क्यामेरा म्यान
कति धेरै अविश्वासहरूबीच चलिरहेको हुन्छ यो लोग्ने-स्वास्नीको सम्बन्ध पनि ।
कथा
बबिता बस्नेत
‘अहिले म यति राति घर आएर तपाईंजस्तै टोलाएर बसेकी भए, तपाईं के भन्नुहुन्थ्यो ? के अर्थ लगाउनुहुन्थ्यो ?’, चकमन्न रातको मौनतालाई चिर्दै श्रीमतीले प्रश्न गरेपछि झसङ्ग भयो ऊ ।
‘केही होइन, भोलि बिहान चाँडै हिँड्नु छ, कार्यक्रमस्थलको ‘लोकेसन’को बारेमा सोचिरहेको छु’, प्रश्नको जवाफ होइन उसले आफू मौन रहनुको कारण बतायो ।
ऊ टेलिभिजनको क्यामेरामेन जो करिब दुई दशकदेखि टेलिभिजन च्यानलको समाचारकक्षमा काम गरिरहेको छ । समाचारको क्षेत्र नै त्यस्तो छ, जहाँ कतिबेला कहाँ पुग्नुपर्छ कुनै टुङ्गो हुँदैन । कहिले एकाबिहानै सुरु हुने नेताहरूका ‘बे्रकफास्ट मिटिङ’ भ्याउनुपर्छ त कहिले राज्यस्तरीय बैठकहरू । शिलान्यासदेखि उद्घाटनसम्म, जुलुस, धर्ना, अन्तक्र्रिया, प्रदर्शन हुँदै अस्पतालदेखि आर्यघाटसम्म जानु नपर्ने भन्ने ठाउँ काहीँ छैन ।
सरकारी टेलिभिजनमा कार्यरत भएकोले प्रायः मन्त्रीहरूका कार्यक्रमले पिछा छोड्दैन । त्यसमा पनि त्यतिबेला त समय नै त्यस्तो थियो, मुलुक शान्ति प्रक्रियाको चरणमा प्रवेश गरेपछि विभिन्न सम्झौताहरूको क्रममा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको थियो । बिहानदेखि सुरु भएको बैठक राति १० बजेसम्म लम्बिएकोले ऊ घर आइपुग्दा त्यस्तै साढे एघार बजेको हुँदो हो ।
श्रीमती धेरैबेरसम्म खाना कुरेर केही नलागेपछि सुतिसकेकी थिई, छोराछोरीलाई उसले राम्ररी नदेखेको धेरै दिन भइसकेको थियो । बिहान ऊ हिँड्दा तिनीहरू उठेकै हुँदैनथे, राति फर्कंदा सुतिसकेका हुन्थे । सधैं त्यस्तो हुने भन्ने होइन, तर यसपटक भने केही दिनदेखि त्यो क्रम चलिरहेको थियो । दिनभरि बैठककक्ष बाहिर उभिँदा, कुनै नेता बाहिरँदा र भित्र पस्दा दृश्यहरू लिनलाई यता र उता गर्दा त्यसदिन ऊ कति थाकेको थियो भन्ने वर्णन नै गर्न सक्दैन ।
बालुवाटारको एउटा सानो पसलमा एक प्लेट चना र च्यूराको भरमा दिन काटेको उसको रातिसम्ममा भोक पनि टरिसकेको थियो । तर पनि घर पुगेर अलिकति चिसो भात खायो । श्रीमती समझदार भएकीले थप मानसिक तनाव झेल्नुपरेन । मिडियामा काम गर्नेहरूका लागि समझदार श्रीमती या श्रीमान् पाउनु भनेको पूर्वजन्मको असल कामकै प्रतिफल झैं हुन्छ । ऊ स्कुलमा पढाउँछे, घरबाट निस्कने र फर्कने उसको समय निश्चित् छ ।
