सगरमाथा पनि हाँसिरहेछ (नियात्रा)
उदाउँदो घामसँगै झुलुक्क झुल्क्यो नुप्से र ल्होत्सेका पछाडि गमक्क परेर बसेको सगरमाथा र घामको लालित्यले टलक्क टल्कियो नम्बरी सुनझैँ । सगरमाथा यसरी झल्झलाकार भइरहेको थियो कि मानौँ, घामको झुल्कोले सगरमाथाको शिरमा सुनको लावा बर्साइरहेछ ।
राजेन्द्रमान डंगोल ।
गर्वले शिर ठड्याएँ मैले त्यो बिहान । खुसीको सीमै रहेन । सगरमाथाझैँ अटल भएर उभिइरहेँ म निकैबेर ।
सन् २०१५ अप्रिलको पहिलो हप्ता ।
बिहानै काठमाडौँबाट उडेको जहाजले आठ नबज्दै वा भनूँ लुक्लाको तेन्जिङ–हिलारी विमानस्थलको धावनमार्ग छुँदानछुँदै मभित्र खुसी अटेसमटेस भैसक्छ । सफल अवतरणपछि भीमकाय पहाडको काखमा सुतेको त्यो सानो विमानस्थल र त्यससँगै उभिएको सम्पन्न लुक्लाको सुन्दर तस्बिर देख्दा बिछट्टै आराम पाउँछन् मेरा आँखाले ।
लुक्लामै स्वागत गर्छ, पर्यटकहरूलाई ६,०११ मिटरको क्वाङ्दे पीकले । अझ नाम्चे पुग्दा त क्वाङ्दे झुकेझैँ लाग्छ पाहुनासँग । नेपाल पर्वतारोहण संघ अधीनस्थ यो चुली कम टेक्निकल भएकोले धेरै आरोहीका रोजाइमा पर्छ । क्वाङ्देको अभिवादनलाई स्वीकार्दै लुक्ला बजार प्रवेश ग-यौँ हामी । इबीसी जाने धेरै पदयात्रीका पाइला यहीँबाट उठान हुन्छ ।
लुक्लाभन्दा तलको भागलाई सोलु र माथिको भागलाई खुम्बु भनिन्छ । एउटै शब्दमा भन्नु पर्दा ‘सोलुखुम्बु’ । चिया पिउँदैगर्दा उनीहरूलाई मैले यही कुराको जानकारी गराएँ । पथप्रदर्शक हुनुको भूमिका निर्वाह गर्दै थिएँ म ।
प्रहरी चेक पोस्ट र टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ट्रेकर्स इन्फरमेशन म्यानेजमेन्ट सिस्टम (टिम्स)को काउन्टरमा पदयात्रीहरूको नाम दर्ता गराएपछि उमङ्गका पाइला उठायौँ हामीले, सगरमाथा आधार शिविरतर्फको ।
त्यो दिन पुग्नु थियो २,६४० मिटरको फाक्दिङमा, २,८६० मिटरमा अवस्थित लुक्लाबाट । दूरी छ किलोमिटर मात्र । पासाङ ल्हामु स्मृति द्वारपछि आयो, दम्स्याइलो ओरालो । वसन्तले जवानी ल्याइदिएको गुराँसका फूललाई चराहरूले गरिरहेको मायालु स्पर्श देख्दा झङ्कृत भइरहेथ्यो, मेरो हृदय–नयन ।
इभानले सोधे, “हाउ लङ्ग डू वी वाक टुडे ?”
“थ्री आवर्स ।” जवाफमा मैले भनेँ ।
सबैले सुन्ने गरी मैले फेरि भनेँ, “टुडेज वाक इज जस्ट फर वार्म अप !”
स्याजेनले भने, “आइ नो ! बट, आइ एम वरिङ्ग अबाउट टुमरोज ट्रेल ।”
लाग्थ्यो– उकालो सम्झँदा मात्र पनि उसको सातो गइसकेको छ । उकालो हिँड्नु त कहाँ सजिलो हुन्छ र !
उनलाई विश्वस्त पार्दै मैले भनेँ, “वेल ! द अपहिल ट्रेल टू नाम्चे इज नट इजी । बट इट डजन्ट मिन द्याद इट्स भेरी डिफिकल्ट । नो निड टू बी वरिड । यू क्यान डू इट ! द मेजर अपहिल इज वन्ली फर टू आवर्स । वी आर गोइङ टू टेक इनफ रेस्ट देयर ।”
“आइ सी !” उनी विश्वस्त भए ।
ओर्लँदै गर्दा बाटोमुनि देखियो चौँरीखर्क । लुक्लापछिको यो अर्को गाउँ । हरियो पहाडको पृष्ठभूमिमा उभिएको एउटा सुन्दर बस्ती, जहाँ सल्बलाइरहेका देखिन्थे मानव आकृति र सँगसँगै चल्मलाइरहेका थिए, केही थान चौँरी । यस्तो लाग्थ्यो, यहाँका मानिसहरूको दैनिकी यसरी नै सुरु हुन्छ । सिर्सिरे बतासमा बैँस लहराइरहेका फापरबारीका पाटाहरू, तल देखिने दूधकोशीको सग्लो चित्र, सामुन्नेमा हिमालका दृश्य । खुब रमाइलो छ, यो ठाउँ । त्यसैले त जिरीबाट पदयात्रा सुरु गर्ने धेरैजसो पर्यटकहरू यहाँ आइपुग्छन्, बास बस्न । मेरो मनले भनिरहेको थियो– ‘आहा ! एक रात यहीँ बस्न पाए !’
चेप्लुङ पुगेपछि सुरिलो खुम्बिला पर्वतले हामीलाई मुहार देखायो । उचाइमा ५,७६१ मिटरमात्र भएपनि कसैको पाइला परेको छैन, यसको शिरमा । खुम्बिलालाई यहाँका शेर्पा जातिले देवताको रूपमा पूजा गर्छन् । आठौँ शताब्दीमा पद्मसम्भव बौद्ध धर्म प्रचारको सिलसिलामा आउँदा स्याङ्बोचेमाथिको ओडारमा निकै समय ध्यान गरेर बसेका थिए रे । यिनले खुम्बिलालाई देउता भनेर मानेका रहेछन् । ओमकार परिवारका मान्छेहरू यसै पनि प्रकृतिपुजक । त्यसमाथि देउता भनेपछि श्रद्धा नगर्ने त कुरै भएन ।
खुम्बिलाको काखमा बस्नेहरू यसलाई आफ्नो संरक्षक नै मान्छन् । यही कुरा बताएँ उनीहरूलाई ।
“क्लाइम्बिङ गर्न नदिनुको कारण ?” इभानको जिज्ञासा ।
“हाम्रो संस्कारमा देउताको शिरमा खुट्टा राख्नु महापाप हो ।” मैले बताएँ ।
कुरा सुनेर ली र इभानले अचम्म माने । धर्ममा विश्वास नराख्नेका लागि यस्तो कुरामा अचम्म लाग्नु स्वाभाविक थियो । तर उनीहरूले पनि बुझे होलान्, धर्मप्रतिको आस्था कस्तो हुँदोरहेछ भनेर ।
हामी हिमालहरूको सञ्जाल नजिकै पुगिसकेका थियौँ । ठाडोकोशी पुगेपछि कुसुम काङ्गुरू (६,३३७ मिटर)ले हात उठायो । शेर्पाहरू यसलाई पनि थ्री स्नो–ह्वाइट गड्स भन्छन् । यही कुरा भनूँ भने यिनीहरूले नपत्याउलान् कि ! फेरि प्रत्येक पर्वतलाई देवता भनेर कसरी सिद्ध गर्नु । पत्याऊन् पनि कसरी ! जनसङ्ख्या करिब तीन करोड भएको देशमा देवता चाहिँ तेत्तीस कोटि रे ! मनोलाप गर्दै थिएँ म ।
निकैबेरसम्म कुसुम काङ्गुरूमा क्यामरा सोझ्याइरहे लीले । एउटा हिमाललाई यति धेरै समय लगाएर तस्बिर लिने हो भने नाम्चे काटेपछि देखिने हिमालहरूलाई कति समय लगाउलान् यिनले ! भोलिका दिनहरूमा समयमै गन्तव्य छिचोल्न नसकिने पो हो कि ! सुर्ताको कुहिरो छि-यो, मेरो मनमा ।
‘एउटै हिमाललाई यति धेरै समय लगाइरहनु पर्दैन ! यस्ता हिमाल त कति देखिन्छन् कति ! भनूँ कि जस्तो लागेको थियो ।’
तर, भनिनँ ।
सोचेँ– ‘रमाउन दिऊँ न । हिमाल हेरेर रमाउनेलाई । भोलिबाट त हिमाल देखेर वाक्क भइहाल्ला नि ! फेरि फाक्दिङ आइपुग्न कति नै बाँकी छ र !’
