मेराे कविताकाे ग्रहमा एलियन पनि मजाले अट्न सक्छ

कविता नलेख्दा पनि हुन्छ तर यो मानवजातिले भाषाको निर्माणका क्रममा निर्मित गर्न पुगेको छुट्टै भाषा हो ।

कविता कविको लागि सार्वभौम सत्ता हो । कलासौन्दर्यको सत्ता हो, विचारभावनाको सत्ता हो र त्यो सत्ता पाठकबाट सदैव हल्लिन सक्ने सम्भावना भने जीवित नै रहन्छ ।

जब नयाँ मूल्य, मानकहरुले ठाउँ लिन्छ कविता इतिहास हुन्छ, कविता रहँदैन । लय रहला, कला रहला भावना, विचार मरिसकेको हुन्छ ।

कविता बौद्धिक, प्राज्ञिक कर्म हो भन्दा वाहियात विलाशवालाहरु हाँस्लान् । हाँस्न पाइन्छ ।

कतिपय कवि जिउँदै अप्रासङ्गिक पनि हुन्छन् । मरेसरह हुन्छन् ।

नियमित स्तम्भ कविका कुरामा नेपालनाम्चा प्रस्तुत गर्छ, स्वप्निल स्मृति

किन र केका लागि कविता लेख्नुहन्छ ?
मूलत: आफुलाई अभिव्यक्त गर्ने माध्यम हाे कविता । तर यसले नितान्त वैयक्तिक सराेकार मात्र राख्दैन, दाेस्राे व्यक्ति या श्राेता, पाठकसम्म पुगेर संवादकाे वातावरण पनि बनाउँछ । कविता संवादकाे यस्ताे कलात्मक माध्यम हाे जहाँ नयाँ विम्ब, मिथक, प्रतीक, लय र ध्वनि स्थापना गरी कविले आफ्नाे विचार वा भावनालाई अरुसँग छुवाउन खाेजिरहेकाे हुन्छ । कविता कविकाे चैतन्यले निर्माण हुन्छ जुन प्रक्रिया बडाे पीडादायी पनि हुन सक्छ तर पाठक भित्र पनि सुषुप्त अवस्थामा कवित्व रहने हुँदा कविताले उ भित्र कुनै न कुनै हलचल पैदा गर्छ । त्यसैले कविता कविताकाे लागि लेख्छु , अर्थात् किन लेख्छु भन्दा पनि कविकाे याे आफू ‘हुनु’ काे अभिव्यक्ति हाे जस्ताे लाग्छ ।

कविता लेखेर के हुन्छ ?
कविता नलेख्दा पनि हुन्छ तर याे मानवजातिले भाषाकाे निर्माणका क्रममा निर्मित गर्न पुगेकाे छुट्टै भाषा हाे । त्याे भाषा नबाेल्दा समाजमा एक प्रकारकाे शून्यता, रिक्तता सृजना हुन्छ । अहिलेसम्म कविताले पनि मानिसलाई जीवन हुनुकाे बाेध दिइरहेकाे छ । कविता लेखेर धेरै थाेक नभए पनि एउटा कवि मन-मस्तिष्ककाे भाषा व्यक्त गरेर कलात्मक संसारमा बाँचिरहन सक्छ ।

कवि भएर चिनिनुमा कति मजा छ ?
चिनिने अरु पनि माध्यमहरु छन् । ‘चिनिनु’ सामान्य कुरा हाेइन । यसकाे आयाम र अर्थलाई कसरी मात्र लिने ? कवि भनेर समाजले एउटा पहिचान दिनु र कविताभित्रकाे कविलाई पाठकले चिन्नुमा केही भेद अवश्य छ । कविता चिनिनुले कविलाई चिन्न खाेज्दा बेलाबेला दुर्घटना पनि हुने गर्छ । त्यसैले ‘मजा’ पनि सापेक्षिक हुन्छ हाेला ।

कविहरु आममानिसभन्दा फरक हुन्छन् वा उनीहरु पनि आम मानिसजस्तै हुन् ?
‘आममानिस’कै सदस्य हुन् कवि भनिएकाहरु पनि । यति हाे कविहरू ‘सिम्बाेलिक वर्ल्ड’ मा बाँचेका हुन्छन् । आम मानिसलाई प्रकृति, राजनीति, धर्म, विज्ञानजस्ता कुराले सीधा उपभाेग गरिरहेकाे हुन्छ । कवि-लेखकहरु चाहिँ त्यसमा साैन्दर्यका परिप्रेक्ष्यबाट, अलिक बढी मानवीयता, प्राकृतिकताका पक्षबाट प्रश्न र प्रयाेगकाे अवस्था खाेजिरहेका हुन्छन् कि !

