मेरो प्रिय जन्मभूमि कुशादेवी बिहाबर

हरि अधिकारी

मेरो जीवनको गोरेटो सोझो र सजिलोसँग बनेको छैन । मुख्यतः मेरा दिवङ्गत पिताजीको प्रेरणाका वलमा आफै‘ले खनिखोस्री गरेर हिँड्न सकिनेसम्म बनाएको त्यो मेरो यात्रापथ खाल्डा–खुल्डी परेको र बाङ्गोटिङ्गो छ । त्यसमा नाक ठोक्किने उकालीहरू र पिडुँला फर्काउने ओरालीहरू छन् । मलाई राम्रोसँग सम्झना छ, तिनै अप्ठ्यारा आरोह–अवरोहहरू, भीर–पहराहरू र गहिरो खोँच तथा अत्याउँने खालका जंघारहरू एक एक गरी पार गर्दै बडो कष्टका साथ म यहाँसम्म आइपुगेको हुँ । अहिले आफूले पार गरेर आएको लामो र खस्रो त्यो कष्टकर जनमार्गतिर फर्केर हेर्दा मलाई एक किसिमको अनौठो रोमाञ्चको अनुभूति हुन्छ । कसरी मैले त्यो कंटकाकीर्ण बाटो छिचोलेँ र साबुत यहाँसम्म आइपुगेँ भनेर म स्वयम् अचम्भित हुन्छु ।

मेरो जन्म काठमाडौं उपत्यकासँग लगभग जोडिएको बिहावर कुशादेवी भन्ने एउटा गाउँमा, विक्रमको २००९ साल असार महिनाको अन्तिम हप्ता निम्न–मध्यम वर्गको एउटा ब्राह्मण परिवारमा भएको हो । मेरो जन्म हुँदा देशबाट राणा शासनको अन्त्य भएको डेढ वर्ष भइसकेको थियो तापनि मेरो गाउँमा युगीन परिवर्तनको हल्का छनकसम्म पनि कसैले पाएको थिएन । अशिक्षा, अज्ञानता र अन्धविश्वासको बाक्लो पर्खालभित्र कैद थियो बीस गाउँ बिहाबर भनिने त्यो सम्पूर्ण जनपद । हरेक दृष्टिले मध्ययुगीन अवस्थामा रहेका त्यस जनपदका त्यतिबेलाका मानिसहरूको सामूहिक चेतना–स्तरलाई सम्झेर विचार गर्दा मैले तय गरेर आएको मेरो जीवनको त्यो लामो र कदाचित सन्तुष्टिदायक यात्रा–पथ साँच्चिकै अपत्यारिँदो लाग्छ । म कसरी अज्ञानताको त्यो अँध्यारो सुरुङबाट बाहिर निस्किएर पूरा बीस गाउँ बिहाबरमा जन्मेको कुनै पनि व्यक्तिले त्यसअघि नामै नसुनेका ज्ञान–विज्ञान, कला–साहित्य, वाद–विवाद, राजनीति, दर्शन, तर्क र मिमांसा जस्ता बौद्धिक विषयहरूमाथि बोल्न, आफ्नो स्वतन्त्र राय दिन र लेख्न सक्ने भएँ, कहिले काही‘ म आफै‘ छक्क पर्छु ।

मानिसको जीवन–रेखामा मनखुसी रङ भर्ने कुनै विधाता हुन्छ भनेर हामी आर्य सनातनीहरूले जो मान्दै आएका छौं, यदि त्यो सत्य हो भने उसले त मेरो जीवन–रेखामा धमिलो र मट्मैलो रङको रेखीमात्र हाल्न खोजेको थियो भन्नु पर्ने हुन्छ । उसले मलाई जजमानीबाट फाट्टफुट्ट आर्जन हुने दुई चार पैसा र डढेको चामलको भरमा आफ्नो र आफ्ना आश्रितहरूको जीवनको थोत्रो रथलाई बाँचुञ्जेल सकी नसकी घिच्याउनुपर्ने श्राप दिएर यस धरतीमा हुत्याइदिएको थियो । चार फीट सात इन्च अग्ली जुन सानो काँटीकी दुब्ली आइमाईको गर्भबाट म जन्मिएको थिएँ, त्यो स्त्री थोरै, जग्गा–जमीन, दशजना सन्तान, प्रमाणित निरक्षरता र दुर्वासाको जस्तो क्रोध भएको एउटा निम्नवर्गीय ब्राह्मणकी जेठी बुहारी थिई ।

