गर्भिणी थियो मेरो नाम

कविता

सुनिता खनाल

गर्भिणी थियाे मेरो नाम, हरायो ।

तिमीले हिँडिरहेको
बाटोको धुलोमा खस्यो
कि तिम्रो पदचापमुनि छोपियो ?
तिम्रो नामको पर्वतले छेल्यो
कि तिम्रो पहिचानको वादलले छेक्यो ?
कानूनको पहिरोमा पुरियो
कि भन्साघरको जेलमा थुनियो ?

मलाई थाहा छ
कुनै चराले गुँड बनाउन
रूखको हॉंगामा अल्झाएको छैन मेरो नाम
कुनै रात्रिबसको छप्परमा चढेर
देशै छोडेर भागेको छैन मेरो नाम
कुनै अभियोगमा पक्राउ परेको छैन
कुनै भुइँचालोमा पुरिएको छैन !

बस्‌, मेरो नाम हरायो
गर्भिणी थियो मेरो नाम
हरायो!

नागरिकताको प्रमाणपत्रबाहेक
कुनै अखबारले आजसम्म छापेको छैन
कुनै बटुवाले बाटोमा भेटेको छैन
कुनै जङ्‌गलमा अलपत्र परेको छैन
कुनै नदीले बगाएको छैन
मलाई थाहा छ
कुनै हुरीले उडाएको छैन मेरो नाम ।

रातदिन संविधानको पुराण सुनिने
सडक किनाराका चिया पसलहरुमा
रातदिन राजनीतिको भजन गाइने
पार्टी अफिसहरुमा
रातदिन पुरुषैपुरूष
उत्पादन हुने कारखानाहरुमा
कुनै दङ्‌गामा,भाषणमा, किताबमा
कहिल्यै नभेटीएको मेरो नाम !

जब यो देशमा
आलो लोकतन्त्रको न्यानो घाम लाग्यो
अनि सुक्न थाले नामका विस्कुनहरू
जब यो देशमा
अधिकारको विगुल बज्यो
अनि बज्न थाले अमुर्त रागहरु
जब यो देशमा
पहिचानको माटो चिरियो
त्यहीँबाट निस्किए नाकनक्साको मुर्तिहरु
त्यतिखेर
ठिक त्यतिखेर नै हरायो मेरो नाम।

मलाई शंका छ
कसैले मेट्यो मेरो नाम
ताकि उसको नाम त्यहीँ लेखियोस्‌
कसैले च्यात्यो मेरो नाम
ताकि उसको नाम त्यहीँ भेटियोस ।

यदि याे देशमा
न्यायकाे बत्ती बल्छ भने
ए, नामका पुजारीहरु हो !
मेरो हराएको नामको पनि हिसाब गर
कि त मेरो नाम फिर्ता गर
कि नामहरुको भीडमा
मेरो गर्भिणी नाम हराउनुको
ठिकठिक कारण प्रष्ट पार
कि त नामको राजनीति बन्द गर
कि त मेरो नाम सार्वजनिक गर।


(प्रिय साथी ! तपाईं पनि प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button