किताबः ‘दास प्रथाको नयाँ रुप’ पढेपछि ‘झुर’ लेख्दिए हुन्छ

नेपालनाम्चाको नियमित स्तम्भ किताबमा दास प्रथाको नयाँ रुपमाथि दामोदर न्यौपानेलाई १० प्रश्न ।

‘दास प्रथाको नयाँ रुप’का लागि तपाईलाई बधाइ । तर, के साँच्चै तपाईंको पुस्तक बधाइ दिन लायक छ ?
बधाइ दिएर बधाइ दिन लायक छ ? रे । रमाइलो तर बलियो प्रश्नको लागि तपाईलाई धन्यवाद । बधाइ दिइ हाल्नु भयो, अब किताब पनि पढ्न आग्रह गर्छु । पढेपछि मन प-यो भने बधाइ दिएको सार्थक भयो भन्ठान्नुस् । मन परेन भने बेकार बधाइ दिएछु भनेर पछुतो मान्नुस् । कस्तो झुर किताब लेखेको भनेर लेख्दिए पनि हुन्छ पढेपछि । तर मलाई विश्वास छ–तपाईलाई झूर किताब लाख्ने छैन । बेकर बेकार पढेछु, समय मात्र खेर गयो जस्तो लाग्ने छैन । पढ्दा पढ्दै संवेनशील बनाउने छ । भावुक बनाउने छ । अशोकजी ! तपाई आफू पनि लेखक भएकाले विषयको गाम्भीर्यता बुझ्नु हुनेछ । संवेदनशील यो विषयले तपाईलाई छुने छ ।

यो किताबमा के छ र यो विशेष ? अर्थात् किन पढ्ने यो किताब ?
यो विषय नै विशेष हो । भाषा, शैलीमा कमेन्ट गर्न पाउनु हुन्छ । भाषा, शैली कमजोर भयो भन्न सक्नु हुन्छ । किनभने भाषा र शैली कहिले पनि पूर्ण हुने विषय नै होइनन् । तर विषय कमजोर होइन । यो किताब लगभग ८ वर्ष अनुसन्धान गरेर लेखेको हुँ । मान्छेको व्यवहारमाथि गरिएको अध्ययन हो यो । मान्छेले मान्छेमाथि गरिरहेको व्यवहारमाथिको अध्ययन हो । त्यस हिसाबले यो नेपाली परिवेशमा नयाँ अध्ययन पनि हो । यस पुस्तकमा बाहिर सभ्य देखिने तर भित्रचाहिं अमानवीय व्यवहार गर्ने मान्छेले सिर्जना गरेका दुष्परिणामका कहानी छन् । सभ्य देखिने मान्छेको हितका लागि काम गर्न बाध्य कलिला आधुनिक दासहरुको कहानी हो यो पुस्तक । सहरमा ठडिएका ठूला महल, मनोरन्जन केन्द्र, होटल रेष्टुरा, उद्योगधन्दा, यातायात, कलकारखाना, इटा भट्टाहरुमा आफ्ना सपना खोजिरहेका भोलिका कर्णाधार साना हातले गरेका अनेक संघर्ष र सपनाको कथा कथा हो यो पुस्तक ।

यो किताब जन्मनुको कुनै परिवेश, कारण र अर्थ के हो ?
किताब जन्मनुको परिवेश, कारण र अर्थ अलि लामै छ ।
देशभर घुमेर श्रमिक बालबालिकाको अवस्था र तिनलाई मालिकले गर्ने व्यवहार बुझेपछि मलाई अनुभूति भयो— दास प्रथा अझै रहेछ तर नयाँ रुपमा । हामी आफूलाई सभ्य ठान्छौं । सभ्यताले घर सुधार्नुपर्ने हो तर हाम्रा घर सभ्य रहेनछन् । देशभर घुमेर बालबालिकाको अवस्था बुझेपछि लाग्यो- एउटा मान्छेको विलासिताका लागि अर्को मान्छे दास बनिरहेछ ।
अग्ला भवन छन् । राजसी ठाँटमा रमाएको छ एउटा वर्ग । त्यही ठाउँमा अर्को गरिब झुपडी पनि छ । झुपडीमा बस्ने कङ्गाल छन् । कङ्गालीमा रोग छ, भोक छ, शोक छ, अभाव छ । रोग, भोक र शोकस“ग लडिरहेका कङ्गाल वर्गले आफ्ना लालाबाला पठाएका छन् त्यही समाजको अर्को राजभवनमा । राजभवनमा बसेर मालिकको सेवा गर्छन् बालबालिका- दोस्रो दर्जाको नागरिक भएर । दासदासी भएर ।
बालबालिका र तिनका अभिभावकको अवस्था बुझेपछि लाग्यो— गरिबी र दास जीवन नदी र छाल जस्तै हुन् । जस्तो नदी र छालको सम्बन्ध, उस्तै गरिबी र दास जीवनको ।
मान्छेको किनबेचसमेत हुने अमानवीय यो कुप्रथा राणा प्रधानमन्त्री चन्द्रशमशेरले उन्मूलनको घोषणा गरेका थिए— काठमाडौं टुडिखेलको खरी बोटबाट, १९८२ वैशाख १ गते । दास प्रथा उन्मूलन भएको ९४ वर्षपछि म समाजमा जकडिएर रहेको त्यही दास प्रथाबारे लेख्ने जमर्काे गरें- आधुनिक दास प्रथा अर्थात् ‘दास प्रथाको नयाँ रुप’ ।
अहिले मान्छेको किनबेच हुँदैन सिधै । मोलतोल पनि हुदैन । बरू बिनामूल्य श्रममा लगाएका छन्, खास गरी बालबालिकालाई । बालबालिकालाई काममा लगाउन सबै कानुनले निषेध गरेको छ तर निषेध गर्दागर्दै पनि श्रममा लगाइएका छन् । दास जीवन भोग्न बाध्य पारिएका छन् । पहिलाको भन्दा अझ चर्को दास प्रथा भएन यो ?
