… र, आयो यसरी त्यो समय

कविता

लिला अनमोल

… र, आयो यसरी त्यो समय
कि अवरोध भएर बाटाहरु
बिखलबन्दमा पर्यो भविष्य
पोलेर खप्नै नसक्ने भयो
ब्यथाको रापिलो आगो ।

आँखाको डिलबाट
जमेर ओर्लिनै नसक्ने भयो
मुटु पिल्लिएर गालामा बग्ने नुनिलो पानी ।

बाहिर कोभिडको सङ्क्रमण फैलिएजस्तै
फैलिएपछि मभित्र पिडाको फ्लू
पग्लिदै गयो मेरो जाँँगरको हिमाल
र, पानी भएर मेटियो मेरो सेतो सुन्दरता
फुलेन मभित्र एउटा पनि उत्साहको रातो फूल
बरु भुईइमा लतारेर बोट
उल्टै अस्तित्वको खेल खेलिरह्यो माटोसँग
माटोले पनि त बचाउन बिर्सिदो रहेछ बनस्पति
जब बिसादीको आक्रमण हुन्छ ।

हावाले पनि त आकारमा परिणत हुनुपर्दो रहेछ
जब बेलुनमा भरिन्छ
र, सकिएको घोषणा हुदो रहेछ
जब फुट्छ प्याट्ट ।

भित्र वातावरण धमिलिदै गएपछि वरिपरी
मेरो चेतना बिरामी भयो
र बिस्तारै मलाई मैले नै नचिन्ने भएँ
बन्द भए उपायका ढोकाहरु
मलाई मेरै स्वभिमानले गिज्यायो यतिबिघ्न
कि मानौं
दासता अङालेर उभिनैपर्ने छ
रगताम्य पारेर पैताला हिड्नै पर्छ छ यो बाटो।

मलाई त्यो सुन्दर गाउँ जान मन छ
जहाँ म मेरो स्वभिमानमा रमाउन सकुँ ।


(प्रिय साथी ! तपाईं पनि प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button