बाटामा छोर्तेन(स्तूप)हरू थुपै्र देखिन्छन् । मैले उनीहरूलाई बताएँ– ‘यी सब शान्तिका प्रतीक हुन् । हामीले यसलाई दाहिने पारेर हिँड्नुपर्छ ।’
माने स्टोनहरू यो रूटको अर्को विशेषता । निकै मिहिनेतसाथ कुँदिएको छ ‘ओम मणि पद्मे हूँ’को लिपि, प्रत्येक विशाल प्रस्तरहरूमा । चित्त शुद्ध पार्न मैले ‘ॐ मणि पद्मे हूँ’ को मन्त्र जप्दै हिँडेँ मनमनै ।
अघि बढ्दै जाँदा कानमा दूधकोशीको आवाज ठोक्किन आइपुग्यो । नजिक पुगेर निर्बाध बगिरहेको दूधकोशीलाई हेरेँ । दूधकोशीको आफ्नै रङ छ, दूधजस्तै । आफ्नै नाद छ, नामुद सङ्गीतकारले सृजना गरेको सङ्गीतजस्तै र आफ्नै गमन छ, पदयात्रीको जस्तै । दूधकोशीलाई देख्दा यस्तो लाग्छ, छिप्पिँदो घामले शरीरमा विस्फोट भइरहेको पसिनालाई मत्थर पार्न झ्वाम्लाङ्ग फाल हालूँ । मनको आवेग न हो ! यस्तो अमूल्य जीवन व्यर्थमा दूधकोशीलाई बुझाउनु छ र ! दूधकोशी हेरेरै मैले चिस्याएँ आफूलाई ।
घाट पुगेपछि ‘फाक्दिङ’ लेखेको साइन पोस्टिङ आयो । लुङ्दरले बेरिएको मनोहर बस्ती आइपुग्यो अलिबेर हिँडेपछि । त्यही थियो फाक्दिङ ।
घडी हेरेँ । बाह्र बजेको थियो । ठ्याक्कै तीन घण्टा नै लागेछ । दाल–भातको लालसामा मेरो पेटले जुलुस गर्न थालिसकेको थियो । हामी होटल ट्राभलर्स इनमा छि-यौँ ।
०००
भोलिपल्ट ।
पुग्नु थियो नाम्चे, ३,४५० मिटरको उचाइमा । आठ बजे तयार भइसकेका थियौँ हामी ।
“हाउ लङ इज टुडेज वाक ?” मुहारमा सनक्रिम घस्दै इभानले मसँग सोधे ।
“सेभेन एन्ड हाफ किलोमिटर्स ! फाइभ आवर्स वन्ली ।” मैले बताएँ ।
“लेट्स गो !” पाइला उठाए स्याजेनले ।
पाइलाहरूले पछ्र्याइरहे दूधकोशीको किनार र तरिरहे झोलङ्गे पुलहरू । दूधकोशी कहिले दायाँ कहिले बायाँ । कहिलेकाहीँ नजर वारिपारिका पाखापखेरामा पुगिहाले पनि दूधकोशीमै ठोक्किहाल्थ्यो । टोकटोक, बेङ्कार, छुमो, मोन्जु हुँदै लार्चे दोभान पुग्दासम्म सुनिरहेँ, दूधकोशीले सिर्जेेको धुन । त्यतिबेला झङ्कृत भइरहेथ्यो मेरो सम्पूर्ण शरीर, वीणाको तारझैँ । छिनछिनमा टक्क उभिएर पृष्ठभूमिमा दूधकोशीले सिर्जना गरेको सङ्गीतमा गायक अनुप जलोताले गाएको गीतका शब्दहरूलाई स्वराङ्कित गरँे मैले, प्रकृतिको त्यो खुल्ला थिएटरमा–
‘जिन्दगी खोलाजस्तै बगिरहेछ
अतृप्त प्यास लिइर्…………..’
हल्का उकालो आएपछि मनले बजाइरहेको गीत आफैँ रोकियो । सोच्न थालें– ‘बरु दूधकोशी इबीसीतर्फ बगिदिएको भए काठमाडौँबाट चितवन-पोखरा जाँदा -याफ्टिङ गरेर गएजस्तै जलविहार गर्दै इबीसी पुग्ने थिए पर्यटकहरू ! उकालो पनि हिँड्नु नपर्ने जलविहारको आनन्द पनि लिन पाइने ! कस्तो राम्रो प्याकेज बन्थ्यो होला । मनमा फुलेको फूललाई आकाशको जूनसँग साट्न खोज्दै थिएँ म । असम्भवप्रायः काम !
ग्रूपमा सबैभन्दा कम बोल्ने ली चिहुवा बोले– ‘यू नो राज ! वि डन्ट ह्याभ सच नेचर………माउन्टेनस, रिभर्स, फल्स, लस ग्रीन फरेस्ट विथ ब्लुमिङ रोडोडेन्ड्रोन्स । आइ एम इन्जोइङ दिस ट्रिप ।’
जोर्साले पुगेपछि पाइला रोकियो ।
दूधकोशीमाथिका दुईवटा पुलले हामीलाई बोलाइरहेको थियो । स्वागत गरिरहेको थिए, पुलमा टाँगिएका लुङ्दरहरूले ।
मैले लाललाई सोधेँ, “हामी कुन पुलबाट जान्छौँ ?”
“माथिल्लोबाट । बाटो छोटिन्छ नि !” उनले भने ।
सोचेँ– ‘ठीकै हो, नयाँपुलबाट नयाँ अनुभव गरौँ न त !”
माथिल्लो पुल त ताकियो । तर, ३,१०० मिटरको उचाइको पुलबाट तल हेर्दा कहालीलाग्दो देखिन्थ्यो । आफू परियो उचाइदेखि डराउने मान्छे । फर्केर तल्लो पुलबाट जाऊँ भनेपनि ती विदेशीहरूले कस्तो छेरूवा रहेछ भन्ठान्लान् भन्ने डर । इज्जतकै कुरा भए पनि भयभीत थिएँ म ।
‘पथप्रदर्शकले पनि डराउनु हुन्छ र !’
मेरो मनले भन्यो– ‘सीधा हेर् र सरासर जा ! कतै नहेरी, नअडिई ।’
अगाडि लागेँ र सरासर गएँ । पारि पुगेर हेर्दा उनीहरू पुलको बीचमा तस्बिर लिँदै थिए ।
लाग्यो– आफू पनि उनीहरूजस्तै निर्भय हुन सके पो !
उनीहरू आइपुगेपछि भने, “वी मिस यू इन आवर फोटो ।”
मैले भनेँ, “सरी ! आइ वील बी विथ यू अन द नेक्स्ट ब्रिज ।”
इभानले पुलमा बाँधिएको खादालाई देखाउँदै मसँग सोधे, “ह्वाइ इज इट टाइड अप हियर ?”
विदेशीहरू सानातिना कुराहरूमा पनि खोजिनिधी गर्छन् । गर्नु पनि पर्छ । यसैका लागि त आएका ।
उनको कुतूहलतालाई मेटाइदिँदै मैले भनँे, “एक्च्युअल्ली, द खादा अफर्ड बाइ द पिपुल अफ नाम्चे आर लेफ्ट हियर । वी क्यान्ट क्रस द ब्रिज विथ इट । आइ डन्ट नो ह्वाट सुपरर्सटिसन इट इज ! इट्स एन ओल्ड ट्रडिसन । सम पिपुल टाइ इट अप अन् द आइरनलग ।”
पिठ्यूँमा ग्याँसका खाली सिलिन्डर बोकाइएका एक हुल झोपा (चौँरी र गोरुको वर्णशङ्कर सन्तान) ग्वारग्वार्ति झरे । नाम्चेतिर लगिँदै थिए तिनीहरूलाई । तिनको पदचापलाई मैले सुनिरहेँ । उता घोडेपानीतिरका खच्चर र यताको झोपाले एउटै नियति भोग्नुपर्छ । बाँच्नका लागि भारी बोक्नु र भारी बोक्नका लागि बाँच्नुपर्छ यिनले । यो देख्दा कहिलेकाहीँ त भन्न मन लाग्छ मलाई– ‘हे मानव हो ! अबोध पशुमाथि तिमीहरू यति क्रूर किन ?’
सुरु भयो, इबीसीको वास्तविक पदयात्रा । ४५० मिटरको चढाइ बाँकी थियो ।
लाल अगाडि लागे । हामीले पाइला नाप्न थाल्यौँ, नाम्चेको उकालोमा । बाटो छेउछाउका पैयुँका सेता फूलहरू सुम्सुम्याउँदै अघि बढेँ म । कोकिल कण्ठबाट चिरबिर आवाज निकाल्दै गुराँसका रङ्गीबिरङ्गी फूलहरूमा रजाइँ गरिरहेका थिए चराहरू । अघि दूधकोशीको धुन, अहिले चराहरूको । नत्र अन्नपूर्णको उलेरीकै उकालो बिर्साउने यो उकालो कसरी काट्नु ।
साँच्चै यी पन्छीहरू नहुँदा हुन् त बटुवाहरूले कति एक्लो महसुस गर्थे होलान् ! कति बेस्वादिलो हुन्थ्यो होला मान्छेहरूको यात्रा !
