किताबः नाममा लगभग सबै कुरा छ
'प्रवास' वाह्यमात्र होइन, आन्तरिक 'प्रवास'को पनि कथा हो ।
किताबी स्तम्भ ‘किताब’का लागि १० प्रश्नमा केही महिनाअघि प्रकाशित प्रवासमाथि सुमित शर्मा समीर ।
नयाँ किताब ‘प्रवास’का लागि तपाईलाई बधाई । तर, के साँच्चै तपाईंको पुस्तक बधाई दिन लायक छ ?
कसैले गरेको कामको निम्ति ‘बधाई’ भन्न किन कन्जुसी गर्नु अशोक सर । जहाँसम्म पुस्तकको अन्तर्वस्तुको कुरा छ, त्यो त तपाईंले पाठक र रिभ्युअरहरुलाई सोध्नुपर्छ होला । मैले सकेको राम्रो लेख्ने प्रयास गरेको छु ।
यो किताबमा के छ र के यो विशेष छ ? किन पढ्ने यो किताब ?
किताब सहज छ । पढ्नलाई सजिलो छ । सामान्य मानिसको सुखदुखको कथा छ । पाठकले पात्रहरुमा आफैलाई ‘भेटाएको’ कुरा मलाई धेरैले आफ्नो फिडब्याकमा भन्नुभयो । वर्तमान समयको कथा हो । प्रवासीहरुको कथा हो । उनीहरुका संघर्ष र सम्बन्धहरुको बारेको कथा हो । र सबैभन्दा महत्वपूर्ण वर्तमान विश्वब्यापी व्यवस्थामा एउटा सामान्य मानिस कहाँ अवस्थित छ भन्ने खोज पनि हो । त्यसैले धेरैलाई आफ्नै कथाजस्तो लाग्नसक्छ ।
यो किताबको जन्मनुको कुनै परिवेश, कारण र अर्थ के हो ?
जीवनमा मानिसले ‘जेसुकै प्राप्तिको’ निम्ति जुन संघर्ष गर्छ, त्यो गर्ने प्रकृयामा कुनै पनि मानिस अनेकौं चिरामा विभाजित हुन्छ । त्यो विभाजन मानसिक हुन्छ । बैचारिक हुन्छ । सामाजिक हुन्छ । साँस्कृतिक हुन्छ । राजनीतिक र मनोबैज्ञानिक हुन्छ । यो उपन्यासले ‘सग्लो’ मानिसलाई खोज्ने प्रयास गरेको छ ।
प्रारम्भिक प्रतिकृयाहरु के कस्ता आइरहेका छन् ?
राम्रो छ । अधिकाँशले पठनीयता यसको ठुलो गुण भन्नुभएको छ । केहिले यसमा भएका केहि त्रुटी देखाउनु भएको छ । मैले केहि सच्चयाईसकेको छु । केहि सच्चयाउन इन्कार गरेको छु । तर जेहोस् अधिकाँशले पोजिटिभ फिडब्याक दिनुभएको छ ।
किताबको नाम कसरी रहन गयो ? नाममा के छ ?
नाममा लगभग सबै कुरा छ । यो मानिसको वाह्य जीवनमात्रको ‘प्रवासको’ कथा होइन । आन्तरिक ‘प्रवासको’ पनि कथा हो । एक प्रसँगमा प्रमुख पात्र अलीले भन्छन्, ‘साठी वर्षको जीवन बाँचिसकेपछि मात्र म मेरो पुनर्जीवित जीवन बाँच्न थालेको थिएँ । अन्तमा, म आफ्नो घरमा पुगेको थिएँ । स्वयम्मा । भयावह खालीपनमा । अन्ततः मेरो प्रवास टुँगिएको थियो ।’ यसबाट तपाईंले उपन्यासको नामको अर्थ सहजै लगाउनसक्नुहुन्छ ।
यो किताबममर्फत तपाईं खासमा के भन्दै हुनुहुन्छ ?
म आफैले केहि भनेको छैन । तर, यसको प्रमुख पात्रले सामान्य जीवन बाँच्दै अथवा भनौं हामी दैनिकी जीवनमा जसरी बाँच्छौँ, त्यो बाँच्दै स्वयम्को खोजी पनि गर्दैछ । यसका सहायक पात्रहरु पनि त्यही गर्दैछन् । सबैका आ-आफ्नै कथाभित्र अनेकौं पत्र र पात्रका कथाहरु छन् ।
प्रकाशित भइसकेपछि यो किताबमा के के छुटेछन् जस्तो लाग्यो ?
केहि प्रिन्टिङ गल्तीहरू छन् । आगामी दिनमा ती सच्चिएर आउनेछन् ।
अब अर्को के कस्तो किताब लेख्दै हुनुहुन्छ ?
बुवाले ०२९ सालमा नेपाली काँग्रेसको सदस्यता शहीद स्वर्गीय सरोजप्रसाद कोइरालाको हातबाट लिनुभयो, भारतको मधुबन्नीमा । पटकपटक गरेर ६ बर्ष जेल पर्नुभयो । उहाँसँग ती संघर्षका धेरै कथाहरु छन् । नयाँ बर्षमा उहाँसँग समय बिताउन आएको छु, गाउँमा । र, हाललाई उहाँको कथा रेकर्ड गर्दैछु । यसलाई कुनै न कुनै रुपमा प्रस्तुत गर्नेछु । कहिले चैं यकीन छैन ।
पछिल्लो समय प्रकाशित तपाईंलाई मन परेका पाँच किताब सम्झनुस्न् ।
म सबैखाले किताब पढ्छु । केहि नयाँ पुराना सम्झनुपर्दा:
जारेड डायमंडका लगभग सबै- ‘गन्स, जर्म्स अयाँण्ड स्टील/ कोल्लाप्स’
अयान्ड्रुकिनको- ‘हाऊ टु फिक्स द फ्युचर’
जगदीश घिमिरेका सबै- विशेषगरी ‘अन्तर्मनको यात्रा’
कार्न्सलर्डको ‘द मोडर्न प्रिन्स’
राजकमलको ‘बाँसुरीवाली’
यी पाँचमध्ये आफ्नो किताबलाई कहाँनेर पाउनु हुन्छ ? नढाँटी भन्नुस्न् ।
उहाँहरु भनेको धेरै उम्दा लेखकहरू हो । आ-आफ्नै विधाका महाज्ञानीहरू । म भनेको भर्खर ‘क, ख, ग’ प्रारम्भ गर्दै गरेको विद्यार्थी ।