पोखराकी जेनीले भनी, ‘पानी नभएको खोला र ब्वाइफ्रेन्ड नभएको कलेज उस्तै हो’
रञ्जना कार्की
अन्ततः मैले केयु ज्वाइन गर्ने निर्णय गरेँ ।
असोजको महिना । भदौरे झरीले खुलेको आकाश । मकै पाक्ने गर्मी बिस्तारै कम हुँदै वर्षा ऋतुको समाप्तिपछि शरद ऋतुको आगमन हुँदै थियो । मौसम गर्मीबाट बिस्तारै जाडोतिर फर्किंदै थियो ।
काभ्रे जिल्लाको धुलिखेलसँग जोडिएको एउटा ठाउँ अठ्ठाइस किलोमा रहेको केयु अर्थात् काठमाडौँ युनिभर्सीटी मेरो पढाइको गन्तव्य बन्यो ।
मेकानिकल इन्जिनियरमा चारवर्षे कोर्षमा नाम निकालेँ । पाँच हजार स्टुडेन्टले परीक्षा दिएका थिए, तर एक वर्षमा पढ्न पाउने सिट साठीजनाको मात्र थियो । मेरो एक नम्बरमा नाम निस्कियो । तर यहाँ एक नम्बरमा नाम निस्कनु र साठी नम्बरमा नाम निस्कनुमा केही फरक थिएन । स्टुडेन्टको फेमिली ब्याकग्राउन्ड र आर्थिक अवस्था सबै बुझे पनि निम्न वर्गको हो भन्ने प्रमाणित भयो भने मात्र स्कलरसिप पाउने नियम थियो । साठीजना स्टुडेन्टमा चारजना मात्र मेकानिकल इन्जिनियर पढ्ने केटी भएछौँ । कलेजमा धेरै केटीहरु फार्मेसी र सिभिल इन्जिनियरिङतिर नै झुम्मिएका थिए ।
हप्तामा चार दिन क्लासमा पढाइ, एक दिन प्रोजेक्ट र अर्को दिन ल्याबमा प्राक्टिकल । यसरी चलिरहेको थियो छ दिनको सेडुल ।
बिहान नौ बजेदेखि झन्डै तीन हजारभन्दा बढी स्टुडेन्ट केयुको गेटभित्र प्रवेश गर्थे । देशैभरिबाट केयुमा पढ्न आउने साथीभाइहरु भेटिन्थे । आधाभन्दा धेरै स्टुडेन्टहरु त होस्टेलमै बसेर पढ्ने गर्थे । तर भक्तपुरबाट केयु दश किलो मिटर पनि पूरा थिएन । म सधैँ घरबाटै अप–एन–डाउन गर्थें ।
मौसम र वातावरणले पनि मान्छेलाई निकै प्रभाव पार्दो रहेछ । चारैतिर देखिने हरियो जङ्गल । तरेली परेका खेतका गह्राहरु । पहेँलै झुलेका धानका बाला । पूर्वमा धुलिखेल बजार । पश्चिममा देखिने पनौती शहर । उत्तरमा देखिने गोसाइकुण्डको डाँडो । बीचभागमा रहेको काठमाडौँ युनिभर्सिटी । जता फर्केर हेरे पनि प्रकृतिका सुन्दर दृश्यहरुले मन सधैँ प्रेमिल भइरहन्थ्यो ।
युनिभर्सिटीको पढाइ प्लस टु पढ्दाभन्दा धेरै फरक लाग्यो । सबैसँग एक प्रकारको छुट्टै खुशी र उमङ्ग थियो । त्यही क्रममा नयाँ साथीहरुसँग चिनजान पनि भयो । हाम्रो क्लासमा हामी चारजना मात्र केटी थियौँ । छपन्नजना केटाहरु सबैलाई हाम्रो नाम कण्ठस्थ थियो ।
जेनी गुरुङ । घर पोखरा । ऊ पहिलो भेटमै मसँग निकै नजिक बन्न पुगी । काठमाडौँ सुन्धारामा उसको काकाको घर र होटल थियो । ऊ काकाको घरमा बसेर पढ्थी । युनिभर्सिटीले काठमाडौँबाट पढ्न आउने स्टुडेन्टलाई दैनिक बसले लाने र ल्याउने व्यवस्था गरेको थियो । यो सुविधाले गर्दा पनि हामीलाई निकै सहज थियो । पब्लिक गाडीको भीडभाडमा च्याप्पिएर कलेज पुग्नुपर्दैनथ्यो । सधैँ बिहानको आठ बजे तोकिएको ठाउँमा हामीलाई लिन बस आइपुग्थ्यो ।
