बानेश्वर क्याफेमा नवीनको ‘लभटक’
कल्पना कथा श्रृंखला-५
कल्पना खरेल
लामो समयको प्रवासको बसाईपश्चात् नेपाल फर्किएकी थिएँ । काठमाडौँ आइपुगेको दुई दिन मात्र भएको थियो । बानेश्वरको बाटोतिर टहलिँदै थिएँ । एक्कासि मसँगै पढेको एक पुरानो केटोसाथी नवीनसँग जम्काभेट भयो ।
‘ओहो ! कल्पना । विदेशबाट कहिले आयौ ?’ नवीनले मलाई देख्नेबित्तिकै टक्क अडिएर आश्चर्य मान्दै सोधे ।
‘म अस्ति आएकी नवीन ।’
‘कति वर्षपश्चात् नेपाल फर्केएकी तिमी ?’
‘म १० वर्षपश्चात् नेपाल फर्किएँ नवीन ।’
‘कल्पना ! तिमी त जस्ताको त्यस्तै छौ । पहिलाको जस्तै ।’
‘अलि लजाएको पारामा हो र नवीन ?’, मैले भने ।
‘हो नि भन्या ।’
‘कल्पना तिम्रो कति समयको बसाई छ नेपालमा ?’
‘नवीन ! अब म नेपालमै बस्छु, फेरि परदेश फर्किन्नँ, आफ्नै माटामा केही गर्छु । मेरा समाजका लागि मैले धेरै गर्नु छ ।’
केही क्षणको भलाकुसारीपश्चात् मन्द मुस्कानका साथ नवीनले मलाई अनुरोध गरे, ‘कल्पना कतै बसेर चिया पिऊँ न । मैले पनि सहमति जनाएँ । हामी दुवै नजिकैको रेस्टुरेन्टतिर लाग्यौँ ।
रेस्टुरेन्टको कुर्सीमा बस्दै नवीनले मन्द मुस्कानका साथ प्रसन्न मुडमा कल्पना धेरै वर्ष पश्चात् तिमीलाई भेट्दा निक्कै खुसी लाग्यो भन्दै आफ्ना मनका उथलपुथल पोख्न थाले । नवीनलाई भेटेर मलाई पनि निक्कै खुसी लागेको थियो । नवीन रेस्टुरेन्टको टेबुलको मेनु पल्टाउँदै थिए । यतिकैमा वेटर हामीसामु आइपुग्यो ।
‘हजुरहरुलाई के सेवा गरौँ ?’वेटरले सोध्यो ।
नवीन मतिर फर्किँदै ‘कल्पना, तिमी के लिने ?’
मैले लेमन टीको अर्डर गरेँ । नवीन पनि लेमन टी नै पिउन सहमत भए ।
वेटर किचेनतिर चिया लिन गयो । हामी चियाको प्रतीक्षामा थियौँ । नवीनले बाल्यकालका यादगारहरु स्मरण गराए । केही क्षण बाल्यकालका अतीतहरु हामीसामु खडा भए । गफ निक्कै रमाइलो हुँदै थियो यतिकैमा प्रसङ्ग बदलियो ।
‘कल्पना, तिमी त सानैदेखि साहित्यप्रेमी । अहिले आएर तिम्रा सृजनाहरु पढ्न पाउँदा निक्कै खुसी लाग्छ । तिमीलाई बधाई छ कल्पना । तिम्रा कलमले शिखर चुमुन् ।’
‘धन्यवाद ! नवीन ।’
वेटरले चिया र केक लिएर आयो । हामी चियाको चुस्कीसँगै फेरि गफियौँ ।
‘कल्पना तिम्रो प्रवासको लामो समय कसरी बित्यो ?’, नवीनले फेरि जिज्ञासा राखे । मैले पनि मेरा प्रवासमा रहँदाका अनुभव र अनुभूतिका कथाव्यथाहरु सुनाएँ । मेरो सङ्घर्षमय जीवनकहानी सुन्दा उनी निक्कै भावुक भए ।
‘कल्पना, तिमीले जीवनमा धेरै कहाली लाग्दा कथाव्यथाहरु धेरैपटक भोग्यौ र धेरै कथाकहानी लेख्यौ पनि । तर अब तिमीलाई मेरो यथार्थ जीवन कथा सुनाउँछु । के तिमी मेरो कथा सुन्न तयार छौ ?’