नेपाली समाज बिस्तारै शिक्षित हुँदै गयो । २००७ सालको राजनीतिक परिवर्तनपछि देशभरि स्कुल खुल्ने लहर चले । पढ्न, लेख्न विदेश जाने पनि उत्तिकै भए । समाज सुधारको ज्ञान लिएर फर्किए तिनीहरु । जोगवीरसिंह कंसाकार, मणिकमान तुलाधर, मानदास, चित्तधर, सिद्धिरत्नहरु समाज सुधारमा लागे । जातिभेद, रङ्गभेद, वर्गभेद अन्त्य गर्न अभियानै चलाए ।
दास प्रथा मात्र होइन, उत्तिकै चरम शोषण थिए हलिया प्रथा, कमैया प्रथा जस्ता समाजका कुरीतिको । हरूवा, चरूवा वृत्ति वा बेतनमा नियमित काम गर्ने सेवक, भृत्य, भरौटे, शुद्र, माझी जाति यस्तो प्रथाका अवशेष थिए । समाजमा पन्ध्र किसिमको दासत्व थियो- दास खलकमा जन्मिएका, किनिएका, दाइजोबाट मिलेका, अनिकालमा बँचाइएका, मालिकद्वारा धितो राखिएका, ऋण तिरी मुक्त गरिएका, आफैले दास स्विकारेका, प्रबज्यमा बसेका, सन्न्यासबाट भ्रष्ट भएका, सीमा बाधी सेवा स्विकारेका, खान–लाउन सेवा गरेका, घोडा सेवक वा सयस, आफै बेचिएका, युद्ध जिती दास बनाइएका अनेक रुप विद्यमान थिए । हुन त ती सबै प्रथा कानुनी रुपमा उन्मूलन भइसके तर समाजमा विद्यमान छन्, यो वा त्यो रुपमा ।
आफू मालिक भएर अन्य व्यक्तिलाई इच्छा विपरीत काम गर्न बाध्य बनाइन्छ भने त्यो पनि दासताको एउटा रुप हो । ‘ग्लोबल इन्डेक्स’ को अध्ययनअनुसार नेपालमा अझै २ लाख ७० हजार दास जीवन बिताइरहेका छन् । दासदासीका यी अनेक स्वरुपमध्ये बालबालिकामा केन्द्रित छ- दास प्रथाको नयाँ रुप । कुल बालबालिकाको ४७ प्रतिशत बालबालिका कुनै न कुनै किसिमको श्रमिक जीवन भोगिरहेका छन् ।
कमजोर तथा जोखिमपूर्ण अवस्थामा रहेका समुदायका सदस्यको अधिकार सुनिश्चित गरेका छन् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरुले । प्रकृति वा रुढिगत मान्यताले कमजोर बनेकालाई ‘जोखिमपूर्ण अवस्थाका व्यक्ति’ भनिएको छ । महिला, वृद्धवृद्धा, अशक्त व्यक्ति, बालबालिका आदि जोखिमपूर्ण स्थितिमा रहेको समुदायका सदस्य हुन् ।
समाजमा कमजोर ठानिएका यी वर्गको हितरक्षा र संरक्षणका लागि संयुक्त राष्ट्र सङ्घको अगुवाइमा सन्धिसम्झौता बनेका छन् । त्यसमध्ये एक हो बालबालिकाको अधिकार सुनिश्चित गर्न पारित ‘बालबालिकासम्बन्धी महासन्धि’ सन् १९८१ । महासन्धिको धारा २५ मा ‘आमा र शिशुलाई विशेष हेरचाह, सहायता पाउने अधिकार छ’ भनी उल्लेख गरिएको छ । त्यसअगि पारित मानव अधिकारको विश्वव्यापी घोषणापत्र (सन् १९४८) मा पनि बालबालिकाको अधिकार सुनिश्चित गरिएको छ । घोषणापत्रको यही सिद्धान्त अङ्गिकार गर्दै राष्ट्र सङ्घको महासभाले ‘डिक्लिरेसन अन द राइट अफ चाइल्ड’ (सन् १९५९) मा समावेश गरेको थियो ।
नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि सन् १९६६ को धारा ३३ र ३४, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिको धारा १० मा बालबालिकाको हेरचाहसम्बन्धी व्यवस्था गरिएको छ ।
नेपालको संविधान २०७२ ले बालबालिकाको हकलाई मौलिक हकमै राखेर संवैधानिकता दिएको छ । संविधान जारी भएको ३ वर्षभित्र नयाँ ऐन बनाउनुपर्ने संवैधानिक व्यवस्थाले गर्दा पुराना कानुन खारेज गरेर बने । यसरी बनेका नश्रम ऐन २०७४, बालबालिकासम्बन्धी ऐन २०७५ लगायतले बालश्रम निषेध गरेको छ ।
बालबालिकासम्बन्धी विभिन्न संस्थागत प्रयास पनि भएका थिए । २०५२ सालमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय स्थापना भयो । त्यही वर्ष केन्द्रमा बाल कल्याण समिति र ७५ जिल्लामै जिल्ला बाल कल्याण समिति गठन भए । राष्ट्रिय मानव अधिकार आयोगमा बाल अधिकार संरक्षण इकाइ स्थापना भयो । नेपाल प्रहरीको केन्द्रीय कार्यालय र यस मातहात कार्यालयमा महिला तथा बालबालिका सेवा केन्द्र स्थापना भयो ।
