एक चालक गफ

कथा

सुशीला शर्मा

एक पात्र छ त्यस्तै ३५ वर्ष उमेरको । रमाउद्दिन बताउँछ आफ्नो नाम । पेशाले ऊ सवारी चालक हो । हेर्दा हट्टा कट्टा र तन्दुरुस्त देखिन्छ । आफ्नो चालक पेशाप्रति निकै ईमान्दार देखिन्छ । आफ्नै गाडी भएकोले निकै होसियारीपूर्वक हाँकिरहेको पनि देखिन्छ । गाडीमा यात्रा गर्ने यात्रुलाई मन्त्रमुग्ध बनाउने खालका गफ गर्छ । आफ्ना तीन दशक लामो जीवनयात्रामा निकै धेरै जिन्दगी भोगाई सिकेको छ उसले । सात जना छोराछोरी र दुई आमा बाबुको परिवार र त्यसमाथि अरु आफ्नो नाम दिएर नागरिकता बनाईदिएका दुइ चार जना दाजुभाई दिदीबहिनी पनि छन् । हुन त उनीहरु अहिले संगै बस्दैनन् ।

ती थपिएका दुईजनाको नेपाली नागरिकता बनाउँदा पनि केही रकम पनि दिएका थिए रे । यो उसको हजुरबुवाकै पालाको कुरा हो । तर उनीहरुको सगोलमा आइसकेपछि एउटै परिवार जस्तै नै भएर बसे । आजकल नेपाली नागरिक भइसकेपछि उनीहरुको भाउ बढेको छ । उनीहरु चाँहि रैथाने नेपाली, हामी चाँहि पछि बसाई सरेर आएको जस्तो गर्छ, भन्छ रमाउद्दिन ।

शहरकै छेउछाउमा घर भएको, बाबु केही राजनैतिक सुझबुझ राख्ने र वडास्तरीय चुनाव लडेर सफल पनि भएको परिवारको सदस्य हो ऊ । आफ्नाबारे सम्पूर्ण कुरा एकदम रोमाञ्चक तरिकाले भन्ने खुवी रहेछ उसमा । आफ्नो गाउँ ठाउँका तथ्यांकहरु पनि उसलाई राम्रै थाहा छ । कुरा गर्दै जाँदा इण्डियाले नेपाललाई कति हेप्छ भन्ने उदाहरणहरु पनि सिमाना मिचेकादेखि कोरोनाको खोप किन नेपालमा धमाधम विक्री गर्यो भन्नेसम्म उसको आफ्नै बुझाई छ ।

उसले गाउँको विद्यालयमा त्यस्तै छ सात कक्षा पढेको रे । धेरै छोराछोरी आमाले अब म यहाँभन्दा बढी पढाउन सक्दिन छोरा भनेपछि उसले ल हुन्छ म पढ्दिन भनेर काम गर्न थालेको कुरा निर्धक्क भन्छ । काम सिक्ने सिलसिलामा उसको ध्यान सवारी चालकप्रति गयो । तराईमै बसेर गाडी चलाउन थालेपछि । ऊ विदेश पनि गयो । तर विदेशमा मुस्किलले ३ वर्ष बस्यो ।

विदेश बस्दाको भोगाई र संघर्ष छन् उसका । जे गर्न भनेर गएको थियो, त्यहाँ उसले राम्रो पैसा आउने चालक पेशा गर्न पाएन् । कसैको घरमा घरेलु काम गर्न थाल्यो । उसको काँधमा धेरै पैसा कमाउन पर्छ भन्ने जिम्मेवारी थियो । बहिनीको बिहे गर्ने खर्च जुटाउनु थियो । जोखिम मोलेर पहिले बसेको घरबाट अर्को घरका छोरीहरुलाई अफिस लाने ल्याउने चालकको काम पायो उसले । साहूका तीनवटी छोरी थिए तिनवटीलाई नै छुट्टाछुट्टै गाडीमा यता र उता डुलाउनुपर्ने रे । ती तीनमध्ये एकले उसलाई व्यक्तिगत रुपमा नेपाल पठाउन पैसा पनि सहयोग गरेकी थिई रे ।

उसले भन्दै थियो कि त्यहाँ बाहिर मात्र पर्दा छ । तर भित्र भित्र धेरै नखरावाजी पनि हुने गर्छ । सायद ऊ ढाँटिरहेको थियो कि उसले पनि ती युवतीलाई मन पराएको थियो र सायद विहे पनि गर्ने बताएको थियो । हामीलाई सुनाउँदा चाँहि उसले त्यो केटीले आफूलाई फसाएको र उसको दाईले आफूलाई झण्डै फाँसीमा नझुन्ड्याएको । यस्तै यस्तै अलेली काम, अलेली विवादमा फस्दै ऊ नेपाल फर्कियो । उसले अझै त्यो केटीको रिन चुक्ता गर्नै थियो । नेपाल आएपछि पनि त्यो केटीले उसलाई फोन गर्ने धेरै कोशिश गरी रे भन्ने उसको साथीमार्फत उसले थाहा पायो । अब म कल्पना पनि गर्न सक्दिन कि दोहोर्याएर म अरब जान्छु भनेर । उ भन्दै जान्छ ।

फर्केर नेपाल आयो रमाउद्धिन । उसको विहे त भइसकेको थियो । यो घटना भएको पनि एघार वर्षजति भईसकेको छ । ऊ निकै ठाँटका साथ आफूले आमाबाबुलाई एकदम सम्मान दिएको कुरा गर्छ । आवेशमा आएर यो पनि भन्छ कि जसले आमाबाबुलाई रुवाउँछ, उसलाई त सिधै मारी नै दिन मन लाग्छ ।

