किताबः नेक्स्ट क्वेस्चन प्लिज !

नेपालनाम्चाको नियमित स्तम्भ किताबमा हालसालै प्रकाशित कोष्ठकभित्र हाँसोमाथि रोशन थापा ‘नीरव’लाई दश प्रश्न ।

नयाँ किताब ‘कोष्ठकभित्र हाँसो’का लागि तपाईलाई बधाई । तर, के साँच्चै तपाईंको पुस्तक बधाई दिन लायक छ ?
सर्वप्रथम प्रश्नका लागि यहाँलाई धन्यवाद । जहाँसम्म तपाईंको प्रश्नको उत्तर छ, यसमा मैले यति मात्र भनिदिएँ भने, ‘तपाईंको बधाई प्रश्न के साँच्चीकै बधाई योग्य छ त ?’ तपाईंलाई कस्तो लाग्ला ? तर जे होस्, यसमा म सदाशयताका साथ यति मात्र भन्छु, ‘बधाई लिनेमा होइन, दिनेमा भर पर्ने कुरा हो ।’

किताबमा के छ र यो विशेष छ ? अर्थात किन पढ्ने यो किताब ?
विशेष, अशेष केही छैन । केवल कथाहरू छन्, जुन साढे तीन दशकका प्रतिबिम्ब लिएर सम्मिलित छन् । यदि तपाईंलाई कथा पढ्नु छ भने यो पुस्तक पढ्ने हो । होइन, यात्राको अनुभव लिने हो भने यस पुस्तकलाई बोक्नु व्यर्थ छ ।

यो किताब जन्मनुको कुनै परिवेश, कारण र अर्थ के हो ?
एउटा ट्राभलर गाइडले कुनै दर्शनीय वा पर्यटकीय क्षेत्रको वर्णन किन र कसका लागि गर्दछ ? उसले ट्राभलिङबारे बोल्नुको कारण र अर्थ के हो ? यस प्रश्नको सम्बन्ध जसलाई प्रत्यक्ष सरोकार राख्दछ, त्यसरी नै परिवेश, कारण र अर्थहरू प्रस्तुत पुस्तकका कथाहरूले बोकेर सङ्गृहीत भएका छन् । यस खाले उत्तरले चित्त नबुझे पुस्तकका कथा पढ्न आग्रह पनि गर्दछु ।

प्रारम्भिक प्रतिकृया के कस्ता आइरहेका छन् ?
पक्कै पनि निराशाजनक छैनन् ।

किताबको नाम कसरी रहन गयो ? नाममा के छ ?
कृपया ! यसै शीर्षकको कथा पढ्नुहुन सविनय अनुरोध गर्दछु, किनभने तपाईंको प्रश्नको उत्तर त्यसैमा निहित छ ।

यो किताबममर्फत तपाईं खासमा के भन्दै हुनुहुन्छ ?
सुन मानव ! तिम्रा वरिपरि- तिम्रो विगत र वर्तमानमाथि नियति र देशकाल–परिस्थितिले कसरी खेल खेलिरहेको छ । हेर, बुझ र सङ्घर्ष गर । यसका लागि नआउने भविष्यको स्वैरकल्पनामा उद्देश्यसहित हुन आवश्यक छैन । के उद्देश्यबिना मानव मानव हुन सक्दैन । पात्रहरूले बोलेका होइनन्, चरित्र क्रिया भोगेर देखाएका छन् ।

प्रकाशित भइसकेपछि के के छुटेछन् जस्तो लाग्यो ?
छुट्ने, पछुताउने एक प्रकारको लाछीपना हो । म यस्तो लाछी र ग्लानिमा पर्दिनँ, किनभने जति छुटे पनि अन्ततः पुनः भेटिने त कति हो कति स्थान बाँकी नै रहेको हुन्छ, होइन र ?

अब अर्को के कस्तो किताब लेख्दै हुनुहुन्छ ?
जब तयार हुन्छ र तयार भएर प्रकाशन हुनेछ, तब स्वतः थाहा लाग्छ । भनाइको अर्थ हो, मेरो आगामी लेखनको विज्ञापन गर्न नरुचाउने कममध्ये एक हुँ भनेर तपाईंका लागि पक्कै पनि अर्घेल्याइँ हुने छैन ।

पछिल्लो समय प्रकाशित तपाईंलाई मन परेका पाँच किताब सम्झनुस्न् ।
यो प्रश्न नेपाली छापामा देखा परेको अहिलेसम्मकै ग्यास्ट्रिकजन्य प्रश्न किन पनि भएको छ भने जुन पत्रिका हेरे पनि यो प्रश्न ‘सुप्रबल दक्षिण गोर्खाबाहु’जस्तो टाँगिएको पाइन्छ । मैले पढेको पुस्तक मेरा लागि मेरो अध्ययनसीमा हो, यसैले यसको प्रदर्शन गरेर आपूmलाई अनेक विभूषणाको मोलम्बा चढाउनु छैन । नेक्स्ट क्वेस्चन प्लिज !

ती पाँचमध्ये आफ्नो किताबलाई कहाँनेर पाउनु हुन्छ ? नढाँटी भन्नुस्न् ।
कहीँ पनि पाउँदिनँ । किनभने म जहाँ छु, त्यहीँ मेरो स्थान हो र ती पुस्तक जहाँका हुन्, त्यहीँका हुन् । अर्थात् संक्षेपमा भन्छु, म अध्ययन पनि गर्दछु र लेखन पनि गर्दछु । यसमा तुलना गरेर मैले कहिल्यै अध्ययन गर्ने गरेको छैन र न तुलना गरेर लेखन नै गरेको छु । मेरो व्यसनी भनेको पठन र लेखन समान हो । यसैले म पठन गर्दा पठनमा रहेको हुन्छु र लेखन गर्दा लेखनमै घोरिएको हुन्छु । यसबाट तपाईं आफ्नो प्रश्नशील दूरबीनबाट मेरो उभ्याइ कहाँनिर रहेछ भनेर हेर्न सक्नुहुन्छ ।

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button