राष्ट्रिय योजना आयोगमा महिला तथा बालबालिका शाखा, श्रम मन्त्रालयमा बालश्रम शाखा स्थापना गरेर बालश्रम मुक्त गर्ने संस्थागत प्रयास भएका छन् । सबैका लागि शिक्षा, आपत्कालीन बाल उद्धार कोष, बाल सुधार गृह, १० देखि १९ वर्षसम्मका किशोरकिशोरीका लागि विकास कार्यक्रम सञ्चालन भएका थिए ।
सन् २०१० देखि २०१५ सम्म सबैका लागि शिक्षा कार्यक्रम सञ्चालन भए पनि यो नारामै सीमित भयो ।
राष्ट्रिय, सार्क क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा प्रयास हुँदा पनि बालबालिकाका समस्या समाधान भएका छैनन् । तथ्यहरुले झन् बढ्दै गएको देखाएका छन् । किन यस्तो भयो ? राष्ट्रिय–अन्तर्राष्ट्रिय पहल हुँदाहुँदै पनि हाम्रा बालबालिकाको अवस्थामा किन परिवर्तन भएन ? निकृष्ट प्रकारका बालश्रम किन घटेनन् ? यी र यस्तै जिज्ञासाको जबाफ खोज्दै जादा तयार भएको हो— ‘दास प्रथाको नयाँ रुप’ ।
यी व्यवस्था हुदाहुदै पनि बालश्रम घटेको छैन, झन् बढ्दो छ । बालश्रम बाल अधिकारको हनन् मात्र नभई सामाजिक अपराध हो । मानव सभ्यताको अभिसाप हो, सामाजिक कलङ्क हो । यही सामाजिक अपराध गरिरहेछन् आफूलाई सभ्य देखाउन रूचाउने नागरिक नै । मानव सभ्यतामै कलङ्कको दाग लगाइरहेछन् ।
बालश्रमले बालबालिकाको मौलिक हक हनन् मात्र गर्दैन, उनीहरुको भविष्यसमेत अन्धकारतिर धकेलिन्छ । श्रम शोषणले भोलिका कर्णधारको प्रतिभा कुण्ठित गरिरहेको छ । त्यस कारण बालश्रम अन्त्य गर्नु सरकारको जिम्मेवारी हो । सरकारको अभियानमा साथ दिनु सभ्य र आधुनिक समाजको कर्तव्य हो । मानव सभ्यताको विकास, विश्वव्यापी औद्योगीकरणसँगै बालश्रम पनि बढ्दै गयो । बिस्तारै विकसित देशमा हट्तै गए पनि विकासोन्मुख देशका लागि टाउको दुखाइ हुँदै गयो । हट्नुपर्नेमा झन् बढ्दै गएकाले यो विश्वकै मुद्दा बन्न पुगेको छ ।
बालश्रम संस्कारकै रुपमा जकडिएको छ नेपालमा । आमाबुबासँग छोराछोरीसँगै काम गर्ने सम्बन्धसग जोडिएको मानिन्छ बालश्रम । बालबालिकालाई आमाबुबाले नै हुर्काउने, त्यस क्रममा खेतबारीमा लैजाने । सक्ने भएपछि खेतबारीको काममा लगाउने । यस्तो घरायसी कामलाई श्रम मानिएकै छैन अझै ।
गाईवस्तु चराउन पठाउने, अनि ठुला भएपछि अरुको मेलापात पठाएर कमाइको माध्यम बनाउने । घरको कामबाट छिमेकको काममा, घर छाडेर अझ टाढा टाढा । अभिभावकको अपेक्षा बढ्दै जा“दा नेपाली समाजमा बालश्रम बढ्दै गयो । बिस्तारै यसले शोषणको रुप लियो । औपचारिक शिक्षा नपाएका, आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका श्रममा लाग्न बाध्य भए । भइरहे ।
अनेक कारणले श्रम गर्न बाध्य बालबालिकालाई रोजगार दाताको श्रम शोषणको सिकार हुनुपर्ने बाध्यता छ ।
पढाइमा विभेद, खाने कुरामा विभेद । कहीं जुठो खाना खानुपर्ने, कहीँ कहीँ त कुकुरलाई पकाएको खानेकुरासमेत खानुपर्ने । कोही ठाउँमा कुकुरलाई पकाउनेभन्दा कम गुणस्तरको चामल बाल श्रमिकलाई खुवाउने । आफूलाई धुन घिन लाग्ने अधोवस्त्रसमेत धुन बाध्य पार्ने । घर घरमा बाल श्रमिक राखेर, टोल टोलमा बाश्रमिक भएको टुलुटुलु हेरेर, तिनै बाल श्रमिकले बनाएका इँटाको आधुनिक घर बनाउने अनि आफू सभ्य हुँ भन्न कसरी सकिरहेछन् ? बालश्रम मुक्त गरेर सभ्य, आधुनिक समाज निर्माण गर्न किन बाधा पु-याइरहेछ आधुनिक र संस्कारयुक्त परिवार भन्न रूचाउने कथित शिक्षित र सहरिया वर्ग ? आपैm ‘बालश्रम राख्नु हुँदैन’ भन्ने अनि आफ्नै घरमा राखेर शोषण गर्ने ? देशभरका विभिन्न बालबालिकाको यस्तो अवस्था बुझेपछि मेरो मनमा बारम्बार प्रश्न उठिरह्यो- सभ्य देखिन चाहने मान्छे भित्रचाहिँ किन यति सडेका ? यिनै सडेका मान्छेले सिर्जना गरेका दुष्परिणाम अध्ययन गर्दै जा“दा किताब लेख्ने हुटहुटि सिर्जना गरिदियो ।

यो किताबको नाम कसरी रहन गयो ?