आफ्नो समयको प्रख्यात ज्योतिष जैसी बूढाका एक्ला छोरा ती निर्धन ब्राह्मणको स्वभावमा आवेग र उग्रताको यत्रो ठूलो ठाउँ थियो, तिनले सुत्केरी बस्न माइत गएकी मेरी आमा घर फर्कन २ महिना ढीलो गरेकै निहुँमा मेरा पिताजीको दोस्रो विवाह गराइदिएका थिए, त्यो पनि आफ्नी छोरी नववधुको काकालाई सट्टा–भर्ना दिएर । तिनताका छोरी दिएर बुहारी ल्याउने चलन मध्यपहाडी भेगमा व्याप्त थियो । प्रष्टै छ–सट्टापट्टाका आधारमा गरिने त्यस खालको विवाहमा घर र वरका गुण र योग्यतातिर कसैले ध्यान दिँदैनथ्यो । घरकी सुशील परिवारकी कुनै रूपवती कन्या परिवारको विवाह हुन नसकेर नाँगो रहेको खोटो मोहरजस्तो कुनै सदस्यको घर बसाउन काम लाग्दथी ।

बीस गाउँ बिहावर भनिने, अहिले तीनवटा गाउँ विकास समितिमा बाँडिएको काभ्रेलपाञ्चोक जिल्लाको सबैभन्दा पश्चिमी भू–भागको त्यो विशाल इलाका शिक्षा र आधुनिक चेतनाको प्रसारका हिसाबले निष्पट्ट अन्धकारमा रुमल्लिइरहेको थियो । पचास साठीघर अधिकारी थरका उपाध्याय बाहुनहरू, बहुसंख्यक सापकोटा, हुमागाइँ, घिमिरे, आचार्य, तिमल्सिना, बजगाइँ र बोलखे थरीका जैसी बाहुनहरू, गोदार र बगाले गरी दुई थरी थापा क्षेत्री अनि ठूलै संख्यामा तामाङहरूका साथै थोरै दमाई–कामीहरूको बसोवास भएको त्यो रसिलो–भरिलो पहाडी बस्तीमा काठमाडौंको नजिकै भएर पनि बत्ती मुनिको अँध्यारो व्याप्त देखिन्थ्यो । जजमानी गर्नुपर्ने र सप्ताह नवाह र चर्तुमासा आदिमा पुराण वाचन गर्नु पनि पर्ने हुनाले कुशादेवी लप्सेटारका अधिकारी बाहुनहरू वाध्य भएर संस्कृतका प्रारम्भिक पाठहरू पढ्दथे । तिनीहरू मध्ये धेरै जसोको गन्तव्य हुन्थ्यो–तीनधारा पाकशालामा सञ्चालित रानीपोखरी संस्कृत पाठशाला भनिने विद्यापीठ । महाराज वीरशमशेरले खोलेको त्यो पाठशालामा आएर बिहावरे बाहुनहरूले विद्याध्ययन गर्ने प्रयत्न त शुरुदेखि नै गरे होलान् तर त्यहाँको सामाजिक परिस्थिति अनुकूल नभएर नै हुनुपर्दछ, पूरा बीस गाउँ बिहावरबाट एकजनाले पनि संस्कृतको उच्च शिक्षा हासिल गर्न सकेको देखिँदैन, आजको घडीसम्म पनि ।

उपाध्याय ब्राह्मणभन्दा बाहेक अरु थरी बिहावरेहरूमा निरक्षरता नै व्याप्त थियो । कुटो–कोदालो, गोठ–कटेरो, घाँस–दाउरा, मेलापर्म र जन्ती–मलामीको कहिल्यै नसिद्धिने शृङ्खलामा लट्पटिएको उनीहरूको जीवनमा अक्षरको कुनै अर्थ थिएन । साहित्य, कला, संगीत, विज्ञान र प्रविधि जस्ता कुराहरूबाट कोसौं टाढा रहेको त्यो मानव समाज अज्ञान र पछौटेपनको एउटा अद्भुत संग्राहलय जस्तो थियो । विज्ञानको क्षेत्रमा भएको सीमातीत प्रगतिले विश्व–मानव–जीवनमा ल्याएको आश्चर्यजनक परिवर्तनको छनकसम्म पाउँन नसकेको त्यो समाज आफै‘भित्र खुम्चिएको पनि थियो ।