उक्लँदाउक्लँदै तोप डाँडाको बिसौनीमा पुग्यौँ ।
बडेमानको भारीलाई पछाडि तोक्मा (टेक्न पनि मिल्ने लाठी)मा टेकाएर उभिइरहेका थिए, दुई युवक । उनीहरूको नजिक पुगेर मैले ‘नमस्ते’ भनेँ । स्वेत दन्तलहरको मुस्कान फिँजाउँदै नमस्ते फर्काए दुबैले ।
मैले उनीहरूलाई सोधेँ, “कति किलोको छ तपाईंहरूको भारी ?”
“एकसय पाँच ।” उनीहरूको जवाफ थियो ।
एकसय पाँच किलो ! कसरी बोकेका होलान् ! आफूलाई बाह्र किलोको झोला बोक्दा प्राण जालाजस्तो भइसकेको छ ।
स्याजेनले किन यति धेरै लोड बोकेको भनेर जान्न चाहे ।
यही कुरा मैले उनीहरूसँग राखेँ ।
जवाफ थियो– हामी किलोको हिसाबले बोक्छौँ ।
दुई पैसा बढी आर्जन गर्न आफ्नै वजनभन्दा दोब्बर भारी बोक्छन् उनीहरू । पहाड आफैँमा सुन्दर हुन्छ, अवलोकनका निम्ति । तर त्यसैले जीवनलाई कठिन बनाइदिएको हुन्छ । पहाडसँग सङ्घर्ष गर्ने जीवनको दैनन्दिनी थियो त्यो । आफ्नो गरिबीको पहाडलाई मुठार्न सुदूरपूर्वदेखि नाम्चेको पहाड चढ्दै थिए उनीहरू, आफैँप्रति निर्मम भएर ।
आफ्नो ज्यानलाई धितो राखेर फगत् सन्तानका मुहारमा खुसी जगाउने उनीहरूको प्रयास थियो त्यो ।
काठमाडौँले उनीहरूलाई देखेको छ, अनुभूत गरेको पनि छ । तर कहिल्यै बोलेको सुनिन्न, उनीहरूको पक्षमा । सुिनन्छ त चुनावका बेलामा केवल खोक्रा नाराहरू । मैले स्याजेनलाई भनेँ– ‘हेर त, कति सुन्दर दृश्यहरू देखाइदिन्छ पहाडले ! र, सँगसँगै यस्ता कारुणिक दृश्य हेर्न पनि बाध्य हुनुपर्छ ।’
फेरि उक्लियौँ ।
एक घण्टा हिँडेपछि आयो चेक पोस्टसहितको अर्को बिसौनी । नाम दर्ता गर्दैगर्दा स्याजेनले सानो स्वरमा मलाई सोधे, “हाउ फार इज नाम्चे ?”
यतिखेर उनको आवाज मसिनो स्वर भएको लीको भन्दा पनि मसिनो थियो । लाग्थ्यो– ‘उकालोले उनलाई गलाई सकेछ ।’
मैले भने, “भेरी क्लोज । जस्ट फिफ्टिन मिनिट्स अवे ।”
अलिक ठूलो आवाजसहितको मुस्कान फ्याँके उनले ।
फेरि पाइला गन्न थाल्यौँ, उही लयमा । मैले सुसेलीले सङ्गीत भर्दै हिँड्दा जुरेलीहरू पनि चिरबिरमा मसँग रमेजस्तै गरी बुट्यानहरूमा उफ्रँदै थिए एकनासले । तिनका आवाजमा प्रकृतिको लय प्रतिध्वनित भइरहेको अनुभूत हुन्थ्यो मलाई ।
डिलमा पुगेपछि नाम्चे देखियो ।
आश्चर्य भावमा स्याजेनले भने– ‘ह्वाट अ ब्युटिफुल ह्याबिट्यान्ट !’
स्याङ्बोचेको काखको तरेली परेका गह्रागह्रामा ठडिएका संरचना । राता, नीला र हरिया छानाहरू । रङ्गीन लुङ्दरका चञ्चल फर्फराहट । अनि ‘ब्युटिफुल’ नहोस् त ! फेरि बजारको मुखमै बनाइएका छन् ठूलाठूला मानेहरू र गुन्जिरहेको छ ‘ॐ मणि पद्मे हूँ’को सङ्गीत, मधुर लयमा ।
पाँच दशक अघिदेखि मानव वस्तीको सुरुवाती भएको रे नाम्चेमा । म पहिलो पटक सन् १९९९ मा आउँदा यत्तिको चहलपहल थिएन । अहिले सुन्दर पर्यटकीय सहरजस्तो भएको छ । मैले यही कुराको जानकारी गराउँदै उनीहरूलाई भनेँ– ‘देख्यौ ! यहाँ विकास नभएपनि प्रगति छ । यो सब एभरेस्टकै देन हो ।’
छलाङ मारेको छ नाम्चेले । काठमाडौँमा पाइने सुविधा पाइन्छ यहाँ । हरेक वर्ष होटलहरू थपिएर माथिमाथि सर्दै छ नाम्चे । लाग्छ, अर्काे दश वर्षमा त नाम्चेबजारले स्याङ्बोचे छुन बेर छैन ।
हामी नाम्चेको आमादब्लम होटलमा छि-यौँ ।
स्याउजस्तो गालामा डिम्पल पारेर भित्रबाट पेमा शेर्पा मुस्कान फ्याँक्दै आइन् र भनिन्– ‘तासी देले’ दाइ !’
चित्ताकर्षक लाग्ने उनको मधुर आवाजले मेरो थकाइ मेटाइदियो ।
पेमाले उनीहरूलाई कोठाको साँचो दिइन् ।
“दाइ तपाईंहरू चिया पिउनुस् है ।” थमर्समा भएको चिया कपमा खन्याउँदै उनले भनिन् ।
नाम्चेको चिसोमा मरिच हालेको कालो चिया, पेमाको मीठो हाँसो र उनको गालामा परेको डिम्पल ।आहा ! कस्तो मीठो संयोजन परिस्थितिको !
०००
अर्को दिन ।
बाह्रबजे आइपुग्ने गरी लन्च अर्डर गरेर हामी स्याङबोचे हाइकिङका लागि निस्क्यौँ ।
माथि उक्लिँदै जाँदा सुन्दर नाम्चे बजार झनै सुन्दर देखिन्थ्यो । हेलिकप्टर, याक र मान्छेलाई निर्माण सामग्री बोकाएर पनि नयाँ होटलहरू बन्दै थिए । उतिखेरको खेतीयोग्य जमिन अहिले कङ्क्रिटमय बनिरहेको देख्दा कताकता नमजा पनि लाग्दोरहेछ । आफूलाई लागेर के गर्नु ! यहाँका लाई नलागेपछि ! आखिर पैसाकै खेती गरेका न हुन् ! जेसुकै होस् । केको ट्यासट्यास ! एकालाप गरिहेको थिएँ म ।
झन्डै एक घण्टा उक्लेपछि स्याङ्बोचे (३,७८० मिटर) मा पुग्यौँ । संसारकै सबैभन्दा अग्लो हवाइ मैदान भनिन्छ, स्याङ्बोचेलाई । तर हेर्दा लाग्छ, संसारकै सबैभन्दा बढी अलपत्रमा परेको हवाइ मैदान पनि यही नै होला । नागरिक उड्ययन प्राधिकरणले स्याङबोचे विमानस्थलको थप निर्माण र सञ्चालनको काम रोकेको रे । विमानस्थल सञ्चालन भएपछि नाम्चेका स्थानीय र व्यापारीले विरोध गरेका रे, पर्यटकहरू स्याङबोचेबाटै फर्केला भन्ने चिन्ताले । यसैलाई भनिन्छ
राजनीति !
मौसम सफा थियो । त्यसैले त नीलो थियो आकाश । स्वतन्त्र भएर सेता बादलका फुल्काहरू छुन्मुनाइरहेका थिए, अनन्त आकाशमा । यही मौका छोपेर स्याङ्बोचे आफैँले पनि आकाशसँग मुस्कान साट्दै थियो । पूर्ण थियो सम्पूर्ण दृश्य । सगरमाथाको टुप्पासम्मै दृष्टि पु¥याउन सकिन्थ्यो । यी सब देख्दा त यस्तो लाग्छ– खान र लाउनको समस्या नहुने हो भने जीवन बिताउनलाई यो भन्दा राम्रो ठाउँ सायदै कतै होला !