काममा रहँदा उसलाई कतिबेला अफिस पुगेर क्यामेरा थन्क्याउँदै न्युज रूममा क्यासेट जिम्मा लगाई घर पुगेर ओछ्यानमा पल्टिऊँ झैं भएको थियो । तर, धेरै थाकेपछि निद्रा पनि आउँदोरहेनछ । निद्रा नआएपछि मनमा कुरा खेल्ने नै भयो । भोलि पनि जुरुक्क उठेर हिँड्नु छ, मन्त्रीज्यूको कार्यक्रम रे स्वयम्भू छेउमा, कहाँनिरबाट छिर्ने हो…. गाडी त पक्कै जान्छ होला… यस्तै कुरा सोचिरहेको बेला श्रीमतीले प्रश्न गरेकी थिई ।
प्रश्न फालेर निदाइसकेकी श्रीमतीलाई हेर्दै उसले सोच्यो– साँच्ची, कसको मनमा के कुरा खेलिरहेको छ भन्ने थाहा हुने भए के हुन्थ्यो होला ? मानिसहरूबीचको व्यक्तिगत सम्बन्धलाई कति फरक पाथ्र्यो होला ? यो सोचाइ निष्कर्षमा पुग्नै नपाई उसले दिउँसो अकस्मात् भेटिएकी स्कुलकी साथीलाई सम्झियो– ‘ऊ ट्राफिकको डे«समा थिई, मैले त चिन्नै सकिनँ, डे«स लगाएपछि सबै ट्राफिक उस्तै लाग्छन् । त्यसमा पनि महिला ट्राफिकको अनुहार के हेरिन्छ र ? पुतलीसडकमा हिँड्दै गर्दा उसले नै बोलाएकी थिई– अशोक… ? ट्राफिक प्रहरीले एक्कासि नाम लिएर बोलाउँदा मैले त हतारहतार पकेटमा लाइसेन्स छामेको थिएँ, हत्तेरी ! हाम्रो मानसिकता पनि कस्तो ! मोटरसाइकल चलाउने क्रममा चेकिङका बेला मात्रै ट्राफिक प्रहरीसँग मेरो जम्काभेट हुने गरेको थियो । त्यसैले त्यस्तो हुनु स्वाभाविक थियो । शर्मिला (ट्राफिक प्रहरी) र म राधिका मावि उर्लाबारीमा सँगै पढेका थियौं । स्कुल सकिएपछि हाम्रो भेट नै भएको थिएन । सोधी कहाँ छौ, के गर्दैछौ ? मसँगै टेलिभिजन छिरेका कतिपय पत्रकार र कार्यक्रम निर्माताहरू सडकमा जसले देखे पनि चिनिने भइसकेका थिए, तर उनीहरूको कामलाई पछाडिबाट सघाउने म परिचयविहीन थिएँ, वर्षौंदेखि धेरैको पहिचान बनाउँदै आएको मेरो परिचय आफ्नै क्यामेरामा अदृश्य रूपले कैद भइसकेको थियो । तर पनि भनें– ‘म टेलिभिजनमा काम गर्छु ।’
त्यसपछि केही समय उसले शर्मिलालाई सोचेर बितायो, श्रीमतीले अघिल्लो दिन भनेको सम्झियो, महिनावारी हुन लागेकोले असाध्यै जीउ दुखेको छ, दुवै ‘बे्रस्ट’ दुखेर असाध्यै पीडा भएको छ, प्रत्येक महिना महिनावारी हुँदाको यस्तै पीडा उसले श्रीमतीबाट सुन्दै आएको छ । उसले सोच्यो– ओहो ! यदि सबै स्वास्नीमान्छेलाई उस्तै हुने हो भने शर्मिलालाई झन् कति गाह्रो हुँदो हो, ऊ त दिनभरि सडकमा उभिएर काम गर्छे, शरीरबाट रगत बग्नु भनेको सानो कुरा हो र ? सडकमा उभिने अरू सबै पुरुष ट्राफिकहरू छन्, यस्तो भयो भन्न पनि मिलेन । अझ सडकमा यता र उता गर्दा उसको जीउ कति दुख्दो हो ।