चरम् गरिबीबाट आजित भएर केही साहसी बिहावरेहरू रोजीरोटीको खोजीमा भारत, विशेषगरी कलकत्तातिर जान थालेका थिए । शायद दोस्रो विश्वयुद्धको समाप्तिको लगत्तैदेखि यहाँका युवकहरू कलकत्ता जान थालेका हुन् । नोकरीको खोजीमा कलकत्ता पुग्नेहरूमा प्रायः निरक्षर, नेपालीबाहेक कुनै भाषा नजानेकाहरू नै हुन्थे र तिनले त्यो महानगरमा घरेलु नोकर, चौकिदार र पाले–नियमको कामसम्म भेट्टाउँथे । ती कलकत्तेहरू दुई–एक वर्षका बीचमा घर फर्कन्थे । तिनीहरूमा बङ्गालको समृद्ध सांस्कृतिक जीवन, त्यहाँको रहन–सहन, साहित्य र संगीत आदिका बारेमा बुझ्ने, अनुभूत गर्ने र ती कुराहरूको ठीक–बेठीक वर्णन गर्ने क्षमता पटक्कै हुँदैनथ्यो । तर तिनीहरूलाई एउटा कुरा भने राम्रैसँग थाहा हुन्थ्यो–हामीहरू साहै नै पिछडिएका छौं । हामीकहाँ केही पनि त छैन, न बिजुली, न बाटो–घाटो, न स्कूल, न कलेज ।

विडम्वनाको कुरो, आधुनिक विश्वबाट अलग्गै रहेको बिहावरे समाजको त्यो पछौटेपन तहविहीन भने थिएन । तहहरू बनेका थिए–आर्थिक मापदण्ड अन्तर्गत । लीलावती भनिने बिहाबर खोलाले बनाएको मलिलो समथर फाँटका खेतहरूमाथि बढी भन्दा बढी हक जमाउँन सफल थोरै परिवारहरूको एउटा वर्ग थियो जो ज्ञानगुनका कुरामा अरूभन्दा भिन्न नभए पनि लवाइ–खुवाइ, रोब–रवाफ र हैकम चलाउने कुराले गर्दा उच्च तहमा थियो । दोस्रो तहमा पर्दथे– दुई अक्षर पढेका बाहुनहरू र नेपाली सेना र रामदल भनिने पुलिस–मिलिसियामा जागिर खाने क्षेत्रीहरू । पुछारमा थिए लगभग सम्पूर्ण तामाङहरू, सबै जातका गरीव र दलितहरू । समग्रमा भन्नुपर्दा बिहाबरको सम्पूर्ण मानव–समाजलाई अकिञ्चन (सबाल्टर्न) हरूको समाज भन्न सकिन्थ्यो तर त्यहाँ अकिञ्चनहरू मध्ये पनि महाअकिञ्चनहरू थिए र ती झण्डै ९८ प्रतिशत थिए ।

म हरि अधिकारी त्यही ९८ प्रतिशत जनता–जनार्दनमध्ये एउटा भएर जन्मिएको थिएँ । आज लगभग ६० वर्ष पुगेपछि आफू हिँडेर आएको जीवनको गोरेटोतिर फर्केर हेर्दा म यहाँसम्म कसरी आइपुगेँ भनेर एकछिन सम्म त म छक्कै पर्दछु । यस बीचमा मैले अकिञ्चनहरूको कित्ताबाट ठूलो फड्को मारेको छु । म सँगसँगै म बाँच्दै आएको युगले पनि कोल्टे फेरेको छ । कुशादेवीले पनि कायापलट गरेको छ । युगौंदेखि मेरो प्रिय जन्मभूमि र मेरा आफन्तहरूलाई जीवनका राम्रा राम्रा उपहारहरूबाट बञ्चित गराइरहने त्यो तत्व मानवीय होस् वा दैवी नै किन नहोस्, त्यसको थोरै भए पनि हार भएको छ । एउटा सम्पूर्ण समाजको दिमागका बन्द झ्यालहरू खेलिएका छन् र तिनमा नयाँ नयाँ विचार, आविष्कार र उद्योगका परिकल्पनाहरूको प्रवेश हुन थालेको छ ।