कविता यदि सत्ता हो भने यो कस्तो सत्ता हो ? र, कवि कस्तो शासक ?
कविता कविकाे लागि सार्वभाैम सत्ता हाे । कलासाैन्दर्यकाे सत्ता हाे, विचारभावनाकाे सत्ता हाे र त्याे सत्ता पाठकबाट सदैव हल्लिन सक्ने सम्भावना भने जीवित नै रहन्छ ।
कविता अपरिवर्तनीय हुँदैन, अमर हुँदैन । समाज यात्राकै उपज हुने गर्छ । समाजमा विम्ब, प्रतीक, मीथकहरु आपसमा टक्कर गरिरहेका हुन्छन् । जब नयाँ मूल्य, मानकहरुले ठाउँ लिन्छ कविता इतिहास हुन्छ, कविता रहँदैन । लय रहला, कला रहला भावना, विचार मरिसकेकाे हुन्छ ।

प्रेम हुन्थेन भने पनि कविता हुन्थ्यो ? हुन्थ्यो भने त्यो कस्तो कविता हुन्थ्यो ?
के नहुँदा कविता हुँदैन थियाे अर्थात् प्रेम भएकैले मात्र कविता छ भनेर जिकिर गर्न गाहाराे छ । यद्यपि प्रेम सजीव प्राणीहरुमा पाइने महत्त्वपूर्ण आस्तित्विक तत्त्व हाे । सँगै घृणा, रिस, आशा, निराशा, माया यी संवेगहरुकाे पनि उत्तिकै द्वन्द्वात्मक याेग छ सृष्टिलाई गति दिनमा । सपना, भाेक, केही ‘नभएकाे’ ‘नपुगेकाे’ बाेधपछिका चिन्तना, प्रयत्नहरुले अरु साैन्दर्यका ढाेका उघारिरहेकाे हुन्छ । यति हाे, प्रेममा माथिका धेरै कुरालाई एकै ठाउँमा गाँठाे पार्ने गरिन्छ, जुन हाम्राे सुन्दर नियति हाे ।

कविताको संसार कस्तो हुन्छ ? के त्यहाँ खुशी मात्र हुन्छ ?
हामीले भाेगिरहेकाे संसारभन्दा अलिक अघि यात्रामा हुन्छ कविताकाे संसार । त्यहाँ खुसी मात्र हुँदैन, अनेकाैँ ट्राजेडीहरु हुन्छ, र तिनबाट मुक्त हुने सपनाकाे अक्षमा त्याे संसार घुमिरहेकाे हुन्छ ।

‘कविता एक वाहियात विलाश हो’, यदि कसैले भन्छ भने, त्यसमा तपाईं के भन्नु हुन्छ ?
कविता बाैद्धिक, प्राज्ञिक कर्म हाे भन्दा वाहियात विलाशवालाहरु हाँस्लान् । हाँस्न पाइन्छ । तर कविता त निरन्तर लेखिइरहेकाे छ, पढिई पनि रहेकाे छ । तर कविता लेख्नैपर्छ, पढ्नै पर्छ भन्ने कुनै बाध्यकारी नियम त अहिलेसम्म कतै बनेकाे छैन । बरु कविता लेख्दा, पढ्दा कतिपय कवि र पाठकहरुमाथि अङ्कुश लाउने गरेकाे भने पाइएकाे छ । यसबाट पनि कविताकाे शक्ति र साैन्दर्य अन्दाज गर्न सकिन्न र ?

कविहरु जन्मन्छन् । तर, कहिल्यै मर्दैनन् । के यो सही हो ?
कविहरुलाई वास्तविक ‘सत्य’ का पक्षमा लिएका अडान, न्यायका पक्षमा लेखेका कविता, कलासाैन्दर्यमाथि गरेका उपासनाका कारण ‘अमर’ मानिएका मात्र हुन् । कृतिमा बाँच्ने कुरा हाे याे । तर कतिपय कवि जिउँदै अप्रासङ्गिक पनि हुन्छन् । मरेसरह हुन्छन् । त्यसैले कवि अमर हुन्छन् भन्ने हाेइन, कविताले लामाे समयसम्म प्रभाव छाेड्न सक्छ भन्ने मात्र हाे ।

तपाईंका कविता पाठक र समाजका लागि कविता मात्र हुन् कि त्यसभन्दा बढी ?
कविताका पाठक अवश्य यही मानव समाज हाे । त्यसपछि यहाँका समग्र प्राणी जगत् पनि धेरथाेर हाे । कविताप्रति एलियनकाे धारणा हाेला नहाेला, अर्थात् एलियन नै हाेला नहाेला, तर मेराे कविताकाे ग्रहमा एलियन पनि मजाले अट्न सक्छ । यति हुँदाहुँदै पनि मेराे कविताकर्मकाे उद्धेश्य याे सृष्टिलाई झनै सुन्दर बनाउनु हाे ।

अन्त्यमा थप केही भन्न चाहनु हुन्छ ?
कुराकानीका लागि नेपालनाम्चालाई धन्यवाद ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button