‘पानी नभएको खोला र ब्वाइफ्रेन्ड नभएको कलेज उस्तै हो । म एउटा ह्यान्सम ब्वाइफ्रेन्डको खोजीमा छु । उता पोखरामा प्लस टु पढ्दा पनि मनले खाएको केटा एउटा भेटिएन । त्यो कलेज भनेको सानो पानी बग्ने खोला हो । युनिभर्सिटी भनेको समुद्र हो । गहिराइसम्म डुब्न सके मोती पनि पाइन्छ ।’ एक दिन जेनीले भनी र ठूलो स्वरमा हाँसी । आफैँ कुरा निकाल्ने अनि आफ्नो कुरामा आफैँ मख्ख परेर हाँस्ने जेनीको पुरानो ह्याविट रहेछ ।
‘तिम्रो त स्कूल पढ्दादेखिकै ब्वाइफ्रेन्ड होला नि ?’ मैले भनेँ ।
‘वाउ….! तिमी त ज्योतिषी पनि रहिछौ ।’ उसले भनी ।
‘हो नि ! मैले ज्योतिषी विद्या पनि पढेकी छु ।’ म उत्साहित हुँदै बोलेँ ।
‘तिमीले मेरो कुरा ठ्याक्कै मिलायौ । तर, म तिमीलाई भेटी दिन्नँ ।’ उसले भनी ।
‘उसो भए तिमीले आज धुलिखेल लगेर पिज्जा खुवाउनुपर्छ ।’ मैले भनेँ ।
‘म यो कुरामा सहमत छैन ।’ उसले भनी ।
‘किन ?’ मैले आश्चर्य मान्दै सोधेँ ।
‘वाहियात ज्योतिषी तिमी ! मेरो कुनै ब्वाइफ्रेन्ड नै छैन । तिमीले भनेको केही पनि मिलेन ।’ जेनीले मलाई हेरेको हे-यै बनाइदिई । ममता र रेखा पेट मिचीमिची हाँस्न थाले । जेनी हाम्रो ग्रुपकै फन्नी र चञ्चले स्वभावकी साथी थिई ।
मैले रेखालाई हँसीमजाकमै सोधेँ, ‘रेखा, तिम्रो त ब्वाइफ्रेन्ड होला है ?’
मेरो प्रश्नले उसलाई छुन सकेन । ऊ फिस्स हाँसी ।
‘मलाई कलेज लाइफमा गाँसिएका प्रेम काल्पनिक उपन्यासका कथाहरुजस्तै लाग्छन् । हामी त्यही कथाभित्रका पात्र हौँ । हामी उपन्यासको अन्त्यसम्म नरहन पनि सक्छौँ । हाम्रो भूमिका कहाँसम्म हुन्छ, हामीलाई थाहै हुन्न । कथाले हामीलाई छिट्टै अलग्याउन पनि सक्छ । अन्तिमसम्म पु¥याएर आँसुको सागरमा डुबाएर छोड्न पनि सक्छ । त्यो सब लेखकको कल्पना र कथा बुनाइमा भर पर्ने कुरा हो । कलेजमा भेटिएका ह्यान्डसम हिरोहरु एउटा काल्पनिक उपन्यासका पात्रहरुजस्तै लाग्छन् । मनबाटै माया गर्ने शालीन स्वभावको प्रेमिल केटा मैले कलेज जीवनमा भेटेकै छैन । तर मेहनती र जेहेन्दार केटाहरु कलेजमा धेरै भेटेकी छु । तिनीहरु हामीलाई प्रेम गर्नै जान्दैनन् । उनीहरु आफ्नो पढ्ने बुक र समयलाई मात्र प्रेम गर्छन् । यही भएर पनि होला आवारा र लफङ्गा केटाहरुले छानीछानी प्रेमको रस चुस्न पाएका छन् ।’ रेखाले निकै भावुक भएर भनी ।
रेखाको कुरालाई दुई हात जोडेर नमन गर्दै ममताले सहमती जनाई । मलाई पनि रेखाको कुरा वास्तविकजस्तै लाग्यो ।
हामी तीनवटी केटीहरुभन्दा जेनी धेरै फरक स्वभावकी थिई । उसलाई धेरै हाँस्नुपर्ने, चकचक गर्नुपर्ने, बोलिरहनुपर्ने, लवज पनि फरक, मङ्गोलियन अनुहार, सानासाना आँखा, आँखामाथि गाजल, ओठमा गुलाबी रङको लिपिस्टिक, कानमा लामा झुम्का, घाँटीमा सुनको सिक्री । ऊ साँच्ची नै राम्री थिई । धेरै केटाको ध्यान जेनीमाथि हुन्थ्यो । तर ऊ पनि जस्तो पायो त्यस्तो केटालाई वास्तै गर्दिनथी । मेरो मनको राजकुमार यो कलेजमा छैन भन्थी ।
(उपन्यास ‘प्रेमको महासागर’को अंश)
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)