खुम्जुङ, खुन्डे, फोर्चे, त्याङबोचेजस्ता मानव बस्ती च्यापेर उभिएका पहाडका तरेली र तिनका पछाडि उनिएका विशाल पर्वतमाला । हेर्दा पहरेदार उभिएझैँ लाग्थे हिमालहरू ।
इभानले भने, “भ्यूज आर पर्फेक्ट !”
चारैतिरका हिमालका दृश्य हेरेर स्याजेनले मलाई सोधे, “डू यू नो द नेम अफ अल दोज माउन्टेन्स ?”
अरू बेला निरस र निर्जीवजस्ता लाग्ने थुम्काथुम्कीहरू पनि हिउँको पहिरनमा सजीव भएर उभिइरहेझैँ लाग्थे । लाग्थे– ती सब पहाड नभएर हिमाल नै हुन् । आकाशले जस्तै रङ फेरिरहन्छ धर्तीले पनि ।
उनको जवाफमा मैले भनेँ, “मेनी अफ द माउन्टेन्स आर स्टिल अन्नेम्ड । हाउएभर, आइ क्यान आइडेन्टिफाइ थामसेर्कु, काङ्तेगा, तावोचे, आमादब्लम् एन्ड अफकोर्स, कुसुम काङ्गुरू, क्वाङ्दे, खुम्बिला………”
“स्टप ! स्टप ! स्टप ! आइ क्यान्ट रिमेम्बर अल दिज नेम्स । माइ मेमोरी इज अल्मोस्ट फुल । आइ थिङ्क इट उड बी ब्रस्ट टिल आइ हेड इबीसी ।” उनले मलाई बीचैमा रोक्दै भने ।
हुन पनि हो । केमात्र सम्झनु, कतिमात्र सम्झनु । हामीलाई उनीहरूका नाम कठिन भएजस्तै होला, उनीहरूलाई पनि हिमालहरूको नाम सम्झन ।
स्याङ्बोचेमा भुलिरहन मन थियो, स्याजेन, इभान र लीलाई । उनीहरूका आँखा र मन अघाएको थिएन । तर के गर्नु ! स्याङ्बोचेमा चलेको हावाले नाम्चे फर्कन सङ्केत गरिसकेको थियो । फेरि भनेको समयमा होटल नफर्के अर्डर गरेको खाना पनि चिसो भैसक्थ्यो ।
लन्चपछि उनीहरू आराम गर्न कोठामा गए । म डाइनिङमै थिएँ ।
गोरी, अग्ली, खैरो र लामो कपाल भएकी एउटी विदेशी केटी डाइनिङमा छिरिन् ।
कसिलो जिउडाल, ओजिलो मुहार र तेजिलो नयन । यौवनले धपक्कै बलेकी, देख्दैमा फरासिली
लाग्ने । उनीसित नजर जुध्नेबित्तिकै मैले अभिवादन गरेँ– ‘नमस्ते !’ उनीसँग बोली मिसाउने
कायदा मात्र थियो त्यो ।
मुस्कुराउँदै अभिवादन फर्काइन् उनले ।
मैले सोध्न खोज्दै थिएँ तर उनैले मलाई सोधिन्, “ह्वेर डू यू कम फ्रम ?”
“फ्रम नेपाल । आइ इम् राज । एन्ड यू ?” मैले पनि सोधेँ ।
उनले भनिन्, “माइसेल्फ ग्राबियला, फ्रम ब्रजिल । नाइस टू मीट यू !”
“नाइस टू मीट यू टू ।” मैले औपचारिकता निर्वाह गर्रेँ ।
केहीबेर गफ्फिएँ उनीसँग । अत्यन्तै शिष्ट र विनीत उनी पेशाले शिक्षिका रहिछिन् ।
मैले पनि आफ्नो परिचय दिएँ ।
उनी इबीसी पुगेर फर्केकी रहिछिन् । गाइड, पोर्टरबिना नै ट्रेकिङ गर्दै थिइन् । सोच्दै थिएँ, छोरीमान्छे भए पनि कति आँटिला हुन्छन् विदेशीहरू ! बिरानो ठाउँमा पनि एक्लै यात्रा गरिरहेका हुन्छन् ।
“कस्तो हुँदै छ पदयात्रा ?” फेरि प्रश्न हु-र्याएँ ।
“राम्रो भयो र हुँदै छ । मैले एभरेस्ट हेर्ने रहर पूरा गरेँ । तर एक्लै आउनुभन्दा कम्तीमा अर्को एकजना साथीसँग आउनुपर्ने रहेछ । लोबुचेको होटलमा मलाई कोठा भएर पनि दिइएन । पछि अर्को मजस्तै एक्ली इजरायली केटी आएपछि कोठा शेयर गरायो । धन्न मैले त कोठा पाएँ । धेरै मान्छे डाइनिङमै सुतेका थिए ।” उनले भनिन् ।
“एक्लै आउँदाको समस्या यही हो । एकजनालाई एउटा कोठा दिन हिच्किचाउँछन्, ट्रेकिङ रूटका होटलवालाहरू । गेस्ट जति धेरै भयो खाना पनि त्यति नै बिक्री हुने भएकोले त्यसो गर्छन् उनीहरू ।” मैले बताएँ ।
उनले भनिन्, “मलाई नेपाल साह्रै राम्रो लाग्यो । म अर्को पटक अन्नपूर्ण आधार शिविर पदयात्राको लागि आउँछु, एकजना साथी लिएर । तपाईंकै सर्भिस लिउँला ।”
सम्पर्क नम्बर साटासाट ग-यौँ हामीले । लन्च गरेपछि उनी बाहिर निस्किन् । म कोठातर्फ लागेँ ।
०००
बेलुका लाल मलाई डाइनिङमा पर्खिरहेका थिए ।
“सर ! अलिकति ‘चुस्स’ लगाउने होइन त ?” देख्ने बित्तिकै उनले मसँग प्रस्ताव राखे ।
उनले भनेको ‘चुस्स’ दुई भाइ मिलेर एक क्वार्टर रम खोल्नु थियो ।
मैले सकारात्मक सङ्केत दिएँ ।
उनले एकएक प्लेट चिकन चिल्ली र चिप्स चिल्ली अर्डर गरे ।
अर्डर गरे बमोजिमको आइटम् ल्याइदिइन् पेमाले ।
पेमाको हातै मीठो । कम्ती स्वादिलो थिएन चिकेन चिल्ली र चिप्स चिल्ली । यत्तिको स्वाद त काठमाडौँका रेस्टुराहरूमा पनि पाइन्न । एभरेस्ट क्षेत्रका होटलका विशेषता नै यिनै हुन् । खाना अन्नपूर्ण र लाङटाङतिरको भन्दा स्वादिलो र परिमाण पनि मनग्य ।
“ह्वाट आर यू ह्याविङ ?” डाइनिङ हलमा आइपुग्ने बित्तिकै स्याजेनले सोधे ।
“पेन किलर ।” मैले उत्तर दिएँ ।
“पेन किलर ! क्यान आइ ट्राई इट ?” आश्चर्य मान्दै उनले भने ।
“नो ! यू क्यान्ट ।” मैले भने ।
उनले कुरा बुझे । उचाइमा जाँदा अल्कोहल सेवन गर्न हुन्न भनेर ।
०००
समय पनि कति छिटो बित्छ । काठमाडौँ छाडेको पनि अठ्चालीस घण्टा भइसकेछ । आज पाँच घण्टा हिँड्नुपर्छ । तर उचाइ भने नाम्चेको भन्दा ४२० मिटर मात्र बढी ।
सात दिनपछि बस्न आइपुग्ने गरी पेमासँग बिदा लिएर तेङ्बोचेका लागि पाइला उचाल्यौँ र लाग्यौँ उकालो ।
उनको गालाको डिम्पलको झझल्को आइरहेको थियो, मेरो आँखामा । सायद लाललाई पनि त्यस्तै भइरहेको थियो ।
