किताबः नत्र शब्दको भारी बोकाएर पाठकको समय बरबाद गर्ने किन ?
नेपालनाम्चाको नियमित स्तम्भ किताबमा फिलिङ्गोमाथि प्रभा बराललाई दश प्रश्न ।
नयाँ किताब ‘फिलिङ्गो’ का लागि तपाईलाई बधाई छ । तर के साँच्चै तपाईको पुस्तक बधाई दिन लायक छ ?
धन्यवाद । बधाई दिन लायक छ कि छैन भन्ने कुरा त तपाईहरूले पढेर मूल्याङ्कन गर्नु प-यो नि हैन र ?
यो किताबमा के छ र यो विशेष छ ? अर्थात किन पढ्ने यो किताब ?
जापान र नेपालको परिवेशमा लेखिएको यो किताब केही विशेष छ र नै प्रकाशन गर्ने सोच बनाएँ नत्र पाठकलाई शब्दको भारी बोकाएर उहाँहरूको समय बरबाद गर्ने रहर मलाई किन लाग्थ्यो र ? जापानका बारेमा नियात्रा कृतिहरू प्रशस्तै आएको देखेकी छ, तर आख्यानको कृति आएको थाहा पाएकी छैन, त्यसैले पनि ‘फिलिङ्गो’ लेख्न उत्साहित भएँ । फेरि वर्षौदेखि जापान बसेका दिदीबहिनीका मार्मिक कथाहरू सुनेपछि यसबारेमा केही लेख्नै पर्छ भन्ने मलाई लाग्यो । ‘फिलिङ्गो’मा उठाउन खोजेको मूल विषय महिलाको आत्मसम्मान र आत्मनिर्णय भए पनि विविध आयामहरू यसमा समेटिएका छन् । के के छन् भनेर पढ्नका लागि त पाठकले पुस्तक पढ्नै पर्ने हुन्छ ।
यो किताब जन्मनुको कुनै परिवेश, कारण र अर्थ के हो ?
जब आम मानिसका साझा भोगाइका कथाहरूले लेखकको मन छुन्छ त्यसपछि जन्मने रहेछन् कृतिहरू । यसैको उपज हो ‘फिलिङ्गो’ । विदेशिएका सारा नेपाली युवा युवती र त्यसको प्रभावले आक्रान्त हाम्रा गाउँ बस्तीहरुको साझा कथालाई नेपाली र जापानी परिवेशमा ढालेर लेखिएको छ । हरेक पाठकलाई आफ्नै वरपर घटिरहेको घटना जस्तो लाग्छ । अझ यसलाई विदेशी भाषामा अनुवाद गर्ने इच्छा छ । यसो हुन सके यो अझ फराकिलो बन्ने थियो । कमसेकम जापानी र अंग्रेजी भाषामा ।
प्रारम्भिक प्रतिक्रिया के कस्ता आइरहेका छन् ?
प्रारम्भिक प्रतिक्रिया अत्यन्त सकारात्मक आइरहेका छन् । पाठकहरूको प्रतिक्रियाले सुखानुभूति गरिरहेकी छु । थप कृति लेख्नका लागि उत्साहित बनिरहेकी छु ।
यो किताबको नाम कसरी रहन गयो ? नाममा के छ ?
‘फिलिङ्गो’ शब्दको अभिधा अर्थ बलिरहेको भर्भराउँदो कोइला भन्ने हुन्छ । त्यो कोइलाले दिने ऊर्जा र शक्ति हामीले महसुस गर्न सक्छौँ । प्रस्तुत कृतिकी मुख्य पात्र सीमान्तीको जीवनमा आएको रूपान्तरणको अवस्था नै ‘फिलिङ्गो’ हो । फिलिङ्गो ऊर्जा र सामथ्र्यको त्यो रुप हो जसले सामान्य अवस्थामा राप र ताप दिन्छ नै र अवस्था असामान्य हुँदा डढेलो समेत लगाउँछ । ‘फिलिङ्गो’ नामको सार्थकता खोज्न मलाई धेरै सोच्नै परेन ।
यो किताबमार्फत तपाई खासमा के भन्दै हुनुहुन्छ ?