बालश्रमिकले गर्ने कामको प्रकृति हेर्दा दासको जस्तै छ । दास भनेका पराश्रित भई अर्काको काम गर्ने नोकर हो । कुनै कारणले किनिएको सेवक, कमारो, चाकर, पैसा वा ज्याला लिएर नित्य कामकाज गर्ने सेवक । मैले देशभर खोजेका पात्रले गर्ने कामका प्रकृति यो अर्थभित्रै पर्छन् ।
कोही बेला मान्छेको किनबेच हुन्थ्यो— गाईवस्तु जस्तै । त्यो अवस्था अहिले छैन तर किनबेचै नभए पनि परोक्ष रुपमा दास जीवन बिताउनेको सङ्ख्या कम छैन । पहिला दासदासी राख्नु कानुनी अधिकार थियो, अहिले गैरकानुनी मानिन्छ । पहिला दास राख्थे, कानुनी काम गर्थे । अहिले पनि दासदासी राख्छन्, गैरकानुनी काम गर्छन् । त्यही भएर यो दास प्रथाको नयाँ रुप हो । बालश्रमलाई संयुक्त राष्ट संघले पनि आधुनिक दासताको संज्ञा दिएको छ ।

प्रारम्भिक प्रतिक्रिया कस्तो आएका छन् ?
धेरैलाई नामले तानेको छ । विषय वस्तु के होला ? भन्ने चासो छ । पुस्तकको कभरले पनि धेरैले ध्यान खिचेको प्रतिक्रिया आएका छन् ।

यो किताब मार्फत तपाई के भन्दै हुनुहुन्छ ?
हामी मान्छे हौ, मान्छेतिरै फर्काै भन्ने मुख्य आह्वान हो । देशभरिका बालबालिकाको अवस्था बुझेपछि म निष्कर्षमा पुगेको छु—बाल श्रमिक प्रयोग गर्ने साहुजीमा मानवीयता मरेको छ । अथवा मानवीयता जन्मेकै रहेनछ । नत्र मानवीयता हुन्थ्यो भने घरमा बसेर आफूभन्दा बढी श्रम गर्ने बालबालिकामाथि अमानवीय व्यवहार हुने थिएन । मानवीयता हुन्थ्यो भने मान्छेले मान्छेलाई पशुवत् व्यवहार गर्ने थिएनन् । मानवीयता भएको भए घरमा पालेको कुकुरलाई भन्दा पनि तल्लो स्तरको व्यवहार गर्ने थिएनन् मान्छेलाई ।
घरभेटीमा मानवीय व्यवहार भएको भए घरमा बस्ने बालश्रमिकले मालिक मालिक्नी बिच शारीरीक सम्पर्क हुदा वीर्य लतपतिएको तन्दा धोइरहनुपर्ने थिएन । यस्तो ‘तल्लो स्तरको काम लगाए’ भनेर जिन्दगीभर ग्लानि गर्नुपर्ने थिएन । महिनावारी हुँदा रगतले कटकटिएको मालिक्नीका पेन्टी र पेटीकोट घोटीघोटी धुनुपर्ने थिएन । मानवता थियो भने कठ्याङ्ग्रिने चिसोमा हात चरचरी फुट्ता पनि त्यही हातले कपडा धुनुपर्ने बाध्यता सिर्जना हुने थिएन । चरचरी फुटेका हातले भा“डा मस्काउनुपर्ने थिएन । कलिला हातले मालिकका भित्री वस्त्रसमेत धुनुपर्ने थिएन ।
धर्म छाड्दै गएको, कानुन नमानेको अवस्थामा छ हाम्रो समाज यति बेला । जुन कर्म गर्नाले प्राणीको हित हुन्छ, त्यही धर्म हो भन्ने सामाजिक मान्यता हो । यसको अर्थ धर्मले मानवीय भाव जगाउँछ । मानिसको मात्र नभई सम्पूर्ण प्राणीकै हित हुने काम गर्नु नै धर्म हो । के गर्नु हुन्छ, के गर्नु हुँदैन भनेर आचरण सिकाएको हुन्छ धर्मले ।
धर्मसँग पाप पनि जोडिएर आउँछ । राम्रो काम गरे धर्म र नराम्रो काम गरे पाप लाग्छ भन्ने मान्यता छ धर्म मान्ने समुदायमा— परोपकार पुण्याय पापाय परपीडनम् । पापको डरले पनि मान्छे अमानवीय काममा सहभागी हुँदैनथ्यो समाजले धर्म नछाडेको समयमा । धर्म छाड्दै गएपछि अमानवीय कार्यमा पनि बढोत्तरी हुँदै आएको छ ।
धर्मको सही परिभाषा नै लोप भएको छ अहिले समाजमा । धर्मलाई हिन्दु, बौद्ध, मुस्लिम, जैन, क्रिस्चियन जस्ता अनेक सम्प्रदायको पर्यायवाची ठान्न थालियो । यथार्थमा सम्प्रदायसँग कुनै लेनदेन छैन धर्मको । साम्प्रदायिक सीमा हुँदैन धर्ममा । जाति, वर्गमा सीमित हुँदैन धर्म । धर्म सबैको कल्याणका लागि हो । धर्मको आचरणमा चल्न, शील पालना गर्न कुनै सम्प्रदायी हुनु जरूरी छैन । धर्मको आचरण भएन भने कुनै मत वा सम्प्रदाय हुँदैमा मुक्ति सम्भव छैन । धर्म सार्वजनिक हो, कुनै मत र सम्प्रदायको घेराभित्र बाधिएर रहन सक्तैन । धर्ममा सम्पूर्ण मानव जातिको कल्याण रहेको छ । कुनै मत, सम्प्रदायको मात्र हित हुने कुरा धर्म हुँदै होइन । धर्मले कसैलाई छुट्याउदैन ।