म घोत्लिन्छु– त्यो कुन खास घटना वा क्षण, मानिस वा मानिसहरूको समूह थियो जसले बिहाबरेहरू र तिनीहरूकै एक अंशका रूपमा मेरो जीवनको दिशा नै पूरै बदलिदियो । यस प्रश्नको उत्तर खोज्न सजिलो छैन । यसको उत्तर नभएको चाहिँ होइन । यसको जवाफ छ, मैले यसको उत्तर खोज्न आफूले छोडेर आएको सुदूर अतीतको यात्रामा निस्कनुपर्ने हुन्छ । स्मृतिको कोशागारमा टाँगिएका केही जीवन्त क्षण र चम्किला अनुहारहरूसँग फेरि एकपल्ट आमुन्ने सामुन्ने हुनुपर्ने हुन्छ ।

तिथि मिति ठ्याक्कै भन्न सकिन्न, विक्रमीय २०१४ सालको एक दिन । पाटन मेजिष्ट्रेटको अफिसमा ठूलो भीड छ । लुभु–बिहाबर–दाप्चा सडक निर्माणका पक्ष र विपक्षमा बाँडिएका सडक आसपास क्षेत्रका गाउँलेहरूद्वारा घेरिएर बसेका छन् मेजिष्ट्रेट शुभशमशेर, आफ्नो दरबार सदृश कार्यालयको पटाङ्गिनीमा कुर्सी हालेर । सडक बनाउँदा त्यसमा आफ्नो जग्गा पर्नेहरू चर्को स्वरमा त्यसको विरोध गरिरहेका छन् भने अर्का एकथरी सडक बनेपछि गाउँमा विकासको ढोका खुल्ने भएकाले त्यो जसरी भएपनि बन्नैपर्ने जिकिर पनि गरिरहेका छन् ।

मेजिष्ट्रेट शुभशमशेर थिए–दुब्ला–पातला, अग्ला, गोरा सुदर्शन युवक । स्त्रियोचित मसिनु स्वरमा बोल्दथे । ज्यानै गए पनि आफ्नो खेत मासेर मोटर–बाटो बनाउँन नदिने भनेर कराइरहेको एकजना सापकोटातिर फर्केर शुभशमशेर बाबुसाहेबले सोधे, ‘भैंसी पाल्नु हुन्छ होइन गुरु तपाइँ ?’

‘हो पाल्छु थारा र लैना गरी तीनवटा त अहिले नै पनि छन् ।’

‘दूधचाहिँ के गर्नुहुन्छ ?’

‘के गर्नु र ? केही खाइन्छ अनि केहीबाट घिउ बनाइन्छ ।’

‘म त्यै त भन्छु, हेर्नोस् त तपाइँ दिनका दिन कति नोक्सानी बेहोर्दै हुनुहुन्छ ? तपाइँको घर छेउमा सडक भएपछि मोटर चल्न थाल्छ । तपाइँ घरैबाट दूध बेचेर पैसा कमाउन सक्नुहुन्छ । सडक यस्तो माध्यम हो जसले तपाइँहरूको गाउँको मुहार नै फेरिदिने छ र त्यसले तपाइँको जीवनमा नयाँ उत्साह पैदा गर्नेछ, बुझ्नुभो गुरु ?’, मेजिष्ट्रेटले थोरै हाँस्दै नाके स्वरमा भने ।

मेजिष्ट्रेटको भनाइले जसलाई सम्वोधन गरिएको थियो, त्यसमाथि खासै प्रभाव नपारे पनि त्यसदिन जावलाखेल छेउमा रहेको ललितपुर जिल्लाको तात्कालिक प्रशासकीय भवनको पटाङ्गिनीमा जम्मा भएका बिहाबर भेगका ठूलाठालूहरूका मनमा भने अचानक उज्यालो फैलिए झै‘ भयो । मोटरबाटो भएर गाउँमा परिवर्तनको एउटा नौलो तरङ्ग उठ्ने कुरामा पक्कापक्की जस्तै ठाने उनीहरूले । यद्यपि मोटर चढेर के आउँछ र त्यसले गाउँको मुहार कसरी एकाएक फेरिदिनेछ भन्ने कुरामा कसैलाई पनि भरोसा भने थिएन ।

वास्तवमा शुभशमशेर बाबुसाहेबको भविष्यवाणी छिटै सत्य सावित भयो । लुभु–बिहाबर–दाप्चा सडक पूरा खोल्न नसकिए पनि कही महिनाभित्र पनौती कुशादेवी सडक खण्डको ट्र्याक खोलियो । भर्खरै खोलिएको ट्र्याकमा सबैभन्दा पहिले मोटर गाडी चलाउने भए बनेपा–पनौतीको हिले सडकमा अमेरिकन विलिस जीपबाट सेवा दिइरहेका बनेपाका धनदास बादे श्रेष्ठले । बनेपाको नामी राजनीतिक परिवारका सदस्य धनदास तीव्र गतिमा गाडी चलाउनमा कहलिएका ड्राइभर थिए ।