एक्काइसौँ शताब्दीमा आएर पनि हामी महिलाहरू दोस्रो दर्जाका नागरिक जस्तै छौँ । भूगोलअनुसार मात्रा तलमाथि होला तर समग्रतामा हामी पछाडि छौँ । हाम्रो परनिर्भरताको आधार के हो, कारण के हो ? किन हामी स्वविवेकमा बाँच्न सक्दैनौँ । किन हामी स्वनिर्णय गर्ने हैसियत राख्दैनौँ ? किन हामी स्वअस्तित्वको खोजी गर्न सक्दैनौँ । हारको मानसिकतामा सधैँभरि बाँच्नु पर्ने हामी महिलाले किन ? महिलाले सधैँभरि हार्नु पर्ने, आँसु झार्नु पर्ने ? जति पनि काव्य बुनिन्छ, लेखिन्छ, हामी निरीह पात्रको रूपमा देखिन्छौँ । कमजोर पात्रको रूपमा मात्र हामी चित्रित हुन्छौँ । यिनै अवस्थाबाट माथि कसरी उठ्ने, आफ्नो गन्तव्यको खोजी कसरी गर्ने आदि विषयहरूको उठान ‘फिलिङ्गो’ मार्फत गरिएको छ ।
प्रकाशित भएपछि के के छुटेछन् ?
एक लाख शब्द सङ्ख्यामा पाण्डुलिपि तयार भएको थियो । यही अवस्थामा छाप्दा प्रिय पाठकहरूलाई आर्थिक भार थपिने देखेँ । मुटुमाथि ढुङ्गा राखेर भए पनि मेरा शब्दहरूमा कैची चलाउनुप-यो । प्रकाशन भइसकेपछि त्यस्तो छुटेको कुरा केही महसुस गरेकी छैन । आफ्नो विवेकले भ्याएसम्मका विचार र घटनालाई समायोजन गरेकी छु, तालमेल मिलाएकी छु ।
अब अर्को केकस्तो किताब लेख्दै हुनुहुन्छ ?
मेरो स्वदेशका बारेमा लेखिएको नियात्रा सङ्ग्रह तयार नै छ । अब सम्पादनको काममा लाग्ने विचारमा छु । नयाँ उपन्यासको प्लट पनि दिमागमा खेलिरहेको छ । अब मेरा लागि लेखनका दिनहरू सहजमय छन् । निरन्तर निरन्तर लेखिरहने छु । तत्काल यही नै कृति प्रकाशन गर्छु भनि हाल्न सक्दिनँ ।
पछिल्लो समय प्रकाशित तपाईलाई मन परेका पाँच पुस्तकहरू सम्झनुहोस् ।
चैत १३ गते ‘फिलिङ्गो’ लोकार्पण भएपछि धेरै लेखकका पुस्तक प्रकाशन भए । यतिबेला म ती पुस्तकहरुको नाम मात्र सम्झन्छु । नेत्र एटमको ‘प्रिय मौनता’ कविता सङ्ग्रह मात्रै पढ्न सकेँ । बाँकी पुस्तक पढिनसकेकोले के कस्ता छन् भन्ने बारेमा अहिले आफ्नो विचार दिन असमर्थ छु ।
पछिल्लो समय प्रकाशित.पुस्तकहरुमध्ये आफ्नो पुस्तकलाई कहाँनिर पाउनु हुन्छ ? नढाँटि भन्नुहोस् ?
वास्तवमा सबै पुस्तकमा तुलना खोज्न सकिदैन होला । हरेक कृतिले कुनै न कुनै विषय उठान गरेका हुन्छन् । कुनै कृतिको भाषाशैली मन पर्छ । कुनै कृतिको विषयवस्तु मन पर्छ । कुनै कृति फरक धारमा, फरक प्रयोगका हिसाबले लेखिएका हुन्छन् । मन पर्ने आधारहरु फरकफरक हुन्छन् नि । सबैलाई एउटै साँचोमा ढाल्न सकिन्न ।
गहकिलो प्रस्तुति प्रभाजी !
अति आकर्षक विचार, सन्तुलित विचार, र, अर्को फिलिङ्गोको लागि प्रतिबद्ध विचार ।
कम्तीमा जापानी र अंग्रेजी भाषामा अनुवाद गर्ने कुरा सुन्दा झनै खुसी लाग्यो । र, एक ठाउँमा भन्नुभएको रहेछ, “अब मेरा लागि लेखनका दिनहरू सहजमय छन् । निरन्तर निरन्तर लेखिरहने छु ।” अहा, समयले कति आनन्दको ठाउँमा ल्याएको !!! शुभकामना र बधाई पनि !!!