शर्मिलासँगको भेटले आज उसलाई अनायसै विगतमा धकेलिदिएको छ, साँच्ची अहिले मिठु कहाँ होली… के गर्दै होली… भेट भयो भने हामी के कुरा गथ्र्यौं होला… नौ कक्षाको शैक्षिक भ्रमणमा जाँदा स्कुलमै नजानिँदो पे्रम भएको थियो उसको मिठुसँग, तर त्यो पे्रम हुर्किन भने पाएन । धेरैपछिसम्म श्रीमतीको छवि अगाडि आउँदा मिठुकै मुहार सम्झिन्थ्यो ऊ । पहिलोपटक मिठुको हात समाउँदा उत्पन्न कम्पनसहितको तातोपन अहिले पनि उसले बिर्सन सकेको छैन । त्यस्तै भयो, ऊ थप अध्ययनका लागि काठमाडौं आयो, दुई वर्षपछि गाउँ जाँदा मिठुको विवाह भइसकेको थियो झापाको सुरुङ्गामा । ‘ऊ पनि आमा बनिहोली… के उसले मलाई सम्झिरहेकी होली… ? अब त कपाल पनि अलिअलि फुले होलान्… सलक्क परेका उसका ती हातका औंलाहरू… ठूला आँखा, हँसिलो तर गम्भीर प्रकृतिको अनुहार…. कस्ती देखिएकी होली…’ शर्मिला र मिठु एकदमै मिल्ने साथी भएकाले उसलाई शर्मिलाको भेटले करिब २२ वर्षअगाडि पु¥याइदिएको थियो ।
मिठुलाई पुनः नदेखुञ्जेल पहिलेकै रूपमा उसको कल्पनामा आइरहनेछे ऊ । विगतको एउटा मीठो र अधुरो स्मृति…. । कहिलेकाहीँ उसलाई जीवन खाली–खालीझैं लाग्छ… श्रीमतीसँग उसको नराम्रो छैन तर राम्रो सम्बन्ध हुनुको अर्थ जीवन पूर्ण भएको अनुभव हुनु भने होइन रहेछ । ऊ आफ्नो विगतले अरूलाई दुःख पु-याओस् भन्ने चाहँदैन, त्यसैले श्रीमतीलाई मिठुको बारेमा कहिल्यै बताएन । के थाहा !?श्रीमतीले पनि उसलाई दुःख दिन नचाहेका अनेक घटनाक्रमहरू हुन सक्छन् । विश्वास टुट्न सक्ने सम्भावनामा कति धेरै अविश्वासहरूबीच चलिरहेको हुन्छ यो लोग्ने–स्वास्नीको सम्बन्ध पनि ।
शर्मिला दिमागबाट पूरा हट्नै नपाई ऊ पुग्यो आफ्नै कार्यालय । सम्झियो– उसकै आँखाअगाडि कति मन्त्री फेरिए, मन्त्री नै पिच्छे जीएम र अध्यक्ष फेरिए, थरीथरीका बोर्ड सदस्यहरू आए । तिनको शान, फूर्ति कतिपय त त्यहीँ जिन्दगी बिताउन आएझैं गर्थे, तर खै अहिले तिनीहरू कहाँ छन् कुनै अत्तोपत्तो छैन । पर्दामा देखिने कति कार्यक्रम निर्माता, रिपोर्टर र समाचारवाचकहरूको आफ्नै नाम, पहिचान भयो, तर पर्दापछाडिबाट असाध्यै महत्वपूर्ण योगदान गर्ने उसको प्रमोशन हुन पनि कति गाह्रो छ । सँगै छिरेका पर्दामा देखिने कतिपय व्यक्तिहरू भनसुनकै कारण आफूभन्दा निकै माथिल्लो तहमा पुगिसके, ऊ भने जहाँको त्यहीँ छ । यसबीचमा जम्मा दुईपटक विदेश गएको छ, एकपटक राजाको औपचारिक भ्रमणमा चीन र अर्कोपटक प्रधानमन्त्रीको भ्रमणमा भारत । विदेश जाँदा झन् कहाँ सुख पाइन्छ र ? सातो जाला जस्तै गरी दौडधुप गर्नुपर्छ, दृश्यहरू खिच्न र समाचार पठाउनकै चटारो, समारोह स्थलहरूबाहेक घुम्न, देख्न केही पाइएको होइन । उपलब्धिका नाममा क्यामेरापर्सन फलानोका साथ म… भनेर रिपोर्टरले बोलिदिँदा नाम आउने हो, आफ्ना परिवारका सदस्य र निकटवर्तीहरूबाहेक कसले सम्झिने हुन् र त्यो नाम ! अझ पहिला–पहिला