विश्व कविता दिवसमा ‘खबरदार कविहरू’
कविता
मीरा प्रसाईं
तिमी कवि हौ
लेख कविता
-अन्यायका
-दमनका
अपराधका ।
भन्न त भन्छन् सबैले एसै
म पनि सोच्छु एस्तै – त्यस्तै ।
कति लेख्नु फूल र जूनका कविता
कति लेख्नु तन र मनका कविता
कति लेख्नु प्रेम र धोकाका कविता ।
लेख्न त लेखुँ भन्छु म पनि कविताहरू
-अन्यायविरुद्ध
-दमनविरुद्ध
-अपराधविरुद्ध
र सोधुँ तमाम कर्तालाई
किन गर्छौ यो सबै ?
हिजोसम्म कविता भनेर मैले जे लेखेँ
आफैंलाई ढाटेर ढाड्स दिन
शब्दका झुण्डलाई कविता भनेँ
थाहा छैन,
अरूलाई झुक्याएँ
कि आफैं झुक्किएँ ।
मलाई भने,
एतिखेर एउटै मात्र त्यस्तो कविता लेख्नु छ ।
जुन कविताले सत्यबोध गर्न सकोस्
जीवन सार्थकता तौलिन सकोस्
र आफ्नै अगाडि भएको
-पापलाई लेख्न सकोस्
-अपराधलाई लेख्न सकोस्
-हत्यालाई लेख्न सकोस्
र निखन्न सकोस्
-न्यायको बाटो
-सत्मार्गको बाटो ।
तर अपसोच !
सोच्नु पनि हुँदैन रहेछ कलियुगमा कविहरूले
लेख्नु पनि हुँदैन रहेछ कलमहरूले
-अन्यायका कुरा
-अपराधका कुरा
-हत्याका कुरा ।
देखेर पनि नदेखे जस्तो गर्नु पर्या छ
सुनेर पनि नसुने जस्तो गर्नु पर्या छ,
मुटुमै लेखी मुटुमै मेटी
शब्द हत्याको पाप आँखाबाट
बगाउनु पर्या छ
लेखेँ भने,
म द्रोही हुन सक्छु
तसलिमा बन्न सक्छु
वा संसारबाटै मेटाईन पनि सक्छु ।
त्यसैले,
लेख्नु हुँदै हुँदैन मैले सत्यका कुरा
अह ! म कवि हुँदै होइन
ममा कवित्व छँदै छैन ।
कृपया !
मबाट कविता सुन्ने अपेक्षा नगर्नुस्
शब्दहरु नआउनु मेरो मनको बाटो भएर
र द्रवित नबनाउनु मलाई
कसैको मुक्तिका खातिर ।
खबरदार कविहरू !
नलेख्नु कविता
अन्यथा,
तिम्रा हातहरू काटिनेछन्
तिम्रा जिब्रोहरू थुतिनेछन्
तिम्रा लालाबालाहरू अपहरणमा पर्ने छन् ।
देखेको नदेख्यै गर्नु
-जे देखिदै छ
सुनेको नसुन्यै गर्नु
-जे सुनिदै छ ।
बरु अलिकति दीक्षा माग्नु अभिनयको
देशका पर्खाल अड्याउने जङ्गे पिल्लरहरुसङ्ग ।
… र अभिनय गर्नु
अन्धो भएको
बहिरो भएको ।
खबरदार कविहरू !
नलेख्नु आवाजका कविता ।
…
(प्रिय साथी ! तपाईं पनि प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)
अत्यन्तै दरिलो कबिता।