काठमाडौंमा कर्णाली कला

साँझ–बिहान काठमाडौं खाल्डो अझै चिसै छ । मंगलबार साँझ पनि चिसो बढ्दै थियो तर पाटनस्थित यलमाया केन्द्रको प्राङ्गण भने जमघटले न्यानिदै । ‘कर्णालीका रंगहरू’ लेखिएको ब्यानरमुनि कहिले सारंगी, कहिले अरबाजो, कहिले मुचुंगा त कहिले च्याब्रुङको अभ्यास चलिरहेको थियो ।

क्षितिजमा गोधूली रंग देखिँदै गर्दा कवि शकुन्तला जोशीले डोल्पाकी गायिका फुर्वा साङ्मोलाई मञ्चमा बोलाइन् । डोल्पो लवजमा सम्बोधन गर्दै उनले सोही भाषाको गीत गाउँदा माहोल विशेष ! माहोलमा जोडिए रैथाने संगीतकी अभियन्ता झुमा लिम्बू र समूह । उनको समूहले मौलिक बाजाको नेपाली धून प्रस्तुत ग¥यो । झुमाले पश्चिमको देउडा गाइन्, मध्यक्षेत्रको लोकगीत गाइन् र पूर्वको हाक्पारे गाउँदै संगीतमार्फत पूर्व पश्चिम यात्रा गराइन् ।

त्यो यात्रामा संगीतज्ञ डा. लोचन रिजाल जोडिए । उनले अरबाजो र सारंगीमा हृदय कम्पित गराउने दार्शनिक गीत सुनाए । संगीतपछि कविताको पालो, जसमा जोडिए ‘कर्नाली ब्लुज’ अर्थात बुद्धिसागर । उनले कर्णालीका मौलिक अनुभूतिलाई आधा दर्जन कवितामा आवाज दिए ।

यो विशेष प्रस्तुति पनि कर्णालीको सपनालाई आवाज दिनकै निम्ति तय भएको थियो । डेढ दशकदेखि कर्णालीको मुगु जिल्लामा कला गतिविधि सञ्चालन गरिरहेको कर्नाली आर्ट सेन्टरले ढोकैमा क्याफे, पाटन, ललितपुरमा ‘कर्णालीका रंगहरू’ शीर्षक चित्रकला प्रदर्शनीको पहिलो दिनको विशेष प्रस्तुति थियो यो । जसमा भौतिक–अभौतिक कलालाई पुस्तान्तरण गर्ने कर्नाली आर्ट सेन्टरका स्कुल–टु–स्कुल अभियानका लागि कोष संकलनमा योगदान गरेका व्यक्तित्वहरू उपस्थित थिए ।

१५ कलाकारका डेढ दर्जन चित्र समावेश प्रदर्शनी भने बिहीबारसम्म चल्नेछ । ‘प्रदर्शनीमा राखिएका सम्पूर्ण चित्र बिक्रीमा छन् । जसबाट आएको सम्पूर्ण रकम स्कुल–टु–स्कुल अभियानमै खर्च हुनेछ’, सेन्टरका अध्यक्ष हिरा बिजुली नेपालीले भने ।

समुदायको रहेको समृद्ध कला र सीप लोप हुँदै गइरहेको अवस्थालाई मध्यनजर गर्दै सेन्टरले विद्यालय–विद्यालय पुगेर त्यस्ता कला र सीप विद्यार्थीलाई सिकाउने अभियान थालेको उनले बताए । त्यसै सन्दर्भमा मुगुकै कलाकार कोशल हमालको संयोजनमा ललितकलाका १५ विद्यार्थीको सहभागितामा दुई बर्षअघि मुगुमा ७ दिने आवासीय चित्रकला कार्यशाला आयोजना गरिएको थियो । त्यहाँ कलाकारले बनाएको सम्पूर्ण चित्रहरू अभियानलाई सहयोग गरिएको ललितकला क्याम्पसका सहप्राध्यापकसमेत रहेको हमालले जानकारी दिए ।

कार्यशालामा कलाकार दुर्गा सुनुवार, मेनुका शाही ठकुरी, झंकार सापकोटा, के.बी. पाल्पाली, अनिल मचामसी, अनिल खड्का, अनिलकुमार भुजेल, अनिता लिम्बू, नितेश श्रेष्ठ, रोशन राई, प्रज्ज्वल सुवेदी र योगेनजंग क्षेत्री सहभागी थिए ।
वातावरण, युवा, बालबालिका, महिलाका साथै फोहोरमैला तथा प्राकृतिक विपत्ति व्यवस्थापनमा काम गर्दै आइरहेको गैरसरकारी संस्था क्रियसन र सामाजिक उद्यममा सक्रिय भरोसा प्रिन्टको सहकार्यमा भइरहेको प्रदर्शनमा यलमाया केन्द्रको ढोकैमा क्याफेले स्थान उपलब्ध गराएको छ ।

प्रदर्शनमा राखिएका चित्रहरूको मूल्य १५ देखि ४० हजारको हाराहारीमा राखिएको छ । जसमा कर्णालीका कला, संस्कृति, मिथक, पर्यावरण, लोकजीवनलगायतका विषय रंगमार्फत अभिव्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button