बौद्ध, जैन, सिख, इस्लाम, क्रिस्चियन जस्ता सम्प्रदायले पनि मानव कल्याण, अर्थात् मानवीय पक्षलाई नै जोड दिन्छन् ।
विराट् स्वरुप भएको धर्म बिस्तारै कर्मकाण्डी हुँदै गयो । धर्मको उद्देश्य मानवीय सेवा हो, प्राणीको रक्षा नै हो । यो पक्षलाई छायामा पारेर पूजा, पाठ, कर्मकाण्डलाई धर्म मान्ने जमात बढ्दै गयो तर प्राणीको हितका लागि काम गर्नुपर्छ, प्रकृतिको रक्षा गर्नुपर्छ जस्ता दर्शन कमजोर हुदै गए । त्यही भएर विश्व नै विनाशको दिशातिर बढ्यो ।
मान्छे जीवजन्तुमा श्रेष्ठ मानिन्छ । श्रेष्ठ मानिनुको कारण जीवजन्तुको भन्दा चेतनामा श्रेष्ठ भएरै हो । पशुमा आहार, निद्रा, भय र मैथुन जस्ता चार गुण हुन्छन् । पशुमा जे गुण छन्, ती गुण मान्छेमा पनि हुन्छन् । पशुमा भन्दा मान्छेमा एउटा गुण बढी हुन्छ— सेवाभाव । त्यो हो अरुको रक्षा गर्नुपर्छ भन्ने चेतना । यही चेतना भएकैले मान्छे अरु प्राणीभन्दा श्रेष्ठ भएको हो । मान्छे भएर गर्नु नहुने जे काम गर्छ, त्यो अमानवीय हो । जसले अमानवीय काम गर्छ, त्यो पशुले गर्ने काम हो । मान्छेले गर्नु नहुने काम जसले गर्छ, त्यो पशु हो ।
संस्कृतिभित्र धर्म, परम्परा र प्रथा हुन्छन् । त्यही प्रथामा आधारित भएर कानुन बन्छन् । कानुनको उद्देश्य पनि समाजमा शान्ति सुरक्षा कायम गराएर मानव कल्याण गर्नु हो । धर्म र कानुन दुवैले समाजमा के गर्नु हुन्छ के गर्नु हुदैन भनेर प्रस्ट सिद्धान्त प्रतिपादन गरेका हुन्छन् । समाजमा गर्नु हु“दैन भनेको काम कसैले गर्छ भने त्यसलाई दण्ड गर्नु कानुनको उद्देश्य हो । सामाजिक सम्बन्ध नियमित र नियन्त्रण गर्ने काम हो कानुनको । कानुन सार्वभौम आदेश हो, जसले कुनै पनि व्यक्तिलाई कुनै काम गर्न वा नगर्न बाध्य पार्छ । हरेक काम गर्न व्यवस्थित प्रणाली निर्माण गर्छ कानुनले । गतिशील समाजका आवश्यकता परिपूर्ति गर्ने गरी बन्दै आएका हुन्छन् कानुन । तर, कानुन ‘ठुलालाई चैन, सानालाई ऐन’ जस्तो भएको छ आज ।
संसारमा धर्मले मानवताको उपदेश दियो, मानव कल्याणकै शिक्षा दियो । मानवताकै लागि धर्मको परिकल्पना भएको देखिन्छ । तैपनि संसारमा अमानवीयताले जरो गाडेकै छ । बेधर्मीहरुको रजगज छ समाजमा । किन यस्तो भयो ? कारण अनेक होलान् तर मुख्य कारणचाहिँ हाम्रो शिक्षामै भएको खराबी हो । शिक्षाले ज्ञान दियो तर विवेक दिएन । ज्ञान मात्र दिने शिक्षाले अहं सिर्जना ग¥यो । अहं भएपछि मान्छेले मान्छेलाई मान्छे नै ठान्न छाड्यो । समस्या यहीँ छ ।
हाम्रो पढाइ नै व्यावहारिक भएन अहिलेसम्म । व्यवहार गर्न सिकाउने पढाइ छैन, मानवताको पाठ सिकाउने शिक्षा छैन । अनि कसरी उत्पन्न हुन्छ मानवीय भावना ? आपूmलाई शिक्षित मान्ने मान्छेले के पढ्यो ? विश्व प्रसिद्ध लेखक थोरोले भने जस्तै ‘पढ्नुपर्ने पुस्तक नपढेरै हो कि ?’ प्राचीन ग्रन्थ पढ्न सुझाएका थिए थोरोले । राम्रो पाठक भनिएकै मान्छेले सर्वोत्तम ग्रन्थ नपढेको थोरोको भनाइ छ । ‘हामी कुसंस्कृत, अशिक्षित र घटिया स्तरका हौं’, थोरोले वाल्डेनमा लेखेका छन्- ‘हामी साना मानिसका जाति हौं, बौद्धिक उडानमा हामी दैनिक समाचारपत्रको कोलमभन्दा माथि उठ्न सकेका छैनौं ।’
अनेक महाकाव्य लेखिए । त्यहाँ पनि मानवताकै कुरा उठाइए । महाकाव्यपछि दर्शनको सूत्र लेख्न थालियो । ती सूत्रले पनि मानवतामै जोड दिए । कपिल, बुद्ध, महावीर जस्ता चिन्तकले इसापूर्व ५०० वर्षअघि नै मानवतावादी चिन्तन अघिसारेका थिए ।