‘अवश्य नवीन ।’
नवीनले कथा सुनाउन सुरुवात गरे । निक्कै धैर्य र मौनताका साथ मैले पनि सुनिरहेँ ।
‘म कलेजबाट फर्किँदै थिएँ । सेतो सारी ब्लाउज लगाएकी पातली सर्लक्क परेकी, गोरी, पातलो गुलाबी कलरको ओठ, ठुलाठुला गाजलु आँखा, अलि लामो मोहोडा, सेतो सारीले झनै आकर्षक देखिएकी महिलामा मेरो आँखा पर्यो । उनलाई देख्नेबितिकै लाग्थ्यो उनको पहिरनले उनी विधवा हुन् । यति सुन्दरी महिलाको जीवन कति कठिन बनेछ भनेर मेरो कोमल मन मस्तिष्कमा कुरा खेल्यो । उनीसँग बोल्ने आँट गर्न सकिनँ । जब कोठामा फर्किएँ तिनै महिलाको अनुहार मेरा मानसपटलमा घुमिरह्यो । फेरि भोलिपल्ट कलेज जाने बेलामा पनि उनै महिलालाई देख्ने इच्छा भयो । उनको घरको नजिक हुँदै कलेज गएँ तर उनलाई देखिनँ । उनलाई नदेख्दा आफूलाई निक्कै अधुरो अधुरो लाग्यो । क्लासमा पनि पढाइतिर भन्दा तिनै महिलामा मेरो ध्यान केन्द्रित भयो ।
धेरै दिनदेखि उनलाई देख्नाकै निमित्त उनका घरको बाटो हिँड्न लागेँ । यस्तै मेरो त्यो यात्रा महिनौँ दिन चल्यो । एक दिन मैले ठुलै हिम्मत गरेर उनीसँग बोल्ने आँट गरेँ । उनको नजिक गएर नमस्ते गर्दै हजुरलाई पहिल्यै चिने जस्तो लाग्यो ?
नमस्ते फर्काउँदै उनी अति सरल ढङ्गमा प्रस्तुत भइन् । उनको सरलताले डराएका मेरा मुटुको धड्कन अलि सहज भयो । चिनजान गर्दै जाँदा उनी मेरा मामाकी छोरी दिदीकी साथी रहिछन् । दिदीकी साथी भएकीले मलाई अझै नजिक भएर कुरा गर्न सहज भयो । मभन्दा केही वर्ष जेठी भएकीले उनलाई पनि भाइको सम्बोधन गरेर मसँग बोल्न सहज नै भयो । यतिकैमा उनको फोन नम्बर लिएर म आफ्नु कोठातिर लागेँ ।
उनको शालीनताले झनै मलाई प्रभाव पार्यो । उनका मिठासपूर्ण शब्दहरु मेरा कानमा गुन्जिइरहे । उनी दुई बच्चाकी आमा भए तापनि छुँदा मैलो लाग्ला जस्ती कलिली देखिन्थिन् । उनको त्यो कलिलो जवानी र ससाना दुई बच्चा देख्दा निक्कै भावुक हुन पुगेँ । मेरा मनमा अनेक तरङ्गहरु सल्बलाउन थाले । उनका बारेमा निक्कै सोच्न थालेँ । छाल जस्तै उर्लिएका मेरा अनेक तरङ्गहरुले मलाई शान्त हुन दिएनन् । रातको एघार बजेको थियो । बिस्तरामा पल्टिरहेको थिएँ । निन्द्रा लागेन । जुनेली रात थियो । झ्यालबाट जुनको प्रकाश कोठाभित्र छरिएको थियो । वातावरण सुनसान निक्कै मौन थियो । उनलाई कहाँ भेटौँ भेटौँ जस्तो भयो । कहाँ देखौँ देखौँ जस्तो लाग्यो । उनका लागि म के गर्न सक्छु रु तरंगित मेरा भावनाहरुको वेग उनीप्रति समर्पित भए । मेरा सोचहरु मात्र उनीप्रति नै केन्द्रित भए । गहिरो