लेखक अमेरिकामा, भाषण नेपालमा

हाल अमेरिकामा रहेका हरि अधिकारीको पछिल्लो पुस्तक ‘संकलित गद्यरचना’ काठमाडौंमा लोकापर्ण भयो । र, उनले उतैबाट लिखित भाषण पठाए । यहाँ उनको भाषण जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

प्रिय साथीहरू,
सर्वप्रथम मेरो अनुपस्थितिमा भएको मेरा निबन्ध/प्रबन्धहरूको संग्रह संकलित गद्यरचनाको लोकार्पणको यस कार्यक्रममा उपस्थित भई मप्रति स्नेह-सद्भाव देखाउनु हुने यहाँहरू सबैप्रति आभार व्यक्त गर्दछु । यहाँहरूले दिनु भएको स्नेह देखेर म अभिभूत भएको छु । यहाँहरूलाई मुरी मुरी धन्यवाद छ ।

कविता मेरो मूल विधा भएपनि धेरै लामो समयदेखि मेरो पेशा नै अक्षर, शब्द र वाक्यहरूमा केन्द्रित भएकाले हुनु पर्दछ, मैले धेरैजसो गद्यमै कलम चलाएको छु । लगभग ५० वर्षको मेरो लेखन-यात्राका क्रममा लेखिएका र छापिएका अनगन्ती लेख-रचनाहरूमध्ये केही छानिएका निबन्ध/प्रबन्धहरूको संग्रह ‘६० वर्षपछि’ शीर्षकमा २०६९ सालमै प्रकाशनमा आएको थियो । अहिले प्रकाशित संकलित गद्यरचना शीर्षकको यो संग्रहलाई त्यही शृंखलाको दोस्रो भाग भन्दा अनुपयुक्त हुँदैन ।

आजको यस कार्यक्रममा उपस्थित मेरा मित्रहरूलाई मेरो लेखनको सामर्थ्य र सीमा दुवैका बारेमा राम्रोसँग थाहा छ, त्यसैले, त्यस विषयमा म आज यहाँ केही पनि भन्न चाहन्न । त्यसमाथि यस संग्रहमा संकलित रचनाहरूले मेरो गद्यलेखनको बान्कीलाई पाठकसमक्ष प्रस्तुत गर्ने हुनाले यी निबन्ध/ प्रबन्धहरूलाई नै मेरो मन्तव्य मान्दा सजिलो हुन्छ भन्ने मेरो विश्वास छ ।

आफूले रच्ने साहित्यमा नेपाली भाषाको मौलिकता, सौन्दर्य र लालित्यको मर्यादा कायम रहोस् भन्ने कुरामा म सदैव सचेत रहँदै आएको छु । मेरा रचनाहरू ती कविता हुन्, कथा हुन् वा निबन्ध/प्रबन्ध हुन् सबैमा मेरो त्यो सचेतन प्रयास प्रतिविम्बित भएको हुन्छ भन्ने मलाई लाग्दछ । भाषा साहित्यका विद्यार्थीहरू र पाठकहरूलाई मेरा रचनाहरू पढ्दा कस्तो लाग्छ त्यो भने उहाँहरूले नै भन्ने कुरा हो । मेरा रचनाहरूको वास्तविक मूल्याङ्कन पनि पाठकहरूबाट नै हुने हो ।

यो संग्रह मैले मेरा सहृदयी मित्रहरूबाट सहयोग र पाठकहरूबाट मूल्य बापतको रकम अग्रीम भुक्तानी लिई आफैँले छापेको हुँ । यसको बिक्री वितरणमा पनि बिचौलियाले खाने कमिसन सकेसम्म कम गराउँने ध्येय रहनेछ । यसै स्किममा अरू लेखकहरूका कृतिहरू पनि छापी लेखक र पाठकका बीच सिधा क्रय-विक्रय हुने पद्धति विकास गर्ने मेरो परिकल्पना छ । त्यसका लागि म नेपाल आएपछि अवधारणा पत्र जारी गरी सबैको सहयोग लिएर अघि बढ्नेछु । यो पूरा स्किम नै नेपाली साहित्यका समग्र लेखक पाठकहरूको हुने हुनाले सबै साथीहरूलाई यसमा जोडिन अनुरोध गर्दछु ।

मेरा आत्मीयजनहरू: छोरा आशुतोष, छोरी अनुपमा, मित्रहरू शरच्चन्द्र वस्ती, राजकुमार बानियाँ, दीपक सापकोटा, नीरा शर्मा, गुरु होम क्षत्री, भाइहरू आविष्कार भारती, अग्रज दिव्यमणि राजभण्डारी, अनुजहरू हिक्मत थापा, जीबा लामिछाने, आनन्द बिष्ट र रमेश शर्मा, बहिनी कमला प्रसाइँ, भतिज प्रकाश हुमागाइँ, छोरी उमा बस्नेत खड्का, कविदाइ रमेश खकुरेल र अमेरिका तथा नेपालका मेरो पुस्तकको मूल्य अग्रीम भुक्तानी गर्ने सयजना भन्दा बढी पाठकहरूको सहयोगबाट यो पुस्तक यति छिट्टै र यति राम्रोसँग प्रकाशनमा आउँन सकेको हो । उहाँहरू सबैलाई एकमुष्ठ कृतज्ञता ज्ञापन गर्दछु । मुरी मुरी साधुवाद छ सबैलाई । राजकुमार बानियाँलाई प्रखर भूमिकाका लागि र दीपक सापकोटालाई परिचय प्रशस्ति (ब्लर्ब) लेखनका लागि धन्यवाद छ ।

यस बीचमा अश्विनी कोइराला, अशोक सिलवाल र निरुपा प्रसूनले आ-आफ्ना सञ्चार माध्यमहरूबाट यस पुस्तक सम्बन्धी प्रचार सामग्रीको प्रकाशन गरेर मलाई गुन लगाउनु भएको छ । उहाँहरूलाई पनि एकमुष्ठ धन्यवाद भन्छु ।

यो पुस्तकको सुन्दर लेआउट डिजाइन गरी स्तरीय छपाइको चाँजोपाँजो मिलाउँने कलाकार/डिजाइनर सन्तोषकुमार दाहालप्रति अनुगृहित छु र उहाँलाई धन्यवाद भन्छु । साथै पुस्तकका बारेमा गहिरो रूचि लिई आजको यो कार्यक्रमको तयारीमा खट्ने र यसको सञ्चालनको समेत जिम्मेवारी लिने मेरा अनुज, पत्रकार एवम् लेखक निर्मल अर्यालप्रति पनि कृतज्ञ छु । उनलाई विशेष धन्यवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button