पूर्वीय दर्शनले मात्र होइन, पश्चिमा दर्शन र दार्शनिकले पनि मानवताकै वकालत गरेका छन् । पूर्वीय दर्शनको मान्यता छ— सबै देवता खुसी रहुन्, कोही नरिसाउन् । सबैबाट सहायता पाइयोस् । यही कूटनीति प्रयोग गरेर पुजिए देवता । यही हो हिन्दुहरुको व्यवहारवादी दर्शन । यसरी सभ्यताको उच्च शृङ्खला चढेर ‘सादा जीवन, उच्च विचार’ तिर ढल्किएका छन् त्यो बेलाका ऋषि, महर्षि ।
अनौठो लाग्छ मलाई मान्छेको स्वभाव । विज्ञान मान्नेले पनि धर्म मान्न भने छाडेको छैन— पूर्वीय होस् वा पाश्चात्य । पश्चिमाहरु झन् धर्म प्रचारमै लागेका छन् । बाइबल बाड्न हिँडेका छन् । पश्चिमी दर्शनकै प्रभावले विश्वभर फैलिएका क्रिस्चियन पादरी ‘होली वाइन’ खुवाउदै हिँडेका छन् । डार्बिनको विकासवाद मान्नेहरु पनि मन्दिरै धाएका छन् । कार्ल माक्र्सको भौतिकवाद मान्नेहरु पनि मन्दिरै गएको छ, मस्जिद गएको छ, चर्च अनि गुम्बा धाएको छ । ईश्वरमा विश्वास पनि गर्छ मान्छे अनि अन्ध विश्वासमा पनि विश्वास गर्छ । मान्छेको स्वभाव पनि अनौठै छ ।
सेवाका कुरा तिनै गर्छन्, मानवताको कुरा पनि तिनै गर्छन् । अनि घरमा अमानवीय व्यवहार पनि तिनै गर्छन् । बालबालिकालाई भगवान्का रुप मान्ने मान्छेहरु नै घरमा तिनै भगवान्लाई श्रममा घोटाएर राख्छन् । अनौठो छैन त मान्छेको बेहोरा ?
आफ्ना लागि सबै बाँचेका हुन्छन् । जीव, जन्तु, पक्षी सबै बाँचेकै छन् आफ्ना लागि । मान्छे त अरुका लागि पनि बाँच्नुपर्ने हो । मान्छे अरुका लागि पनि सोच्न सक्ने भएरै मान्छे भएको हो । मानवीयता नदेखाउने हो, अरुका लागि नसोच्ने हो भने मान्छे भएको के काम ?
मैले आफ्ना लागि अरुका घरमा दास जीवन बिताएकाहरुको दुख सुनें । सङ्घर्षका गाथा सुनें । बाबुको विवाहको ऋण तिर्न भट्टामा श्रम गरिरहेका सागरका कहानी सुनें । बाबुले छाडेर गएको ऋणबाट मुक्त हुन भट्टामा पाखुरा बजारिरहेका राम–लक्ष्मणका राम कहानी पनि सुनें । आफू बाल श्रमिक हुदै वृद्ध अवस्था पार गरेका र आफूपछिका छोरानातिलाई पनि बालश्रममै लगाउने तीनै पुस्ताका कथा पनि सुनें । हरेक कथा सुन्दा मनमा दुखको भाव सिर्जना हुन्छ ।
पुस्तकमा केही प्रेरणादायी पात्र छन् । । ती नायकले बाल श्रमिक जस्तो निकृष्ट बालश्रम विरूद्ध उठाएका आवाज, तिनले गरेका सङ्घर्ष प्रेरणादायी छन् । यस्ता कथाले मनमा सुखको भाव सिर्जना हुन्छ ।
साहुको घरमा दास जीवन बिताएर केही गरेका पात्र छन् । साहुको घर छाडेर एक श्रमिक जीवन त्यागे, नेपाली पत्रकारितामा होमिए । पवित्रा आपैm कहिले के कहिले के गरिरहेकी हुन्छिन् । प्रसन्नले पनि मालिकको घर त्यागे । आफै आत्मनिर्भर हुँदै छन् । सागरले भट्टा जीवन त्यागे । बेला बेला सामाजिक सञ्जालमा सम्पर्कमा आउँछन् । लोकल कुखुराको व्यापार थालेछन् । विवाह गरेछन्, छोराको पिता पनि भइसकेछन् । अब उनका छोराछोरीलाई भट्टामा पठाउने छैनन् । सिर्जनाले पनि घरजम गरिछन् । पारिवारिक जीवन राम्रो भएको सुनाउ“छिन् सामाजिक सञ्जालमा । मनोज सुनुवार १२ कक्षा उत्तीर्ण गरेर रेस्टुरेन्टमा जागिर खान थालेछन् । यस्ता कथा सुन्दा खुसीको भाव जाग्छ, प्रेरणा जाग्छ ।
सागरले भट्टाबाट मुक्ति पाए पनि भट्टामा थुप्रै सागरहरु आउने क्रम रोकिएको छैन । सिर्जनाले भट्टामा हुने यौन दुव्र्यवहारको त्रासबाट मुक्ति पाए पनि अरु थुप्रै सिर्जनाहरु यही त्रासमा छन् त्यही भट्टावरिपरि नै । मैंले छानेका केही पात्रले महिनावारीको रगत लतपत्तिएको पेन्टी धुन, जुठो भात खान अनि कुकुरलाई खुवाउनेभन्दा पनि तल्लो स्तरको खाना खानबाट मुक्ति पाए पनि अरु धेरैले फेरि यही नियति भोग्नुपरिरहेछ । यसले फेरि दुखकै भाव सिर्जना गरिदिन्छ ।
