किताबः कस्तो मनमा आइरहने कुरो सोध्नुभयो यार, अशोकजी !
नेपालनाम्चाको नियमित स्तम्भ किताबमा विश्रामपुरमाथि पदम गौतमलाई दश प्रश्न ।
नयाँ किताब ‘विश्रामपुर’का लागि तपाईंलाई बधाई । तर, के साँच्चै तपाईंको पुस्तक बधाई दिनलायक छ ?
धन्यवाद अशोकजी । शिलापत्र अनलाइनले गरेको सर्वेक्षणमा आख्या नबर्ष पुस्तक, ०७७ मा विश्रामपुर उपन्यास परेको छ । बधाइ नै दिनलायक नभए त त्यो उपाधि नपाइनु पर्ने । ए अँ, त्यो लायकको रहेनछ भने पनि किन छैन भनेर पढेर टिप्पणी पाऊँ न, ल ।
यो किताबमा के छ र यो विशेष छ ? अर्थात किन पढ्ने यो किताब ?
यो किताबमा पूर्वी मधेशको समाजको चार दशकको चित्रण छ । एउटा काल्पनिक गाउँको माध्यमबाट देहातका सपना र राजनीतिक षड्यन्त्रका कथा छन् यसमा । राजनीतिक बेइमानीमाथि लेखिएको उपन्यास भएकाले त्यस्ता बिषयका किताब पढ्न रुची राख्नेले चाहीँ विश्रामपुर पढ्लान् । हरेक किताबमा केही न केही त पढ्नैपर्ने कुरा हुन्छ नै । तैपनि पढ कि पढ भनेर त कसैलाई भन्न सकिन्नँ, यार ।
यो किताब जन्मनुको कुनै परिवेश, कारण र अर्थ के हो ?
अशोकजी, मैले केही काम जानेको छु भने (जति जाने पनि) लेख्न मात्रै जानेको छु । कोरोनाकालको फुर्सद मेरा लागि त्यस्तै भइरहेको छ । म सानो छँदाको मेरो गाउँको परिवेश कुनै दस्तावेजमा संग्रहित होओस् भन्ने लागिरहन्थ्यो । त्यहाँ अहिले भएका कथित विकास र आधुनिकताले किनारीकृत मान्छेका पीडा देखेर त्यो परिवेशलाई राजनीतिक कोणबाट लेखेको हुँ । एउटा सचेत लेखकले राजनीतिका शोषणबारे देखेपछि लेख्न सक्नुपर्छ हैन र ?
प्रारम्भिक प्रतिक्रिया के कस्ता आइरहेका छन् ?
अहिलेसम्म व्यक्तिगत सम्पर्कबाट केही प्रतिक्रिया आएका छन् र सबै जसो सकारात्मक छन् । म आफैं पनि चुजी पाठक हुँ । म पाँचवटा किताबको लेखक भए पनि सयौं किताबको त पाठक हो नि ! त्यसैले म हरेक प्रतिक्रियालाई सकारात्मक रुपमा लिन्छु, सिक्छु । लेखकले जीवनभर सिकिरहनु पर्छ भन्ठान्छु म ।
यो किताबको नाम कसरी रहन गयो ? नाममा के छ ?
नेपाली जनतालाई निदाएको समयमा जगाउने र बाँच्न सिकाउने काम गरेको कम्युनिष्ट आन्दोलन आकारमा ठूलो भयो । त्यसले जनताको आँसु पुछ्ने भन्दै आफूलाई ठाडो उभ्यायो र अझ आँसु थप्दै विश्राम लियो । अन्य विचारधारा बोक्नेहरु त्यो घटनाको मूकदर्शक मात्र बनेका छन् । प्रतीकात्मक हिसाबले त्यही वैचारिक र व्यावहारिक पतनको स्थल विश्रामपुर हो ।
यो किताबमार्फत तपाईं खासमा के भन्दै हुनुहुन्छ ?
हरेक महत्वपूर्ण बिषयको केन्द्रमा हुने राजनीति नै हो । त्यो नसच्चिई अन्य ठूला समस्या समाधान हुँदैन । धेरै युवा र पठितहरुमा राजनीति र त्यसको चरित्रलाई बेवास्ता गर्दै समस्याको सतही समाधान खोज्ने प्रवृत्ति बढ्दो छ । मैले पुरानो मधेशका वास्तविक कथासँगै यिनै कुरा सुनाउन खोजेको हुँ ।
प्रकाशित भइसकेपछि किताबमा के के छुटेछन् जस्तो लाग्यो ?
कस्तो मनमा आइरहने कुरो सोध्नुभयो यार, अशोकजी ! अहिले फर्किएर हेर्दा कतै कतै यो कुरा थप्न पाएको भए, यो बिषयलाई यसरी प्रस्तुत गरिएको भए, यो पात्रलाई यसरी अघि बढाएको भए भन्ने कुरा मनमा बेला बेला आउने रहेछन् । तर,‘टाइम ट्राभल’मा गएर विगत सच्चाउने सुबिधा साइन्स् फिक्सनबाहेक जीवनमा नहुने क्या त !
अब अर्को के कस्तो किताब लेख्दै हुनुहुन्छ ?
विश्रामपुरको ठीक विपरीत परिवेशको अर्को आख्यान नै लेख्दैछु । पश्चिम पहाडको कथा । यसमा चाहीँ प्रस्तुति र शैली फरक गर्नेछु । अँ, विश्रामपुर लेख्नेबित्तिकै बजारमा ल्याइयो । अबचाहीँ आफैं दर्जनौं पटक पढेर सच्याएपछि बल्ल प्रकाशक र सम्पादकलाई दिने हो ।
पछिल्लो समय प्रकाशित तपाईंलाई मन परेका पाँच किताब सम्झनुस् न ।
म देशबाहिर छु, यताको पठन देशमै बसेजस्तो सजिलो हुँदैन । बिगतमा सालमा आठ दशवटा किताब मगाएर पढ्ने गरेको थिएँ । गत बर्ष कोरोना शुरु भएदेखि त किताब मगाएर पढ्न पनि पाएको छैन । यसर्थ नपढी बोल्दा अन्याय हुन्छ यार ।
पछिल्ला किताबहरुमध्ये आफ्नो किताबलाई कहाँनेर पाउनु हुन्छ ? नढाँटी भन्नु न ।
किताबको आयु लामो हुन्छ । अहिले प्रकाशनको भर्खरै दुई महिना हुँदैछ । मैले त मन पराएरै किताब छाप्न दिएको हुँ । सम्पादक साथीहरुले पनि हेर्नुभएकै हो । बाँकीचाहीँ पाठकको जिम्मामा दिऊँ न, ल अशोकजी !