‘कर्खाटन’ र ‘नियात्रामा नौलो आयाम’
आफ्नै पुस्तकबारे
डा. विदुर चालिसे
नेपाली साहित्यमा नियात्रा लेखनको सन्दर्भ निकै अग्रपङ्क्तिमा अगाडि बढेर आएको देखिन्छ । नेपाली नियात्राको ऐतिहासिक तथ्यहरूलाई खोज्दैजाँदा पश्चिममा दुई हजार वर्ष पहिले नै नियात्रा साहित्यको लेखनको प्रारम्भ भएको भए तापनि एसियामा केही समयपछि यसको लिखित परम्परा देखिन्छ । नेपाली साहित्यमा त साहित्यको नामले भन्दा पनि सुरक्षा पत्रका रूपमा लेखिएको वि.सं. १३७८ को आदित्य मल्लको लेखोटको आधारमा हेर्दा सोही विन्दुबाट नियात्रा साहित्यको बीजारोपण भएको देखिन्छ । यसै अर्थमा पनि नेपाली साहित्यमा साहित्यको अन्य विधाको तुलनामा नियात्रा साहित्य निकै पुरानो लिखित इतिहास बोकेको विधाको रूपमा ऐतिहासिक तथ्यहरूबाट प्रमाणित भएको छ ।
विगतमा नियात्रा विधालाई यात्रा संस्मरण, यात्रा कथा, संस्मरण सात्रा साहित्य, यात्रा विवरण आदि जेसुकै भनिएको भए पनि पछिल्लो समयमा यसलाई सबै यात्रा साहित्यका सर्जकहरूले नियात्राको रूपमा परिभाषित भएको मानेर यात्रा सहित्यका लागि ‘नियात्रा’ शब्दको प्रयोग गरेको देखिन्छ । नियात्रा साहित्यको मुल विषय भनेको यात्राको क्रममा नियात्राकारले प्राप्त गरेको वा अनुभव योग्य भएको घटना, परिवेश, सन्दर्भ, चरित्र, स्थान, समाज, दर्शन, इतिहास, ज्ञानविज्ञान एवं संज्ञानका अनेक क्षेत्रका विषयवस्तुमा आधारित विवरण तथा तिथिमितिलाई प्रयोग विवरणात्मक निबन्धात्मक शैलीमा गर्नु भए पनि पछिल्ला समयमा नियात्रा लेखनका तिनै विषयवस्तुमा नियात्राका सर्जकहरूले अनुभूत गरेका विषयवस्तुहरूलाई प्रधान रूपमा आत्मपरक निबन्धात्मक शैलीमा प्रस्तुत गर्ने नियात्राको विधागत प्रणालीको विकास समग्र रूपमा प्रयोग भएको पाइन्छ ।
नियात्रा लेखनको निबन्धात्मक संरचना ढाँचामा स्थापित भएर लेखिंदै आएको नेपाली नियात्रा साहित्यको आधार देशीय एवं परदेशीय सम्बन्ध, घटना, स्थान, समाज, दर्शन, ज्ञानविज्ञान एवं संज्ञानको विषयले निकै उर्जाशील भएर अगाडि बढेको सन्दर्भमा यसका थप शैलीगत एवं संरचनागत सैद्धान्तिक आधारको प्रयोग गरेर विषयवस्तुलाई नियात्राकारहरूले प्रयोग गरेको समेत देखिन्छ । पछिल्लो चरणमा नियात्रा लेखनको कार्य सर्जकहरूबाट ह्वात्तै बढेको पाइएको छ । तथापी लेखन शैली र यसका संरचनाका ढाँचाहरूमा पनि विविधताहरू देखापर्दै गइरहेको देखिन्छ । विगतका नियात्राहरूमा विषय विवरणको अतिसयोक्ति प्रस्तुती समग्रमा देखिए पनि कलात्मक नियात्रा बान्कीका नियात्रा लेखन कलाको विकास त्यति उन्नतस्तरमा सर्जकहरूबाट पनि प्रस्फुटन