शुभशमशेरले भनेझै‘ सुस्त गतिमै भएपनि त्यो बाटो भएर कुशादेवीमा प्रगतिको एउटा लहर नै आयो । धनदासले आफ्नो विलिस जीप कुदाएर उद्घाटन गरिदिएको सडकमा त्यसपछि लगत्तैदेखि फाट्टफुट्ट गाडीहरू गुडेका देखिन थाले । एक दिन त्यही धूले बाटो भएर पूर्व १ नम्बरका पहिला ब्लक डेभलप्मेन्ट अफिसर चन्द्रशेखर ज्ञवाली आए । साथमा थिए कुशादेवीकै लालकृष्ण शर्मा नामक ग्राम विकास कार्यकर्ता र दुइटी महिला ग्राम स्वयम्सेविकाहरू । ज्ञवाली पहिलो नजरकै बुहादेवी उपत्यकाको हरियाली र सुन्दर भू–बनोटबाट मुग्ध भएझै‘ देखिए र उनले माइथाननेर एउटा सानो भेला गराएर उपस्थित गाउँलेहरूलाई सम्झाए पनि ।

‘रमाइलो ठाउँ रहेछ । यसलाई अझ राम्रो बनाउँन यहाँ अब स्कूल खोल्नु पर्दछ । यहाँका केटाकेटीहरूले पनि त पढ्न पाउनु प¥यो नि ।’

‘माथि कालेसाहुको पाटीमा भाषा पाठशाला छँदैछ नि’ मिटिङमा भेला भएकाहरूमध्ये कसैले भन्यो ।

‘त्यो त छ । तर आजको जमानामा भाषा पाठशालामा दिइने नेपाली र सामान्य संस्कृतको शिक्षाले केही हुँदैन । हाम्रा केटाकेटीहरूले जिन्दगीमा अघि बढ्न अंग्रेजी नपढी सुखै छैन । त्यसैले तपाइँहरू एउटा कमिटि बनाउनुहोस् र स्कूलघर कसरी बनाउँन सकिन्छ विचार गर्नोस्, म स्कूल स्वीकृत गरिदिने व्यवस्था मिलाउँछु….’, यति भनेर ज्ञवाली एकछिन रोकिए, भीडमा कसैलाई खोजेझँै आँखा डुलाए र मानिसहरूको गोलोको एकछेउमा चूपचाप बसिरहेका गाउँका सम्मानित अगुवा रामचन्द्र अधिकारीमा नजर स्थिर गरेर आफ्नो कुराको बिट मारे– ‘स्कूल भवन बनाउने र सञ्चालन समिति गठन गर्ने जिम्मा तपाइँको भो रामचन्द्रजी । छिट्टै सुसमाचार लिएर मेरो अफिसमा आउनु होला ।’

शान्त मुद्रा र कोमल नजर भएका रामचन्द्र अधिकारी बिहाबर क्षेत्रकै सर्वमान्य अगुवा भइसकेका थिए मात्र २६ वर्षको उमेरमा । उनी त्यस भेगबाट विधिवत् स्कूली शिक्षा हासिल गर्ने पहिलो व्यक्ति थिए र थिए पहिलो कवि पनि । उनी संस्कृतमा कुराकानी गर्न सक्दथे र अलि अलि अंग्रेजीमा पनि । राजनीति उनको शौकको विषय थियो भने समाजसेवा व्यसन । अहिलेको सन्दर्भमा हेर्ने हो भने दुर्लभ भइसकेको इमान्दार र सदाचारी सामाजिक कार्यकर्ताको ज्यूँदो नमूना थिए उनी । बीडीओ साहेबले कुशादेवीमा स्कूल खोल्ने काममा सहयोग गर्न आह्वान गर्दा सबैभन्दा बढी हर्षित उनी नै भएका थिए ।