प्रेरणाका केही झिल्का समाजमा भए पनि बाहुल्य दुखदायी कथाकै छन् । समग्रमा दुखकै भाव सिर्जना गरिदिन्छन् तिनले । समाजले देखेका तर कसैले वास्ता नगरेका बालदासताका कथा खोज्न पैताला खियाए“ मैले । यी कथा खोज्नुको मुख्य उद्देश्य मान्छेमा संवेदनशीलता आओस् भन्ने हो । संवेदनशीलता आयो भने यस्ता अमानवीय कार्य गर्न मान्छेलाई निरूत्साहित गर्छ भन्ने मेरो विश्वास छ ।
मान्छेमा संवेदनशीलता र भावुकता सिर्जना हुनुपर्छ । भावुकताले मान्छेमा दयाभाव उत्पन्न गराउँछ, करूणाभाव जगाइदिन्छ । वास्तविकता बोध भएपछि मान्छेमा भावुकता सिर्जना हुन सक्छ । सन् १९१० को नोबेल पुरस्कार विजेता जर्मन साहित्यकार पाउल हिसेले भनेका छन्— भावुकताले मान्छेको उच्चताग्रन्थिलाई बल पु-याउँछ । यसले अगाडि बढ्न प्रेरणा दिन्छ । वास्तविकताले मान्छेलाई यथार्थ जीवन जिउन सिकाउ“छ ।
भावनामा आउने परिवर्तनले हाम्रो चिन्तन प्रणालीमा पनि परिवर्तन ल्याउन सक्छ । हाम्रो मानसिकतामा परिवर्तन ल्याउन सक्छ । वस्तु र घटनालाई हेर्ने नयाँ दृष्टिकोण सिर्जना हुन सक्छ । यसरी मानिसमा ‘इमोसनल इन्टेलिजेन्स’ जन्मन्छ । ‘इमोसनल इन्टेलिजेन्स‘ को जन्म नभएको भए मोहनदास भारतका प्रसिद्ध नेता महात्मा गान्धी हुने थिएनन् । अब्राहम लिङ्कन अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति हुने थिएनन् । अफ्रिकाका नेल्सन मण्डेला विश्वप्रसिद्ध नेता हुने थिएनन् ।
गम्भीरता, भावनात्मक संवेदशीलता, सिर्जनशीलता, संवेदना, दया, करूणा, समभाव जस्ता भावनात्मक पक्ष उत्तिकै आवश्यक हुन्छ एउटा मान्छे सफल मानव हुनका निम्ति ।
वास्तवमा म केही मान्छे देखेर छक्क पर्छु । सुखको खोजी गर्दै सहरिया नवधनाढ्य मन्दिर जान्छ । मन्दिर बनाउँछ, पूजापाठ गर्छ । यस्तो प्रवृत्ति बढेको देख्छु समाजमा । मन्दिर धाएका छौं, पूजा गरेका छौं तर भगवान्तिर फर्किएर कामचाहिँ अमानवीय गरेका छौं । अरुलाई पवित्रताको प्रवचन दिएर आफूचाहिँ भित्रभित्रै सडेका छौं । अरुलाई मानवताको पाठ सिकाएर आफूचाहिँ अमानवीय गतिविधिमा संलग्न भएका छौं । समस्या यहीँनेर छ ।
हामीले भगवान्लाई भन्दा बढी मान्छेलाई हे-यौं भने मान्छेकै कारण मान्छेले दुख भोग्नुपर्ने थिएन । मान्छेकै कारण कोही दीनदुखी हुनुपर्ने थिएन । मान्छेले मान्छेलाई दास बनाउने थिएन । हामी मान्छे हौं, मानवीय व्यवहार गरौं । घरमा राखिएका साना नानीबाबुलाई मानवीय व्यवहार गरेर मानवतावादी बन्ने बाटोतर्फ अग्रसर होऔं भन्ने पुस्तकको सन्देश हो । दासता मुक्त समाज निर्माण गरौं सबै मिलेर भन्ने आग्रह हो । अनेक अनेक दृष्टान्त दिएर मान्छेलाई मान्छे बन्न आह्वान गरिएको छ पुस्तकमा ।

यो पुस्तकमा के के छुटे जस्तो लाग्यो ?
पुस्तक बालश्रमिक केन्द्रमा राखिएको माथि उल्लेख भइहाल्यो । विश्वमा १९ प्रकारका बालश्रम छन् । नेपालमा १७ प्रकारका छन् । यी सबै प्रकारका बालश्रम समेटिएको छ । श्रमिकका लागि के के भए ? के के हुन बाँकी छन् ? के भयो भने बालदासतामुक्त समाज बनाउन सकिन्छ भन्ने विषय वस्तु उठाइएको छ । यस अर्थमा बालश्रमिक मुद्धामा केही नछुटाइ यो पुस्तक आएको छ । प्रशस्त सूचना र मानवीय कथा व्यथा समेटिएकाले बालश्रमिकका पक्षमा आवाज उठाउन व्यवहारिक पुस्तक हो यो ।

अब अर्काे कस्तो किताब लेख्दै हुनुहुन्छ ?