सोचाइमा समय खर्चिरहँदा थाहै नपाई रातको १ बज्यो । टेबुलमाथिको पानीको गिलास उठाएर पानी पिएँ । फोन उठाएर उनको फोन नम्बर हेरेँ । तर रातको बेलामा उनलाई फोन गरेर डिस्टप गर्न चाहिनँ । यतिकैमा बिहानीपखको चिसोचिसो वातावरणले निद्रादेवीको पोल्टामा परेँछु । बिउँझिदा ७ बजिसकेको थियो । त्यस दिन ढिलो बिउँझेर कलेज पनि छुटिसकेको थियो ।
झ्यालबाट पर्दा खोलेर चियाएँ । पूर्वबाट सूर्यको कलिलो प्रकाशले निक्कै रमणीय देखिएको । सहरको कोलाहल सुरुवात भइसकेको थियो । भान्सामा गएर चिया बनाएर कोठामा लिएर आएँ । चिया पिउँदै फेरि रातभरिको स्मरणलाई ताजा गर्न पुगेँ । टेबुलबाट फोन उठाएर उनको नैना नाम सर्च गरेर उनको नम्बर डाएल गरेँ ।
फोनको रिङ्ग टोन जाँदै थियो । तुरुन्तै सुरिलो मिठो हेल्लो भन्ने आवाज आयो । मेरो मुटुको धड्कन बढ्यो । नमस्ते भनेँ । उनले पनि नमस्ते फर्काइन् । मैले सोधेँ मलाई चिन्नुभयो रु उनी अलि अलमल्ल परिन् । फेरि मैले उनलाई स्मरण गराएँ हिजो भेट भएको नवीन चिन्नुभयो रु चिनेँ भन्ने उनको मिठो हँसिलो आवाज आयो । केही समय उनको र मेरो फोनमा वार्तालाप भयो ।
केही दिनको राम्रो चिनजान पश्चात् उनले मलाई नानीबाबुलाई ट्युसन पढाइदिन आग्रह गरिन् । मलाई झनै उनीसँग नजिक हुन् सहज वातावरण मिल्यो । दिनदिनै बच्चाहरुलाई पढाउन उनको घरमा जान थालेँ । उनीसँग अझै नजिक हुने मौका मिल्यो । फेरि अर्को कुनै एक दिन नानीबाबुलाई पढाउन गएको थिएँ । त्यस दिन बच्चाहरु मामाघर गएका रहेछन् । उनी एक्लै घरमा रहिछन् । म जानेबित्तिकै उनले चिया पकाएर मन्द मुस्कानका साथ चिया लिएर आइन् । उनले चिया टेबुलमा राखिन् । हामी दुवै चिया पिउँदै गफियौँ ।
घरमा एकान्त वातावरण थियो । धेरै दिनदेखि उनीप्रति सल्बलाएको भावना पोख्न मलाई निक्कै गारो भइरहेको थियो । म हरेक शब्दशब्द अड्कलेर बोल्दै थिएँ । उनीप्रति समर्पित मेरा निर्दोष भावना उनीसमक्ष राख्न अति नै असहज भइरहेको थियो । मेरो प्रस्ताव उनीसमक्ष राख्दा लाग्थ्यो कतै मेरो प्रस्ताव उनलाई जहर हुने हो कि रु कतै उनी मसँग रिसाउने पो हुन् कि रु कतै उनले मलाई गाली गर्ने पो हुन् कि रु मनमा खुल्दुली चलिरहेको थियो । गफिँदै जाँदा उनको हँसिलो अनुहार र उनीभित्रको सुन्दर गुणले मेरो प्रस्ताव सकारात्मक लिन्छिन् होला भन्ने केही विश्वास पलाएको थियो । गफको प्रसङ्ग अलिकति बदलेर मैले उनीसँग सोधेँ, हजुरसमक्ष केही कुरा राख्न सक्छु ?
भन्नुस् न भन्ने उनको हँसिलो आवाज आयो ।
कतै मसँग रिसाउनुहुन्छ कि ?