पेमाको तारिफ गर्दै उनले भने, “मोरी पेमाको बोली नै मीठो है सर ! गाइड केटाहरू त त्यसैत्यसै लठ्ठिने ।”
“तपाईं बूढा भएर त लठ्ठिनुभएको जस्तो छ ! ठिटाहरू किन नलठ्ठियून् त ।”
ठट्टाभावमा मैले भनेँ ।
मेरो कुरालाई प्रतिवाद नगरी उनले थपे, “सल्लेरीबाट आएर यहाँ काम गर्न बसेकी रे ।”
यहाँका त कि काठमाडौँ, कि विदेश । काम गर्ने मान्छेहरू सबै बाहिरकै हुन् । त्यसो नहोस् त पर–परकाले रोजगार पाउने नै कसरी ! होइन त सर !” उनले भने ।
‘हो नि त !’ मैले समर्थन जनाएँ ।
अघिल्लो साँझ पिएको रमले हो वा विश्रामले, शरीरमा निकै स्फूर्ति बढेको थियो । पन्ध्र मिनेटमै पुगियो होटलबाट नाम्चेको थाप्लोमा । तैपनि पेमालाई देखिन्छ कि भनेर होला लाल मुन्टो तन्काइतन्काइ हेर्दै थिए तलतिर । हेर्दा मात्र सोझो हो, कम छुपेरुस्तम छैन, लाल पनि ।
यसपछिको बाटो भीरको तर सजिलो । कतै सम्म त कतै तेर्पे उकालो । आहा ! यस्तै बाटो आधार शिविरसम्मै भइदिए कति सहज हुन्थ्यो । तर के गर्नु ! थुक्लापछिको उकालोले ढाड सेकाइ हाल्छ ।
पछाडि फर्केर हेर्दा देखिन्छ, दूधकोशीमा भोटेकोशी झरेको ठाउँ । निदाइरहेझैँ भान हुन्छ लार्चे दोभानमा दुबै नदी । दुई दिनअघि तरेको झोलुङ्गे पुलमा झोपोहरू पिठ्यूँमा भारी बोकेर लाइन लाग्दै थिए ।
मैलै साजेनलाई त्यही दृश्य देखाएँ ।
उनले भने, “वी डिड अ गे्रट जब ।”
त्यो गहिराइ देख्दा लाग्थ्यो– ‘त्यति ठूलो उकालो कसरी उक्लिएछौँ !’ थामसेर्कु र आमादब्लम नजिकिँदै आए । ल्होत्से र नुप्से परै देखिन्थ्यो । त्यसैको पछाडि उभिएर चियाउँदै थियो हामीलाई सगरमाथाले ।
नजरभरि पाखैपाखा, भीरैभीर । आँखाहरू नथाकी डुलिरहे ओल्लो डाँडा र पल्लो डाँडा । फूलका राता, सेता र गुलाबी रङ, बस्तीहरूका छानाका हरिया र नीला रङ ।
घुम्तीहरूसँगसँगै रमाइला बस्तीहरू पार हुँदै गए । याङ्जीमा र सानासा देखियो । परको थुम्कामा टुपुक्क उभिएको थियो तेङ्बोचेगुम्बा । हिमाली सौन्दर्यमा कुनै कमी थिएन । यथेष्ट थिए सबै प्राकृतिक छटाहरू, रमितायुक्त अनुभूतिका लागि ।
फुङ्की टेङ्गामा खाना खाएर ज्यानलाई ठाउँठाउँमा आराम दिँदै पट्यारलाग्दो उकालो चढेपछि करिब तीनबजेतिरे पुग्यौँ तेङ्बोचे ।
“३,८७० मिटरको उचाइमा पनि यति फराकिलो थली !” आश्चर्य माने स्याजेनले ।
थलीको एक छेउमा उभिएको छ, दावा छोलिङ अर्थात् तेङ्बोचे गुम्बा । खुम्बु क्षेत्रकै सबैभन्दा ठूलो गुम्बा । सिङ्गो खुम्बुकै गहना । यो नहुँदो हो त तेङ्बोचे यति सुन्दर कहाँ देखिन्थ्यो र ! थलीको अर्को छेउले देखाइदिन्छ लोत्से, नुप्से र सगरमाथाका आकृति । बाटो बाट देखेको भन्दा स्पष्ट देखिन्थे, ती सबै । आमादब्लम त झनै नजिक । निकै मोहक थियो तेङ्बोचले देखाइदिएका तमाम दृश्यहरू ।
मैले उनीहरूलाई भनेँ– ‘सीमित समय भएकाहरू यहाँसम्म मात्र भएपनि आउँछन्, सगरमाथा हेर्न ।’
हामीले गुम्बा लजको पेटीमा निकैबेर बितायौँ, यिनै दृश्यहरू हेरेर ।
तेङ्बोचको गुम्बा लजमा गेस्टहरूलाई कोठाको साँचो दिएपछि होटलवालाले लाललाई भने, “तपाईंचाहिँ पोर्टर हाउस जानुस् है ।”
एभरेस्ट रिजनमा पोर्टरहरू पोर्टर हाउसमा बस्नुपर्छ ।
लालले भने, “खासमा गाइड मै हुँ । उहाँ सर चाहिँ अफिसको बोस हुनुहुन्छ ।”
उनले त्यसो भनेपछि लाल पोर्टर हाउसमा बस्नु परेन ।
०००
यात्राको पाँचौँ दिन ।
सूर्योदयसँगै तेङ्बोचे गुम्बाबाट लावा बाजामा ‘ॐ मणि पद्मे हूँ’ मिश्रित शब्दोच्चारण भइरहेको सुनिथ्यो । आनन्द, चैतन्य र सत्यको सूचक । तन र मनलाई सुख र शान्ति दिने एउटा अलौकिक उपाय । कति गहिरो अर्थ राख्छ, यो मन्त्रले । यो दिव्य ध्वनिमा डुबिरहेँ म ।
सबैजना तयार भइसकेपछि मैले एकाग्रतालाई तोडेँ । झन्डै एघार किलोमिटर हिँड्नु थियो, दिङ्बोचे पुग्न ।
मैले भनेँ– ‘आज कम्तीमा पनि छ घण्टा हिँड्नुपर्छ ।’
पिठ्यूँमा सगरमाथा आरोहीका बन्दोबस्तीका भारी बोकेर घाँडो बजाउँदै झोपाका हुल अगाडि लागिसकेका थिए । हिमालको पोसिलो पानी खाएकोले होला झोपाहरू यति बलिया भएका । यति धेरै वजन बोकेर पनि भेट्नै सकिन्न यिनलाई । यस्तै बल आफूमा पनि भए !
गुराँसे जङ्गलको ओरालो लाग्ने बित्तिकै खाइलाग्दा एक जोडी हिमालयन थार देखिए । तिनीहरू सायद हरिया घाँस खोज्दै थिए होलान् । हिउँले कठ्याङ्ग्रिएका बुट्यानहरूमात्र देखिन्थे वरिपरि । एकछिन सोचमग्न भएँ– बिचरा ! के खान्छन् होला तिनले । प्रकृतिले जीवन दिएपछि सङ्घर्ष गरेर बाँच्न पनि सिकाइदिँदो रहेछ ।
छन त यहाँ हाब्रे, कस्तुरी, मृग, बनेल र स्याल पनि छन् परन्तु अहिलेसम्म तिनीहरूसँग जम्काभेट भएको छैन ।
पुग्यौँ दिबोचे । पर्यटकहरूको अर्को एउटा सुन्दर बिसौनी । अलिकति दृश्यको कमी भएर मात्र हो, नत्र बस्नका लागि तेङ्बोचेमा भन्दा राम्रा होटलहरू छन् यहाँ ।
अलिकति महङ्गो मात्र हो ! पैँतीस सयसम्म पर्छ कोठाको । महङ्गो नहोस् पनि किन यति विकट ठाउँमा ! ‘इलेक्ट्रिक क्विल्ट’समेत उपलब्ध गराइदिन्छन् । सुविधा दिए अनुसारको भाडा त लिनै प-यो नि लगानी गर्नेले !