अनेक जोखिम मोलेर नाकाबन्दीमा र पछि कोरोनाकालमा पनि आफू खाली बस्न नपरेको कुरा ऊ सगौरव सुनाउँछ । दुःखका घडीमा कमाएको पैसा सर्लक्कै आमाको हातमा राखिदिएको र अझै बहिनीको विहे गर्दा भएको रिन तिर्नै वाँकी रहेको व्यवहारको कुरा गर्छ रमाउद्दिन ।

ऊ देखादेख गैरकानुनी काम गर्र्दैन तर जोखिम मोल्ने र उसकै भाषामा ‘मर्दानावाला’ काम गर्छ । त्यो जोखिम भनेको भारतबाट भएको ईन्धन नाकाबन्दीको बेलामा पनि विभिन्न पम्पहरुबाट जर्किनमा भए पनि तेल ओसारेर डबल भाउमा बेचेको होस् या कोभिडको बेलामा यात्रुलाई यता र उता ओसारेर होस् । अरुले आफ्ना सम्पति जिरो बनाएको बेलामा उसले झण्डै दुईतिन लाख कमाएको रे ।

दुई बहिनी र दुई भाईको अझै विहेवारी हुनै बाँकी छ । उसका पनि दुईजना छोराछोरी छन् । श्रीमतीलाई खासै भाउ दिनु हुँदैन् भन्ने भाव छ उसको । एकपटक श्रीमतीले आफूले कमाएको पैसा म राख्छु भनेर निहुँ खोजिन रे । ऊ पनि के कम ! बरु घर छोडेर जा भनिदिए भन्छ ऊ । आजकल कहाँ यत्रो धेरै मानिसलाई भात पकाएर खुवाँउछन् आईमाईहरु, हाम्रोमा छ सात जनालाई खाना पकाएर खुवाउन त श्रीमतीले गन गन गर्छे । ऊ अनुभव भन्दै जान्छ ।

अर्को एक कहानी उसले फेरि सुनायो । छिमेकी देशका एक परिवारलाई एकदमै नेपाल मन पर्ने रे हामीलाई नेपाली नागरिकता बनाईदेउ न भनेका भन्यै छन् । मेरो बुडीले भन्दै थिई, मैले आमा भएबापत मलाई के दिने ? मैले भनिदिएँ कि अरु सम्पति त तलाई के दिनु, केही गहना बनाईदिउँला ।

यी गफहरु साँच्चै हुन कि उसले आफ्नो शक्ति प्रदर्शन गरेको ? छुटट्याउन गारो परिरहेको थियो हामीलाई । रमाउद्दिनले आर्थिक उचाई छोएको छैन तर पनि उसको आफ्नै नाममा गाडी छ । केही घँडेरी जोडेको छ शहरको नजिकै । समय अनुसार छोराहरुलाई पढाउने चाँहि उसको लक्ष्य छ ।

उसले फेरि अर्को घटना पनि सुनायो । ‘हाम्रो यो गाउँमा पहिले त्यस्ता आपराधिक र अनैतिक घटना घट्दैनथे तर विगत १० वर्षजति यतादेखि जब युवाहरु विदेश जानथाले, अनि गाउँमा शान्ति छैन’, ऊ भन्छ । उसले एउटा भएको या नभएको घटना सुनाउँदै यो कुरालाई पुष्टि गर्न खोज्यो । त्यो घटना भनेको एकजना युवा विदेश गए, खाई नखाई गरेर झण्डै दशलाख जति श्रीमतीलाई पठाए तर उसको श्रीमती यस्तो धोकेवाज निस्की कि त्यो पैसा अर्को पुरुषलाई दिएर उहीसंग हिड्न थालिसकेकी रहिछ । लोग्ने गाउँ आएको बेलामा ती दोश्रो पुरुष र ती महिला मिलेर ती विदेशीएका पुरुषको हत्या नै गरिदिए रे । जब ती महिलाले आफ्नो लोग्नेको हत्या गरेको प्रहरीमा खुल्यो, ती दोश्रो पुरुषले पनि उनलाई साथ नदिने आफ्नो लोग्नेलाई त मार्नेले मलाई पनि के छोड्ली र भनेर उसलाई छोडिदियो रे ।

रमाउद्दिनको मुखबाट सुनिएको यो कथामा केही बनिबनाउ, केही वास्तविकता र केही भने महिलाहरु लोग्नेले छोडेर हिडेपछि बिग्रन्छन् भन्ने नै थियो ।

उसकै भनाईमा हजारजति भिन्न समुदायमा उनीहरुको दुईसयजतिको समुदाय एकदम मिलेर बसेका छन् । एक अर्कामा सौहार्दता पनि छ । तर धेरै कुरा उसलाई समय परिस्थितिले सिकाएको छ । धेरै सरसंगतबाट सिकेको छ र धेरै चाँहि ऊ पुरुष हुनुको अहं र महिलाप्रति दोश्रो दर्जाकै परिभाषा छ ।

रमाउद्दिन जस्तै यूवाहरु जसको थुप्रै विचार माझिन बाँकी छ तर उनी जस्तै मिहिनेती, कठोर, कट्टर, दयालु, संकीर्ण हुँदै चलेको मनस्थितिले नै त यो समाज बनेको छ । केही परिमार्जन समाजलाई आवश्यक छ । त्यो अन्धविश्वास र व्यक्तिगत पुरुष घमण्डरहित र मानवतासहितको समाज हो ।


(प्रिय साथी ! तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । लेख्नुस् कविता, कथा वा निबन्ध र पठाउनुस् नेपालनाम्चाको इमेल 
nepalnamcha@gmail.com मा ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button