त क्यामेराम्यान भन्ने चलन थियो, हिजोआज महिलाहरूले पनि क्यामेरा चलाउन थालेकाले क्यामेरापर्सन भन्न थालिएको छ । आज उसलाई लागिरहेको छ– क्यामेरा पत्रकार भनेको भए के हुन्थ्यो र ? हाम्रो दुःख त अन्य पत्रकारको भन्दा कम छैन, बरु बढी नै छ । अब त यो विषयमा कुरा उठाउनुपर्ला जस्तो छ, क्यामेरापर्सन किन भन्नुप¥यो, दृश्य पत्रकार भने पनि त हुन्छ नि । श्रव्य–दृश्य मिडियामा काम गरेर पनि अदृश्य जीवन बाँच्नुपर्दा आज उसलाई पहिलोपल्ट दिक्दार लागेको छ । उसले खिचेका दृश्यहरूले कतिलाई न्याय ग¥यो कतिलाई गरेन ऊ भन्न सक्दैन । जति मानिसहरू उसको क्यामेराअगाडि आए तिनले आफूले जीवनमा धेरै नै गरिरहेको बताए, कतिले त संसार आफूले नै धानिरहेको छु झैं पनि गरे । तर ऊ ? दिनरात नभनी खटिरहेको छ, उसको योगदानको मूल्याङ्कनको त कुरा छोडौं चर्चासम्म छैन । तालिमहरू पनि उनीहरूलाई लक्षित गरेर त्यति हुँदैनन् । क्यामेरापर्सनहरूले त आफ्नो दक्षता आफैं घोटिएर बढाएका हुन् । मिडियामा सक्रिय रहँदारहँदै सीमान्तीकृत महसुस भएको छ आज उसलाई । आर्थिक रूपमा पनि ऊ त्यति सक्षम छैन, काठमाडौंको महङ्गीको अगाडि उसको तलब त थापेको पहिलो हप्तामै सकिन्छ । धन्न उसकीश्रीमतीको जागिर छ र केही सजिलो भएको छ । बैंक ब्यालेन्स छैन, घर छैन, ओहो ! भोलि म बिरामी भएँ भने ?श्रीमती वा छोराछोरीलाई केही भयो भने ? भन्ने सम्झिएर अत्यास लागे जस्तो भयो उसलाई ।
श्रीमती अइया भन्दै अर्कोतिर फर्किई, ‘निकै जीउ दुखेजस्तो छ’ उसलाई लाग्यो, तर सोधेन बरु सतर्क भएर मस्त निदाए झैं ग¥यो । उसलाई डिस्टर्भ होला झैं गरेर ऊ बिस्तारै उठी र ट्वाइलेट गएर फर्किई, फेरि सुती सतर्कतापूर्वक । उसले घडी हे¥यो, बिहानको चार बज्नै लागेको थियो, कस्तो निद्रा नआएको ? अब ऊ गाउँ पुग्यो जहाँ उसले चञ्चल बाल्यपन बिताएको थियो, दिवङ्गत आमाबाबु सम्झियो । उहाँहरू भएको भए ? आफैंसँग प्रश्न गर्दै कोल्टे फर्कियो । आमाले भनिन्– कति सोचिरहेको बाबु बिहान चाँडै उठेर हिँड्नुपर्छ फेरि… । कल्पनाका यी शब्दहरूले ऊ लुटुक्क निदायो, बिहान टेलिफोनको घन्टीसँगै बिउँझिँदा टेलिभिजनकी पत्रकार साथी भनिरहेकीे थिइन्– चाँडै गर्नुस्, मिटिङ सुरु हुन लागिसक्यो, लोकेसन पनि थाहा छैन ।
हतारहतार तयार भएर सिंहदरबारतिर लाग्यो ऊ, पर पुगुञ्जेलसम्म श्रीमतीको आवाज कानमा गुज्रिरहेको थियो– ए, चिया त खाएर जानुस्… छोराछोरी भनिरहेका थिए– बुबा आज हाम्रो प्यारेन्स डे हो… जसरी भए पनि आउनुपर्छ है ११ बजे, तर मिटिङ कतिबेला सकिने हो र उसले कतिबेला फुर्सद पाउने हो– कुनै अत्तोपत्तो थिएन ।