्त गर्दछु ।

पुस्तकः मर्फिन
कथाकारः लक्ष्मण अधिकारी
विधाः स्वास्थ्य क्षेत्रका कथा
प्रकाशकः मञ्जरी पब्लिकेसन
पृष्ठ संख्याः २२०
मूल्यः रु ३५०

बस्नेत

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button