बजारमा आफूलाई चाहिने पुस्तक खोज्छु । खोजेका किताब पाइएन भने यस्तो किताब चाहिने रहेछ भनेर लेख्ने सोच बनाइहाल्छु । बालबालिकाका विषयमा उपन्यास, कथा त अनेक लेखिएका छन् तर तिनीहरुको मनोविज्ञान अध्ययन गरेर लेखिएका गैरआख्यान कम छन् । छँदै छैनन् भन्दा पनि हुन्छ । त्यही भएर मेरो लेखन नै बालबालिका भएको छ । बजारमा प्यारेन्टिङ सिकाउने नेपाली परिवेश अध्ययन गरेर लेखिएका किताब छैनन् । यही खाँचो पूरा गर्न स्कुल बेच्ने बालक लेखे । स्कुल बेच्ने बालक प्रारम्भिक बाल्यअवस्थाका बालबालिकालाई कसरी लालनपालन गर्ने ? यसमा केन्द्रित छ । अब उत्तरबाल्य अवस्थामा लालनपालन गर्न सिकाउने व्यवहारिक पुस्तक बजारले पाउने छ ।

९ पछिल्लो समय प्रकाशित तपाईलाई मन परेका पाँच पुस्तक सम्झनुस् ।
कोरोनाको विश्वव्यापी महामारीका कारण यो वर्ष धेरै पुस्तक छापिएनन् । गत वर्ष समेतलाई पछिल्लो समय छापिएका पुस्तक समेतको नाम लिँदा मोहन वैद्यको ‘हिमाली दर्शन’, दधि सापकोटको ‘वनको वैभव’, डा तीर्थ श्रेष्ठको ‘नेपाल : नखुलेका पाटाहरु’, तीर्थ श्रेष्ठकै ‘नेपाल अध्ययन भाग–२ (वन, वनस्पती र प्राणी)’, डा. मतिप्रसाद ढकालको ‘महाभारतमा के छ ?’ ।

१० ती ५ मध्ये आफ्नो किताबलाई कहाँनेर पाउनु हुन्छ ? नढाँटी भन्नुस् ।
म आफूलाई अरुसँग कहिल्यै तुलना गर्दिन“ । म अरुसँग प्रतिष्पर्धा पनि गर्दिनँ । आफूसँगै हुन्छ मेरो प्रतिष्पर्धा । म किताब लेख्दा मेरा अघिल्ला पुस्तकको इज्जत यो पुस्तकले जोगाउ“छ कि जोगाउँदैन भनेर सयौं पटक सोच्छु । चिन्तन मनन गर्छु । मेरो सिर्जना मेरै हुन् । अरुको सिर्जना अरुकै हुन् । जसरी मेरो तुलना अरुसँग गर्दिनँ, त्यसै गरी मेरो कृतिका पनि अरुसंग तुलना गर्दिन । म निरन्तर काममा विश्वास गर्छु । परिश्रममा विश्वास गर्छु । परिश्रमको फल मिठो हुन्छ भन्नेमा विश्वास गर्छु । त्यही भएर आफ्नो बुद्धि, विवेकले भ्याएसम्म मेहनत गर्छु ।
यति हुँदाहुँदै पनि तुलना गर्नु पर्ने अवस्था त आउला फेरि । तुलना गर्ने मापदण्ड पनि होलान् । तुलना गर्ने जिम्मा अरुको । मापदण्ड बनाउने जिम्मा पनि अरुको । अरुले मलाई कुन ठाउँमा राख्नु हुन्छ, म त्यसलाई भने स्विकार गर्छु ।
सबै लेखेकको पुस्तक लेख्नुका आफ्नै कारण हुन्छन् । लेखकीय दृष्टिकोण हुन्छन् । मेरो पनि लेख्नुका कारण छन् । दृष्टिकोण छन् । मेरो दृष्टिकोणसँग सबै पाठक सहमत हुनुहुन्छ भन्ने छैन । त्यही भएर पाठकलाई सबैका पुस्तक मन पर्छन् भन्ने छैन । पुस्तक मन पर्नु र नपर्नुको पनि कारण हुन्छन् । बजारमा आएका सबै पुस्तक मेरा रोजाइमा पर्दैनन् । किनभने समयको कारणले किताब रोजेर पढ्नु पर्ने बाध्यता हुन्छ । म यसो गर्छु भने अरुले पनि गर्ने त्यही होला । म मैले काम गरिरहेको क्षेत्रसँग सम्बन्धित पुस्तक बढी पढ्छु । आख्यान भन्दा गैर आख्यान मेरा रुचीका पुस्तक हुन् । किनभने गैरआख्यानले मलाई काम लाग्ने सूचना दिन्छन् । सूचना ज्ञानको स्रोत हुन् । ज्ञान प्राप्तीको लागि म गैरआख्यान पढ्छु । भाषा कस्तो रहेछ, शैली कस्तो रहेछ भनेर थाहा पाउन आख्यान पनि पढ्छु । मेरो काम गर्ने क्षेत्र सम्पदा र बालबालिका नै हुन् । यस अर्थमा यी विषयमा लेखिएका पुस्तक मेरा रुचीका पुस्तक हुन् । यही वर्ष छापिएको हुनु पर्छ भन्ने छैन । म पचास वर्ष अघि छापिएका पुस्तक पनि खोजी खोजी पढ्छु । मैंले नाम लिएका पुस्तक र मेरो विषय नै फरक हो । विधा नै फरक हो । विषय र विधा नमिलेपछि तुलना हुँदै हुँदैन । फेरि मैंले समिक्षा गर्ने हिसाबले अरुको किताब पढेको हुन्न । आफूलाई चाहिने सन्दर्भ सामग्रीको रुपमा पढेको हुन्छु । मेरो किताबको आफैं समिक्षा गर्ने कुरा पनि भएन । समिक्षा गर्ने जिम्मा पाठकको । समिक्षकको ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button