इम्जा खोला तरेर दिङ्बोचे नपुगुन्जेल त्यसैको सेरोफेरो भएर हिँड्नुपर्छ । खोलाको नजिक पुग्ने बित्तिकै आमादब्लम हिमाल आँखामा ठोक्किन आउँछ । आमादब्लम हेर्दै, पाइला उठाउँदै । यो पो हो त पदयात्राको मजा ! पेन्ट गरेको थाङ्कालाई थपक्क राखेजस्तै गरी चट्टानी पहरामा गुरु रिम्पुचेको सुन्दर चित्र बनाइएको छ र लेखिएको छ, उही बुद्धिस्ट मन्त्र ।
कस्तो जाँगर ! शेर्पाहरूको आफ्नो धर्मप्रतिको आस्थालाई सम्मान गर्नैपर्छ । देख्ने बित्तिकै ‘ॐ मणि पद्मे हूँ’ नगुन्गुनाइरहन सक्दिनँ म ।
बढ्दो उचाइ र घट्दो अक्सिजनको मात्रा । पाङ्बोचे पुगेपछि ट्री लाइन सकिने भएकोले पदयात्रीहरूलाई लेक लाग्न सुरु हुन्छ । अघिल्लो पटक आउँदा आफैँलाई टाउको दुखेको याद आयो । फेरि नुनिलो पानी निस्केको निस्क्यै छ शरीरबाट । पसिनाका सेता घेराहरूले कपडामा बुट्टा हानिसकेको थियो । सुरुदेखि नै डायोमक्स सेवन गरेकोले होला केही भएको छैन सिङ्गापुरेहरूलाई । यथार्थमा नाम्चेमा जन्मिएर सगरमाथाको टुप्पोमा पुग्नेले हासिल गरेको उचाइ बराबर समद्र सतहबाट आएको मान्छेले पनि दिङ्बोचे आइपुग्दा उही उचाइ हासिल गरिसकेका हुन्छन् ।
दिनको बाह« बजेपछि हावाले अँचेट्न थाल्छ नराम्ररी । कहिले पछाडिबाट त कहिले अगाडिबाट । एकपटक विद्यार्थीहरूको समूह लिएर पदयात्रा गर्न आएका ट्रिनिटी कलेज, हार्टफर्टका प्रोफेसर माइकल लेच्जलाई इबीसीबाट फर्केर फेरिचे आइपुग्दा निर्ममतापूर्वक लठाउँदेखि नै मैले चिनेको हुँ यहाँको हावालाई ।
मैले मनमनै भनिरहेको थिएँ– ‘साले हावा ! सक्छस् भने अझै देखा शक्ति ! तेरो तुजुकलाई जाँच्दै छु, म पनि ।’
हावा नचले हुन्थ्यो भनेर पनि के भन्नु ! हावा नचल्ने हो भने यहाँ लागेको घाम सहन पो कहाँ नै सकिन्छ र ! फेरि घाम पनि नलाग्ने, हावा पनि नचल्ने हो भने हिमाल पनि देख्न पाइन्न नि । सह्यो कि रह्यो भन्छन् । सहनु नै रहेछ उपाय । मौनतामा डुब्दै थिएँ म ।
दुई घण्टा हिँडेपछि अन्ततः देखाप-यो दिङ्बोचे । आहा, क्या सुन्दर बस्ती ! चारैतिर हिमालहरूले घेरिएको छुट्टै संसारझैँ । माथि ५,००० मिटरको नाङ्कास्याङ डाँडा, त्योभन्दा मुनि स्वेत स्तूप । यस्तो लाग्छ– शिरमा नाङ्कास्याङको शिरफूल र नाकमा सेतो स्तूपको नाकफुली सजाएर टुसुक्क बसेको छ दिङ्बोचे ।
नाङ्कास्याङ पहाडलाई देखाउँदै मैले भनेँ– ‘उचाइसँग घुलमिल हुन पदयात्रीहरू त्यहाँसम्म पुग्छन् । तर हामीसँग जगेडा दिन नभएकोले त्यहाँ जान सक्दैनौँ ।’ डिलमा बसेर छुकुङ भ्यालीसम्म नजर फिँजाए पछिमात्र दिङ्बोचे ओल्र्यौँ हामी ।
०००
अर्को दिन बिहान धर्तीले रङ फेरिसकेछ । खैरा पहाडका थुम्काहरू पूरै सेता थिए । हिउँ फुस्फुसाइरहेको थियो । होटलको आँगनमा छानाबाट खसेको हिउँले पहाड बनिसकेको थियो । बाहिर निस्केर चारैतिर आँखा डुलाएँ । अघिल्लो दिन देखिएका गोरेटा, खाल्डाखुल्डी र बुट्यानहरू पूरै सम्मिएका थिए । मनमा लागिरहेको थियो– ‘आज बेसरी रमाउने भए सिङ्गापुरेहरू ।’
ब्रेकफास्ट गरून्जेल पनि फिसफिसे हिउँ पर्ने क्रम टुटेन । मौसमको भर हुँदैन भनेको यही हो । कतै आज दिङ्बोचेमै बस्नुपर्ने त होइन ! सुर्ता बढ्दै थियो, मेरो मनमा ।
मैले होटलवालासँग सोधेँ, “हिउँ त बाक्लै प-यो । हामी आज लोबुचे जान त सक्छौँ ?”
“लामै समयपछि हिउँ परेको छ । जमिन तातो भएको बेलामा हिउँ पर्दा भिरालो ठाउँमा सोहोरिएर आउन सक्छ । आज यतै बसेर भोलिमात्र गए हुन्छ ।” उनले सल्लाह दिए ।
उनको कुरा गलत थिएन । तर दिङ्बोचेमा दुई रात बस्दा इबीसी गएर समयमै काठमाडौँ फर्कन सक्ने अवस्था थिएन ।
लाल भन्दै थिए– ‘होटलवालाले त यहीँ बस भनिहाल्छ नि ! उसको ब्यापारी नीति हो । एकछिन हेरौँ न ! भर्खर त आठ बजेको छ ।’
समय नघर्किसकेकोले ‘पर्ख र हेर’मा थिएँ, म पनि ।
बिस्तारैबिस्तारै घामको किरणले बादल छेडेर हिउँले लिपिएको धर्ती चुम्न आइपुग्यो । पदयात्रीहरूको उँभो लाग्ने क्रम सुरु भयो । होटलमा बसेकाहरु पनि निस्कन थालेपछि हामी पनि तात्तियौँ । हिउँबाट परावर्तन भएर आउने घामका किरणबाट बच्न गालामा मज्जाले निभिया क्रिम दल्यौँ, सनग्लास लगायौँ र बिदा लियौँ दिङ्बोचेसँग ।
पदयात्रीहरूको लर्कन लाग्यो उकालोमा । लालले अगाडि बढेर छुट्टै मार्ग कोर्दै गए । हामी उनकै पाइला पछ्याउँदै गयौँ । हिउँमा टेक्न पाउँनु सिङ्गापुरेहरूका लागि नयाँ अनुभव थियो । बिछट्टै खुसी थिए उनीहरू ।
४,६०० मिटरको उचाइमा पुगेपछि लोबुचे देखियो । पुमोरीले शिरमात्र देखाएको थियो ।
अलि ढिलो हुने भएरमात्र हो, नत्र हिउँमा हिँड्नुको मज्जा नै बेग्लै । घामको रापले माथि जानुको साटो तलतल सर्ने भएकोले दुई घण्टामा पुगिने थुक्ला तीन घण्टा लाग्यो । हिउँले भिजेर जुत्ता भारी भइसकेको थियो । उस्तै थियो, सबैको हालत ।
अरू बेला लन्चका लागि लोबुचे नै पुग्ने गरिन्थ्यो तर यो पटक सकिने छाँट देखिएन ।
“लेट्स ह्याभ लन्च हियर !” मैले प्रस्ताव राखेँ ।
भोको पेटले बाँसुरी बजाउन सुरु गरिसकेको रहेछ । उनीहरूले स्वीकार गरे । थुक्लाको होटलमा खाना खानेहरूको भीड थियो । सजिलोका लागि सबैले एउटै खाना अर्डर गरे दाल–भात ।
‘उठ् जोगी फड्कार छाला, जता जाला भातै खाला’ भनेझैँ दाल–भात खाएर ढुङ्ग्यान बगरको क्रमिक उकालोमा कदम उठायौँ ।
थुक्लाबाट लोबुचे साढे तीन किलोमिटरमात्र हो । उचाइले गर्दा पाइला सार्न कठिन भएपछि टाढा लाग्दोरहेछ । अघि थुक्लापारिबाट हेर्दा तेर्पे उकालोजस्तो देखिएको बाटो पनि ठाडै कालोजस्तो लाग्दै थियो । चीन र जापानजस्ता देशको हातमा नेपाल परेको भए ! इबीसीमा उहिल्यै रेल आइसक्थ्यो होला । हामी ट्रेकिङको साटो टुर चलाइरहेका हुन्थ्यौँ । कल्पनाको बैशाखी टेकेर उकालिँदै थिएँ म ।
ठाउँठाउँमा भएका बिसौनी पनि हिउँभित्रै दबिएका थिए । उभिएरै विश्राम ग-यौँ हामीले ।
यतिखेर हामी खुम्बु हिमनदीको क्षेत्रमा प्रवेश गरिसकेका थियौँ । छेउछाउका थुम्काथुकीहरूमा बुद्धिस्ट झण्डाहरू फर्फराइरहेका थिए । सगरमाथा आरोहणमा ज्यान गुमाएकाहरूका शिलालेखहरू पनि भेटिन्छन् यहाँ । थुप्रैथुपै्र आरोहीहरू यसरी नै बाँचिरहेका छन्, सम्झना भएर ।
धन्न हिँडेकै छन्, सिङ्गापुरेहरू । खुसीको कुरा, अहिलेसम्म टाउकोसम्म दुखेको छैन उनीहरूलाई ।
मैले उनीहरूलाई सोधेँ, “हाउ आर यू फिलिङ ?”
पदयात्रा सुरु गरेदेखि नै डायोमक्स सेवन गरेकाले सजिलो भएको हुनुपर्छ, भन्ने मेरो ठम्याइ थियो ।
सबैबाट एउटै जवाफ आयो, “गुड !”