अरू दिन कुशादेवी माइको मन्दिर छेउमा सुकुल ओछ्याउन लगाएर ‘बोल तुरूप’ भन्ने तासको खेल खेलिरहेका भेटिने कुशादेवी नेराघेराका ठालुहरू– कृष्णप्रसाद हुमागाइँ, भीमप्रसाद अधिकारी, गजवसिंह तामाङ, वेदप्रसाद सापकोटा, टिकावल्लभ घिमिरे, मोठको नारान भनिने पदम्बहादुर भुजेल आदि त्यस दिन रामचन्द्र अधिकारीलाई बीचमा राखेर बीस गाउँ बिहाबर क्षेत्रमै खोलिने पहिलो अंग्रेजी भाषाको समेत पढाई हुने स्कूल–घर कसरी बनाउने भन्ने विषयमा गम्भीर छलफल गरिरहेका थिए । छलफलपछि त्यो भेलामा सहभागीहरूमध्ये रामचन्द्र, भीमप्रसाद, कृष्णप्रसाद र गजवसिंहले स्कूल भवन बनाउनका लागि चाहिने चन्दा नउठुञ्जेल स्कूल साहु र आफूहरू आसामी भएर पैसा हाल्ने गरी तमसुक गर्ने निर्णय गरेर र त्यसरी उठाइएको पैसाले स्कूलको जग हाले । त्यसको केही दिनपछि नै कुशादेवी आएका तत्कालीन गृह तगा कानूनमन्त्री सूर्यप्रसाद उपाध्यायले शिक्षा मन्त्रीका तर्फबाट कुशादेवी प्राथमिक विद्यालय स्वीकृत गरिएको घोषणा गरेका थिए ।

त्यसदिन बेलुका मेरा पिताजी भीमप्रसाद घरमा आउँदा आफ्नो जेठो छोरासँग प्रायः कमै बोल्ने मेरा हजूरबाले भनेका थिए– ‘यो काम चाइँ तिमर्ले राम्रै गर्न लाग्यौ । मेरो नाममा पनि अलिकति चन्दा लेख्देलास् । हरिलाई त भाषा पाठशालाबाट झिक्ने होला नै, बहिनी कान्छीलाई पनि भर्ना गर्नु ।’ घरका सबैले थुप्री भनेर बोलाइने थाम्मर थुम्मर र दवंग स्वभावकी मेरी कान्छी फुपूलाई पढाउने हजूरबाको इच्छा यसरी प्रकट भएको थियो ।

पहिले गाउँमा पु¥याइएको मोटर बाटो र त्यसपछि मुलुककै पहिलो जननिर्वाचित प्रजातान्त्रिक सरकारले शिक्षा विकासको अभियानलाई अगाडि बढाउन शुरू गरेको विद्यालय स्थापनाको लहर अन्तर्गत खोलिएको कुशादेवी प्राथमिक विद्यालय, अहिले हेर्दा यो दुईवटा अत्यन्त सामान्य लाग्ने घटनाहरूले मेरो जीवनमा पारेको प्रभावको आँकलन गर्न र त्यसलाई पूर्ण रूपमा शब्दमा व्यक्त गर्न सक्छु जस्तो मलाई लाग्दैन । एक जुगमा एक दिन एक पटक आउँछ भने झै‘ मानिसको जिन्दगीमा पनि धेरै टाढाका, असम्बद्ध जस्ता लाग्ने यस्ता केही घटना हुन्छन् जसले उसको यात्राका दिशा नै परिवर्तन गरिदिन्छन् ।

हुन त कुशादेवी स्कूलमा मैले धेरै दिन पढिनँ । मेरो विद्याप्रतिको उत्कण्ठालाई तीव्र पार्न र कितावको किरो भन्न मिल्ने गरी पढ्न मन गर्ने व्यक्तिको रूपमा मलाई तयार पार्नमा मैले पछि पढेका शिक्षालयहरू र त्यहाँका केही शिक्षकको भूमिका बढी महत्वपूर्ण छ । तर, मलाई भाषा पाठशालाबाट झिकेर भर्खरै खोलिएको स्कूलमा भर्ना गर्ने जुन निर्णय मेरा पिताजीबाट भयो, त्यसले नै आजको हरि अधिकारी नामक यो साहित्यको अथक विद्यार्थी, वितेको ५ दशकदेखि निरन्तर कविताको आराधना गरिरहेको साहित्यकार र साहित्य–समीक्षा इमान्दारीपूर्वक गरेकै कारण कसै–कसैले अशोभनीय भाषामा गाली गरिएको समालोचकको निर्माण गरेको हो ।

(प्रेस हिँडेको प्रकाशोन्मुख हरि अधिकारीकृत कृति ‘संकलित गद्यरचना’बाट)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button