हुन सकेको देखिंदैन । कतिपय नियात्राका सर्जकहरूले आफ्नो सिर्जनामा कोरा विवरण प्रस्तुत गर्ने, तिथिमितिहरूलाई बढी प्राथमिकता दिने, यात्राको विवरणलाई दैनिन्दिनको डायरीका रूपमा प्रस्तुत गर्ने, संस्मरणका कथात्मक भावमा घटनाहरूलाई छरपस्ट पोख्ने एवं कतैकतै अत्यन्त भावुक आदर्शको उडान भरेर नियात्राको निबन्धात्मक स्वरूपमा लेख्ने प्रचलनहरू पनि रहेका देखिन्छन् । नियात्रा लेखनको विभिन्न चरणहरूमध्ये शैशवकालीन अवस्थामा लेखिएका नियात्राहरूमा अत्यन्त बढी विवरणहरूको प्रयोग गरी अभिधयार्थका प्रयोगशील शैलीहरूलाई नियात्राका सर्जकहरूले पछ्याएको पाइन्छ भने नियात्राको विकासकालीन चरणमा नियात्राका सर्जकहरूको लेखन ढाँचामा सैद्धान्तिक रूपमा खासखास सन्दर्भका सैद्धान्तिक विचलनमा रहेर नियात्राको लेखन गरेको समेत देखिन्छ । नियात्राको उत्कर्षकालीन अवस्थामा नियात्रा साहित्यको लेखनका लागि सर्जकहरूमा भएको सैद्धान्तिक ज्ञानको बोधले नियात्रा साहित्यलाई नयाँ दिशा दिएको देखिन्छ । यस कालमा नियात्राकारहरूमा नियात्राका सैद्धान्तिक आयामको स्पष्टता, सैद्धान्तिक चिन्तनबोध एवं नियात्रा साहित्यको लेखनका खासखास मोडमा सैद्धान्तिक विचलन जस्तो देखिएको छ । यसै पीडामा नियात्रा साहित्यले कोरा विवरणलाई मात्र नभई आत्मरागको भावित अनुभूतिलाई सुस्पष्ट रूपमा दिशा निर्देश गर्नुपर्दछ भन्ने दृष्टिकोणको विकास भएका कारणले यस कालका नियात्राका सर्जकहरूको नियात्रा लेखनमा निबन्धात्मक बान्कीमा यात्रा विवरण र आत्मपरक प्रस्तुती शैलीको सन्तुलित प्रयोग गरी नियात्रा लेखनको कार्य विकसित भएको पाइन्छ ।
उत्कर्ष कालको सत्तरीको दसकसम्म आइपुग्दा नेपाली नियात्रा साहित्यको लेखनमा अत्यन्त धेरै सर्जकहरूको कृतिहरू प्रकाशित भएका पाइन्छन् । यस कालमा नियात्रा लेखनको सङ्ख्यात्मक रूपमा मात्रै हैन गुणात्मक रूपमा पनि नियात्रा साहित्यको लेखनको विकास अत्यन्त धेरै भएको पाइन्छ । विगतमा समातिएको विवरणात्मक एवं आत्मपरक शैलीका नियात्रा लेखनको गोरेटोमा सर्जकहरूले अनुभव गरेका परम्परागत नियात्रा निबन्ध लेखन ढाँचाको शैलीगत एवं संरचनागत आयामको स्वरूपलाई अझै फरक दायराका नियात्रानिबन्ध लेखनको शैली एवं संरचनालाई प्रयोग गरेको पाइन्छ । यात्रा उही, विवरण उही, कथन पद्धती उही, प्रस्तुती शैली र नियात्राको संरचना ढाँचा पनि उही रहने गरी समग्र सर्जकको मनोविज्ञानले नियात्रा लेखनको ढाँचालाई आत्मसात् गरेर नियात्रा लेख्ने परम्पराको अक्षमा सत्तरीको दसकपछि यस्ता शैलीहरूलाई कतिपय सर्जकहरूले निरन्तरता दिएरै नियात्रा