गन्तव्य त्यति धेरै पर नभएकाले मैले उनीहरूलाई प्रत्येक पाइलामा रोकिएर हिँड्न भनेँ ।
झोपाका हुललाई साइड दिँदै निरन्तरता दियौँ । विकट ठाउँमा हिँड्नु झोपाहरूको बाध्यता र हाम्रो रहर ।
हिमालहरूको विशाल सञ्जालभित्र पुगिसकेका थियौँ हामी । हिजोअस्ति टाढाबाट देखिएका सबै नजिकिँदै थिए र मुस्कान फ्याँकिरहेका थिए– लोबुचे वेस्ट र इस्ट, लिङ्ट्रेन, खुम्बोचे, फोकाल्दे, ल्होत्से (८,४१३ मि.) र ल्होत्सेसार (८,५१६ मि.) स्यार्जे, नुप्से, पुमोरीको टुप्पो, चोलाच्छेले । यतै हिमाल, उतै हिमाल । नाङ्गा र उजाड पहाडहरूले पनि भेष बदलिसकेका थिए, अघिल्लो रात परेको हिउँको मजेत्रो ओढेर । कतिलाई मात्र हेर्नु । वास्तवमा म त पागलै भइसकेको थिएँ हिमाल हेरेर ।
‘स्लो एन्ड स्टेडिली विन्स द रेस’ भनेझैँ पुग्यौँ लोबुचे । तीनैजनाले जम्पिङ फोटो खिचे पछि छि-यौँ होटलमा र टेकायौँ ज्यानलाई कुर्सीमा थुचुक्क ।
यहाँसम्म त सहिसलामत आइपुगेका छौँ । लोबुचेको अक्सिजन लेवल ५६ प्रतिशतमात्र भएकोले टाउको दुख्ला कि भन्ने शङ्का थियो । भोलि त झन् ५३ मा झर्छ । त्यसैले मैले उनीहरूलाई दिउँसो पानी बढी पिउन र डिनरमा सुप लिन सल्लाह दिएँ ।
बेलुका सबैले एकएकवटा सुप र दुईवटा फेन्च फ्राइ बाँडेर खाए । उनीहरू भन्दै थिए– ‘दिउँसोको दालभातले निकै शक्ति दियो ।’ लालले भने–‘दाल–भात पावर ट्वान्टी फोर आवर !’
सबै हाँसे । लालको हँसाउने मेलो ।
लोबुचेमा भरियाहरू डाइनिङमा बसेको होटलवालाहरूलाई मन पर्दैन । एउटा गाइडसँग भरिया पनि सँगै बसेछ । होटलवाला गाइडसँग आक्रामक भएर चिच्याउँदै थिए र भन्दै थिए, “तुलाई थाहा भाएर पनि यसो गार्ने ? तुइले हेपिरा’को छा । के ठान्छस् । तिमी पनि जा । गेस्टलाई पनि लैजा ।”
विचरा गाइड विनम्रताका साथ भन्दै थिए, “मेरो पोर्टर एकछिन बसेको मात्र हो । ऊ खान र सुत्न सेल्टरमै जान्छ ।”
तैपनि होटलवालाको तातेको पारो सेलाएको थिएन । भुत्भुताउँदै थिए उनी । मलाई नमजा लाग्यो । देख्नेहरू सबै अमुक थिए । गाइड पाहुना नभए पनिे होटलका लागि पाहुना ल्याइदिने मान्छे त हो नि । नेपाली संस्कारमा पाहुनाजस्तो मान्छेलाई यसरी हपारेको सुहाउँदैनथ्यो । सायद शेर्पाहरूको आफ्नै संस्कार विपरित थियो, उनको त्यो हर्कत ।
हुन त होटलको पनि आफ्नै समस्याहरू होलान् । यही कुरा शिष्ट भएर भन्दा के बिग्रन्थ्यो र ? यतिका मान्छेहरूका सामु ती गाइडको अपमान गर्नैपर्ने ? कसैले त्यो गाइडको पक्षमा बोल्न सकेनन् ।
०००
स्लिपिङब्यागभित्र लाइनर हालेर टोपी र मोजा नफुकालीकनै सुत्दा पनि बिहान उठ्दा मलाई खुम्बु कोल्डले छोइसकेको रहेछ । लोबुचेमा हिउँ पगालेको पानी पिएको नतिजा यस्तै हुन्छ भन्ने पहिल्यै थाहा थियो । लाग्यो– ‘बरू रू. दुइ सय पचास तिरेर भए पनि बोत्तलकै पानी पिउनुपर्ने रहेछ । त्यतिखेर बुद्धि आएन त, के गर्नु ! थकथकाइरहेँ म ।’
सात बज्दा तीनैजना डाइनिङहलमा हाजिर भए, ब्रेकफास्टका लागि ।
मैले उनीहरूको अनुहार पढेँ । अल्टिच्युडले एकरत्ति कसैलाई छोएको थिएन । तर स्याजेन र लिलाई भने मलाईजस्तै खुम्बु कोल्डले छोइसकेको रहेछ । मैले उनीहरूलाई अदुवा–पानी पिउन सल्लाह दिएँ ।
ब्रेकफास्ट लिँदैगर्दा उनीहरूलाई छोटो जानकारी दिँदै भने, “वि आर गोइङ टू बी याट एन् अल्टिच्युड अफ ५,१४० मिटर्स गेनिङ २२० मिटर्स । द डिस्ट्यान्स इज लेस द्यान फोर एन्ड हाफ किलोमिटर्स । हाउएभर, इट विल टेक याटलिस्ट थ्री आवर्स ।”
गोरकसेपका लागि उत्साहको पाइला उठ्यो हाम्रो । ग्लासियर पाथमा पुगेपछि आँखामा छाउन थाल्यो हिजोसम्म टाउकोमात्र देखाएको सुन्दर पुमोरीको सग्लो रूप र कालापत्थरसमेतको महालङ्गुर हिमशृङ्खला । कस्तो भव्यता हिमालहरूको ! पाइला नरोकिरहनै सकिनँ । पढेँ मैले तमाम छटाहरूलाई । निकै प्रतिविम्बक छ पुमोरी, बिर्सनै नसकिने ।
तल हिमनदी घस्रिरहेछ, बडेमानका चट्टान बोकेर । हामी त्यसैमाथि हिँडिरहेका थियौँ ।
कति ढिलो हिँड्छ हिमनदी । खोलाजस्तै बग्ने भए त हाम्रो यात्रा कहाँको सम्भव हुनु र !
प्रकृतिले दिएको ठूलै अवसर हो यो । मनोलाप गर्दै थिएँ म ।
हिमानी मार्गमा हिँड्दैगर्दा मैले यतिको प्रसङ्ग निकालेँ ।
लाल दाइ ! त्यसोभए यथार्थमा के हो त यति ?
भालु ?
गुरिल्ला ?
चिम्पान्जी ?
हिममानव ?
वा दैँत्य ?
लालले भने– खोइ कुन्नि ! तर यति त मान्छेजस्तै हुन्छ रे नि सर !
“त्यसो भए त यो जीव मान्छेको नजिक हुनुपर्ने होइन र !” मेरो कुतूहल थियो ।
बीस वर्षअघि ट्रेकिङको सिलसिलामा लाल थामे पुग्दा त्यहाँको एकजना अग्रज स्थानीयले यतिका बारेमा उनलाई भनेका कुरा सुनाए–
‘उनीहरूका पुर्खाहरूले यतिलाई गोक्योमा देखेका थिए रे । हिमालको फेदीतिर ४–५ वटा काला अग्ला, याकको जस्तै लामालामा भुत्ला भएका जीव देखिन्थे रे । तिनीहरू मान्छेको नजिकै पर्दैन थिए रे । रहँदैबस्दै जाँदा तीमध्ये एउटा चाहिँ बिस्तारै मान्छेको नजिक आउन थाल्यो रे । त्यसपछि मान्छेहरूले गरेको काम हेर्ने र अनुकरण गर्न पनि थाल्यो रे । तर मान्छेले जस्तो बोल्न भने सक्दैनथ्यो रे । मान्छेलाई काम सघाइदिन थाल्यो रे । मान्छेसँगै चौँरी चराएको ठाउँमा जाने, मान्छेले दिएको कुरा पनि खान थाल्यो रे । तर सुत्न भने आफ्नै ठाउँमा जान्थ्यो रे । पछिपछि त मान्छेलाई पनि जिस्क्याउन थाल्यो रे । बिस्तारैबिस्तारै दुःख पनि दिन थाल्यो रे । मान्छेले जे ग¥यो त्यही गर्ने भएकोले एक साँझ आगो तापेको ठाउँमा चौरीको नौनी घसेको देखेर उसले पनि त्यसै गरी घस्न थालेछ रे । आगो ताप्दैगर्दा एउटा उट्पट्याङ गर्ने केटाले बलिरहेको अगुल्टो यतिको शरीरमा झोसिदिएछ । त्यसपछि नौनी लागेको यतिको शरीर जल्न थालेछ रे । आगोले पोलेको यति भागेछ । ‘अब म मरेँ’ भन्ने किसिमको आवाज निकाल्दै यति गोक्यो लेकमा हाम्फालेछ रे । त्यसपछि यति कहिल्यै पनि देखिएन रे ।’
आजसम्म पनि कसैले देखेको छैन यतिलाई । तर हिउँ परेको ठाउँमा ठूलो र गहिरो छाप देखियो भने यतिकै होला भन्ने विश्वास गरिन्छ । धर्तीमा यस्ता रहस्यात्मक कैयौँ जीव र वनस्पतिहरू पनि छन् जसलाई पुष्टि गर्न सकिएको छैन, न त अस्वीकार नै । लालको कुरा सुन्दासुन्दै माथिल्लो थुम्काका पुगिसकेछौँ । निख्खर सेता लोत्से र नुप्सेको पछाडि लुकेर सगरमाथाले चियाइरहेथ्यो हामीलाई । सेतो रङ शान्तिको रङ पनि हो ।
हिमालले गुथेको भएर होला यो रङ झनै मायावी र मोहनीय लाग्छ । नत्र विदेशीहरू यति मरिहत्ते किन गर्थे त । मनमनै सोचिरहेँ मैले ।
थुम्कामा बस्दैगर्दा देखिएको कालापत्थर र आधार शिविरको दृश्य पनि कम सुन्दर थिएन । इबीसीलाई जुम गरेर स्याजेनले देखाए मलाई । राता, नीला, हरिया र पहेँला टेन्टहरूलेभरिएको इबीसी एउटा पृथक गाउँजस्तै लाग्थ्यो । सगरमाथा आरोहणका सिलसिलामा बस्नका लागि हिमनदीमाथि खडा गरिएका आधार शिविर थिए ती ।
स्याजेनले सोधे, “हिमालहरूको नामकरण कसरी गरियो ?”