रिसाउँदिन भनिन् ।
म हजुरलाई जीवनभर साथ दिन चाहन्छु ।
उनी अलमल र आश्चर्य परिन् । उनीभन्दा उमेरले निक्कै कान्छो अविवाहित कुमार केटाको जीवनभर साथ दिने प्रस्ताव राखेकाले उनलाई आश्चर्य पर्नु स्वाभाविकै थियो । सामाजिक कुरीति, विविध सामाजिक बन्धनहरू तोड्नु उति सहज त थिएन, तर पनि म समाजमा परिवर्तन चाहन्थेँ । सुरुमा त उनले मेरो प्रस्ताव अस्वीकार गरिन् । मैले पुरुषप्रधान समाजका हरेक कुरीति, कुविचारहरु उनी सामुन्ने छर्लंग पारेँ । ८० वर्षको बुढाले १८ वर्षको केटीसँग विवाह गर्न हुन्छ भने जेठी महिलाले कान्छो केटासँग विवाह गर्न किन नहुने रु एक पुरुषलाई श्रीमती बितेको १३ दिनभित्र पनि जुठो बार्नु पर्दैन र १३ दिन पश्चात् विवाह गर्न हुन्छ भने एक नारीले जिन्दगीभरि किन उसै पुरुषको याद र सतमा बसेर जिन्दगीभरि तडपिँदै किन जिउँदै जल्ने रु नारीप्रति गरिएको दमन शोषण एवं नारीलाई जिउँदै जालाइने सती प्रथादेखि अहिलेको अवस्थासम्म उनलाई प्रस्ट पारेँ । उनले मेरो यथार्थ विचारलाई मनन गरिन् र मेरो प्रस्ताव स्वीकार गरिन् ।
केही समयको अन्तरालमा हामीले विवाह गर्यौँ । एकअर्कामा खुसी साट्यौँ । मेरो उद्देश्य उनलाई साथ दिनु मात्र थिएन । ती उनका नाबालक अबोध बच्चाहरुको बाबुको स्थान दिनु पनि मेरो दायित्व र कर्तव्य थियो । बच्चाहरुको शिक्षा दीक्षादेखि लिएर मेरो सबै जिम्मेवारी थपियो । उनका मायालु अनुहारमा म सधैँ खुसी हेर्न चाहन्थेँ । उनी पनि मलाई औधि माया गर्न थालिन् । भनिन्छ श्रीमान श्रीमतीबीच जहाँ माया र समझदारी हुन्छ स्वर्ग नै त्यहीँ हुन्छ । त्यस्तै मेरो परिवार स्वर्गझैँ आनन्दले भरिएको साबित भयो । उनी पनि मेरो साथमा निक्कै खुसी भइन् । हामी एकअर्कामा हराउँदै गयौँ । उनको अतीतको दुखेको घाउ पुरिँदै गयो ।
सायद मैले कुमारी केटी विवाह गर्थेँ भने पनि एक स्त्री नै त आउने थिइन् । कुनै अरु नयाँ भिन्न कुरा केही आउने थिएन ।
मनको भावना नबुझी विवाह गरेर भित्र्याइएकी कुमारी केटीको व्यवहार कस्तो पाउँथेँ भन्ने पनि किटान गर्न सजिलो छैन । फेरि आफूलाई मन पराएर बिहा गरेको हो भन्ने ठानेपछि स्त्रीको मन पनि अलिक बढी ने मात्तिने पो हो कि । मैले त्यस्तै हुने गरेको पनि देखेको छु । अनि माया गर्दा मात्तिएपछि केटी घमन्डी हुन्छन् र आफूले पूरा गर्न नसक्ने माग राख्छन् । त्यस्ताले स्वर्गमय बन्न सक्ने जीवनलाई तहसनहस पार्छन् । राम्री छु भन्ने घमन्डले आफ्नै मायालु पुरुषलाई हेपेर घरपरिवार नै आपदग्रस्त बनाएको पनि देखेको छु । उनलाई मैले माया गरेको हुँ र त्यो मायामा प्राप्तिभन्दा त्यागको भावना मेरो बढी रह्यो । जसरी भए पनि उनी खुसी रहून् भन्ने मेरो सोच हो । मेरी प्यारी नैना रुपकी पनि धनी छिन् र गुणकी पनि भरिपुर्ण सुन्दर ! उनीमा एउटा नारीमा हुने सुन्दरतामा कुनै कमी छैन ! बिगतमा नियतिले जे जस्तो दुख भोगायो अहिले उनी खुसि छिन् !