लेखेको देखिन्छ भने कतिपय नियात्राका नयाँनयाँ सर्जकहरूले विश्व साहित्यमा प्रयोग भएका नियात्रा साहित्यको सैद्धान्तिक स्वरूप एवं आफ्नै भूमिमा पनि साहित्यिक सैद्धान्तिक नयाँ व्याख्यासँग छुटेका सैद्धान्तिक आधारहरूलाई प्रयोग गरी नियात्रा साहित्यको सिर्जना गरेको स्पष्ट रूपमा पाइएको छ । यसै सेरोफेरोमा नियात्रामा नौलो आयाम शीर्षकले आफ्नो गुरुत्वपूर्ण अर्थलाई प्रयोग गरेर नेपाली नियात्रा साहित्यको लेखनको पछिल्लो समयमा उदाएको नियात्राकार कृष्ण बजगाईंको तीनवटा कृतिहरू: ‘युरेसियाको स्पर्श’, ‘भाया साक्रा’ र ‘दाइबुचु’ नियात्रासङ्ग्रहमा प्रयोग भएको आजसम्मको नियात्रा लेखनको भिन्न सैद्धान्तिक आधार एवं विशेषताहरूलाई समेत केलाई उनका यी तिनैवटा कृतिभित्र भएका थप विशेषताहरूलाई केलाउने कार्य गरिएको छ । बजगाईंका तिनवटै नियात्रासङ्ग्रहमा पाइने सन्दर्भ विवरणहरू आफ्नै खालको भए पनि उनको तीनवटै नियात्रासङ्ग्रहहरूमा परदेशीय सम्बन्ध मात्रै प्रयोग गरिएका देखिन्छन् । देशीय सन्दर्भलाई उदाहरणका रूपमा मात्र व्यङ्ग्यात्मक सन्दर्भमा प्रस्तुत गरेको पाइन्छ । उनले अनुभव गरेका वा टिपेका हरेक घटना, स्थान, समाज, दर्शन, ज्ञानविज्ञान एवं संज्ञानका विषयवस्तुका विवरणहरू रोमान्चित पारामा प्रयोग भएका देखिन्छन् ।
लामो समयदेखि नियात्राका लागि प्रयोग गरिंदै आएको निबन्धात्मक ढाँचाको यात्रा विवरण वा पहिल्लो समयमा प्रयोग भएको आत्मपरकताको सजावटमा प्रयोग भएको निबन्धात्मक नियात्रा लेखनको ढाँचाका तुलनामा नियात्राकार बजगाईंंका तीनवटै सङ्ग्रहमा फरकफरक शैली एवं संरचना ढाँचाका सैद्धान्तिक आधारमा नियात्राको लेखन कार्य गरिएको देखिन्छ । उनको तीनवटै नियात्रासङ्ग्रहहरूमा वर्तमान नेपाली नियात्रा साहित्यमा स्थापित भएको विशिष्ट ‘आत्मपरक निबन्धात्मक शैली’ एवं ‘संरचना ढाँचा’, जापानी शैलीको ‘हाइबुनी’ परम्परामा लेखिने नियात्रा लेखनको ढाँचा तथा कुर्द सामाजिक परम्पराबाट नेपाली लोक परम्परामा स्थातित हुन आएको ‘कर्खा’ परम्परा एवं सो परम्पराको ‘कर्खा गायन’ का सन्दर्भमा गरिने ‘यात्रा(अटन)’ एवं ‘सन्दर्भ व्याख्या’ को विषयलाई सैद्धान्तिक रूपको यस अर्थमा हेरेर कर्खाटन रूपी सैद्धान्तिक खाकामा हेर्दा, ‘कर्खाटन’को नियात्रा लेखनको सैद्धान्तिक स्वरूपमा नियात्रा लेखनको संयोजन गरिएको पाइन्छ । यिनै सैद्धान्तिक आधारहरूको सेरोफेरामा रहेर उक्त कृतिहरूको बारेमा यस समालोचना कृतिमा विश्लेषण गरिएको छ ।
(रत्न पुस्तक भण्डारद्वारा प्रकाशित ‘नियात्रामा नौलो आयाम’ समालोचना कृतिको सारांश कथन)