उनको प्रश्न असाध्यै राम्रो थियो । बिनाअर्थ कुनै पनि हिमालको नाम छैन । आफूलाई एभरेस्टबाहेक अरू हिमालको नामकरणका बारेमा जानकारी छैन ।
“कसरी राखियो हिमालहरूको नाम भन्नुस् त दाइ !” स्याजेनको प्रश्न मैले लाललाई टाँसो लगाइ दिएँ ।
“विभिन्न अर्थमा हिमालहरूको नाम राखिएका छन् । शेर्पा भाषामा ‘नुप्से’ भनेको पश्चिम र ‘लोत्सेसार’ भनेको पूर्व रे । लोत्सेभन्दा पूर्वपट्टि परेकोले सजिलोको लागि त्यसो भनिएको हो । कुनैको नाम त्यसको आकृतिअनुसार राखिएको छ । जस्तै– ‘काङ्तेगा’ । झलक्क हेर्दा ‘काङ्तेगा’ काठी कसेर ठिक्क पारेको घोडाजस्तै लाग्ने भएकोले त्यसो भनिएको रे । त्यस्तै ‘आमादब्लम’लाई नानी बोकिरहेकी आमाजस्तै देखिने भएकोले आमादब्लम भनिएको रे । शेर्पा भाषामा ‘दब्लम’को अर्थ ‘हार’ पनि हो । आमाले लगाएको हार पनि भनिन्छ आमादब्लमलाई । अन्नपूर्णमा हिउँचुलीलाई साउथ अन्नपूर्णको सानी बहिनी भनेझैँ यहाँ पुमोरीलाई सगरमाथाको सानी छोरी भनिन्छ । शेर्पा भाषामा ‘पुमो’को अर्थ सानी छोरी र ‘रि’को अर्थ हिमाल हो । पुमोरीलाई शक्तिशाली पर्वत मान्छन् शेर्पाहरू ।” उनले भने ।
‘गोरकसेप’ भनेको काग मरेको ठाउँ हो । त्यहाँ पुग्नै लाग्दा ‘गोरकसेप’को प्रसङ्ग निकाल्दै लालले भने, “यहाँ ठुला कदका कागहरू ‘गोरक’, ‘गोरक’ गरेर कराउँछन् । शेर्पा भाषामा ‘सेप’ भनेको मर्नु हो । यो ठाउँमा कसैले काग मरेको देखेछन् रे । त्यसपछि यस ठाउँलाई ‘गोरकसेप’ भनिन थाल्यो रे ।” मैले यही कुरा उनीहरूलाई पनि बताएँ ।
छिनछिनमा भुत्ते सुस्केरा हाल्दै उकालिँदै थिएँ म । सिङ्गापुरेहरूका पाइलै पिच्छेको खुइया पनि सुन्नलायक थियो । धन्न लाल थियो र ! उनको कुरा सुनेर बाटो कटेको पत्तै भएन । उनले दन्त्य कथामा भनेको काग मरेको ठाउँ पुगियो ।
हामी सीधै स्नोल्यान्ड होटलमा प्रवेश ग-यौँ ।
ज्यानमा पानी नपरेको चार दिन भैसकेको थियो । फेरिचे पुगेर पसिना पखाल्न आतुर थिएँ म । आज एकरात काट्न पाए त !
०००
सगरमाथा सुम्सुम्याउन आतुर हामी भोलिपल्ट सखारै उकालो लाग्यौँ ।
मैले भनेँ, “भ्यू त कालापत्थरबाट राम्रो दखिन्छ नि !”
“हो । तर इबीसी पुग्नुमा छुट्टै गौरव हुन्छ । फेरि हामीले ब्यानरसहित इबीसीको तस्बिर लिनुछ ।” स्याजेन बोले ।
सगरमाथाले तानिरहेको छ हामीलाई । टर्चलाइटको सहारामा एकतमासले उक्लिरहेका छौँ, उही हिमानी मार्गका चट्टानहरू समाउँदै ।
अँध्यारोको विलुप्तिमा उज्यालोको साम्राज्य बढ्दै थियो, बढ्दै थियो । इबीसीमाथिको डिलमा पुगिसकेका थियौँ हामी ।
उदाउँदो घामसँगै झुलुक्क झुल्क्यो नुप्से र ल्होत्सेका पछाडि गमक्क परेर बसेको सगरमाथा र घामको लालित्यले टलक्क टल्कियो नम्बरी सुनझैँ । सगरमाथा यसरी झल्झलाकार भइरहेको थियो कि मानौँ, घामको झुल्कोले सगरमाथाको शिरमा सुनको लावा बर्साइरहेछ । यात्राभरकै सबैभन्दा नजिकको दृश्य थियो त्यो ।
मैले भनिहालेँ, “उः…. त्यही हो माउन्ट एभरेस्ट । नेपाल भनेर नचिने पनि सगरमाथाको देश भन्दा सबैले चिन्छन् । यही हो चिनारी हाम्रो । यही हो स्वाभिमान ।”
फेरि थपेँ– ‘चाइनिजले यसैलाई चोमोलोङ्मा भन्छन् । स्थानीयले ‘देउ ढुङ्गो’ । कुनैबेला पिक–१५ पनि भनिन्थ्यो । यसलाई पृथ्वीको तेस्रो ध्रुव अर्थात् थर्डपोल पनि भनिन्छ । हामी नेपालीहरू यसलाई सगरमाथा भन्छौँ ।’
“ह्वाइ डज इट कल्ड थर्डपोल ?” आश्चर्य भावमा इभानले सोधे ।
“द रिजन इज– टू गो टू द टप अफ द एभरेस्ट इज याज डिफिकल्ट याज टू गो टू नर्थपोल एन्ड साउथपोल ।” मैले सुझाएँ ।
सबैले एकतमासले हेरिरहे सगरमाथालाई, आँखा चिम्म नगरिकनै । यतिसम्म कि तस्बिर लिन पनि भुलिरहेका थिए ।
स्याजेनले भने– ‘लेट्स टेक पिक्चर्स बिफोर क्लाउड्स कम ।’
सबैले क्यामरा सोझ्याए । उनीहरूले सगरमाथाको अनगिन्ती तस्बिर लिए । आफैँलाई
पनि सगरमाथासँगै उभ्याएर सेल्फि लिए ।
उनीहरूले सगरमाथालाई मनमा राखे । मोबाइलमा राखे । क्यामरामा राखे । सगरमाथा निर्बाध हाँसिरहेथ्यो । मैले मनले छोएँ सगरमाथालाई । आँखाले सुम्सुम्याएँ बेस्सरी । गर्वले बडेमान भएर फुल्दै थियो, मेरो छाती । छमछमी नाचिरहेथ्यो, मेरो मन । यस्तो भान हुन्थ्यो– म सगरमाथासँग रमाएको बेला मेरो खुसीमा स्वयम् सगरमाथा पनि हाँसिरहेछ ।
सिनेमाको पर्दामा नायकको आगमनजस्तै थियो, त्यो दृश्य । चलचित्रमा दृश्य परिवर्तन भएझैँ अर्को दृश्य आयो बादलको । ‘सिन’ क्लाइमेक्समा थियो । सिनेमा ‘द एन्ड’ भएझैँ भयो, सगरमाथाले कुहिरोको सप्को हालेपछि ।