म आफै पनि मेहेनेतिलो छु । अहिले पनि गाउँबाट सहरमा पढ्न आईकन आफैँले काम गर्दै पढाइ खर्च र घर खर्च जुटाउन सकेको छु । फेरि मलाई कचकच गर्ने परिवारमा कोही छैन । आमाले त झन् अर्काको दुःखमा सहयोग गर्नुपर्छ है बाबु भन्नुहुन्छ । मेरो पनि बाबा सानैमा बितेर जानुभयो । हामी दिदीभाइलाई सानैदेखि आमाले नै हुर्काउनुभयो । एकल विधवा महिलाको दुःख आमाले पनि जान्नुभएको छ । उनलाई मैले साथ दिएँ भने आमाले पनि साथ दिनुहुन्छ । मैले आमासँग उनको कुरा गर्दा ूसमाजको चित्त बुझाउन कसै गरी सकिँदैन बाबु, हाम्रो सामान्य त्यागले कसैको जीवन नै सुखमय हुन्छ भने त्यस्तो काम गर्दा पाप लाग्दैन, बरु धर्म नै हुन्छू भन्नु भएको थियो । मेरो निर्णयबाट आम खुसी हुनुभयो भने अरुले के भन्लान् भन्ने कुरामा म चिन्ता मलाई चिन्ता लिनै परेन । उनी जीवनका रहरहरु पूरा हुन बाँकी रहेकी महिला हुन् । गहनाकै कुरा गरौँ । लोग्ने छ भने गहना लगाएकी आइमाईको समाजले सम्मान गर्छ । धनीकी छोरीबुहारी भन्छ र सान हुन्छ तर लोग्ने बितिसकेको छ भने उसले आफ्ना गहना नै लगाउँदा पनि फलानाकी छोरी वा बुहारी नखरमाउली भइछ भन्दिन्छ । लोग्ने साथमा हुँदा राम्रा लुगा लगाउन नसके लोग्नेस्वास्नी नै हेपिने तर लोग्ने नभएकी आइमाइले राम्रा लुगा लगाउँदा पनि चाल निको छैन है, कोसँग पल्किएकी छू भन्ने समाज यही हो ।
यस्तै खाने, लाउने, मनका कुरा साट्ने जस्ता सानातिना तर महत्वपूर्ण कति रहरहरु मनभित्रै उकुसमुकुस भएर बसेका होलान् । मैले पहिले भेटेको समयमा त उनी प्रस्टसँग बोल्न र खुलेर हाँस्न पनि सक्तिनथिन्, समाजका डरले । केवल समाजका डरले आफूले नखाएको विष पनि लाग्ला कि भनेर शङ्कामा आफैँ रुमलिन्थिन् । अझै कति लामो जीवन बाँच्नुपर्नेछ त्यसमा सधैँ यस्तै त्रास र धरमर लिएर बाँच्नुपर्दाको मनोविज्ञान कस्तो होला ?
विपरीत लिङ्गीप्रतिको आकर्षण प्राकृतिक हो त्यसले सम्मान पायो भने नै जीवन स्वर्गमय सुखद हुन्छ । त्यसले सामाजिक र पारिवारिक अपमान खप्नुपर्यो भने त्यो जीवन पूरै नरकमय हुन्छ । त्यसो हुँदा मैले नै उनलाई दुःखबाट जोगाउन सक्छु र अहिले नै साथ दिइनँ भने भोलि उनले अझै दुःख पाएको देख्नुपर्यो भने मेरै आत्माले मलाई धिक्कार्छ । सक्ने अवस्थामा पनि कसैको दुःखमा साथ नदिने मैले आफूलाई मानिस ठान्नु व्यर्थ हुनेछ । उनका जीवनमा परिआएको वज्रपातको चोटलाई मेटाउन नसके पनि विगतको पीडामा थोरै मलम लगाइदिन सक्छु र विगतको क्षतिलाई पूरा गर्न नसके पनि अब आउँदो जीवनमा म जिउँदो छउन्जेल दुःखबाट मुक्त राख्न र उनलाई साथ दिन सक्छु भन्ने लाग्यो । आखिर मानिसको जीवन सहयोग र प्रेममा त सुखदायी बनेको हुन्छ । त्यसो भएकै कारण आफू अविवाहित र कान्छो उमेरको भएर पनि आफ्नै काखमा राखेर उनको सम्मान र स्याहार गर्न म मञ्जुर भएको थिएँ । उनी खुसीले उत्फुल्ल भएर हाँस्ता मेरो मन रमाउँछ ।
उनका अनुहारमा चिन्ताका रेखा कोरिँदा मेरो मन खिन्न हुन्छ र उनलाई थकाइले गारो हुँदा म पीडाले छट्पटाउन थाल्छु । जतिसुकै बेला उनले मलाई आराम छ, म ठिक छु भनेको सुन्न मेरा कान लालायित हुन्छन् र जुनसुकै बेला उनलाई सम्झँदा त्यस कमजोर ज्यानले कति दुःख खेपिरहेको होला भन्ने मलाई लाग्थ्यो । सायद उनी पनि मेरा विषयमा उसरी नै सोचिरहेकी हुन्छिन् । मैले उनीसँग बनाएको सम्बन्ध र साथले अरु तिन जनाको जिन्दगी बन्यो र मलाई आत्मसन्तुष्टि मिल्यो ।
…
(प्रिय साथी ! तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । र, कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)